५० वर्षपछि देखियो यूरेसियन कर्ल्यू
दुईदशक पहिलेसम्म नेपालमा सयौंकाे संख्यामा आउने पाहुना यूरेसियन कर्ल्यू चरा अहिले फाट्टफुट्ट मात्र देखिन्छ। काठमाडौं उपत्यकामा त ५० वर्ष जतिपछि मात्र यो चरा देखियो।
यूरेसियन कर्ल्यू युरोप, उत्तर एशियालगायत एशिया र अफ्रिका महादेशको समुद्रको तटीय क्षेत्रमा बढी देखिने सुन्दर पक्षी हो।
यो पक्षी उत्तरी एशियाबाट दक्षिण एशियातर्फ प्रस्थान गर्ने क्रममा नेपालको हिमाली तथा पहाडी भेगमा हिउँदको शुरुका दिनमा आहाराका निम्ति केही दिन अडिन्छ। तर, तराईका सिमसार क्षेत्रमा लामै समय देखिन्छ।
‘द स्टेट्स अफ नेपाल्स बर्ड्सः द न्याशनल रेडलिष्ट सेरिज’ भोल्युम २ (सन् २०१६)’ पुस्तकका अनुसार, नेपालमा यूरेसियन कर्ल्यू पाइन्छ भन्ने जानकारी गराउने पहिलो अध्येता ब्रायन हज्श्न हुन्। उनको सन् १८४४ मा प्रकाशित लेखमा यससम्बन्धी जानकारी पाइन्छ।
हज्श्नको जानकारीका आधारमा भन्ने हो भने, उबेला काठमाडौं उपत्यकामै यो पक्षी मनग्य देखिने अनुमान गर्न सकिन्छ। तर, वितेको ५० वर्ष यता यो पक्षी उपत्यकामा यदाकदा मात्र देखिएको अध्ययनहरूबाट देखिन्छ।
सन् १९७६ मा आरएल फ्लेमिङ, आरएल जुनियर फ्लेमिङ र लैनसिंह बाङ्देल लिखित ‘बर्डस अफ नेपाल’ पुस्तकमा यो पक्षी काठमाडौं उपत्यकामा देखिएको जनाइएको छ। यसैगरी एच.एस. नेपालीले सन् १९८२ मा ‘लिष्ट अफ नेप्लिज बर्ड स्पेसिमेन्स, एण्ड नोट्स अन बर्डस् सिन इन नेपाल’ (अप्रकाशित) अभिलेखमा पनि यूरेसियन कर्ल्यू काठमाडौंमा देखिएको जानकारी समावेश छ।
संभवतः यी दुवै अनुसन्धानको आधार सन् १९७० वा त्यसभन्दा अघि यो पक्षी देखिएको अध्ययनमा आधारित हुनुपर्छ। त्यसको एउटा कारण के हो भने, विगत ५० वर्षयता युरासियन कर्लोलाई चरा विज्ञले काठमाडौं उपत्यकामा देखेका थिएनन्।
अति संकटापन्न
यसैसाता ९ असोजमा वन्यजन्तु फोटोग्राफर संजय था श्रेष्ठ, उमंग जंग थापा, उस्तब जंगल थापा, गोपी श्रेष्ठ, चुन्बा शेर्पा, पेम्बा शेर्पा, युविन शेर्पा र प्रेम खब्बुलेको समूहले भक्तपुरको मनोहरा खोलामा एउटा सुन्दर चरा विचरण गरिरहेको देखे। आफूले कहिल्यै नदेखेको यो चराबारे तथ्य पत्ता लगाउन उनीहरुले आफूहरुले खिचेका तस्वीर चराविज्ञ एवं जूलोजिकल सोसाइटी अफ लन्डन –जेडएसएल) नेपाल शाखा प्रमुख डा. हेमसागर बराललाई पठाए।
बरालको ठहर थियो–यो त्यही यूरेसियन कर्ल्यू नै हो।
यूरेसियन कर्ल्यू प्रायः यो समूहमै विचरण गर्छ। तर, भक्तपुरमा भने एउटा भाले मात्र देखिएको थियो। संजय था श्रेष्ठ र पेम्बा शेर्पाले यो चरा चरिरहेको तस्वीर खिचे, अरुले भने उडेको तस्वीर कैद गर्न सफल भए।
चितवनका विमिता भण्डारी र नारायण रिजालले गएको माघमा कसरा नजिकै पनि यूरेसियन कर्ल्यूको तस्वीर खिचेका थिए। त्यसअघि भदौको अन्तिम साता राधाकृष्ण श्रेष्ठले पनि चितवनमै यो चराको तस्वीर लिने अवसर पाएका थिए।
नारायण रिजालका अनुसार, चितवनमा यूरेसियन कर्ल्यू यताका वर्षहरुमा एक, दुई वटा देखिने गरेको छ। यो पक्षी विशेषतः बर्खायामको अन्तमा आउने ठूलो बाढीपछि खोला किनारमा रहेको छिपछिपे पानीमा विचरण गर्छ। ठूँडो लामो भएकाले छिपछिपे पानीमा सजिलै आहारा समाउँछ। खोला किनार बालुवामा पनि देखिन्छ।
कोशी टप्पु वन्यजन्तु आरक्षका अनिश तिम्सिनाको अनुभवमा झण्डै दुईदशकअघि कोशी टप्पुमा एकसाथ डेढ सयको हाराहारीमा यूरेसियन कर्ल्यू देखिएको थियो। तर एक दशकयतादेखि भने हिउँदमा तीन चार वटा मात्र देखिने गरेको छ। प्रत्येक वर्ष देखिन्छ नै भन्ने पनि टुंगो छैन।
पोखराका वन्यजन्तु फोटोग्राफर मनशान्त घिमिरेले पोखरा वरपर यो चरा देखेका छैनन्।
बटुवा चरा
यूरेसियन कर्ल्यू कोशी टप्पु, चितवनलगायत ठाउँका निम्ति आगन्तुक पक्षी हो। अन्यत्रबाट आएका यी चरा एक ठाउँ विशेषमा दुई, तीन महीना अर्थात् एक सिजनजति बस्छन्। कोशी टप्पुमा यो पक्षी प्रायः हिउँदभरी देखिन्छ।
काठमाडौंका लागि भने यूरेसियन कर्ल्यू बटुवा अर्थात् ‘प्यासेज माइग्रेन्ट’ पक्षी मान्नुपर्छ। यी बटुवा चराका गन्तव्य अन्त कतै हुन्छन्, केही दिनका लागि मात्र खास ठाउँमा आहाराका निम्ति अडिन्छन्।
भक्तपुरमा देखिएको यूरेसियन कर्ल्यू साइबेरियाबाट नेपाल हुँदै दक्षिणअफ्रिकातर्फ पनि लागेको हुनसक्छ। फेरि कहिले साइबेरिया फर्कन्छ भन्ने टुंगो छैन। किनकि यसको उडान भर्ने बाटो बारे अहिले पनि वैज्ञानिकहरु प्रष्ट छैनन्।
विश्व प्रकृति संरक्षण संघले यूरेसियन कर्ल्यूलाई संकटोन्मुख प्रजाति मानेको छ। नेपालको लागि भने यो अति संकटापन्न पक्षी हो। यसको संख्या विश्वभर निरन्तर घट्दो छ। यसको प्रमुख कारण यो पक्षीको वासस्थान विशेषतः सिमसार क्षेत्र घट्नु नै मुख्य कारण बताइएको छ।
सुन्दर यूरेसियन कर्ल्यूलाई मारेर खाने चलन र विचरणस्थलमा मानिसको बढ्दो चहलपहललाई पनि थप कारण मानिएको छ।
नेपालमा सिमसार क्षेत्रमा भएको अतिक्रमण र दोहनकै कारण पहिले सयौंकाे संख्यामा देखिने यूरेसियन कर्ल्यू विस्तारै दुर्लभ हुँदै गएको हो। साइबेरियादेखि दक्षिणएशिया, अफ्रिकासम्म उडान भर्ने यो पक्षीले नेपाललाई माया मार्दै जानु पक्षीप्रेमीका लागि नरमाइलो अवस्था हो।
हाँस समूहको आगन्तुक वा बटुवा पक्षीबाहेक हामीकहाँ साना आगन्तुक वा बटुवा पक्षीबारे खासै जानकारी पाइन्न। यूरेसियन कर्ल्यूबारे पनि जानकारी न्यून छ। यो पक्षी जस्तै अरु पक्षी प्रजाति अझैसम्म मनग्य पाइनु तर युरासियन कर्लो भने अति संकटापन्न हुनुको कारण के हो ? यसबारे थप अनुसन्धान हुनुपर्ने देखिन्छ।
आगन्तुक तथा बटुवा पक्षीहरुलाई पहिले झैं कसरी नेपालमा आकर्षित गर्न सकिन्छ? यसबारे सम्बन्धित निकायको ध्यान जानुपर्छ। अन्यथा, निकट भविष्यमै ‘नेपालमा यूरेसियन कर्ल्यू भन्ने सुन्दर चरा पनि पाइन्थ्यो’ भन्नुपर्ने अवस्था आउनेछ।