भारतीय अधिकारकर्मी प्रशान्त भूषणलाई अदालतको अवहेलना मुद्दामा आज सजाय सुनाइँदै
भारतको सर्वोच्च अदालतले त्यहाँका प्रसिद्ध अधिकारकर्मी प्रशान्त भूषणलाई अदालतको अवहेलनामा आज सजाय सुनाउँदै छ। भूषणले १३ र १५ असारमा लेखेका दुई वटा ट्वीटले अदालतको अवहेलना गरेको भन्दै चलेको मुद्दामा सर्वोच्च अदालतले भूषणलाई दोषी ठहर गरिसकेको छ।
३० साउनमा सर्वोच्च अदालतले १०८ पृष्ठको आदेश जारी गर्दै भूषणले अदालतको अवहेलना गरेको ठहर गरेको थियो। सर्वोच्चका अत्यन्त विवादित न्यायाधीश अरूण मिश्र नेतृत्वको इजलासले भूषणलाई दोषी ठहर गर्दै उनीमाथि कस्तो सजाय गर्ने भन्नेबारे भने आज, ४ भदौमा थप सुनुवाइ गरेर निर्णय दिने बताएको थियो।
आज दिउँसो भूषणमाथि हुनसक्ने सजायबारे इजलासले थप सुनुवाइ गर्नेछ। भारतको अदालतको अवहेलनासम्बन्धी कानून अनुसार यसमा दोषी पाइएमा ६ महीनासम्म कैद वा भारतीय रूपैयाँ दुई हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।
भूषणले आफूलाई अदालतको अवहेलनामा दोषी ठहर गरेको एक साताअघिको फैसला पुनरावलोकन गर्न निवेदन दिने बताएका छन्। त्यसका लागि उनीसँग ३० दिनको समय छ। बुधबार उनले सर्वोच्च अदालतमा आजको सुनुवाइ स्थगित गर्न माग गर्दै अर्को निवेदन दर्ता गराएका छन्।
उनले आफूलाई दोषी ठहर गर्ने फैसलाकै पुनरावलोकन गर्ने भएकाले सजाय निर्धारण प्रक्रिया रोक्न माग गरेका हुन्।