देवीको अवतार मानिन्थ्यो बिफर
दक्षिणएशियामा बिफर पहिलो पटक सातौं शताब्दीमा देखिएको थियो । यो भाइरस यस उपमहाद्वीपमा सम्भवतः एक शताब्दी अघिदेखि नै फैलिएको थियो ।
१९औं शताब्दीको उत्तरार्द्धतिर भारतमा बिफरले एक वर्षभित्र एक लाखभन्दा बढी मानिस मारेको थियो । महामारी आएका वर्षहरूमा त्योभन्दा बढी पनि मारिए । उत्तर भारतका केही भागका मानिसहरू मात्र यसबाट उम्किएका थिए ।
नेपालमा सामान्यतः बिफर वसन्त ऋतुमा फैलिन्थ्यो । सन् १९७७ को डब्लुएचओको रिपोर्ट नोट अनुसार ‘अप्रिल र मे महीनामा बिफरले उग्र रूप लिएको थियो र त्यसपछि मनसुनका कारण सापेक्षित आर्द्रता बढेको हुँदा मानिसहरूको आवागमनमा बाधा पुग्यो र तीव्रतापूर्वक फैलिने क्रम रोकियो ।’
बिफरले प्राय बालबालिका र यस रोगले पहिले नछोएका वृद्धहरूलाई आक्रमण गर्यो । इतिहासकार डेभिड अर्नोल्ड भन्छन्, “भारतका अधिकांश भागमा बिफर हरेक पाँचदेखि सात वर्षभित्र एक पटक महामारीका रूपमा फैलिने गरेको थियो । यसबाट पीडित हुनेहरू मूलतः पछिल्लो महामारीपछि जन्मिएका बच्चाहरू थिए ।”
सर सै्ययद अहमद खान भन्छन्, “बिफर अपरिहार्य पुल हो जुन प्रत्येक बालबालिकाले जीवनमा प्रवेश गर्नुअघि पार गर्नुपर्छ ।” उनले 'यो रोग लागेर निको हुनुलाई पुनर्जन्म भएको मानिन्थ्यो’ भनेर उल्लेख गरेका छन् ।
सन् १८६० को दशकमा एक जना बेलायती कृषिविद्ले कृषक र सम्पन्न वर्गहरूका बीचमा एउटा आहान नै बनेको उल्लेख गरेका छन् । उनी भन्छन्, “बालबालिकालाई परिवारको स्थायी सदस्यका रूपमा बिफरले नभेटुन्जेल गणना गर्नुहुँदैन ।”
भाइरस लागेको दुई हप्तासम्म पनि केही लक्षण देखिंदैनथे । संक्रमित भएकाहरू पनि केही नभए जस्तो देखिन्थे । केही त रोग बोकेरै यात्रा पनि गर्दथे तर उनीहरूले त्यसवेलासम्म रोग सार्दैनथे ।
दुई हप्तापछि भने बिफरका डरलाग्दा लक्षण देखिन्थे । जस्तै सबैभन्दा पहिले धेरै ज्वरो आउने, टाउको फुट्ला झैं गरी दुख्ने, शरीर दुख्ने र बान्ता हुने आदि । प्रायः बालबालिकालाई ऐंठन हुन्थ्यो वा काम्ने गर्थे ।
केही दिनपछि बिरामीले एक–दुई दिनका लागि सुधार भएको जस्तो महसूस गर्थे । कतिसम्म भने उनीहरु सामान्य दैनिकीमा समेत फर्कन्थे । यस विन्दुबाट भने बिरामीले यो सरुवा रोग अरूलाई सार्ने जोखिम रहन्थ्यो । त्यसपछि पहिले जिब्रोमा र चाँडै शरीरभरि राता बिमिरा देखिन्थे । यी बिमिरा हत्केला र पैतालामा समेत आउंन सक्थ्यो र यो साह्रै कष्टदायक हुन्थ्यो ।
पाँचौं दिनसम्ममा फोका उठेर पिप जम्मा हुँदै बढ्दै जान्थ्यो । त्यो फोका उठेको ठाउँमा नीलो दाग देखिन्थ्यो । ज्वरो बढ्दै जान्थ्यो, आँखीभौं, ओठ र नाक सुनिन्थे । बिमारीलाई निल्न गाह्रो हुन्थ्यो । बिरामी सिकिस्त हुन्थे । आँखामा पनि घाउ देखा पर्थ्याे । विस्तारै बिरामीलाई चिन्नै गाह्रो हुने अवस्था आउँथ्यो । दुर्गन्ध पनि त्यत्तिकै आउँथ्यो ।
दुई हप्तापछि घाउमा पाप्रा बस्दथ्यो । इतिहासकार फेन लेख्छन्, “त्यसले शरीरको अधिकांश भाग ढाक्थ्यो ।” हलचल गर्नै कठिन हुन्थ्यो र दुखाइ असह्य हुन्थ्यो । असाध्य चिलाउन पनि सक्थ्यो । यही बाटाबाट मृत्यु आइपुग्थ्यो ।
यो रोगले फोक्सो, मुटु र कलेजोलाई छियाछिया बनाउँथ्यो । फेन लेख्छन्, “बिफरले आफ्ना मानव पाहुनालाई आगोले इन्धन खाएझैं गरी खाइदिन्थ्यो ।”
नेपाल र उत्तर भारतको धेरैजसो भागमा मानिसहरूले बिफरलाई देवी शीतलाले दर्शन दिएको भन्ने मान्थे । रोगका बारेमा यो बुझाइ स्वयंमा एउटा उपाय थियो । इतिहासकार अर्नोल्ड लेख्छन्, “बिफरलाई रोग भन्दा पनि देवीको एउटा अवतारका रूपमा बुझिएको थियो । हनहनी ज्वरो र पीपले भरिएको फोका देखिनु भनेको देवीले दर्शन दिएको संकेत हो र यसको चिकित्सकीय उपचार गराउनु भन्दा पूजाआजा गराउनुपर्छ भन्ने ठान्दथे ।”
पीडितहरूले आदर र सम्मान सहित शीतलादेवीको प्रार्थना गर्थे । १९औं शताब्दीमा नेवारी समुदायले गीत नै बनाएका थिए– “हे माता शीतला हामीलाई कष्ट नदेऊ, सारा मानवको उद्धार गर, हामी देवीसँग हजारौं वन्दना गर्दछौं ।”
शीतलादेवीको प्रार्थना गर्नुका साथै नेपाली सहित केही दक्षिण एशियालीहरूले यस रोगबाट मुक्ति पाउन इनोकुलेसनको उपयोग गरे । उनीहरू जानीजानी केटाकेटीलाई (न्यून मात्रामा) बिफर सारिदिएर मृत्यु नहोस् भन्ने कामना गर्दथे । त्यसो गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास भएर एक पटक ठीक भयो भने जीवनभरि त्यसले भेट्दैनथ्यो ।
इनोकुलेसनले जोखिम मोलेको थियो र १७९० को दशकमा एडवर्ड जेनरले काउपक्सबाट विकास गरेको खोपले जस्तो काम पनि गरेको थिएन ।
विशेष गरी १९औं शताब्दीको मध्यतिर यसमा सुधार गरिएको थियो । इनोकुलेसनले धेरै मानिसको मृत्यु हुनबाट बचाएको थियो । बिफरले भेटेका तीन जनामध्ये एक जनालाई मारेको थियो ।
याे पनि हेर्नुहाेस्– १०० वर्ष पुरानो महामारीकाे सम्झना
सन् १८०२ को शुरूआतमा र १९औं शताब्दीको अधिकांश समयसम्म अंग्रेजहरूले जेनरद्वारा विकसित खोप आफ्नो भारतीय उपनिवेशमा ल्याउने प्रयत्न गरे । तर उनीहरूले धेरै अवरोधहरू कति त आफैंले सिर्जना गरिएका पनि सामना गर्नुपर्यो । त्यसैले सामान्य खोपका रूपमा स्वीकार्य हुन २०औं शताब्दीको शुरूसम्म कुर्नुपर्यो ।
आखिर के भयो त ? शुरूआतकर्ताहरूका लागि सन् १८५० को दशकसम्म विशेषगरी भारतको गर्मीमा बेलायती खोप उनीहरूले सोचे जति प्रभावकारी भएन । खोप दिन व्यक्तिलाई नै सम्पर्क गर्नुपर्ने हुन्थ्यो । खोपमा बेलायतीहरूले तिर्न चाहेको भन्दा पनि बढी खर्च भयो । त्यसैले उनीहरूले स्वास्थ्य र शिक्षाका लागि आवश्यक पूर्वाधार निर्माण गरेनन् ।
यसका अतिरिक्त शीतलामाईप्रतिको विश्वास र सांस्कृतिक भिन्नतालाई थाती राखेर अघि बढ्नुपर्नेमा अंग्रेजहरूले हस्तक्षेप गर्न थाले । यो स्थानीयलाई सह्य भएन त्यसैले मानिसले खोपको विरोध गरे । अर्नोल्ड भन्छन्, “केही हिन्दूहरूले रोग (बिफर) लाग्न नदिनु वा उपचारको कुनै विकल्प प्रयोग गर्नु भनेको अधर्मी हुनु हो भन्ने ठान्दथे । शीतला (बिफरले भेटेका) आएका बालबालिकालाई उपचार गर्दा देवीलाई जिस्क्याए जस्तो हुने भएकाले उनीहरू झन् जोखिममा पार्ने संभावना रहेको ठान्दथे ।”
अन्त्यमा उनी जोड दिंदै भन्छन्, “सबभन्दा ठूलो समस्या के थियो भने भारतमा रहेको ब्रिटिश प्रशासन र चिकित्सा प्रणाली भारतीय जीवनशैलीभन्दा सांस्कृतिक तथा राजनीतिक रूपले धेरै टाढा थिए ।”
२०औं शताब्दीको शुरू सम्ममा अंग्रेजहरूले खोप र दिने तरिकामा सुधार गरिसकेका थिए । उनीहरूले खोप लिंदाका फाइदाहरू के के हुन्छन् भनेर बुझाउने राम्रो काम गरे जसका कारण उनीहरूले सफलता पाउन थाले । उदाहरणका लागि सन् १९३५ को दशकपछि मद्रासमा मात्रै प्रत्येक वर्ष करीब ४३ लाख (४.३ मिलियन) मानिस अर्थात् जनसंख्याको लगभग १० प्रतिशतले खोप लगाए ।
भारतमा जस्तै नेपालमा पनि बिफर भाइरसले समय समयमा हाहाकार मच्चायो र साह्रै कष्ट दियो । यसैले गर्दा कति मानिस मारिए, धेरैलाई कुरुप बनायो, कति त अन्धा नै भए । यसले १९औं शताब्दीमा धेरै पटक नेपालका शाही परिवार र समाजका सबै वर्गलाई प्रभावित बनायो ।
अनुवादः टी एन घिमिरे