भोक लाग्यो ? यी हुन् पाँच प्रकारका भोक
भोक लागेपछि खाना वाहेक केही सम्झन सकिंदैन । त्यस वेला छनोट गरेर खाने भन्दा पनि जे खाँदा पेट भरिन्छ त्यही खाइहाल्ने चाहना हुन्छ । त्यतिखेर कसैले के खाने भनेर सोध्यो भने यो–ऊ भन्दा पनि के छ भन्नेतिर गइन्छ । अथवा सबैले एउटै उत्तर नदिन पनि सक्छन्, त्यसैले भोक जटिल विषय हो ।
आयुर्वेद चिकित्सा विज्ञानमा भोकलाई रोक्न नहुने वेगको रूपमा उल्लेख गरिएको छ । अर्थात् भोक नलागेसम्म नखानु र लागेपछि भोकै नबसी खाइहाल्नु हो । भोकलाई जैव रसायनिक (वायो केमिकल) क्रिया मान्ने आधुनिक चिकित्सा विज्ञानले शरीरमा भोक लाग्नै दिनुहुन्न भन्ने मान्यता राखेको पाइन्छ । फलतः पटक–पटक खाइरहनुपर्ने सल्लाह दिइन्छ तर भोक कति प्रकारका हुन्छन् भन्ने विषयमा कतै पनि चर्चा गरेको पाइँदैन ।
जोयफूल बेल्ली (स्कूल अफ आयुर्वेदिक डाइट एण्ड डाइजेसन) का संस्थापक अमेरिकी लेखक जोन इम्मेलका अनुसार भोक लाग्ने वा नलाग्ने निम्न चार कारणले हुन्छ ।
पहिलो कारण भौतिक रूपमा पेट खाली भए वा भरिएपछि मस्तिष्कमा पुग्ने सूचनाले भोक लाग्ने वा नलाग्ने हुन्छ । दोस्रो रक्त प्रवाहमा आवश्यक पोषकतत्वहरूको अभाव हुँदा भोक प्रकट हुन्छ । तेस्रो अग्नाश्य र आन्द्राबाट रसाउने हर्मोन (जस्तै कोलेसिस्टोकाइनिन्) ले भोक नियन्त्रण गर्दछ । चौथो घार्लिन र लेप्टिन नामको हर्मोनले भोक लाग्ने वा नलाग्ने हुन्छ । घार्लिनले लेप्टिनको सञ्चारण र नियन्त्रण गर्छ भने लेप्टिन (बोसोका कोषहरूबाट निस्कने रस) ले भोकाएको वा पेट भरिएको संकेत गर्दछ ।
भोकबारे थप केही भन्नु भन्दा पहिले जनावरहरूले कसरी खान्छन् भन्ने कुराको अध्ययन गर्दै जाँदा मानवको आहारशैलीको विषयमा प्राप्त भएका रोचक निष्कर्षहरू अनुसन्धानकर्ता डेभिए रौबिनहैमर र स्टिफेन सिम्पसनद्वारा लेखिएको पुस्तक ‘इट लाइक द एनिमल्सः ह्वाट नेचर टिचेज अस अबाउट द साइन्स अफ हेल्दी इटिङ’ बाट हेरौं ।
खान प्रोत्साहित गर्ने भोक एकैखालको हुन्छ भन्नु गल्ती हुन्छ । अनुसन्धानकर्ता डेभिए रौबिनहैमर र स्टिफेन सिम्पसनले न्यू साइन्टिस्ट म्यागेजिनमा विविध प्रकारका पोषण प्राप्त गरी शरीरका लागि सन्तुलित आहार निर्माण गर्न मानवलाई फरक फरक भोक चाहिने उल्लेख गरेका छन् ।
उनीहरूका अनुसार भोक पाँच प्रकारका हुन्छन्; १. प्रोटिन, २.कार्बोहाइड्रेट, ३. फ्याट (बोसो), ४. सोडियम र ५. क्याल्सियम ।
सार्थक कारणका लागि यी पाँचवटा भोक वेग्ला–वेग्लै ढङ्गले उत्पत्ति भएका हुन्छन् । मूलतः यी पाँचवटा पोषकतत्वको आवश्यकता शरीरमा देखिनु वा नदेखिनुले नै भोक निर्धारण गर्दछ ।
याे पनि हेर्नुहाेस्– स्वाद तीतो, स्वास्थ्यलाई मीठो
यी बाहेक अन्य दर्जनौं पोषकतत्वका लागि दर्जनौं प्रकारका भोक लाग्नु सम्भव छैन किनभने मानव शरीर कति जटिल जैविक प्रणाली बनेर सञ्चालन हुनसक्छ त्यसको सीमा छ । जुन पहिलो कारण हो ।
दोस्रो कारण ती पोषकतत्वहरू शरीरका लागि निश्चित मात्रामा मात्र आवश्यक हुन्छन् । तेस्रो केही पोषकतत्वहरू (जस्तै जिंक, फस्फोरस) शरीरमा थोरै मात्रामा चाहिने पोषकतत्व हुन् । त्यस्ता पोषकतत्व पर्यावरणमा पनि छरिएर रहेका हुन्छन् र साह्रै कम मात्रामा पाइन्छन् । त्यसरी पर्यावरणमा रहेको पोषकतत्वलाई एकत्रित गरेर प्रशोधन गर्न मेसिनहरू (शरीरको वैकल्पिक प्रणाली) नै जडान गर्नुपर्ने हुन्छ ।
डेभिए रौबिनहैमर र स्टिफेन सिम्पसनले भोकबारेको अध्ययन एकै पटक मानवमा नगरी लोकस्ट (एक प्रकारको फट्याङ्ग्रा) बाट शुरू गरे । त्यसपछि केप बेबुन (पोथी बाँदर) को पछि–पछि लागेर उनीहरूको गतिविधिलाई ३० दिनसम्म अवलोकन गरे र अन्त्यमा मानवमा अध्ययन गरिएको थियो ।
सन् १९९० ताका अक्सफोर्ड युनिभर्सिटीका रिसर्चरका रूपमा उनीहरूले २०० लोकस्टलाई छुट्टाछुट्टै बक्समा राखेर अध्ययन शुरू गरेका थिए । लोकस्टको खानाको लागि प्रोटिन र कार्बोहाइड्रेट फरक–फरक मात्रामा मिसाएर उनीहरूले २५ प्रकारका खाना तयार गरेका थिए । कुनैमा प्रोटिनको मात्रा बढी त कुनैमा कार्बोहाइड्रेटको मात्रा बढी राखिएको थियो । साथै केहीमा प्रोटिन एवं कार्बोहाइड्रेटको मात्रा समान पनि राखिएको थियो ।
वयस्क नहुन्जेलसम्म प्रत्येक लोकस्टलाई निर्विकल्प रूपमा कुनै एक प्रकारको खाना मात्र खुवाएर हुर्काइएको थियो । त्यसक्रममा लोकस्टले चाहे जति मात्रामा खान भने दिइन्थ्यो । उनीहरूले कति मात्रामा खाइरहेका छन्, तौल कति बढिरहेको छ, उनीहरूमा कति मात्रामा मोटो र पातलो तन्तुको विकास भइरहेको छ भन्ने तथ्यहरू अनुसन्धानकर्ताहरूले टिपोट गरिरहेका थिए । अन्त्यमा ती तथ्यहरूबाट उनीहरूले के पत्ता लगाए भने प्रोटिन र कार्बोहाइड्रेटको सन्तुलनले लोकस्टहरूलाई हलक्क हुर्किन सजिलो भयो ।
अनुसन्धानकर्ताहरूले अन्त्यमा लोकस्टहरूलाई सीमित मात्रामा पोषण दिंदा पनि उनीहरूले आफूलाई चाहिने प्रोटिन उच्चतम मात्रामा खाने प्रयास गरेको पाइयो । खानामा प्रोटिन कम दिइएकाहरूले आवश्यक प्रोटिन पाउन अधिक मात्रामा कार्बोहाइड्रेट खाए । जसलाई खानामा प्रोटिन अधिक दिइएको थियो तिनीहरूले प्रोटिनको मात्रा सन्तुलित राख्न कार्बोहाइड्रेट थोरै मात्र खाएको पाइयो ।
याे पनि हेर्नुहाेस्– कसरी गर्ने बन्दाबन्दीमा यौन ऊर्जाको व्यवस्थापन ?
अर्को अनुसन्धानमा पनि त्यसैगरी लोकस्टहरूलाई प्रोटिन र कार्बोहाइड्रेट फरक–फरक मात्रा भएको दुई प्रकारको खाना दिएर हुर्काइयो । त्यसमा पनि माथिकै परिणाम प्राप्त भयो । लोकस्टहरूले प्रोटिनको उच्च मात्रा कायम हुने गरी खानपिन गरे ।
पहिलो परीक्षणमा जब लोकस्टलाई एउटै प्रकारको खाना मात्र दिइएको थियो उक्त खानाबाटै शरीरमा प्रोटिन र कार्बोहाइड्रेटको सही मात्रा आपूर्ति (वा मात्रा कायम) गर्न लोकस्टको प्रोटिन र कार्बोहाइड्रेट भोकबीच संघर्ष चलेको पाइयो ।
कम प्रोटिन पाउने लोकस्टले शरीरमा सही मात्राको प्रोटिन आपूर्ति गर्न बढी मात्रामा कार्बोहाइड्रेट खाए तर अधिक प्रोटिनयुक्त खाना खान पाएको लोकस्टले शरीरमा प्रोटिनको सन्तुलित मात्रा कायम राख्न कम मात्रामा कार्बोहाइड्रेट खाएको पाइयो । एउटै खानाबाट शरीरमा सही मात्राको प्रोटिन र कार्बोहाइड्रेटको आपूर्ति वा सही मात्रा कायम राख्न प्रोटिन र कार्बोहाइड्रेट भोकबीच तँछाडमछाड भएर कार्बोहाइड्रेटले हारेको हुन्छ र प्रोटिनले जितेको हुन्छ । अतः प्रोटिन निर्णायक भोक बनेको देखिन्छ ।
दोस्रो परीक्षणमा लोकस्टलाई (कार्बोहाइड्रेट र प्रोटिनको फरक फरक मात्रा भएको) दुई प्रकारका खाना दिइएको थियो । लोकस्टले शरीरमा प्रोटिन र कार्बोहाइड्रेटको आपूर्ति वा सन्तुलित मात्रा कायम राख्न प्रोटिन र कार्बोहाइड्रेट भोकले त्यहाँ तँछाडमछाड गर्न परेन किनभने त्यहाँ खानाको (आपूर्ति गर्ने स्रोतको) विकल्प थियो ।
यसवेला लोकस्टले सही मात्रामा प्रोटिन र कार्बोहाइड्रेट खाए । उनको प्रोटिन र कार्बोहाइड्रेट भोकले सहकार्य गरे । एउटा भोकले हार्ने वा अर्कोले जित्ने अवस्था आएन । खानामा विकल्पहरू उपलब्ध हुँदा भोकहरू बीच सहकार्य भएको देखिन्छ ।
अनुसन्धानकर्ताहरूले त्यस्तै अनुसन्धान दक्षिण अफ्रिकामा एउटा केप बेबुन (पोथी बाँदर) मा ३० दिनसम्म गरे । त्यस बाँदरले प्रत्येक दिन कति खान्छ त्यसको तथ्याङ्क राखियो । त्यहाँ उसको खाना पात, च्याउ, नट्स (बदाम जस्ता खानेकुरा), बीउहरू, फल र फूलहरू हुने गथ्र्यो । प्रत्येक दिन खानाको मात्रा र प्रकार फरक–फरक हुने गरे पनि बाँदरमा अद्भुत रूपमा प्रोटिन र प्रोटिनइतर पोषकतत्वबीच सन्तुलन भएको पाइयो ।
अनुसन्धानकर्ताहरूले त्यस्तै अनुसन्धान मान्छेमा पनि गरे । उनीहरूले १० जना सम्मिलित एउटा स्वयंसेवक समूहलाई एक हप्ताको लागि एउटा रेस्टुरेन्टमा राखे । शुरूको दुई दिन स्वयंसेवकहरूले जे खान चाहे त्यही दिइयो ।
त्यसपछि दुई दिनको लागि पाँच/पाँच जनाको दुई वटा समूह बनाइयो । एउटा समूहलाई अधिक प्रोटिनयुक्त खाना खान लगाइयो र अर्को समूहलाई कम प्रोटिन, अधिक कार्बोहाइड्रेट र अधिक बोसोयुक्त खाना खान लगाइयो । र अन्तिमको दुई दिन सबैलाई फेरि चाहे अनुसारको खाना खान दिइयो ।
अनुसन्धानकर्ताहरूका अनुसार मानव स्वयंसेवकहरूले पनि लोकस्टले जस्तै प्रतिक्रिया देखाए । जसलाई न्यून प्रोटिनयुक्त खाना खान दिइएको थियो उनीहरूले आफ्नो प्रोटिनको पूर्तिका लागि अधिक कार्बोहाइड्रेट खाए । जसलाई अधिक प्रोटिनयुक्त खाना खान दिइएको थियो उनीहरूले कार्बोहाइड्रेटयुक्त खाना कम खाए ।
भोकको सम्बन्ध शरीरलाई चाहिने ऊर्जासँग पनि भएको देखिन्छ । प्रोटिनलाई शरीर निर्माणक पोषण मानिन्छ र बोसो एवं कार्बोहाइड्रेटलाई ऊर्जादायक पोषण भनिन्छ । शरीरलाई अधिक ऊर्जा आवश्यक हुँदा बोसो एवं कार्बोहाइड्रेटको भोक जाग्दछ ।
बोसो (९ क्यालोरी प्रति ग्राम) एवं कार्बोहाइड्रेट (४ क्यालोरी प्रति ग्राम) दुवैको शरीरमा फरक–फरक भूमिका हुने भए पनि ऊर्जा आपूर्तिका दृष्टिले एकअर्कालाई विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ । शरीरको विभिन्न मेटाबोलिक क्रियामा क्याल्सियम र सोडियमको प्रमुख भूमिका हुने भएकाले यी दुईको भोकलाई पनि सोही अनुसारको प्राकृतिक आहारबाट आपूर्ति गर्न सकिन्छ ।
यो पाँच प्रकारको भोकले प्राकृतिक खानपानशैलीमा मात्र सहज कार्य गर्दछ । प्रशोधित खानपानसँग भने भोकले संघर्ष गर्नुपर्ने हुन्छ ।
भोक बहुआयामिक वेग हो । यो जैव रसायनिक क्रिया मात्र होइन । भोक जगाउन सजिलो हुँदैन र यसलाई पालेर बस्नु पनि हानिकारक हुन्छ । भोकले खाना चिन्छ तर खानेले सही आहार चिन्न सक्नुपर्छ । अन्यथा व्यक्तिले खाएको गलत खानाले स्वस्थ शरीर पनि अस्वस्थ हुनपुग्छ ।
माथिको अनुसन्धानमा कार्बोहाइड्रेट भोक भन्दा प्रोटिन भोक बढी महत्वपूर्ण देखिन्छ तर पाँचवटै प्रकारका भोकहरूको आ–आफ्नै महत्व भने छन् । बोसोको भोक स्वस्थ शरीरका लागि जति जरूरी छ, शरीरलाई थोरै मात्र चाहिने सोडियम र क्याल्सियमको भोक पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसलाई ध्यानमा राखी सन्तुलित आहारयुक्त खानपानशैली योजना गरौं।
याे पनि हेर्नुहाेस्– भाइरस भगाउन हवन !
याे पनि हेर्नुहाेस्– बुझौं दुखाईका संकेत !