पार्टी निर्णय नमाने एकता बच्दैनः दाहाल
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कसैले पनि पार्टी एकतालाई भर्याङका रुपमा सोच्न नहुने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा दाहालले कसैलाई शक्तिशाली बनाउन मात्रै पार्टी एकता नभएको बताए।
“कसैले पार्टी एकतालाई भर्याङ बनाउनु हुँदैन। अब माथि आइहालियो यसलाई फालिदिऊ भनेर सोच्ने कि? पार्टी एकतालाई अझ सुदुढ बनाउने?”, दाहालले भने। उनले अहिले पनि आफू पार्टी एकतालाई बचाउने तर्फ लागिपरेको बताए।
त्यसका लागि सवैले पार्टी निर्णय मान्नुपर्ने बताए। अध्यक्षले नै पार्टी निर्णय नमाने एकता बच्न नसक्ने दाहालको भनाइ थियो। पार्टी एकता कमजोर बनाउन नै स्थायी कमिटी बैठक चलिरहँदा अर्का अध्यक्ष ओलीले नेकपा एमाले दर्ता गराउने पहल गरेको उनले बताए।
“बैठक चलिरहेको छ। अर्का अध्यक्षकै सक्रियतामा एमाले दर्ता भयो। पार्टीकै खास नेताहरु विरुद्ध देशभर मुर्दावादको नारा लगाइयो”, दाहालले भने। पार्टी निर्णय मान्दा नै सरकार र पार्टी प्रभावकारी हुने बताए। तर, पूर्व पार्टीले मान्दै आएको विचारधारालाई नारा लगाएर हिड्दा एकता बलियो नहुने उनको भनाइ थियो।
याे पनि पढ्नुहाेस्: ओली पनि ‘नोट अफ डिसेन्ट’ लेख्न तयार हुनुपर्छः माधव नेपाल
“स्थायी कमिटीकै नेता गएर जनताको बहुदलीय जनवादको ब्यानरमा कार्यक्रम गर्नुले एकतालाई बलियो बनाउँदैन”, उनले भने। एक्साइऔं शताब्दीको जनवाद र जनताको जनबादको उच्च मूल्याङ्कन गरिएकाले अहिले त्यसतर्फ भन्दा पनि जनताको जनवादतर्फ ध्यान दिनुपर्ने दाहालको भनाइ छ।
बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र पम्फा भुसाल उक्त कार्यक्रममा सहभागी थिए। दाहाल, खनाल, नेपाल र श्रेष्ठले नेकपाभित्र नेकपामा देखिएको विवाद पदका लागि नभएर पार्टी विधान कार्यान्वयन गराउन भएको बताए।
याे पनि पढ्नुहाेस्: फाउण्डेसनको नाममा अध्यक्षले नै गुट चलाएः खनाल