रुकुम घटना अनुसन्धान गर्न गठित संसदीय समितिद्वारा सभामुखसँग छलफल
रुकुमको चौरजहारीमा भएको घटनाको अनुसन्धान गर्न गठित संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेको छ ।
समितिले औपचारिक काम शुरु गर्नुअघि छलफल गरेको हो । आजको छलफलमा समितिको उद्देश्य, औचित्य र कार्यविधिलगायतका विषयमा सभामुख सापकोटाले निर्देशन दिएको समितिका एक सदस्य मिनबहादुर विश्वकर्माले जानकारी दिए ।
संविधान संशोधन विधेयकमा मतदान गरेपछि औपचारिक काम थाल्ने गरी समितिले त्यसअघि अन्य आन्तरिक काम सक्ने जनाएको छ ।
पर्सी बिहान समितिको बैठक बसेर आन्तरिक कार्यविधि र आचारसंहिता बनाउने र संभवत ३२ गतेदेखि औपचारिक काम शुरु गर्ने र रुकुम जाने तयारी रहेको पनि विश्वकर्माले बताए ।
२६ जेठमा प्रतिनिधिसभाको बैठक (संसद) मा सभामुख सापकोटाले संसदीय विशेष समिति बनाउने घोषणा गरेका थिए । तीन दिनअघि संयोजक र सदस्यहरुको नाम तोकिएको हो ।
संसदले देवेन्द्र पौडेलको संयोजकत्वमा पार्वती कुमारी विशुन्के, दुर्गा पौडेल, मिन विश्वकर्मा, प्रकाश रसाईली स्नेही, एकवाल मियाँ, महेश्वर गहतराज, रामसहाय प्रसाद यादव र विमला विक रहेको विशेष समिति गठन गरेको छ ।
समितिलाई औपचारिक काम थालेदेखि एक महिनामा प्रतिवेदन बुझाउन भनिएको छ ।
रुकुममा ६ जनाको ‘हत्या’ भएको तर स्थानीय प्रशासनको गम्भीर लापरबाही भएको भन्दै संसदीय विशेष समिति बनाउन संसदमा चर्को आवाज उठेपछि समिति गठन भएको हो ।