डाइक्लोफेनेकको प्रतिबन्धपछि गिद्धको संख्यामा सुधार
पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधिमा प्रतिबन्ध लगाएपछि नेपालमा लोपोन्मुख गिद्धका दुई प्रजाति डंगर गिद्ध, सानो खैरो गिद्धको संख्या घट्ने क्रम रोकिएको छ।
नेपाल पक्षी संरक्षण संघले सन् २०१८ मा राजमार्ग क्षेत्रमा गरिएको सर्वेक्षणमा ११८ वटा डंगर गिद्ध पाइएका थिए। २०१२ मा गरिएको सर्वेक्षणमा भने ६३ वटा डंगर गिद्ध पाइएका थिए।
नेपाल पक्षी संरक्षण संघका कृष्ण भुसालका अनुसार, सन् २००२ देखि घटिरहेको डंगर गिद्धको संख्या २०१२ पछि बढ्न थालेको छ। पछिल्लो समय डंगर गिद्धको संख्या देशभरमा दुई हजार जति पुगेको अनुमान छ।
नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये चार प्रजातिका गिद्धलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले ‘अति संकटापन्न’ सूचीमा राखेको छ। अति संकटापन्न चार प्रजातिका गिद्धमा लामो ठुँडे गिद्ध, सुन गिद्ध, डंगर गिद्ध, सानो खैरो गिद्ध छन्।
नेपालमा पाइने हिमाली गिद्ध, हाडफोर गिद्ध, राज गिद्ध पनि संकटको नजिक मानिन्छन्।
सन् १९८० को दशकमा नेपालमा १६ लाखसम्म गिद्ध पाइएको तथ्यांक छ। तर, अहिले २० हजार भन्दा कम गिद्ध रहेको भुसाल बताउँछन्।
नेपाल लगायत दक्षिण एशियामै गिद्धको संख्यामा अप्रत्यासित ह्रास आएपछि सन् २००३ मा वैज्ञानिकहरूले गिद्धको संख्यामा कमि आउनुको कारण पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधि भएको पत्ता लगाएका थिए। त्यसपछि नेपाल सरकारले २३ जेठ २०६३ मा उक्त औषधिमाथि प्रतिबन्ध लगाएको थियो।
डाइक्लोफेनेक घरपालुवा पशुमा दुखेको र सुन्निएको निको पार्न प्रयोग गरिन्छ। डाइक्लोफेनेकले उपचार गरिएका पशु उपचारकै क्रममा वा ७ दिनभित्र मरेमा औषधिको विषाक्तपन पशुको सिनो खाने गिद्धको शरीरमा सर्दछ। यसले गिद्धको रगतमा यूरिक एसिडको मात्रा बढाउँछ र मिर्गाैलाले काम नगरेपछि गिद्ध मर्दछ।
गिद्धहरूले समूहमा एउटै सिनो खाने हुँदा डाइक्लोफेनेक प्रभावित एउटै सिनोबाट ठूलो संख्यामा गिद्धहरू मरेको पाइएको थियो। ३० एमएलको एक भायल डाइक्लोफेनेक प्रयोग गरिएका एउटै सिनोबाट ३५० देखि ८०० गिद्ध मरेको पाइएको भुसाल बताउँछन्।
नेपालमा मात्र होइन दक्षिण एशियाका भारत, पाकिस्तानमा समेत गिद्धको संख्या सन् १९९० को दशकदेखि नै घट्न थालेको हो।
गिद्धको संख्या बढ्नुको कारण डाइक्लोफेनेक औषधिमाथिको प्रतिबन्ध, वासस्थानमा सुधार, आहारको सहज उपलब्धता हो।
गिद्धको संख्या वृद्धि गर्न नेपालमा सरकारी तथा समुदायस्तरबाट समेत पहल शुरु भएका छन्। जस्तो कि, नवलपरासी, दाङ र रूपन्देही लगायतका स्थानमा गिद्धको आहारका लागि ‘भल्चर रेस्टुरेन्ट’ सञ्चालन गरिएको छ, जहाँ वृद्ध पशुहरूलाई लगेर राखिन्छ। र, प्राकृतिक रूपमै उनीहरूको मृत्यु भएपछि गिद्धलाई आहारको रूपमा खुवाइन्छ।
सरकारी प्रयासमा चितवनको कसरामा गिद्ध प्रजनन् केन्द्र पनि सञ्चालन गरिएको छ। जहाँ हुर्काइएका र जन्मिएका गिद्धलाई प्राकृतिक वासस्थानमा छोड्ने गरिन्छ।
सरकारले गिद्ध संरक्षणमा सन् २००९ मै कार्ययोजना पनि बनाएको छ। पहिलो कार्ययोजना २००९–२०१३ र दोस्रो कार्ययोजना २०१५ देखि २०१९ सम्म लागू गरिएको थियो।
गिद्धलाई प्राकृतिक कुचीकारको रूपमा लिइन्छ, जसले मरेका पशुहरूको सिनो खाएर प्रकृतिलाई स्वच्छ र सुन्दर राख्न मद्दत गर्दछन्। अध्ययन अनुसार, एउटा गिद्धले करीब ११ हजार अमेरिकी डलर मूल्य बराबरको सिनो सफाइमा योगदान दिन्छ। त्यसकारण पनि गिद्धलाई पर्यावरणीय चक्र र खाद्य शृंखला सन्तुलनको संवाहक भनिएको हो।
कास्की, लमजुङ, प्युठान, पाल्पा, रूपन्देही, परासी, नवलपुर, अर्घाखाँची, कपिलवस्तु, दाङ, रोल्पा प्युठान, सल्यान, अछाम, जाजरकोट, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरू गिद्धका वासस्थान हुन्।
गिद्ध संरक्षणका लागि नेपालको एक्लो प्रयासले मात्र नहुने भुसाल बताउँछन्। गिद्ध एक ठाउँबाट उडेर टाढासम्म पुग्ने हुनाले संरक्षणका लागि अन्तरदेशीय प्रयासले मात्र सम्भव हुने उनको भनाइ छ।
अहिले गिद्धको नियमित अनुगमनका लागि ढाडमा जडान गरिएका स्याटेलाइट उपकरणमार्फत जानकारी संकलन गर्ने गरिन्छ। उपकरणमार्फत प्राप्त जानकारीमा गिद्धले २५ हजार वर्ग किलोमिटर क्षेत्रमा विचरण गरेको पाइएको छ, नवलपरासीबाट गिद्धहरू भारत–पाकिस्तानको सीमा जम्मुु कश्मीरसम्म पुगेको रेकर्ड भएको छ।
नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये ६ प्रजातिका गिद्धले मात्र नेपालमा गुँड बनाई बच्चा कोरल्छन्। डंगर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्धले रूखमा गुँड बनाउँछन् भने हिमाली गिद्ध, हाडफोर गिद्ध र सेतो गिद्धले पहरामा गुँड बनाई बच्चा कोरल्ने गर्दछन्।