हिमालय एअरलाइन्सले पाएको ‘सेल्फ ग्राउण्ड ह्यान्डलिङ’ सेवा कार्यान्वयन नगर्न मन्त्री भट्टराईको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमालय एअरलाइन्सले पाएको ‘सेल्फ ग्राउण्ड ह्यान्डलिङ’ (आफैं भूमिस्थ प्रबन्ध) सेवा तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन्।
मन्त्री भट्टराईले आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिएका हुन्।
मन्त्री भट्टराईले प्राधिकरण महानिर्देशकले हिमालय एअरलान्सलाई दिएको ‘सेल्फ ग्राउण्ड ह्यान्डलिङ’ सुविधा तत्काल रोक्ने र प्राविधिक तथा आर्थिक पक्षको मूल्यांकमा गर्नुपर्ने भन्दै निर्देशन दिएका छन्।
प्राधिकरणले ४ असोजको महानिर्देशकस्तरीय निर्णय गरेर हिमालयलाई आफैं ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति दिएको हो।
प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पर्यटन मन्त्री हुने व्यवस्था भएकोले प्राधिकरणबाट हुने ठूला र आर्थिक प्रभाव पर्ने निर्णय लिँदा सहमति लिनुपर्ने भन्दै तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न निर्देश दिएको मन्त्रालयका एक अधिकारीले बताए ।
प्राधिकरणले वायुयानहरूको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार सातामा ३५ वटा उडान गर्ने हिमालयलाई उक्त अनुमति दिएको दाबी गरेको छ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने मन्त्रीसँग आइतबार भएको एक छलफलमा यो निर्णय प्रक्रियामा रहेको बताएका थिए। उनले प्राधिरकणले निर्णय गरेको भएपनि पनि कार्यान्वयनमा भने आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने र तोकिएको सर्त पालना गर्नुपर्ने बताए।
तोकिएको सर्त पालना गर्न नसके उसले उक्त सुविधा नपाउने जानकारी पनि पोखरेलले दिए। पोखरलेले नियमले नै दिएको अधिकार प्रयोग गरेर निर्णय गरिएको भएपनि मन्त्रीसँग सोही विषयमा छलफल भएको जानकारी दिए।