कसरी गर्ने बन्दाबन्दीमा यौन ऊर्जाको व्यवस्थापन ?
बन्दाबन्दीमा अधिक भोजन र व्यायामको अभावमा बेचैनी उत्पन्न हुन्छ र क्षणिक आनन्दका लागि यौनको भोक उत्पन्न हुनसक्छ । तर, याद राखौं हामी जति वीर्य नष्ट गर्छौं, उति नै शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।
बन्दाबन्दीले शारीरिक र मानसिक सक्रियता घटेपछि मानिसको शरीरमा अक्सिजनको आपूर्ति र खपत पनि कम हुन पुग्छ । फुर्सदमा मनपर्दो भोजन तयार गर्ने र अधिक ग्रहण गर्ने गरेकाले त्यसबाट प्राप्त ग्लुकोज मष्तिस्कमा पुगेर जम्मा हुन्छ । ग्लुकोज अक्सिजनको अभावमा जल्न पाउँदैन । मनमा बेचैनी र तनाव उत्पन्न हुनसक्छ ।
अशान्त, आन्तरिक द्वन्द्वको यस्तो अवस्थामा कतिपयले यौन क्रियाकलापमा आनन्द पाउँछन् । यस्तो कर्म प्राकृतिक भनिने सहवास पनि हुनसक्छ, अप्राकृतिक मानिने हस्तमैथुन पनि ।
इन्डियन युनिभर्सिटी प्रेसबाट प्रकाशित ‘सेक्सुअल विहेभियर इन ह्युमन मेल’ पुस्तकका अनुसार विश्वमा १८ देखि २० वर्ष उमेर समूहका ८८ प्रतिशत जनसंख्याले हस्तमैथुन गर्छन् । ५० वर्ष उमेर आसपास आइपुग्दा यो प्रतिशत ५३.८ मा झर्छ । अविवाहितले मात्र होइन, २१ देखि २५ वर्षका ४२.१ प्रतिशत विवाहित पुरुषले पनि हस्तमैथुन गर्ने पुस्तकका तथ्यांकले बताउँछ ।
सहवास र हस्तमैथुन तनाव र बेचैनी विरुद्धको क्षणिक औषधि जस्तै हो । सहवास वा हस्तमैथुनबाट अक्सिटोसिन हर्मोन र दुखाइ कम गर्ने इन्डोर्फिन्स हार्मोन उत्पन्न हुन्छ । परिणाम तनमन निद्रा वा तन्द्राको अवस्थामा पुग्छ । फलतः क्षणिक शान्ति र आनन्द महसुस हुन्छ ।
यौनक्रियाकलापले शरीरमा रोग प्रतिरोधात्मक शक्ति, स्फूर्ति, अनिद्राका साथै हृदयरोग रोकथाममा पनि सहयोग पुर्याउने विभिन्न अनुसन्धानका निष्कर्ष पाइन्छन् ।
सात धातुको शरीर
आयुर्वेदको मान्यता अनुसार मानव शरीर सात प्रकारका धातुले बनेको हुन्छ । भोजनको पाचनपछि रस धातु बन्छ । रसबाट रक्त, रक्तबाट मांस, मांसबाट मेद, मेदबाट अस्थी, अस्थीबाट मज्जा र मज्जाबाट क्रमशः शुक्र धातु बन्छ।
आहारबाट बन्ने शुक्र धातु आहारको शुद्ध र परिष्कृत अंश हो । एक थोपा शुक्र निर्माणमा पनि आहारको ठूलो परिमाण लगानी भएको हुन्छ । शुक्रलाई अनावश्यक रुपमा खेर फाल्नु वा बेहोसीमा बगाउनु समग्रतामा शरीरको ऊर्जा, बल वा शक्ति नष्ट गर्नु हो ।
शुक्रबाट नै ओज (बल/रोगप्रतिरोधी क्षमतावर्धक/व्याधिक्षमत्व तत्व) को निर्माण हुन्छ । यसको तात्पर्य आहारको सार भागबाट ओज बन्छ । शरीरको व्याधिक्षमत्व तत्वको काम भनेको अपक्षय (विदरिङ्ग–खिइनु), व्यपजनन (डिजेनेरेसन) र प्रत्यय (इन्फेक्सन) बाट रक्षा गर्नु हो ।
अतः जतिजति शुक्र नष्ट हुन्छ त्यति नै शरीरको ओज (इम्युनिटी) कमजोर हुन्छ । यसै कारण वैदिक शास्त्रहरुमा ब्रह्मचर्य बस्नुलाई अत्यधिक महत्व दिइएको पाइन्छ ।
हस्तमैथुन वा सहवासबाट एकातिर क्षणिक शान्ति र आनन्द मिलिरहेको हुन्छ भने अर्कातिर वीर्यको व्ययका कारण प्रतिरोधात्मक क्षमता नाश भइरहेको हुन्छ ।
आयुर्वेदमा आहार, निद्रा र ब्रह्मचर्यलाई स्वास्थको त्रि–स्तम्भ भनिन्छ । यी तीन चिजको सही र सार्थक प्रयोगबाट आरोग्य प्राप्त हुन्छ भन्ने मान्यता छ । शुक्रले आफू जस्तै नयाँ जीवको सृजना गर्न सक्ने क्षमता बोकेको हुन्छ । त्यसैले भनिन्छ कि शुक्रको संरक्षणले समग्रतामा व्यक्तिको सिर्जना शक्ति बढ्छ ।
प्रकृतिका सम्पूर्ण प्राणीमा आहार, निद्रा, भय र मैथुनको वृत्ति जन्मजात मानिन्छन् । यी स्वाभाविक गुणहरुको उपयोग, सदुपयोग र दुरुपयोगको आधारमा नै प्राणीहरुको स्वास्थ्यअवस्था निर्धारण हुन्छ । दुरुपयोगले ऊर्जा क्षय हुन्छ र शरीर रोगी बन्छ ।
विकल्प के त ?
वीर्य नै बल हो भन्ने जानिसकेपछि त्यसको रक्षा गर्नु जरुरी हुन्छ तर हस्तमैथुन वा सहवासको लतबाट पार पाउन सजिलो हुँदैन ।
गृहस्थ सांसारिक जीवनमा हस्तमैथुन वा सहवासको विकल्प भनेको हस्तमैथुन वा सहवास नै हो । त्यसको उपयोग भने व्यवस्थित र सार्थक रुपमा गर्नुपर्छ । होसपूर्वक सहवास वा हस्तमैथुन गर्नुपर्छ । बेहोसीमा गरिएको यौन क्रियाकलाप हानिकारक मानिन्छन्।
बन्दाबन्दीका वेला शुक्र संरक्षणका लागि निम्न १० क्रियाकलापलाई जीवनशैलीमा जोड्न सके ओज र बल प्राप्त हुने देखिन्छ । यसले क्षणिक आनन्द भन्दा पनि आरोग्य दीर्घजीवन प्राप्त हुनसक्छ । सिर्जनशीलता बढाउन सक्छ ।
—थोरैथोरै मात्रामा सात्विक (ताजा, नतारेको, नभुटेको, कम मसालेदार) भोजन ग्रहण गर्नुपर्छ ।
—दैनिक कम्तीमा १ घण्टा व्यायाम गर्नुपर्छ ।
—समयमै सुत्ने र समयमै उठ्ने गर्नुपर्छ ।
—आध्यात्मिक तथा सकारात्मक पुस्तकहरु मात्र अध्ययन गर्नुपर्छ ।
—इन्टरनेटमा उपलब्ध उत्तेजक सामग्री सकेसम्म नहेर्ने संकल्प गर्नुपर्छ ।
—वृद्धवृद्धा र आमा, दिदी बहिनीसँगको सम्पर्क र सेवामा समय दिनुपर्छ ।
—आफूलाई सकेसम्म शारीरिक र मानसिक रुपमा व्यस्त राख्नुपर्छ ।
—सकारात्मक कल्पना गर्ने र सुमधुर संगीत सुन्ने गर्नुपर्छ ।
—सकेसम्म वीर्य नष्ट नगर्ने कुरामा प्रतिबद्ध रहनुपर्छ ।