चिनौं जोगाउनैपर्ने गिद्ध
तीन दशक अघिसम्म हूलका हूल देखिने गिद्धका चार प्रजाति अहिले संकटमा छन्। मुख्य कारण बनेका छन्– पशु उपचारमा प्रयोग औषधि र ठूला विकास परियोजना।
सिनो खाने ठूलो जातको मांसाहारी पक्षी हो– गिद्ध (भल्चर)। गिद्धका धेरै प्रजाति उस्ताउस्तै हुन्छन्, केही भने थोरै भिन्न रुपरंगका हुन्छन्। गिद्धको आकार र भूगोल पनि फरक–फरक हुन्छ।
गिद्धका प्रजाति पुरानो विश्व (एशिया, अफ्रिका र युरोप) मा १७ र नयाँ विश्व (दक्षिण तथा उत्तर अमेरिका) मा ६ पाइएका छन्।
नेपालमा गिद्धका ९ प्रजाति पाइएको छ। यसमध्ये पहाडी भूभागमा ९ वटै प्रजाति, तराईमा ८ र हिमाली क्षेत्रमा चार प्रजाति भेटिएको छ।
दक्षिणएशियाका अन्य मुलुक भारत, पाकिस्तान तथा बाङ्लादेशमा क्रमशः ९, ८ र ६ प्रजाति पाइन्छ। गिद्ध नपाइएको देश अष्ट्रेलिया हो।
अति संकटापन्न
विश्व प्रकृति संरक्षण संघ (आईयूसीएन) ले विश्वभर ९ प्रजातिका गिद्धलाई अति संकटापन्न (क्रिटिकल्ली इन्डेन्जर्ड) सूचीमा राखेको छ। यो सूचीमा जम्मा २२२ प्रजातिका पक्षी छन्।
आईयूसीएनका अनुसार, विशेषतः दक्षिण र दक्षिणपूर्व एशियाका चार प्रजाति ह्वाइट–रम्पड् गिद्ध, इन्डियन गिद्ध, रेड–हेडेड गिद्ध र स्लेन्डर–बिल्ड गिद्धको संख्या सन् १९९० पछि घट्न थालेको हो। त्यसपछिको १० वर्षमा त यी गिद्धहरू ‘अति संकटापन्न’ अवस्थामै पुगे।
नेपालमा पनि यिनै चार प्रजातिका गिद्ध ‘अति संकटापन्न’ छन्।
यी गिद्धको स्थिति अति संकटापन्न हुनुको मुख्य कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो। यसलाई नन्–स्टेरोइडल एन्टी–इन्फ्लामेटरी ड्रग (एनएसएआईडी) भनिन्छ।
यो औषधिबाट उपचार गरिएको चौपायाकोे मासु खाँदा गिद्धमा युरिक एसिड बढ्न जान्छ। अन्ततः मिर्गाैलाले काम गर्न नसक्दा एकसाताजतिमै गिद्धको मृत्यु हुन्छ।
करीब डेढ दशकअघि दक्षिण र दक्षिण पूर्व एशियामा यो औषधि किनबेच र निर्यातमा प्रतिबन्ध गरिएपछि गिद्धको अवस्थामा केही सुधार भएको छ। तर, अन्य चुनौती भने ज्यूँकात्यूँ छन्।
ह्वाइट–रम्पेड् गिद्ध
कालो शरीर, घाँटीमा सेतो भुवाको मालाजस्तो आकृति र पुच्छरमा सेतो देखिने ह्वाइट–रम्पेड् गिद्ध हो। यसको वैज्ञानिक नाम जिप्स बेन्गालेन्सिस् हो।
यो गिद्धको घाँटी कालो र हल्का खैरो हुन्छ। ढाड, पखेटाको माथिल्लो भाग र ठुँड कालो हुन्छ। पखेटाको छातीतर्फको झण्डै आधाजसो भाग सेतो हुन्छ। यो प्रजातिको गिद्ध इरान, अफगानिस्तान, नेपाल, पाकिस्तान, भारत, बाङ्लादेश, भूटान, म्यान्मार, थाइल्याण्ड, लाओस, कम्बोडिया र भियतनाममा पाइन्छ।
ह्वाइट–रम्पेड् गिद्ध सन् २००० देखि अति संकटापन्न सूचीमा छ। २००१ देखि दक्षिणी चीन र मलेशियामा देखिन छाड्यो।
रिचर्ड जे. ह्यारिस लिखित ‘द कन्जर्भेसन अफ एक्सिपिट्रिडाइ भल्चर्स अफ नेपालः अ रिभ्यु (सन् २०१३)’ लेख अनुसार ह्वाइट–रम्पेड् प्रजातिको संख्या सन् १९९५–२००७ ताका नेपाल, भारत र पाकिस्तानमा क्रमशः ८३, ९९.९ र ९९ प्रतिशतले घटेको थियो। अहिले संसारभर यसको संख्या १० हजार जति मात्र छ।
नेपाल, भारत, पाकिस्तान, बाङ्लादेश छुट्टाछुट्टै ‘गिद्ध कन्जर्भेसन एक्सन प्लान’ बनाएर संरक्षण अभियानमा पनि जुटेका छन्। नेपालमा ६ वटा गिद्ध रेस्टुरेन्ट खोलिएको छ। प्रजनन् केन्द्र पनि छ। यसबाट यो प्रजातिको गिद्धको संख्यामा उल्लेखनीय वृद्धि हुन थालेको छ।
हेमन्त ढकाल, कृष्णप्रसाद भुषाल, मनशान्त घिमिरे लिखित ‘नेपालका गिद्धहरू (२०७६)’ पुस्तकका अनुसार गिद्धको यो प्रजाति कोशी टप्पु, चितवन, रूपन्देही, पाल्पा, कास्की, लमजुङ, पर्वत, बाग्लुङ, तनहुँ, स्याङ्जा, बर्दिया, कैलाली, कञ्चनपुर, बाँके, अर्घाखाँची, प्युठान र दाङमा पाइएको छ।
देउबहादुर राना, अंकित विलास जोशी, ईश्वरीप्रसाद चौधरी, हिरुलाल ढुङ्गाना र कृष्णप्रसाद भुषालद्वारा लिखित ‘डिष्ट्रिब्युसन एण्ड पपुलेसन स्टेटस् अफ भल्चर्स इन नेपाल’ (जून २०२०) लेखमा नेपालको करीब ८० प्रतिशत भूभागमा १ हजार १०७ वटा ह्वाइट–रम्पेड् वयस्क गिद्ध पाइएको जनाइएको छ। अनिस तिम्सिनाले यो वर्ष कोशी टप्पु वन्यजन्तु आरक्षको पूर्वी भाग र सुनसरीको राजाबास तथा ईक्राहीमा एकाध ह्वाइट–रम्पेड् देखेका थिए।
वन्यजन्तु अध्ययन अनुसन्धान गर्दै आएका झापाका अस्मित सुब्बाले सुनसरीस्थित भेडेटारमा पनि यो गिद्ध देखेका छन्। धरान पश्चिम विष्णुपादुकास्थित गिद्धे भीर र यसको आसपास पनि दुई वर्षअघि हिउँदमा एक दर्जन जति ह्वाइट–रम्पेड्सँगै अन्य २५–३० वटा गिद्ध देखेका थिए।
इन्डियन गिद्ध
इन्डियन गिद्ध अति संकटापन्न सूचीमा रहेको अर्को गिद्ध प्रजाति हो। यसको वैज्ञानिक नाम जिप्स इन्डिकस् हो। यो प्रजातिको गर्धनमा सेतो भुवा हुन्छ। घाँटी तथा टाउको खैरो हुन्छ। उमेर ढल्कँदै गएपछि भने कालो हुन्छ। ठुँड पहेंलो हुन्छ। आँखा वरिपरि खरानी रंगको घेरा हुन्छ। यसको छाती तथा पखेटाको मुन्तिर खैरो र भित्रपट्टि सेतो प्वाँख हुन्छ।
सन् २००२ यता अति संकटापन्न यो प्रजाति मूलतः दक्षिण पूर्वी पाकिस्तान, भारतको दिल्ली, उत्तरप्रदेश र मध्य प्रदेशसम्म पाइन्छ। अक्सर मानिसको बसोबास नजिक बस्न रुचाउने यो गिद्धले ओडार तथा पुराना मन्दिरमा बचेरा कोरल्ने गरेको छ।
नेपालमा यो प्रजातिको एक जोडी पहिलो पटक सन् २०११ मा नवलपरासीको पिठौलीमा देखिएको थियो। अंकित विलास जोशीका अनुसार पिठौलीस्थित गिद्ध रेस्टुरेन्टमा सन् २०१८ र २०१९ को फेब्रुअरी र मार्चमा पनि एक, एक वटा इन्डियन गिद्ध भेटिएको थियो। यो प्रजाति कास्कीमा पनि एक पटक देखिएको थियो।
सन् १९९५–२००७ ताका यो प्रजातिको संख्या नेपाल र भारतमा क्रमशः ८८ र ९७ प्रतिशतले घटेको थियो। अहिले भारत र पाकिस्तानमा यसको संख्या ३० हजार जति भएको अनुमान छ। थप अनुसन्धान गरिने हो भने यो प्रजाति नेपालका तराईका अन्य जिल्लामा पनि भेटिने संभावना छ।
स्लेन्डर–बिल्ड गिद्ध
सन् २००२ देखि नै अति संकटापन्न सूचीमा रहेको स्लेन्डर–बिल्ड गिद्धको वैज्ञानिक नाम जिप्स टेन्युरोस्ट्रिस् हो। यसको वयस्कको रंग फिक्का बलौटे–खैरो हुन्छ। गर्धनमा सेतो भुत्ला हुन्छ। झलक्क हेर्दा इन्डियन गिद्ध जस्तो पनि देखिन्छ। परापूर्वकालमा यी गिद्ध एकै भएको तर बसोबास छुट्टिएका कारण कालान्तरमा अलग्गै प्रजाति बनेको तर्क गर्नेहरू पनि छन्।
स्लेन्डर–बिल्ड गिद्ध भारत, नेपाल, बाङ्लादेश, कम्बोडिया, लाओस र म्यान्मारमा पाइएको छ। थाइल्याण्ड र मलेशियामा भने लोप भएको आशंका गरिएको छ। सन् १९९५–२००७ ताका यसको संख्या नेपाल र भारतमा क्रमशः ९२ र ८८ प्रतिशतले घटेको थियो। हाल यसको संख्या तीन हजार संख्याको हाराहारीमा रहेको बताइन्छ।
सन् २०२० मा प्रकाशित जानकारी अनुसार, नेपालमा कास्की, बर्दिया, कपिलवस्तु, नवलपरासी, कैलाली, दाङ, कञ्चनपुर, पाल्पा, स्याङ्जा, अर्घाखाँची, तनहँु र लमजुङमा वयस्क उमेरमा ७१ वटा स्लेन्डर–बिल्ड गिद्ध पाइएको थियो।
रेड–हेडेड गिद्ध
रेड–हेडेड गिद्ध सजिलै चिन्न सकिन्छ। यो अघिल्ला तीन प्रजाति भन्दा फरक जातिको पक्षी हो। यसको वैज्ञानिक नाम सार्कोजिप्स क्याल्भस हो। वयस्कमा यो गिद्धको टाउको रातो हुन्छ भने घाँटीको फेद र तिघ्राको माथिल्लो भागमा सेता टाटा हुन्छ। खुट्टा, नंग्रा पनि रातो हुन्छ। यो प्रजाति सन् २००७ मा अति संकटापन्न सूचीमा परेको हो।
रेड–हेडेड गिद्ध पाकिस्तान, भारत, नेपाल, बाङ्लादेश, चीन, लाओस, म्यानमार, भियतनाम, कम्बोडिया, मलेशिया र सिंगापुरमा पाइन्छ। विश्वभर यसको संख्या १० हजार जति रहेको अनुमान छ।
कृष्णप्रसाद भुषाल र खड्गनन्द पौडेल लिखित ‘डिष्ट्रिब्युसन एण्ड ब्रिडिङ इकालोजी अफ रेड–हेडेड गिद्ध सार्कोजिप्स क्याल्भस इन नेपाल’ (सन् २०१६)’ लेख अनुसार यसको गुँड नेपालमा पहिलो पटक पाल्पाको तानसेनमा २०१२ मा देखिएको थियो।
नेपालमा रेड–हेडेड गिद्धको संख्या २००–४०० वटा जति अनुमान गरिए पनि अहिले १४५ मात्र फेला परेका छन्। यो प्रजातिको गिद्ध प्युठान, कञ्चनपुर, गुल्मी, कपिलवस्तु, बाग्लुङ, कास्की, चितवन, तनहुँ, पाल्पा, नवलपरासी, अर्घाखाँची, सिन्धुपाल्चोक, लमजुङ, स्याङ्जा, सल्यान, सिरहा, सप्तरी, म्याग्दी, रूपन्देही, काठमाडौं र पर्वतमा भेटिन्छ।
बाँकी चुनौती
पशु उपचारमा डाइक्लोफेनेकको सट्टा एसिक्लोफेनेक, किटोप्रोफेन, निम्सुलाइड औषधि प्रचलनमा छन्। यी औषधि पनि गिद्धका निम्ति केही मात्रामा हानिकारक नै भएको बताइन्छ। बरु, मलोसिकाम औषधिको असर भने गिद्धमा देखिएको छैन।
एक दशकदेखि गिद्ध अनुसन्धानमा संलग्न हेमन्त ढकाल पछिल्लो समय ठूला परियोजनाका कारण गिद्धको वासस्थान र आवागमनमा समस्या परिरहेको बताउँछन्। “ठूला विकास निर्माण परियोजना अघि गरिने वातावरणीय प्रभाव मूल्यांकन हचुवाको भरमा गरिने र विज्ञलाई छलेर कार्यान्वयन गराउने प्रवृत्ति बढेकाले समस्या बढिरहेको छ”, उनी भन्छन्।
यसका साथै हाई भोल्टेजका नाङ्गो तारका कारण पनि गिद्ध मरिरहेका छन्।
नेपालमा पाइने पक्षीमध्ये दुईतिहाइ भन्दा बढी प्रजातिको तस्वीर खिचिसकेका मनशान्त घिमिरेका अनुसार, पोखराको ल्याण्डफिल साइटमा उल्लेख्य मात्रामा गिद्ध देखिने गरेको छ। तर, नजिकै बनिरहेको अन्तर्राष्ट्रिय एअरपोर्ट गिद्धका लागि अर्को जोखिम बन्न सक्ने देखिन्छ। हवाईजहाज गिद्धसँग ठोक्किएमा हुनसक्ने दुर्घटना बारे अहिले नै सतर्क हुनुपर्ने उनको सुझाव छ।
भन्नका लागि सरकारको ‘गिद्ध कन्जर्भेसन एक्सन प्लान फर नेपाल (सन् २०१५–२०१९)’ मार्फत काम गरिरहेको दाबी गर्न सक्छ। तर, के साँच्चै सरकार गिद्ध जोगाउन गम्भीर छ त ? “कुरा बढी र काम कमको पुरानै प्रवृत्ति दोहोरिएको छ”, अनुसन्धानकर्ताहरू भन्छन्।