यी व्यवसाय, जसले महामारीलाई अवसर बनाए
कोरोना संक्रमण महामारीलाई मास्क, स्यानिटाइजर, डिजिटल कारोबार, रेस्टुरेन्टको अनलाइन प्रणाली, इन्टरनेट लगायत व्यवसायले अवसर बनाएर आफ्नो दायरा फराकिलो पारिरहेका छन्, साथै यी व्यवसाय स्थापित गर्न महामारीले नै चुनौती पनि दिएको छ।
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले ११ चैतदेखि बन्दाबन्दी घोषणा गर्दा बजारमा मास्क तथा स्यानिटाइजरको चरम अभाव थियो। अभावका वेला मास्कमा कालोबजारी बढेर व्यापारीहरूले रु.५/१० पर्ने एउटा मास्क चार गुणा बढीसम्ममा बेचे।
त्यो अवस्थामा मास्कको अभाव पूरा गर्न तत्कालै आईएमएस ग्रुपले नेपालमै सर्जिकल मास्क उत्पादन शुरु गर्यो। दैनिक ५० हजारदेखि ६० हजार थान मास्क उत्पादन गरेर बजारमा पठाउन थालेपछि अभाव विस्तारै सहज हुँदै गएको आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा बताउँछन्।
त्यो वेला आफूहरूको उद्देश्य नै नाफा कमाउने भन्दा पनि बजारमा मास्कको उपलब्धता सहज पारेर कालोबजारी रोक्ने रहेको मल्होत्रा बताउँछन्। “हामीले बजारको तत्कालीन आवश्यकता पूरा गर्न मास्क उत्पादन गरेर लागत मूल्यमा नै बिक्री गर्नेदेखि कर्पोरेट सामाजिक दायित्व अन्तर्गत निःशुल्क वितरण समेत गरेर सहज वातावरण बनायौं”, उनी भन्छन्।
बजारमा मास्कको सहज उपलब्धता भएपछि र अन्य कम्पनी समेत थपिएपछि भने मास्क उत्पादनको दायरा बढाउने गरी अहिले अर्कैलाई जिम्मा दिएको उनी बताउँछन्। उनका अनुसार, उत्पादन शुरु गर्दाको साझेदारले बजारमा सस्तोमै केएन ९५ मास्क उपलब्ध गराउन उत्पादन शुरु गरेको छ।
“हामीले बजारको तत्कालीन आवश्यकता पूरा गर्न मास्क उत्पादन गरेर लागत मूल्यमा नै बिक्री गर्नेदेखि कर्पोरेट सामाजिक दायित्व अन्तर्गत निःशुल्क वितरण समेत गरेर सहज वातावरण बनायौं ।”
मल्होत्राले शुरु गरेको कम्पनी गोथेरा इन्डस्ट्रिजबाट अहिले दैनिक १ लाख थान मास्क उत्पादन भइरहेको छ। गोथेराका निर्देशक प्रिय रञ्जन सिंह भन्छन्, “सर्जिकल मास्कको आपूर्ति सहज हुन थालेपछि अर्को मेशिन थपेर केएन ९५ मास्क दैनिक ७ हजार थान उत्पादन गर्न थालेका छौं। बजारमा निकै महँगो मूल्य राख्ने गरिएको यस्तो मास्क हामीले रु.३० मै उपलब्ध गराएका छौं।”
महामारीको त्रासदीमा दैनिक जीवनमा हरेक व्यक्तिलाई मास्क अनिवार्य भएकाले मास्क व्यवसाय गर्नेलाई अवसर नै आएको छ। नेपाली बजारमा अहिले १२ देखि १५ वटा कम्पनीले सर्जिकल मास्क उत्पादन गरिरहेका छन्। गोथेराका निर्देशक सिंह भन्छन्, अहिले बजारमा विभिन्न कम्पनीले दैनिक १० लाख थानभन्दा बढी मास्क उत्पादन गरिरहेको बताउँछन्। मास्क जस्तै पञ्जा, स्यानिटाइजर लगायत स्वास्थ्य सामग्रीको व्यवसाय पनि पछिल्लो समय फस्टाइरहेको छ।
स्यानिटाइरजमा आकर्षण
महामारीले अवसर दिएको ह्यान्ड स्यानिटाइजर व्यवसाय पनि हो। स्यानिटाइजर उत्पादनका लागि पाँच महीनामै ४० वटा कम्पनी औषधि व्यवस्था विभागमा दर्ता भएका छन्।
विभागले कोभिड–१९ को जीवाणु मार्न सक्ने अल्कोहलयुक्त स्यानिटाइजरको उत्पादन र बिक्री वितरणका लागि गएको ९ चैतमा मापदण्ड तोकेको छ। सोही मापदण्ड अनुसार स्यानिटाइजर उत्पादन गर्न अनुमति दिने गरिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकाल बताउँछन्। “उत्पादित स्यानिटाइजर तोकिएको मापदण्ड अनुसार छ कि छैन भनेर अनुगमन पनि विभागले नै गरिरहेको छ”, उनी भन्छन्।
स्यानिटाइजरको प्रयोग बढेसँगै बजारमा आएका नयाँ कम्पनीलाई नियममा बाँध्ने क्रमसँगै पुराना कम्पनीले पनि तोकिएको मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। कोभिड अगाडिदेखि नै सञ्चालनमा रहेका करीब ८० वटा कम्पनीलाई मापदण्ड पूरा गर्न विभागले ६ महीनाको समय दिएको छ। ढकाल भन्छन्, “स्यानिटाइजरको बजार देखेरै तीन वटा विदेशी कम्पनीले पनि अनुमतिको लागि निवेदन दिएका छन्।”
औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले पनि ह्यान्ड स्यानिटाइजर उत्पादन गरिरहेको छ। तर, अहिले गरिरहेको उत्पादन व्यावसायिक नभएको कार्यकारी निर्देशक हरिभक्त शर्मा बताउँछन्।
“हामीले महामारीपछि स्वास्थ्यकर्मीका लागि उच्च गुणस्तरको स्यानिटाइजर उत्पादन गरेर सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपलब्ध गराइरहेका छौं भने राज्यलाई आवश्यक परेको अवस्थामा तोकिएकै परिणाममा स्यानिटाइजर उत्पादन गर्न सक्ने पनि हाम्रो क्षमता छ।”
“हामीले महामारीपछि स्वास्थ्यकर्मीका लागि उच्च गुणस्तरको स्यानिटाइजर उत्पादन गरेर सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपलब्ध गराइरहेका छौं”, शर्मा भन्छन्, “राज्यलाई आवश्यक परेको अवस्थामा तोकिएकै परिणाममा स्यानिटाइजर उत्पादन गर्न सक्ने पनि हाम्रो क्षमता छ।” बजारमा स्यानिटाइजरको व्यावसायिक उत्पादन गर्ने प्रशस्त कम्पनी भएकाले क्षणिक अवसरको पछि नलागी आफ्नो मूल काम औषधि उत्पादनमै केन्द्रित रहेको उनको भनाइ छ।
नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालका अनुसार, ३० वटाभन्दा बढी औषधि कम्पनीले स्यानिटाइजर उत्पादन गरिरहेका छन्। चैतपछि सरकारले अनुमति दिनासाथ एकपछि अर्को औषधि कम्पनीले स्यानिटाइजर उत्पादन गर्न थालेको बताउँदै उनी भन्छन्, “राज्यलाई आवश्यक पर्नेजति गुणस्तरीय स्यानिटाइजर उत्पादन गर्न सक्ने क्षमता बनाइसकेका छौं।”
दाहालका अनुसार, चैतपछि नेपाली व्यवसायीले मात्रै रु.२० करोडको स्यानिटाइजर उत्पादन गरिसकेका छन्। अब आन्तरिक उत्पादनले नै धान्ने अवस्था भएकाले आयात बन्द गरी सरकारले नेपाली स्यानिटाइजर नै उपयोग गर्ने नीति बनाउनुपर्ने उनी बताउँछन्। “गुणस्तरका लागि औषधि बनाउने कम्पनीलाई मात्रै स्यानिटाइजर बनाउन दिनुपर्ने माग पनि गरिरहेका छौं”, उनी भन्छन्।
गएको साउनमा मात्रै रु.१२ करोड २४ लाख बराबरको स्यानिटाइजर आयात भएको छ। जबकि, गत आर्थिक वर्ष २०७६/७७ मा रु.२४ करोडको स्यानिटाइजर आयात गरिएको थियो।
मौलाएको डिजिटल कारोबार
महामारीमा अवसर बनेर आएको र संभावना पनि देखिएको क्षेत्र डिजिटल कारोबार हो। महामारीले नगदरहित कारोबारलार्ई प्रोत्साहन गरेको र आम उपभोक्ताले पनि सहज मान्न थालेकाले यो वेला डिजिटल कारोबारका लागि अवसर बनेको नेपाल राष्ट्र ब्यांकका प्रवत्ता गुणाकर भट्ट बताउँछन्।
राष्ट्र ब्यांकको असारसम्मको तथ्यांक अनुसार, बन्दाबन्दी शुरु भएदेखिको चार महीना (चैत-असार) मा रु.५८ खर्ब ९४ अर्ब ९६ करोडको डिजिटल कारोबार भएको छ। यस्तो कारोबार हरेक महीना १२ खर्बदेखि १६ खर्बसम्मको छ। यसले डिजिटल कारोबारले पछिल्लो समय गति लिएको देखाउँछ।
महामारीसँगै संभावनाको ढोका खुलाएको व्यवसाय ई-कमर्श पनि हो। यो क्षेत्रको महत्व बन्दाबन्दीछि बढेर गएको र आम उपभोक्ताले प्रयोग गर्न रुचाएको देखिएको छ। अहिले बजारमा ई-कमर्शका २० भन्दा बढी प्लेटफर्म सक्रिय छन्। तर, बन्दाबन्दी÷निषेधाज्ञाका कारण सामान उपलब्ध गराउने बिक्रेताको व्यवसाय बन्द भएकाले ग्राहकलाई सामान पुर्याउनै समस्या रहेको ग्यापु मार्केटप्लेसका संस्थापक प्रमुख कार्यकारी अधिकृति (सीईओ) ज्ञानेन्द्र खड्का बताउँछन्।
उनी भन्छन्, “अनलाइन बजारमा संभावना देखेर यो क्षेत्रमा आएकाहरूले ग्राहकको विश्वास पाइरहेका पनि छन्, तर बाहिरबाट देख्दा महामारीले अवसर दियो भने पनि जोखिम र चुनौती पनि त्यत्तिकै छ।” अनलाइन बजारलाई महमारीले अवसरको ढोका खोलिदिएको र अझै ६ महीना टिक्न सक्ने व्यवसायीको भने भविष्य राम्रो रहेको उनको बुझाइ छ।
कोरोना संक्रमण जोखिम र बन्दाबन्दीले रेष्टुरेन्ट व्यवसायमा ‘टेक अवे’ र ‘होम डेलिभरी’ को अभ्यासले नयाँ सम्भावना देखायो। यसले ग्राहकलाई विश्वास बढ्नुका साथै व्यवसायको दायरा अलि फराकिलो बनाएको रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) का अध्यक्ष अरनिको राजभण्डारी बताउँछन्। उनका अनुसार, महामारीले प्रविधिमा घुलमिल नभएका व्यवसायीलाई प्रविधिमैत्री बनाएको छ।
रेवानले आफ्ना सदस्य व्यवसायीलाई अनलाइन प्लेटफर्मसँग जोड्न ‘अर्डर साथी’ प्लेटफर्म सञ्चालनमा ल्याएको छ, जसबाट सर्वसाधारणले आफ्नो आवश्यकताका परिकार मगाउन सक्छन्। ५० वटा रेस्टुरेन्टले अनलाइन अर्डर शुरु गरिसकेका पनि छन्।
३ भदौदेखिको निषेधाज्ञाले भर्खर शुरु हुन थालेको अनलाइन अर्डरलाई असर पारे पनि निषेधाज्ञा खुकुलो हुँदै जाँदा अनलाइन अर्डर र डेलिभरीको पाटो बढ्ने र न्यू नर्मलमा छुट्टै ब्राण्ड तयार हुने रेवानका अध्यक्ष राजभण्डारीको अपेक्षा छ।
कोभिड–१९ ले भीडभाड हुने क्षेत्र रेस्टुरेन्ट र पार्टी प्यालेस बन्द भयो। यसपछि नयाँ अवसरको रुपमा गाडीबाटै खाना अर्डर गर्ने र लिने ‘ड्राइभ थ्रु’ व्यवसाय शुरु गरेको बालुवाटर किचन एक्सप्रेसका सञ्चालकमध्येका मुक्ति दाहाल बताउँछन्। उनी भन्छन्, “नयाँ क्षेत्र र घरघरमै पुर्याउने भएकाले यसप्रति ग्राहकको रुचि बढ्दै गएको छ।”
पछिल्लो समय सम्भावना देखाएको ई-कमर्शको दायरा फराकिलो हुँदै जाँदा डेलिभरी सेवा शहरी जीवनशैलीको हिस्सा बन्न थालिरहेको छ। अहिले अनलाइन व्यवसायले घरघरमा सेवा दिएर आम उपभोक्ताको आनीबानीमा भिज्दै गएकाले महामारीपछि पनि डेभिलरी व्यवसाय फस्टाउने नेप एक्सप्रेसका सञ्चालक संगम सिंह बताउँछन्। सिंह भन्छन्, “पाँच वर्षदेखि सामान्य कार्गो ढुवानी गर्दै आएका थियौं, अहिले भने अनलाइनको माध्यमबाट होटल तथा रेस्टुरेन्टको अर्डरसम्ममा जोडिएका छौं।”
सूचना–प्रविधिको रफ्तार
बन्दाबन्दी/निषेधाज्ञामा मानिसहरू सामाजिक दूरी कायम गरेर घरैमा बस्दा र अधिकांश काम/व्यवसाय इमेल–इन्टरनेटबाट हुन थाल्दा यो व्यवसाय पनि विस्तार भएको छ। इन्टरनेट सेवा प्रदायक १२५ वटा कम्पनी रहेकोमा बजारमा राम्रो उपस्थिति रहेका ४० कम्पनी छन्। बन्दाबन्दीपछि उनीहरूका प्रयोगकर्ता ३५ प्रतिशतसम्म बढेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार, बन्दाबन्दीपछि इन्टरनेटका ३ लाख ३८ हजार नयाँ ग्राहक थपिएका छन्।
टीभीको सेवा दिंदै आएको डिसहोमले बन्दाबन्दी शुरु हुनु एक महीनाअघि मात्रै इन्टरनेट सेवा शुरु गरेको थियो। अहिले काठमाडौंका कपन, चावहिल, जोरपाटी, पेप्सीकोला, बौद्ध लगायत २५ वटा क्षेत्रमा पुगिसकेको र १ हजार ५०० ग्राहक पु¥याइसकेको डिसहोम इन्टरनेटका महाप्रबन्धक रमेश सापकोटाले बताए। ६ महीनाभित्र ५० प्रतिशत र एक वर्षमा पूरै काठमाडौंमा डिसहोमको इन्टरनेट पुर्याउने गरी विस्तारको काम भइरहेको उनको भनाइ छ।
डिसहोमका काठमाडौंभित्रका ७ सय र देशभरका १० हजार डिलर मार्फत इन्टरनेट सेवा लिन सकिने व्यवस्था गरिएकाले महामारीको वेला पनि सेवा विस्तार सन्तोषजनक रहेको सापकोटा बताउँछन्। उनका अनुसार, बजारमा उपलब्ध इन्टरनेट सेवाको तुलनामा गुणस्तरीय र सस्तो दिइएको र डिसहोम टीभीका ग्राहकलाई केही सहुलियतको व्यवस्था गरिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल इन्टरनेटको क्षेत्रमा नयाँ सेवा प्रदायकलाई बजारको अभाव नभएको र भइरहेका व्यवसायलाई पनि दायरा बढाउन सहज भएको बताउँछन्। ‘‘महामारीले इन्टरनेट सेवामा सिर्जना गरेको अवसर अल्पकालीन नभएर दीर्घकालीन हो”, उनी भन्छन्, “नेपालमा प्रविधिको प्रयोग बढेकाले व्यवसाय विस्तार गर्ने अवसरको खोजीमा हुने सेवा प्रदायकको लागि उपयुक्त मौका बनेको छ।’’
“ऐन–कानूनको दायराभित्र रहेर हुने व्यवसायलाई समय परिस्थितिले दिने अवसर राम्रो हो। यसले असहज अवस्थामा बढ्ने मागलाई सम्बोधन गर्छ र व्यवसाय पनि हुन्छ।”
हवाई क्षेत्रमा पनि चार्टर्ड उडानले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने दुई वायुसेवालाई अवसर दियो। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सले यस्तो अवसर पाए। निगमलाई नयाँ–नयाँ गन्तव्यमा जाने अवसर मिल्यो भने नियमित उडान ठप्प भए पनि चार्टर्ड उडानकै कारण कर्मचारीलाई तलब खुवाउन सहज भयो।
बन्दाबन्दीपछि दैनिक पाँच–सात वटा चार्टर्ड उडान भइरहेको र महामारीकै बीच एकै दिन १७ वटासम्म चार्टर्ड उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यसलाई अवसर भन्दा पनि आवश्यकता मान्नुपर्ने प्राधिकरणको भनाइ छ।
आधुनिक अर्थतन्त्रको सिद्धान्त र बजारको मागलाई सम्बोधन गरेर हुने व्यापार–व्यवसायमा अवसर छोप्नुलाई सकारात्मक मान्नुपर्ने अर्थविद् डा. गोविन्द पोखरेल बताउँछन्। महामारीलाई कतिपय व्यक्तिले कमाउने धन्दा बनाएर अवैध काम गरेको पाइए पनि सेवा भावले तथा समय अनुसार स्वाभाविक रुपमा बढ्ने व्यापार–व्यवसायमा अवसर लिनु अर्थशास्त्रको सिद्धान्तभित्रै पर्ने उनको बुझाइ छ।
डा. पोखरेल भन्छन्, “ऐन–कानूनको दायराभित्र रहेर हुने व्यवसायलाई समय परिस्थितिले दिने अवसर राम्रो हो। यसले असहज अवस्थामा बढ्ने मागलाई सम्बोधन गर्छ र व्यवसाय पनि हुन्छ।”