निगमको भाग खोसेर हिमालय एअरलाइन्सलाई दिइयो ‘ग्राउन्ड ह्यान्डलिङ’ को अनुमति, निगमलाई वार्षिक एक अर्ब घाटा
सरकारले निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एअरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ को अनुमति दिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले ४ असोजको महानिर्देशक स्तरीय निर्णय गरेर हिमालयलाई आफैं ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति दिएको हो।
प्राधिकरणले वायुयानहरुको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार सातामा ३५ वटा उडान गर्ने हिमालयलाई उक्त अनुमति दिएको दाबी गरेको छ।
उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विदेशी वायुसेवाले यो सुविधा पाइरहेकाले नेपालबाट पनि अन्तर्राष्ट्रिय उडानको बजार विस्तार गर्न नेपाली वायुसेवालाई यस्तो सुविधा दिएको बताए। “हिमालयले नियम अनुसार नै सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा पाएको हो”, उनको दाबी छ।
अहिले एअर इन्डिया र थाइ एअरलाइन्सले पनि काठमाडौं विमानस्थलमा आफैं ग्राउन्ड ह्यान्डलिङको सुविधा लिइरहेका छन्।
सातामा ३५ वटा उडान गर्ने वायुसेवालाई यस्तो सुविधा दिने व्यवस्था नियमावलीमा छ। हिमालयले भने सातामा ४० वटा भन्दा बढी उडान गरेको विवरण पेश गरेको पनि प्राधिकरणले जनाएको छ। एकपटक यो सुविधा पाएपछि सधैंका लागि हुन्छ, वर्षेनी नवीकरण भने गर्नुपर्छ।
हिमालयले यस्तो सेवा प्रदान गर्न प्रयोग हुने मेशिन, औजार तथा मानवीय त्रुटिबाट हुन सक्ने तेस्रो पक्षको क्षति व्यहोर्न कम्तिमा ५ करोड डलरको तेस्रो पक्ष बीमा गराउने शर्त राखेको छ।
सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा शुरु गर्नुअघि विमानस्थलमा गरिने सम्झौताको मस्यौदा प्राधिकरणबाट स्वीकृत गराउनुपर्नेसहितको सामान्य शर्त राखेर यो सेवाको अनुमति दिएको प्राधिकरणका महानिर्देशक पोखरेलले बताए।
राष्ट्रिय ध्वजावाहकलाई घाटा
नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने ३० वटा वायुसेवामध्ये एअर इन्डिया र थाइ एअर बाहेकका वायुसेवालाई नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङको सुविधा दिंदै आएको छ। विमानस्थलमा निगमले प्रत्येक उडानको ग्राउन्ड ह्यान्डलिङबाट २२ सय डलर लिंदै आएको छ। तर, अब हिमालय एअरलाइन्सले आफैं ग्राउन्ड ह्यान्डलिङ गर्दा त्यो शुल्क निगमलाई तिर्नु पर्दैन। हिमालयबाट मात्रै निगमले वार्षिक करीब रु.१ अर्ब उठाउँथ्यो।
अहिलेको उडान तालिका अनुसार निगमले ग्राउन्ड ह्यान्डलिङबाट कमाएको पैसाको १५ प्रतिशतका दरले उड्डयन प्राधिकरणलाई शुल्क बुझाउँथ्यो। हिमालयले आफैं ग्राउन्ड ह्यान्डलिङको अनुमति पाएपछि प्राधिकरणले पनि वार्षिक रु.१० देखि १५ करोड गुमाउने प्राधिकरणकै अधिकारी बताउँछन्।
प्राधिकरणका महानिर्देशक पोखरेल भने निगमको ग्राउन्ड ह्यान्डलिङ खोस्न हिमालयलाई दिइएको रूपमा बुझ्न नहुने बताउँछन्। “निगमले कमर्सियल ग्राउन्ड ह्यान्डलिङ गरेको पैसा मात्रै प्राधिकरणलाई दिन्छ र उसले पनि आफ्नो विमानको ग्राउन्ड ह्यान्डलिङको कुनै शुल्क दिंदैन”, उनी भन्छन्।
हिमालयको उडान धेरै हुन थालेकाले आफ्नो ग्राउन्ड ह्यान्डलिङ आफैं गर्ने सुविधा दिइएको उनको तर्क छ। पोखरेलले भने, “राज्यले नेपाली वायुसेवालाई प्रवर्द्धन गर्ने हो। एउटा उडान थप हुँदा राज्यले पाउने लाभसँग जोडेर हेर्नुपर्छ। ग्राउन्ड ह्यान्डलिङबाट कति लाभ हुन्छ भनेर हेरिनु भएन।”
प्राधिकरण स्रोतका अनुसार, हिमालय एअरलाई यस्तो अनुमति दिएपछि अब त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको लागि करीब ४ सयदेखि ५ सय वर्गमिटर ठाउँ उपलब्ध गराउनुपर्छ। प्राधिकरणले हिमालयलाई प्रतिवर्गमिटर वार्षिक रु.६ सय रुपैयाँ भाडा लिने तय भएको छ। यो भाडा वापत हिमालयले बढीमा वार्षिक रु.२ लाख ५० हजार मात्रै भाडा तिर्नुपर्छ। अर्थात्, अहिले हिमालयबाट पाउने गरेको वार्षिक करोेडौंको आम्दानी ठाउँ उपलब्ध गराएवापतको भाडामा नै सीमित हुने प्राधिकरण स्रोतको भनाइ छ।
विमानस्थलमा ठाउँ उपलब्ध गराउन पनि समस्या हुने प्राधिकरण स्रोतको भनाइ छ। महानिर्देशक पोखरेल भने ठाउँ तय भएको र पार्किङ क्षेत्र विस्तार गरेकाले नै हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएको बताउँछन्।