ओली पनि ‘नोट अफ डिसेन्ट’ लेख्न तयार हुनुपर्छः माधव नेपाल
नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्षले पनि अल्पमतमा पर्दा ‘नोट अफ डिसेन्ट’ लेख्न सक्नुपर्ने बताएका छन्। राजधानीमा आयोजित एक अनौपचारिक अन्तरक्रियामा नेता नेपालले पार्टी नेताहरुले आफ्नो कुराहरु मानेनन् भने अध्यक्षले पनि बहुमतको निर्णय मान्नुपर्ने बताए।
“मैले पनि धेरै पटक ‘नोट अफ डिसेन्ट’ लेखेर बहुमतको निर्णय मानेको छु। अध्यक्ष नै पनि अल्पमतमा परे बहुमतको निर्णय मान्नुपर्छ”, नेता नेपालले भने। पार्टी बिधानको धारा ६० ले बहुमतको निर्णय नै पार्टी निर्णय हुने उनले बताए। पार्टी एकता भन्दा अगाडि भएका घटनाका आधारमा नभई पार्टी विधानका आधारमा नेकपा चल्ने नेपालले बताए।
“३ जेठ २०७५ मा पार्टी एकता हुँदा भएका सहमति र विधानका आधारमा नेकपा चल्छ। त्यो अगाडिको एमाले र माओवादीको विधानका आधारमा होइन”, उनले भने। अहिले कसैले पनि एकता विरोधी गतिविधि गर्न नहुने नेता नेपालको भनाइ छ। प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीले गर्ने निर्णय मान्नुपर्ने उनले बताए।
नेकपाकाे सरकार र पार्टी दुवै अहिले विधानअनुसार नचलेको उनको आरोप छ। “समाजवादको आधार तयार पार्ने भनेर हामीले भनेका छौं। तर, पार्टी र सरकारका गतिविधि त्यतातिर देखिदैन”, उनले भने। नेकपाभित्र अहिले देखिएको विवाद पदका लागि नभएर पद्धतिका लागि भएको नेता नेपालको भनाइ छ।
तर, प्रधानमन्त्री ओलीमा ‘म नै राज्य, म नै पार्टी’ भन्ने प्रवृत्ति देखिएकाले समस्या उत्पन्न भएको नेता नेपालले बताए।