गिद्ध संरक्षणको नेपाली गाथा
धेरैलाई थाहा नहुनसक्छ, संसारमै गिद्ध संरक्षणमा नेपाल नमूना देश बनेको छ । संसारलाई संरक्षण सिकाउन नेपाल कसरी सम्भव भयो ? के के थिए त संरक्षण–सूत्र ?
चराहरूलाई प्रायः सुन्दर वा सुमधुर आवाजका लागि चिनिने गरिन्छ । तर गिद्ध भने अपवादमा पर्छ ।
पन्छीहरुमा गिद्ध मात्र यस्तो चरा हो जुन कतिपयलाई हिंस्रक र घिनलाग्दो लाग्दछ । सिनो र फोहोरको डङ्गुरमा देखिने यो चरालाई समाजमा फोहोरीका साथै अशुभ संकेतका रूपमा चित्रित गरिन्छ । गिद्ध यतिसम्म अपहेलित छ कि हामीमै आपसमा ‘गिद्धे’, ‘गिद्ध दृष्टि’, ‘गिद्ध संस्कृति’ जस्ता अपशब्द प्रचलनमा छन् ।
बजार र समीक्षकको नाम कमाएको चलचित्र 'लुट' मा काठमाडौंमाथि संवाद नै छ– ‘गिद्धै गिद्धको शहर’ ।
नेपालमा गिद्ध
नेपालमा हाडफोर, सेतो, डंगर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी ९ प्रजातिका गिद्ध पाइन्छ । ती गिद्धहरूमध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र लामो ठुँडे गिद्ध अति सङ्कटापन्न; सेतो गिद्ध सङ्कटापन्न, हिमाली र हाडफोर गिद्ध सङ्कटको नजिक र खैरो गिद्ध सामान्य अवस्थामा छन् ।
नेपालमा पाइने गिद्धहरूमध्ये ६ प्रजाति गिद्धहरूले मात्र गुँड बनाई बच्चा कोरल्छ । डंगर, सानो खैरो र सुन गिद्ध रूखमा गुँड बनाउने प्रजाति हुन् भने हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुँड बनाउने गर्छन् । अरू चरा प्रजाति जस्तै गिद्धको पनि भाले पोथी सजिलै छुट्याउन सकिन्न ।
गिद्धको जोडी आजीवन सँगै हुन्छन्, गुँड निर्माणदेखि बच्चा कोरल्ने अनि हुर्काउने काम सबै सँगैसँगै गर्छन् । नेपालमा गिद्धको घना वासस्थान पश्चिम नेपालको तराई र मध्यपहाडी वनमा रहेको पाइन्छ । गिद्ध धेरैजसो अग्लो, ठूलो सिमलको रूखमा बस्न रुचाउँछ ।
प्रकृतिमा हरेक जीवको आफ्नै महत्व हुन्छ, गिद्धको पनि आफ्नै धार्मिक, सांस्कृतिक र वातावरणीय महत्व रहेको छ । हिन्दू धर्म अनुसार गिद्धलाई शनि वाहनको रूपमा पुजिन्छ । रामायणमा रावणले सीतालाई हरण गर्दा अन्तिम साससम्म लडेको ‘जटायु’ एक गिद्ध नै थियो । मान्छे मरेपछि लाशलाई काटेर टुक्रा बनाई गिद्धलाई खुवाउने चलन हिमाली भेगका समुदायमा आज पनि प्रचलित छ । यो समुदायले गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्याउने दूतका रूपमा पुज्ने गर्छन् ।
वातावरण प्रदूषण, दुर्गन्ध र रोग मुक्त बनाउन गिद्धको भूमिका अहम् छ । गिद्धको अनुपस्थितिमा सिनो वातावरणमा यत्रतत्र छरिएर रहने भएकोले परिणामस्वरुप मानिसमा झाडापखाला, रेविज, प्लेग, हैजा, आउँ र पशु चौपायहरूमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता विभिन्न रोगहरूको संक्रमणले महामारीको रूप लिन सक्छ ।
एक अध्ययन अनुसार सिनो व्यवस्थापनको मूल्य तोक्ने हो भने एउटा गिद्धले करीब ११ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग पुर्याउने देखाउँछ ।
सन् १९९० को दशकमा नेपालमा करीब १० देखि १६ लाख गिद्ध रहेको अनुमान गरिन्छ । तर, त्यति धेरै गिद्ध एकाएक ९० प्रतिशतले घटेर २० हजार भन्दा कम संख्या आइपुग्यो । नेपाल पक्षी संरक्षण संघको सन् २००२ देखि २०११ सम्मको अध्ययनले डंगर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको देखाएको छ ।
मिर्गाैलामै प्रहार
नेपालसँगै पूरै भारतीय उपमहाद्वीपभरि नै गिद्ध तीव्र गतिले लोप हुने अवस्थामा पुगेको थियो । एकाएक गिद्धको संख्या कम हुनुको कारण खोज्दै जाँदा घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक रहेको पुष्टि भयो । यो औषधि घरपालुवा पशुहरूमा सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिन्थ्यो । यस्ता औषधि खुवाइएको पशुको सिनो खाँदा गिद्धको मिर्गौलामा असर गर्छ भन्ने पुष्टि भयो ।
डाइक्लोफेनेकको असर यतिसम्म डरलाग्दो देखिन्छ कि ३० मि.लि. को एक भाएल प्रयोग भएको सिनोले ३५०–८०० वटासम्म गिद्ध मरेको अध्ययनमा देखिन्छ ।
बाँकी विश्वमा गिद्धको अवस्था खस्किएर संरक्षणका कुनै पहल शुरु नै नभएका बेला नेपालमा भने यस्तो अभियान नै थालनी भइसकेको थियो । फलस्वरुप आज नेपालको गिद्ध संरक्षणका प्रयासहरू विश्वमै नमूनाको रूपमा लिइन्छ ।
गिद्ध संरक्षणमा नेपालले चालेको उदाहरणीय कदम धेरै छन् । पहिलो पटक गिद्ध संरक्षणको लागि सन् २००४ मा काठमाडौंमा आयोजित गिद्ध संरक्षण सम्बन्धी शिखर सम्मेलनमा डाइक्लोफेनेक प्रयोगमा रोक, लोपोन्मुख गिद्धका लागि प्रजनन् केन्द्र स्थापना र पुनर्स्थापनाका तीन मुख्य विषय पारित गरियो ।
नेपालका गिद्ध संरक्षणको लागि सन् २००६ दुई हिसाबले महत्वपूर्ण मानिन्छः पहिलो नेपाल सरकारबाट डाइक्लोफेनेक प्रयोगमा प्रतिबन्ध लगाइयो भने दोस्रो गिद्धलाई शुद्ध आहार उपलब्ध गराउन नवलपरासीमा विश्वमै पहिलो गिद्ध शुद्ध आहार केन्द्र स्थापना गरियो ।
समुदाय स्तरबाटै संचालन र व्यवस्थापन हुने यो आहार केन्द्र ‘जटायु रेस्टुरेन्ट (भल्चर रेष्टुरान्ट)’ नामले चिनिन्छ । नवलपरासीको सफलतासँगै यस्तो केन्द्र रूपन्देही, दाङ, कैलाली, कास्की र सुनसरीका ६ स्थानमा स्थापना भइसकेको छ ।
सन् २००८ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पन्छी संरक्षण संघको सहयोगमा चितवनको कसरामा ‘गिद्ध संरक्षण तथा प्रजनन केन्द्र’ संचालन गर्न सफल भयो । त्यही वर्ष गिद्धको दीर्घकालीन संरक्षणका लागि पहिलो पञ्चवर्षीय ‘गिद्ध संरक्षण कार्ययोजना २००९–२०१३’ स्वीकृत भयो । पञ्चवर्षीय कार्ययोजना अनुरुप नै, सन् २०१० मा सबै जिल्लाहरूलाई डाइक्लोफेनेक मुक्त घोषणा गर्ने अभियान दाङबाट शुरू भयो र त्यसपछि यो १० वर्षको अवधिमा अहिलेसम्म काठमाडौं उपत्यका बाहेक सबै ७४ जिल्लामा डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिसकेको छ ।
पहिलो गिद्ध संरक्षण कार्ययोजनाको कार्यान्वयनपछि दोस्रो पञ्चवर्षीय ‘गिद्ध संरक्षण कार्ययोजना २०१५–२०१९’ पनि सफलतापूर्वक सकिएको छ ।
अहिले नेपाल विश्वमै पहिलो गिद्ध सुरक्षित क्षेत्र स्थापित गर्ने सँघारमा छ । यसको अर्थ गिद्धहरूकै लागि सुरक्षित वासस्थान सहितका चरण विचरण क्षेत्र हो । यो क्षेत्र अन्य संरक्षित क्षेत्र जस्तै निश्चित सिमाना निर्धारित हुन्न । यो क्षेत्र लगभग १०० कि मि अर्ध व्यास (करीब ३० हजार वर्ग किमि) को वृत्तभित्र पर्दछ जसमा ५० प्रतिशत भित्री मुख्य क्षेत्र र ५० प्रतिशत बाहिरी मध्यवर्ती क्षेत्रका रूपमा रहनेछ । मुख्य क्षेत्रमा डाइक्लोफेनेकको मात्रा शून्य तथा मध्यवर्ती क्षेत्रमा १ प्रतिशत भन्दा कम हुनुपर्ने अवधारणा छ ।
गिद्ध सुरक्षित क्षेत्रमा यसको संख्या वृद्धि गर्न गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्केका डंगर गिद्धहरूमध्ये २०७४ सालमा ६, २०७५ मा १२ र २०७६ मा १३ वटा गरी जम्मा ३१ वटा गिद्ध प्राकृतिक वासस्थानमा छोडिएको छ । यसरी छाडिएका गिद्धमा ट्याग लगाई स्याटेलाइट उपकरण जडान गरिन्छ । यसका साथै थप ३० वटा जंगली डंगर गिद्धमा पनि ट्यागसहित स्याटेलाइट उपकरण जडान गरी नियमित अनुगमन भइरहेको छ ।
गिद्ध संरक्षणमा हासिल यी उपलब्धिको बावजूद पनि चुनौती बढिरहेका छन् । अहिलेको संरक्षणका धेरै कार्यक्रम विशेषगरी तराई भू–भागमा मात्र सीमित छ । यसलाई मध्यपहाडी तथा सम्भावित हिमाली क्षेत्रमा पनि विस्तार गर्न जरूरी देखिन्छ ।
अर्को चाहिं डाइक्लोफेनेकसहित निमुसलाइड, एसिक्लोफेनेक र किटोप्रोफिन जस्ता औषधि पनि गिद्धका लागि हानिकारक देखिन्छ । तसर्थ यी औषधिको अधिक प्रयोग रोक्न नियमित बजार अनुगमन आवश्यक छ ।
गिद्ध संरक्षणमा थप जोखिम भनेको नाशिंदै गएको यसको प्राकृतिक वासस्थान, आहारमा ह्रास र मानवनिर्मित विद्युतीय तारबार आदि हुन् । गिद्ध संरक्षणका लागि यी जोखिम बारे समयमै कदम चाल्न आवश्यक छ ।
गिद्धबारे सचेतना
विश्वमा सेप्टेम्बरको पहिलो शनिबार, तदनुसार आज २० भदौमा बाह्रौं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदैछ ।
नेपालमा गिद्ध संरक्षण समुदायको साथ र सक्रियतामा निर्भर छ । गिद्ध संरक्षणमा नेपाल अझै एक कदम अघि बढ्ने हो भने फेरि पनि समुदाय, सम्पूर्ण सरोकारवाला, केन्द्र, प्रदेश र स्थानीय सरकार, संरक्षित क्षेत्र, डिभिजनल वन कार्यालय, पशु विज्ञ केन्द्र र संरक्षणमा आधारित सबै गैरसरकारी संघसंस्थाहरूको सहकार्यको खाँचो छ ।
एकजुट भइ गिद्ध संरक्षण गरौं, गिद्धको वासस्थान संरक्षण गरौं । किनभने, गिद्धको संरक्षण भन्नु अन्ततः हामी मानव जातिकै संरक्षण हो ।
–देवान विश्व वन्यजन्तु कोष, नेपालसँग आबद्ध छन् ।