शिक्षण विधि सुधार्ने अवसर हुनसक्छ महामारी
अधिकांश विद्यार्थीलाई अनलाइनको पहुँचमा ल्याउन पक्कै समय लाग्छ। महामारी त्यसका लागि अवसर हुनसक्छ। तत्कालै सय प्रतिशत लागू गर्नुपर्छ भन्ने सोच नराखी अग्रसर हुनु जरुरी छ।
सन् १८४० मा ब्रिटिश शिक्षाकर्मी सर इज्याक पिटम्यानले पत्राचारको माध्यमबाट पोस्टकार्डमा विद्यार्थीले बुझ्ने गरी निर्देशन र गृहकार्य पठाउँथे। विद्यार्थीले उक्त निर्देशन पढी गरेको कार्यलाई पत्राचारकै माध्यमबाट फिर्ता पठाउँथे। आधुनिक किसिमको दूरशिक्षाको थालनीको श्रेय उनैलाई जान्छ।
त्यसपछि विभिन्न समयमा विश्वका दूरशिक्षाका फरक विधि प्रयोगमा छन्। सन् १९२० र ३० को दशकमा रेडियोबाट दूरशिक्षाका कार्यक्रम चलाइए। ७०/८० को दशकमा टेलिभिजन, ८०/९० को दशकमा सीडी रोम, एलएमएस र १९९१ पछि इन्टरनेटको प्रयोगबाट दूरशिक्षा चलाइएको छ।
नयाँ–नयाँ सफ्टवेयर विकासले इन्टरनेटको प्रयोग सहज बनाएको छ। स्मार्टफोनको विकासले पनि दूरशिक्षालाई सहज र धेरैको पहुँचमा पुर्याएको छ। विभिन्न अध्ययन तथा अनुभवले अफलाइन र अनलाइनको मिश्रित मोडेल अर्थात ‘ब्लेन्डेड लर्निङ’ बढी सफल मानिन्छ।
अहिले कोभिड–१९ को संक्रमणले विश्वका अधिकांश देशमा कुनै न कुनै चरणको बन्दाबन्दी छ। विद्यालय, कलेजहरु सामान्य रुपमा फर्किन अझै लामो समय लाग्ने निश्चित जस्तै छ। बन्दाबन्दी खुकुलो भएका देशमा पनि विद्यार्थी नियमित कक्षाकोठामा जाने वातावरण छैन।
नेपालमा लगभग ७५ लाख विद्यार्थी करीब सात हजार संस्थागत र २८ हजार सामुदायिक विद्यालयमा भर्ना भएका छन्। एक दशकको तथ्याङ्कले हरेक वर्ष नौ लाखभन्दा बढी विद्यार्थी कक्षा १ मा भर्ना भएको देखाउँछ। ती विद्यार्थी माथिल्लो कक्षा उक्लिँदै जाँदा हरेक वर्ष ५० हजारका दरले हराउँछन्। एसईईसम्म पुग्दा चार लाख ५० हजार विद्यार्थी मात्र सहभागी हुन्छन्।
विद्यार्थी घट्ने क्रम माथिल्लो तहमा पनि जारी नै हुन्छ। कक्षा १२ मा दुई लाख ५० हजार मात्र हुन्छन्। कलेज तहमा पनि विद्यार्थी निरन्तर घट्छन्।
अहिले शहरी क्षेत्रका अधिकांश संस्थागत र केही सामुदायिक विद्यालयले अनलाइन कक्षा चलाइरहेका छन् । शिक्षा मन्त्रालयले पनि केही किताबका फोटोकपी, श्रव्यदृश्य लगायत टीभी तथा रेडियोमा प्रसारण गरिरहेको छ। कक्षा ६ माथिका विद्यार्थीका लागि यस्तो वैकल्पिक शिक्षा फलदायी छ। तर, यो पहुँच भएका विद्यार्थी र विद्यालयका लागि मात्र प्रयोग हुनसक्छ।
के हो असल शिक्षा ?
के पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका जानकारीलाई बुझेर वा घोकेर परीक्षामा उत्तर लेख्न सक्नु नै असल शिक्षा हो त? पक्कै होइन र शिक्षा प्रतिको यो संकुचित धारणामा हामीले आधारभूत परिवर्तन गर्नु पर्छ।
शिक्षाको दायरा धेरै फराकिलो छ। परीक्षा भन्दा पर पनि शिक्षाले वास्तविक जीवनमा उद्यमशील रहन सक्ने बनाउनुपर्छ। यसको लागि परीक्षा र पाठ्यक्रममा क्रमिक रुपमा परिवर्तन गर्दै जान सकिन्छ। विद्यार्थी जीवन रमाइलो र सिकाइउन्मुख हुनुपर्छ। बन्दाबन्दीमा मात्र नभई सामान्य अवस्थामा पनि यो प्रश्नको सान्दर्भिकता उत्तिनै छ।
शिक्षाको प्रक्रिया भनेको हरेक विद्यार्थीलाई फरकपन भएको व्यक्तिको रुपमा स्वीकार गर्नु हो। उसका भावनात्मक परिस्थिति र तात्विक क्षमता तथा आवश्यकतालाई बुझ्दै जबरजस्ती किताबका विवरणहरु थुपार्ने नभई सान्दर्भिक बनाउनुपर्छ। उसको उत्सुकतालाई गोडमेल र मलजल हुने क्रियाकलापका लागि वातावरण बनाउनुपर्छ।
अर्को प्रश्न पनि छः पहिले विद्यालय नियमित रुपमा गई ब्रिक एण्ड मोर्टार मोडेलमा त गर्न नसकिएको सर्वाङ्गीण विकास अब झन् अनलाइनमा सम्भव होला?
यसमा कुनै शंका छैन कि मुखामुख गरी भेटेर नै सिकाइ बढी प्रभावकारी हुन्छ। हरेक विद्यार्थीसँग सम्बन्ध स्थापित गर्दै, चिन्दै अघि बढ्न शिक्षकलाई अहिले गाह्रो छ। तर प्रयास गर्दा हुने उपायहरुको कमी भने छैन।
अनलाइन पहुँच र सम्भावना भएको ठाउँमा सिन्क्रोनस अर्थात तोकिएको समयमा कुनै भिडियो कन्फरेन्स गरेर कक्षाकोठाकै ढाँचामा छलफल, कक्षाकार्य, मूल्याङ्कन, परियोजना कार्य, प्रस्तुति, अभ्यास, पृष्ठपोषण गर्न सकिन्छ।
अरु वेलामा कम बोल्ने वा आफ्नो कुरा राखी नहाल्ने विद्यार्थीलाई पनि व्यक्तिगत च्याटको माध्यमबाट खुल्नका लागि सहयोग गर्न सकिन्छ। विद्यार्थीलाई बोल्न, प्रस्तुति दिन, लेख्न, फोटो र भिडियोको माध्यमबाट आप्mनो कामको प्रमाण रचनात्मक रुपमा प्रस्तुत गर्न लगाउँदा विद्यार्थीको सिकाइ प्रभावकारी हुन्छ।
शिक्षकको सीप र सामर्थ्य
धेरै शिक्षक पनि अनलाइनमा डिजिटल सामग्री प्रयोग गर्न सक्षम छैनन्। सीपको पनि अभाव छ। तर, एउटा व्यक्ति हिजोजस्तो थियो आज त्योभन्दा फरक हुन नसक्ने होइन। शिक्षामा लागेको व्यक्तिले आफूलाई समय अनुकूल बनाउनै पर्छ। यही प्रयासले केही विद्यालयले अनलाइन कक्षालाई प्रभावकारी बनाउन सकेका छन्।
यसमा सम्बन्धित विद्यालय, सरकारी निकायहरु र गैरसरकारी संस्था मार्फत शिक्षकको सीप र सामर्थ्य बढाउने कार्यक्रम गर्न सकिन्छ। निजी तथा सामुदायिक विद्यालयका शिक्षकको वास्तविक तथ्याङ्क तत्काल निकाल्न सकिन्छ।
विद्यालय निरीक्षकहरु, स्थानीय निकायका शिक्षा विभागहरु र शिक्षा मन्त्रालयको सक्रियतामा शिक्षकको तथ्याङ्क उपलब्ध हुनसक्छ। त्यसैले शिक्षकका आवश्यकता अनुसारका सामग्री उत्पादन र कार्यक्रम लागू गर्न सकिन्छ।
एउटा व्यक्ति हिजोजस्तो थियो आज त्योभन्दा फरक हुन नसक्ने होइन। शिक्षामा लागेको व्यक्तिले आफूलाई समय अनुकूल बनाउनै पर्छ। यही प्रयासले केही विद्यालयले अनलाइन कक्षालाई प्रभावकारी बनाउन सकेका छन्।
यसमा नयाँ माध्यममाथि विद्यार्थीको पहुँच र सामर्थ्य पनि जोडिन्छ। यस्तो पहुँच र सामर्थ्य बढाउँदै जानुपर्छ। महामारी यस्तो पहुँच र सामर्थ्य बढाउने एउटा अवसर बन्न सक्छ।
मेरी सात वर्षकी छोरी आफै उनको विद्यालयले पठाएको समयतालिका र आईडी तथा पासवर्ड हेरेर अनलाइन कक्षामा बस्छिन्। दिइएका भिडियो र अन्य सामग्री पढ्ने, तथा गृहकार्य गरी अपलोड गर्ने पुरानो स्मार्टफोनमा प्रायः आफै गर्छिन्। अहिले ‘अल्फा जेनेरेशन’ का बालबालिकाहरुलाई वातावरण दिन सके उनीहरुले धेरै राम्रो गर्न सक्छन्।
गाउँकै मानिसहरु पनि अहिले फेसबूक चलाइरहेका छन्। शहरमै बस्ने धेरैसँग स्मार्टफोन र इन्टरनेटको पहुँच छ। पहुँच नभएकाले सरकारले शिक्षाको प्रयोजनका लागि सहुलियतमा उपलब्ध गराउनुपर्छ। त्यसैले वैकल्पिक पढाइ विधि खोजी गर्न नसकिने अवस्था छैन।
यसका लागि स्थानीय सरकारले पहलकदमी लिनुपर्छ। स्थानीय सरकारले शिक्षा तथा विज्ञान प्रविधिको लागि अनिवार्य बजेट छुट्याउँछ। त्यसलाई अहिले नयाँ प्रविधिको खोज र प्रयोगमा लगाउन सकिन्छ। एक–दुई ठाउँबाट शुरु गरेर यसलाई बढाउँदै लग्न पनि सकिन्छ।
केही विद्यार्थी नेता, निर्णायक तहमा बसेका पदाधिकारी र कतिपय विद्यालयका प्रिन्सिपलहरु नै प्रविधि मार्फत सम्भावना खोज्न र सिक्न हतोत्साही छन्। असमानता पहिले पनि थियो, अहिले पनि छ र पछि पनि रहन्छ। बरु त्यसलाई कम गर्न विशिष्ट परिवेश अनुसार उपयुक्त नीति तथा कार्यक्रम बनाउनुपर्छ।
अनलाइनको पहुँचमा अधिकांश विद्यार्थीलाई ल्याउन पक्कै समय लाग्छ। तर, तल्लो निकाय र विद्यालयले माथ्लो निकाय ताक्ने अनि माथ्लो निकाय अलमलमा पर्ने भइरहे हामी अझ पछाडि पर्छौं।
अहिले पनि विद्यालयहरु अग्रसर भई सरकारले टेलिभिजन र रेडियोमा संचालन गरेका पाठलाई आधार मानी गृहकार्य दिने र भाइबर, मेसेन्जरको सहायताबाट पृष्ठपोषण दिन सकिन्छ। त्यसमा पहुँच नभए कतै टोलमा थोरै विद्यार्थी भेला गरेर पनि पृष्ठपोषण दिन सकिन्छ।
केही विद्यार्थी नेता, निर्णायक तहमा बसेका पदाधिकारी र कतिपय विद्यालयका प्रिन्सिपलहरु नै प्रविधि मार्फत सम्भावना खोज्न र सिक्न हतोत्साही छन्। असमानता पहिले पनि थियो, अहिले पनि छ र पछि पनि रहन्छ। बरु त्यसलाई कम गर्न विशिष्ट परिवेश अनुसार उपयुक्त नीति तथा कार्यक्रम बनाउनुपर्छ। तर, सय प्रतिशत समानता र सफलता सम्भव विषय होइन।
(लेखक वृहस्पति विद्या सदनका प्रिन्सिपल हुन्।)