हिमालयकाे ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ अनुमति खारेज गर्न नेवानि कर्मचारीको माग
हिमालयलाई अहिले ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को रूपमा समावेश गराउने र फागुन २०७७ मा व्यवसायिक ग्राउन्ड ह्यान्डलिङ नै दिएर नेवानिको अस्तित्व संकटमा पार्ने षडयन्त्र भइरहेको नेवानि कर्मचारी बताउँछन्।
नेपाल वायुसेवा निगम (नेवानि)को आधिकारिक ट्रेड यूनियनले हिमालय एअरलाइन्सलाई दिने निर्णय गरेको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति तत्काल खारेज गर्न माग गरेको छ।
नेपाल वायुसेवा निगम कर्मचारी यूनियनका संयोजक सुवास डाँगीले शुक्रबार विज्ञप्ति जारी गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमबाट ग्राउन्ड ह्यान्डलिङ सेवा खोसेर विदेशी लगानीको निजी वायुसेवालाई दिन शुरू भएको चलखेल तत्काल बन्द गर्न आग्रह गरेका छन्।
डाँगीले भनेका छन्, ‘‘निगमले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) र अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आयटा)को मापदण्ड अनुसारको (ग्राउन्ड ह्यान्डलिङ) भूमिस्थ प्रबन्ध सेवा दिइरहेको छ।’’
निगमले ५ वर्षदेखि आयटा सेफ्टि अडिटर्स फर ग्राउन्ड अपरेटिङ (आइसागो)काे प्रमाणपत्र लिएर सो अनुसारको दिइरहेको गुणस्तरीय सेवा खोसेर हिमालयलाई दिने र निगमलाई आर्थिक संकटमा पार्न खोजिएको कर्मचारीको भनाइ छ।
डाँगीले भने ‘‘हिमालयलाई अहिले सेल्फ ग्राउन्ड ह्यान्डलिङको रूपमा समावेश गराउने र फागुन २०७७ मा व्यवसायिक ग्राउन्ड ह्यान्डलिङ नै दिएर नेवानिको अस्थित्व संकटमा पार्ने षडयन्त्र भइरहेको छ।’’
निगमको आम्दानी गुमाउने र आर्थिक संकटमा पार्ने तथा उड्डयन प्राधिकरणको आम्दानी पनि घटाउने गरी गरिएको यस्तो निर्णयको नेवानि कर्मचारीले खुलेरै विरोध गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘‘निगमको दिइरहेको सेवामा समेत स्थान अभाव देखाइरहेको प्राधिकरणले हवाई माफियाको निर्देशनमा निगमलाई नै बन्द गराउने गलत मनसायले निर्णय गराउन लगाएको छ।’’
यस्तो निर्णय निगमको हित विपरीत हुुनुका साथै विदेशी लगानीको निजी कम्पनीलाई पोस्ने र ध्वाजाबाहक धरासायी बनाउने राष्ट्रघाती निर्णय गरेकोले तत्कालै खारेज गर्न आग्रह गरेको छ।
निगमले ५ वर्षदेखि अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आयटा) सेफ्टि अडिटर्स फर ग्राउन्ड अपरेटिङ (आइसागो)को प्रमाणपत्र लिएर सो अनुसारको दिइरहेको गुणस्तरीय सेवा खोसेर हिमालयलाई दिने र निगमलाइ आर्थिक संकटमा पार्न खोजिएको कर्मचारीको भनाइ छ।
निगमले विमानस्थलमा स्थान अभाव देखाउँदै हाल सेवा दिइरहेका बाहेक नयाँ वायुसेवालाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति दिन नसक्ने निर्णय गराउन सक्ने आधार भएकोले सो व्यवस्थामा टेकेर निगम बचाउँन लाग्नुपर्ने माग पनि कर्मचारीको छ।
कोभिडको असरले ४/५ वर्ष वायुसेवा निगम उठ्न नसक्ने अवस्था सिर्जना भएको बेलामा भएकै अधिकार खोस्ने र विदेशी लगानीको वायुसेवालाई निगमको अधिकार दिन नहुने तर्क नेवानि कर्मचारी यूनियनको छ।