फाउण्डेसनको नाममा अध्यक्षले नै गुट चलाएः खनाल
नेकपाका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेसनको नाममा गुट चलाएको आरोप लगाएका छन्। राजधानीमा आयोजित एक अनौपचारिक कार्यक्रममा नेता खनालले पार्टी अध्यक्षले नै फाउण्डेसनको नाममा गुट चलाइरहेको बताए।
नेता खनालले भने, “फाउण्डेसन तलैसम्म सक्रिय बनाइएको छ। आफ्ना गुटका नेताहरु परिचालन गरिएको छ। यसैलाई अर्को पार्टी बनाउन खोजिदैछ।” खनालले पार्टी निर्णय नमान्ने अनि गुटलाई नै पार्टी सम्झने प्रवृत्तिले समस्या देखिएको बताए।
उनले प्रधानमन्त्री ओलीले एमालेमा हुँदा पनि गुट नै चलाएर नेता बनेको बताए। अहिले नेकपाकै अध्यक्ष हुँदा पनि पुरानै शैली कायम देखिएको उनको भनाइ थियो। ओलीले अध्यक्ष र प्रधानमन्त्रीका रुपमा प्रभावकारी काम गर्न नसकेको नेता खनालले बताए।
“पार्टी एकता अगाडि बढ्न सकेको छैन। सरकारले पार्टी विधानअनुसार काम गर्न सकेको छैन” खनालले भने, “तीन वर्षको बजेट आउँदा पनि पूँजीवादलाई प्रश्रय दिनेगरी बजेट आएको छ। दलालहरुको घेराबन्दीमा सरकार परेको छ।”
राजनीतिक नियुक्तिहरुमा समेत ओलीले आफ्नो गुटलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो। “एमालेका तर्फबाट मन्त्री बन्दा होओस् अथवा मन्त्रिपरिषद पुनर्गठन गर्दा आफ्नो वरिपरिकालाई मात्रै अवसर दिइएको छ”, नेता खनालले भने।
एउटा व्यक्तिले लिएको निर्णयलाई नै बाँकी सबै नेताले अपनत्व लिनुपर्ने अवस्था आएको समेत खनालले बताए।