‘यति चाँडै एक्लो हुँला भन्ने थिएन’
सेतो धोतीमाथि सेतै मजेत्रो । जरक्क कपाल, फुङ्ग अनुहार । १८ वर्षीया सुनिता सुनार दुई वर्षीया छोरी काखमा च्यापेर श्रीमान् टीकाराम सुनारको बरखी बारिरहेकी छन्।
छोरीले ‘बाबा खै ?’ भनेर सोध्ने प्रश्नको जवाफ उनीसँग छैन । उनी छुट्याउन सकिरहेकी छैनन्, आफ्नो जीवन महत्वपूर्ण हो वा काखको नानी । १४ वर्षमै भागेर विवाह गरेकी सुनितालाई जीवन एकाएक सकिए झैं लागेको छ।
रुकुमको सोतीगाउँमा मारिएका ६ युवामध्ये टीकाराम सुनार (२०) र सञ्जु विक (२१) विवाहित थिए । साथी नवराज विकको पनि जोडी बाँधिएको हेर्न चाहन्थे, त्यसैले उनीसँगै ‘प्रेमिका’ भगाउने योजनामा सहभागी भए।
तर, साथीको विवाहमा रमाउन हिंडेका यी दुई पनि अन्य चारसँगै भेरी नदी किनारमा मृत भेटिए । जातीय अहंकारको जाँतोमा पिसिएका उनीहरुको हत्यासँगै दुई किशोरीले कलिलैमा आफ्ना जीवनसाथी गुमाए।
यो पनि पढ्नुहोस्— चौरजहारी घटना: तीन वर्षदेखिको प्रेम, तीन मारिए, तीन बेपत्ता
घटना भएको दोस्रो दिन ११ जेठमा घटनास्थलदेखि २२ किलोमिटर पर भेरी नदीको किनारमा चोटैचोटले विक्षिप्त श्रीमानकाे शव देखेर बेहोश भएकी उनी अझै कतिखेर होश गुम्छ भन्ने पत्तो पाउँदिनन्।
रुकुमको चौरजहारीस्थित मटेला हो सुनिताको माइत पनि । माइती भेट्न मनलाग्दा सधैं अघि लाग्थे टीकाराम । घटनाको एक हप्ता अघि पनि उनी त्यसैगरी सुनिताको ससुराली गएका थिए। श्रीमती र छोरीसँग एक हप्ता ससुरालीमा बसेका टीकाराम भोलिपल्ट घर फर्किने तरखरमा थिए । तर, फर्कदा उनी आएनन्, लाश मात्र आयो।
‘चौरजहारीमा झगडा भएको’ र ‘टीकाराम पनि त्यही समूहमा छन्’ भनेको सुन्दा तर्सिएकी सुनिता त्यही रात ‘भेरीमा नवराजको शव भेटियो’ भन्ने सुनेपछि अर्धचेत भइसकेकी थिइन्।
“छोरी लिएर पुलिसलाई सोध्न गएँ, राति नवराजको शव भेरीमा भेटियो भन्ने खबर आयो । मलाई नवराज मरेपछि त उहाँ पनि रहनुभएन भन्ने लाग्यो” उनी सुनाउँछिन्, “नभन्दै भेरीमा अर्को शव भेटियो भन्ने खबर आयो । मेरो भन्नु कोही रहेन जस्तो लाग्यो।”
सुनिताले हेर्दा टीकारामको शरीरभरि आलो घाउ, टाउको र अनुहारमा आँसीले काटेको गहिरो खत थियो । नाक, कान र मुखबाट रगत आइरहेको थियो । जीवनमा अन्तिम पटक देखेको श्रीमानकाे शरीर थियो त्यो । “कसरी बिर्सनु त्यो शरीर ?”, उनी भन्छिन्।
काखकी छोरीलाई हुर्काएर आफू पनि पढ्ने धोको थियो उनको । “आमा, बुवाले माया गर्नुहुन्छ तर घरको अवस्था नाजुक छ । म एक्लै केही गर्न सक्दिनँ”, भविष्य सम्झेर उनी आत्तिन्छिन्।
यो पनि पढ्नुहोस्— रुकुम घटनाबारे छानबिनका लागि संसदीय समिति बनाउन सांसदहरुको माग
मजदूरी गरेर बिहान–बेलुका हातमुख जोर्ने अन्नपात जोहो गर्ने बुवालाई मोबाइल पसल खोलेर सघाउने सपना थियो टीकारामको। त्यसैभित्र थियो, छोरीलाई प्राविधिक शिक्षा पढाउने र सुनितालाई उच्च शिक्षा अध्ययन गराउने सपना । सुनिता अहिले कक्षा ११ मा पढिरहेकी थिइन्।
“यति छिट्टै एक्लिनुपर्छ भन्ने कहिल्यै सोचेकी थिइनँ” उनी भन्छिन्।
यो पनि पढ्नुहोस्— रुकुम घटना अनुसन्धान गर्न गठित संसदीय समितिद्वारा सभामुखसँग छलफल
सञ्जु विककी श्रीमती हुन्, सविना । बल्ल २० वर्ष पुगिन् । कानून अनुसार यो विवाह गर्ने उमेर पनि होइन । तर, उनी श्रीमान् गुमाएकी एकल महिला बनेकी छन् । छोरा पनि छ, चार वर्षको।
जीवनमा सविनाले धेरै चिज नदेखिकनै भोग्नुपर्यो । कहिल्यै नदेखेको सञ्जुसँग परिवारको करकापमा १५ वर्षमै विवाह गर्नुपर्यो। अर्को वर्ष आमा बन्नुपर्यो । अहिले श्रीमान् नै गुमाउनुपर्यो।
सञ्जुको सपना सैनिक बन्ने थियो । त्यसका लागि उनी तयारी पनि गरिरहेका थिए । “अर्को वर्ष आर्मी भएपछि भनेको समयमा आउन नपाइला, त्यसैले यो वर्ष छोराको जन्मदिन भव्य गरी मनाउँला भन्नुभएको थियो”, सविना सम्झिन्छिन्।
कक्षा ८ पढ्दापढ्दै पढाइ त्याग्न बाध्य सविनालाई श्रीमानकाे मायाको कुनै कमी थिएन । “अहिले उहाँ हुनुहुन्न भनेर विश्वास गर्न मनै लाग्दैन । हरेक साँझ टुप्लुक्क आइपुग्नुहुन्छ झैं लाग्छ”, कुरा गर्दागर्दै उनी भक्कानिन्छिन्।
तीन वर्षसम्म बुवालाई अस्पतालमा राखेर उपचार गर्नुपर्दाको पीडा भोगेका सञ्जु छोरालाई डाक्टर बनाउन चाहन्थे । ऋण काढेरै पनि छोरालाई पढाइछाड्ने लक्ष्य बनाएका उनको नासोलाई बचाउन समेत अब सविनाले के कष्ट भोग्नुपर्ने हो, मेसो पाउन सकेकी छैनन्।
बेपत्ता भएको पाँच दिनपछि भेरी किनारमै भेटिएको थियो सञ्जुको शव । त्यतिवेलासम्म कति पानी भेरीमा बग्यो र कति आँसु आँखामा बगे उनलाई पत्तो छैन।
ससुराले काम गर्न सक्दैनन् । दिदीको भरमा घर–व्यवहार चलेको छ । परिवार चलाउन पढेर सरकारी जागिर खाने आफ्नै योजना पनि थियो, सविनाको । तर, अब केहीको पनि टुंगो छैन।
“अहिले न्याय चाहिएको छ । त्यसपछि के हुन्छ थाहा छैन”, सविना भन्छिन्।