सावधान नेपाल ! यो सुरक्षा सतर्कता घटाउने समय होइन
अन्य धेरै शहरहरुजस्तै काठमाडौंले पनि कोरोना भाइरससँगको संघर्ष गरिरहेको छ । सामान्य स्थितिमा फर्किनु सबैलाई हतारो छ । तर, कोरोना संक्रमणका घटना बढिरहेको छन् । अमेरिकाको अनुभवमा यो निकै जोखिमपूर्ण समय हो ।
अमेरिकाको बीचमा मिसौरी राज्यमा पर्ने जोप्लिन शहर छ ।
ग्रीफ विटले गएकाे मार्चमा वासिंगटन पोष्टमा लेखेको आलेखमा वर्णन गरिएझैं ५० हजार जनसंख्या भएको जोप्लिनमा कोरोनाका केही केसमात्र देखिएका थिए ।
तर अचानक शहरले एउटा ठूलो कोरोना आँधीबेहरीको सामना गर्यो । अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचार गर्ने विशेष कक्षहरु स्थापना गरे ।
तिनीहरुले तत्कालै गर्नु नपर्ने खालका शल्यक्रियाहरु स्थगन गरे । स्वास्थ्यकर्मीहरुले पनि समस्याले जेलिएको बताए ।
अप्रिलको सुरुवातमा मिसौरीको सरकारले राज्यभरिका स्कूल र व्यवसायहरु बन्द गरिदियो र विभिन्न कार्यक्रम बैठकहरु गर्न पनि प्रतिबन्ध लगाइदियो । जोप्लिनका वासिन्दाहरुले घरमै बस्नुपर्यो ।
त्यसपछि धेरै कम भयो । संक्रमणका केस पनि घटे । अस्पतालमा बिरामीको चाप पनि देखिएन । वास्तवमा त्यो निकै राम्रो खबर थियो । घरैमा बस्ने आदेश र अन्य रोकथामका उपायले काम गरेको थियो ।
मानिसहरुले भने यसलाई गलत ढंगले बुझे र गलत निष्कर्ष निकाले । उनीहरुलाई सबैखालका स्वास्थ्य चेतावनीहरु बढाइचढाइ गरिएका हुन् भन्ने लाग्यो । एक जना पर्यवेक्षकले त ‘अतिरञ्जित गरिएको’ सम्म भने ।
वासिंगटन पोष्टले समेत महामारी ‘वास्तविकताभन्दा अधिक भ्रम’ भनेरै रिपोर्ट गर्यो ।
जोप्लिन आँधिबेहरीको सामना गर्नबाट बच्यो भने झैं देखियो । जोप्लिनका दुई अस्पताल मध्ये एकका निर्देशक डा. रोब म्याकनाबलाई उद्धृत गर्दै “छाल आएर गए जस्तै लाग्यो, यो गइसक्यो” भनेर हामीलाई भनियो । म्याकनाबले उनको अस्पतालमा बनाइएको कोभिड उपचारका लागि बनाइएको विशेष एकाई बन्द गर्ने विचार गर्न थाले ।
४ मे मा एक महिना लामो बन्दाबन्दीपछि मिसौरीका गभर्नरले राज्य पुनः खोले । वासिन्दाहरुले सामान्य अवस्थाकै जस्तो गरी जीवन निर्वाह गर्न थाले । व्यवसायहरु खुला भए । मानिसहरु बार र रेष्टुराँहरुमा आउन थाले ।
“जोप्लिन जीवन्त हुन थाल्यो,” विटले लेखे– “सामान्य गतिविधि फेरि हुन थाले । तर विडम्बना ! “भाइरस गएको थिएन ।”
याे पनि पढ्नुहाेस्– बिफर महामारीले हल्लाएको काठमाडौंको सत्ता
केही हप्ताको मौनता पछि जुनमा कोरोना भाइरस संक्रमितका नयाँ घटनाहरु बढे । एउटा कारखानामा अचानक लगभग ४०० वटा केस देखिए । वृद्धाश्रम नराम्रोसँग प्रभावित भयो । समुदाय स्तरमा व्यापकरुपले प्रशारण हुन थाल्यो ।
मानिसहरुले चालै नपाइ यो रोग फैलियो । धेरै मानिसमा केही लक्षण हुँदैनन् । केहीमा त कहिल्यै हुँदैनन् तर उनीहरुले रोग भने सार्न सक्छन् । यही कारणले कोभिड यति 'ट्रिकी' र खतरनाक भएको हो ।
जोप्लिनका अस्पतालहरु अब भरिन लागे । नयाँ केसहरु पहिलेको भन्दा साह्रै छिटो देखिन थाले । केही हप्ता भित्रै जोप्लिनमा संक्रमितहरुको संख्या ६० बाट १२०० जना पुग्यो । अब यो शहर अमेरिकाको सबैभन्दा द्रुत गतिमा संक्रमण वृद्धि भइरहेको ‘हटस्पट’ क्षेत्र हो ।
फ्रिम्यान अस्पतालमा बनाइएको कोरोना इकाइको आकार तीन गुणाले वृद्धि गरियो । पानीको समेत व्यवस्था गरिनसकी ती कक्षहरुमा जतिसक्दो चाँडो मानिसहरुलाई राख्न थालियो।
डा. म्याकनाब भन्छन्, “हामी समुदायको आवश्यकता पूरा गर्न नसकिने स्थितिमा कहिल्यै पुगेका थिएनौं ।”
भाइरस नियन्त्रणमा लिन कति गाह्रो छ भनेर जोप्लिनले देखाउँछ । मानिसहरु थकित भए ।
पोष्टका अनुसार “जोप्लिनका वासिन्दाहरु धेरै समयअघि सिद्धान्तमा भएजस्तो लाग्ने एउटा शत्रुको सामना गर्न बलिदान दिन नसक्ने गरी थाके झैं भए ।”
जोप्लिनको स्वास्थ्य स्थिति मार्चको तुलनामा साह्रै खराब छ तर त्यहाँका वासिन्दा महामारीसँग लड्न कम प्रयास गरिरहेका छन् । केस संख्या निकै धेरै छ तर शहर खुला छ । मानिसहरु कम सतर्क छन्, सावधान पनि छैनन् । एकजना स्थानीय नेता भन्छन्, “मानिसहरु स्तब्ध छन् ।”
मानिसहरु थाकेका हुनसक्छन् तर भाइरस थाक्दैन ।
अन्य अमेरिकी शहर र राज्यहरु कोभिड-१९ भए पनि आर्थिक समस्यामा ध्यान दिनु आवश्यक छ भन्दै छिटै खोलिएको थियो तर ति शहरले झन् ठूलो स्वास्थ्य र आर्थिक संकट सामना गर्नु परिरहेको छ ।
राज्यका स्थानीय अधिकारीहरुले संक्रमण फैलिरहेको बारे कडा चेतावनी जारी गरेका छन् । अघिल्लो हप्ता वासिंगटन पोष्टकाे रिपोर्टमा “भाइरस तीव्रगतिमा फैलिरहेकाले फेरि संक्रमण दर बढ्न सक्छ” भनिएको छ ।
यो पनि पढ्नुस्– देवीको अवतार मानिन्थ्यो बिफर
टेक्सास छिटै खुल्यो, त्यसले अहिले गहिरो स्वास्थ्य संकट सामना गरिरहेको छ । यो कार्यले फेरि खोल्न हतार नगर्न र त्यसो गर्नबाट पछि हट्न बाध्य बनाइदिएको छ ।
खोल्न लागिएका व्यवसाय पुनः एक पटक बन्द भएका छन् । भाइरससँग डराएका ग्राहक घरमै बसिरहेका छन् । ह्युस्टन जस्ता शहर छेउछाउ बस्ने थुप्रै नेपालीहरुले गम्भीर खतराको सामना गरिरहेका छन् ।
यद्यपि यो वसन्त ऋतुभन्दा अघि लकडाउनले उपलब्ध गराएको अतिरिक्त समयमा थप तयारी गर्नुपर्ने थियो तर त्यो त्यत्तिकै खेर गयो ।
यी स्थानहरुमा व्यवसाय र रोजगारीहरुको रक्षा गर्न सकिँदैन झैं प्रतीत भइरहेको छ । वास्तवमा यसले गहिरो र दीर्घकालीन आर्थिक समस्या निम्त्याउँछ । रोगी जनसंख्याले अर्थव्यवस्था पनि रोगी नै बनाउँछ।
विशेष गरी युवा तथा वयस्कहरु निराश भएका छन् । धेरैजना बार, समुद्रतट र भोजहरुमा गइरहेका छन् । कोही चाहिँ आफैं यो रोगको शिकार हुन्छन् र अरुलाई पनि सार्छन् ।
युरोपेली देश जसले फेरि खोल्न हतार गरेनन्, उनीहरु भने अब सुरक्षित तवरले व्यवसाय, रेस्टुरेन्ट, स्कूल खोल्न र खेल आयोजना गर्न सक्ने भएका छन् । उनीहरुले रोग आफ्नो पछिपछि नै छ भनेर पहिले त्यसैलाई ठीक गरे ।
अमेरिकामा भने संक्रमणको दर बढिरहेको छ अझै घटेको छैन । प्रत्येक दिन हामी रोक्न सकिने मृत्युका दुःखद् र पीडादायी कथाहरु पढिरहेका छौं ।
सामाजिक दुरी कायम नगरेकाले बिरामी भएकी एक ७२ वर्षीय महिला ह्युस्टन, टेक्सासको सघन उपचार कक्षमा उपचार गराइरहेकी छन् । राज्य फेरि खुलेपछि भने नातिनीको जन्मदिनको भोजमा पुगेकी थिइन् । त्यहाँ ८ जना मात्र थिए तर एकजनाले कोरोना ल्याएका रहेछन् ।
(रबर्टसन काठमाडौं उपत्यकाको वातावरणीय इतिहाससम्बन्धमा अनुसन्धान गरिरहेका छन् ।)
याे पनि हेर्नुहाेस्– बिफरको महामारीः देवी खुशी पार्न चक्कुले घाउ पारिन्थ्यो
१०० वर्ष पुरानो महामारीकाे सम्झना