रुकुम घटनाबारे छानबिनका लागि संसदीय समिति बनाउन सांसदहरुको माग
संघीय संसद्का दुवै सदनको मंगलबारको बैठकमा रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाले स्थान पाएको छ। सांसदहरुले घटना जातीय भेदभावको कारण भएकाले सोही बमोजिम छानबिन गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठकमा सांसदहरुले संसदीय समिति नै बनाएर अध्ययन गर्नुपर्ने माग गरेका हुन्।
संसद्को दुवै बैठकमा गृहमन्त्री रामबहादुर थापाले चौरजहारीको घटनाबारे जानकारी दिंदै मन्त्रालयले छानबिन समिति गठन गरेको बताए। गृहका सह-सचिवको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिलाई दुई साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
अधिकांश सांसदहरुले भने घटना गम्भीर भएको भन्दै उच्चस्तरीय संसदीय समिति नै बनाउनुपर्ने माग गरेका छन्।
शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन जाजरकोटको भेरी नगरपालिका-४ बाट गएका नवराज विकसहितका युवा र गाउँलेबीच झडप भएको थियो। जसमा तीन जनाको मृत्यु भएको थियो भने तीन जना बेपत्ता छन्।
यो पनि पढ्नुहोस्-
रुकुमको चौरजहारी घटना: अहिलेसम्म तीन जनाको शव भेटियो
रुकुमको चौरजहारी घटना : 'आउँदैछन् भन्ने थाहा पाएपछि बाटो ढुकेर आक्रमण'
चौरजहारी घटनाबारे अध्ययन गर्न गृह मन्त्रालयद्वारा छानबिन समिति गठन