शक्ति सञ्चय गर्न टौदह
तीन वर्षअघि प्रकाशित पुस्तकमा टौदहमा १९ प्रजातिका फिरन्ते पानीहाँस पाइएको तथ्याङ्क छ। तर, पछिल्लो समय चराको संख्या निरन्तर घट्दो छ।
काठमाडौं उपत्यका कुनै बेला जलमय थियो । उपत्यकामा जमेको पानी चोभार हुँदै बाहिरिने कालक्रममा बनेको एउटा ताल टौदह पनि हो । टौदह करीब २१० मिटर लामो र १८० मिटर चौडा छ । नेवारी भाषामा ‘तः दह’ भनेको ‘ठूलो पोखरी’ हो । पछि ‘तः दह’ को अपभ्रंश हुँदै ‘टौदह’ भएको मानिन्छ । यो पोखरी काठमाडौंको चोभारबाट डेढ किलोमिटर दक्षिणमा पर्दछ ।
साइबेरियन पानीहाँस हिउँदमा जाडो छल्न हिमाल पार गरेर दक्षिणतर्फ लाग्छन् । यही क्रममा काठमाडौं उपत्यका भएर दक्षिण लाग्ने केही पानीहाँस टौदहमै बस्छन् ।
एरेन्ड भ्यान रिइसेन लिखित द बर्डस् अफ द बाग्मती एण्ड टौदह एरिया, २००३–२०१६ शीर्षकको पुस्तकमा टौदहमा आउने ‘फिरन्ते पानीहाँस’ को बारेमा बृहत् जानकारी समावेश छ । सन् २०१७ मा प्रकाशित पुस्तकमा उल्लिखित चरा सम्बन्धी विवरण पढ्दा २००३ देखि २०१६ सम्म टौदहमा जम्मा १९ प्रजातिका ‘फिरन्ते पानीहाँस’ देखिएको जनाइएको छ ।
रिइसेनले पुस्तकमा टौदहमा आउने खोया हाँस (बार–हेडेड गूज), कलहाँस (ग्रे–लेग गूज), कालीजुरे हाँस (टफ्टेड डक), गार्गनी (गार्गानेइ), बैइकालगैरी (बइकाल टेल) लाई प्यासेज माइग्रायन्ट अर्थात् बाटोमा पर्दा केही दिन आराम गरी शक्ति सञ्चय गरेर पुनः दक्षिण वा उत्तरतर्फ लाग्ने ‘फिरन्ते पानीहाँस’ भनेर लेखेका छन् ।
यसैगरी चखेवा (रुड्डी सेलडक), सुनजुरे हाँस (रेड–क्रिस्टेड पोचार्रड्), कैलोटाउके हाँस (कमन पोचार्रड्), मालक हाँस (फेरुजुनस डक), बेल्चाठुँडे हाँस (नोर्थन सोभलर डक), खडखडे हाँस (ग्याडवल डक), सिन्दुरे हाँस (युरेसियन विजन), नादुन हाँस (इन्डियन स्पट–बिल्ड डक), हरियो टाउके हाँस (मालार्ड), सुइरो पुच्छ्रे हाँस (नर्दन पिनटेल) र बिजौलागैरी (कमन टेल) लाई विन्टर भिजिटर अर्थात् लामै समय टौदहमा विचरण गर्ने पक्षीका रुपमा प्रस्तुत गरिएको छ ।
यो पंक्तिकार सन् २०१८ को हिउँदमा निकै पटक टौदहमा फिरन्ते पानीहाँस अवलोकन गर्न पुगेको थियो । खोया, कैलोटाउके, बिजौलागैरी, सिन्दुरे, खडखडे, हरियो टाउके, बेल्चाठुँडे हाँस र चखेवा मात्र देखिएका थिए । खोया हाँस त वागमतीमा पनि देखिएको हो । टौदहमा ‘फिरन्ते पानीहाँस’ को आवागमन रिइसेनको पुस्तकमा उल्लेख भए भन्दा पनि धेरै घटेको छ । घट्ने क्रम वर्षेनि वृद्धि भइरहेको छ ।
‘स्वार्थी मान्छे’
टौदहको प्राकृतिक स्वरुपलाई बेवास्ता गरेर कंक्रिटमय बनाइएको छ । त्यहाँ उल्लेख्य संख्यामा रेस्टुरेन्टहरू खोलिएका छन् । विस्तारै वातावरणीय विनाश भइरहेको छ ।
टौदह संरक्षण समितिले प्राकृतिक वातावरण कायम राख्न र ‘फिरन्ते पानीहाँस’ को संख्या वृद्धि गर्न के–कस्ता कार्ययोजना तर्जुमा गर्नुपर्छ भन्नेतिर हेक्का राखेको पाइएन । समिति टौदहबाट कसरी आर्थिक लाभ लिन सकिन्छ भन्नेमा मात्र केन्द्रित छ ।
काठमाडौं उपत्यकाभित्र फिरन्ते पानीहाँसको एक मात्र वासस्थान लोप हुँदै जानु दुःखद स्थिति हो ।