“बुनेरै लखपति भएँ”
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ । विस्मृतिले च्याप्दै गए पनि, हामीले सोध्दा मुवाले अड्की–अड्की, दोहोर्याई–तेहेर्याई पुराना कुरा गर्नुहुन्छ । मुवाको हातमा एकदमै सीप थियो, विशेषगरी बुन्नमा । त्यै बुन्ने सीप वहाँको व्यवसाय नै बन्यो पनि । ३० वर्षजति अघि हात भाँचिएपछि आफ्नै हातको सिलाईबुनाई कम भए पनि, अरूलाई परिचालन गरेर काम चल्यो । यसपालिको अंश उहाँको यिनै सीपका बारेमा हामीसित गरेको कुराकानीमा आधारित छ, उहाँकै शब्दमा ।
हामी सबै छोरीलाई सीप सिकाउन बुवालाई एकदम सोख थियो । जे चाहिन्थ्यो सब झिकाइबक्सिन्थ्यो । एउटा मास्टर थियो, उसले बुवालाई ‘ल मैयाँहरूलाई यो यो झिकाउनु पर्यो’ भन्थे, अनि त्यै त्यै माल आउँथ्यो । ऊन, धागो, रङ बाहिरैबाट आउँथ्यो। बुन्ने, सिउने क्याटलगहरू, निडलवुमन आउँथ्यो । त्यै हेरेर थरीथरीका सामान बनाउँथ्यौं । हामी दिदी बैनी (साहिंली मैयाँ (बैनी नूतन रेग्मी) अनि काइँली मैयाँ (बैनी कल्याणी रेग्मी) मिलेर बुन्ने, सिउने गर्थ्याैं ।
बुवा (बडागुरुज्यू विश्वराज पण्डित) को बाथको ओखती गर्न बम्बई (हालको मुम्बई) गएको वेला त्यहाँ अलि धेरै बस्नु परेको थियो । अनि हामी छोरीहरूले धेरै कुरा सिक्न पायौं । हामी जयराज बुवा (बडागुरुज्यू कुब्लैराजका छोरा) को वोर्लीको ठूलो घरमा बसेकाथ्यौं । घर समुद्रको किनारमै थियो । गुरुमाले पेट बोकेकी रै’छन्, छोराछोरी पाउने वेला भएको थियो । ‘मैयाँलाई अलि दिन यहाँ नै राख्न पाए हुन्थ्यो’ भनेर कराइन् । ‘ल’, भनेर म अलि लामो बस्या । गुरुमा साह्रै जाती थिइन् ।
जयराज बुवाले भन्नुभयो, “यहाँ त यस्तो यस्तो पनि सिकाउने गज्जबको ठाउँ छ नि !” अनि बुवाले हामीलाई पठाइबक्स्यो । हामी बसेकोबाट धेरै टाढा थिएन, सिक्ने ठाउँ । त्यो धेरै मान्छे आउजाउ गर्ने मन्दिर नजिकै थियो, अहिले त नामै बिर्सें । (मुवाको वर्णन अनुसार त्यो वोर्लीको महालक्ष्मी मन्दिर नजिक हुनुपर्छ ।)
हिंडेर जान मिल्थ्यो । ठूलो ठाउँ थियो । लहरै घुमेका घर थिए, अनि समुद्र पनि त्यहीं । अगाडि थुप्रो खाना पाउने पसल थिए । त्यहाँ पढाउने बेलायती पनि थिए, इन्डियन पनि । स्वास्नी मान्छे पनि थिए, लोग्नेमान्छे पनि । पैसा तिरेर सिक्ने हो, जे पनि सिक्न पाइने । मैले कटिङसटिङ गर्ने, बुन्ने, फरियामा पेन्टिङ गर्ने, थरीथरीका खाना पकाउने, सब त्यहीं सिकेको हो । राम्रो गरें भनेर मलाई प्राइज पनि दिए । त्यो सिकेर मलाई धेरै काम दियो । मैले कति कमाएँ ! बाफ्रेबाफ, धुमधामै फाइदा भयो नि !
सानो छँदा मेरी दिदी (ठूली मैयाँ, भोला) ले मलाई बुन्न सिकाएकी थिइन् । बुवाले बेलायतबाट झिकाइदिबक्सेको थरीथरीका क्याटलग हेरेर नयाँ नयाँ बुट्टा र डिजाइन का लुगा बुन्न थाल्यौं । मेरा बैनीहरूले पनि ठिकै बुन्थे । एक–दुई चोटि बिगार्थे, अनि मैले हप्काएपछि मिलाउँथे । पछि गुरुमा (भाइबुहारी उषा पाण्डे) ले पनि बुन्न सिकिन्। हामीले मेशिनले बुन्न पनि बम्बईमा सिकेको हो ।
हामीले माइतीमा काम गर्नेहरूलाई पनि बुन्न सिकायौं । मैले नै कर लगाएर ‘सिक, सिक’ भनेर बोलाउँथें । बिचराहरूलाई दुई–चार पैसा भए पनि हातमा परोस्, कति नोकरीको मात्र भरमा बस्ने भनेर । मैले उनीहरूलाई “किन बेकारमा कुरा गरेर बिताउने, यसो गरे दिन पनि जान्छ, पैसा पनि राम्रो पाइन्छ”, भनें । अनि त उनीहरू पनि खालीहात बस्दैनथे । मिलेन भने यो भएन, यसरी गर्ने भनेर सिकाउँथें । रिपिट गर्न लगाउँथें । अनि त एकदम जान्ने भए । कोही त निकै राम्रो बुन्थे । सबले सिके– दिलबाहार, श्यामबाहार, रोज, र अरू पनि । तर, सबैभन्दा राम्रो दिलबाहारको हुन्थ्यो ।
हामीले बुनेको स्वेटर तयार भएपछि बिक्री गथ्र्यौं । काम गर्नेहरूले बुनेको स्वेटरको पैसा उनीहरूले नै पाउँथे । हाजिर गरेर महीना पुगेपछि तलब दिन्थें । मैले उनीहरूसित नाफा लिन्नथें । पैसा पाउनासाथ मैले सबलाई ‘ल, पहिले गएर गणेशथान दर्शन गरिहाल, अनि गएर सुन किनिहाल, केही बनाइहाल, अनि धमाधम अरू बुनिहाल’ भन्थें। उ वेला सुन सस्तो थियो नि !
मान्छे नपुगेपछि बाहिरबाट पनि स्वास्नी मानिसहरू आए, बुन्नलाई । उनीहरू सबैलाई रोज खाना दिन्थें, राम्रोसँग । दिउँसो चिउरासिउरा बनाएर राखेको हुन्थ्यो ।
त्यो बुनेर मलाई पनि सुख भयो, उनीहरूलाई पनि सुख भयो, बा । आफैं कमाएपछि, कसैसित हात थाप्न परेन । काम गर्नेहरू खुशी हुन्थे । मैले काम दिएको कारण उनीहरूको हातमा पैसा भएकोले, मलाई त महारानी जस्तै आदर गर्थे । अनि घरबाट बाउआमा भेट्न आएका छन् भने कोसेली दिन दौडेर आउँथे । कैले भोटे आलु, कैले के।
मैले स्वेटरहरू ढोकाटोलको जुवाको खालमा पनि बेचें । दशैं–तिहारमा जुवाडेहरू थुप्रो आउँथे । ती जुवाडेहरूको मुख्य मान्छेलाई गएर ‘यसको यति यति चाहिन्छ’ भन्थें । अनि उसले सबै जनासित भाग गरेर पैसा लिएर मलाई दिन्थ्यो, र स्वेटर दाउमा राख्थ्यो । त्यो दाउ जित्नेले सस्तोमा स्वेटर पाउँथ्यो । मैले पूरा पैसा पाउँथें । त्यसो पनि गरियो !
धेरैजसो ऊन असनको वुल हाउसमा किन्थ्यौं । उनीहरूले कता होबाट झिकाउँथे । बुवाले पनि बेबीवुल झिकाइदिबक्सियो इन्डिया बाट । पछि पछि त चाइनाबाट पनि थुप्रो ऊन आउन थाल्यो । अनि हामीले बुनेका बच्चाका लुगा वुल हाउसमा मात्र हैन, महिला संगठन, तारा गाउँ अनि ब्लूबर्डबाट पनि बिक्री हुन थाल्यो ।
पहिला हातले बुन्थें, पछि मेशिनले बुन्न थालें । मेशिन बल्लाम (छोरा बलराम जोशी) ले मलाई किनिदिएको । पछि दाइदाइ (कुलनाथ लोहनी) ले स्विट्जरल्याण्डबाट बिजुलीले चल्ने प्यासप मेशिन झिकाइदिनुभो । खुट्टाले पेडल थिचेर चल्ने । मलाई कस्तो माया गर्थे दाइदाइ, हेर त !
मैले मेरा माइतीका सबलाई मिलाएर मेशिनमा शल र स्वेटर बुनेर पनि कोसेली पठाएँ । डिल्लीबजारमा, रक्तकालीमा, उता, उता, सबतिर बाँडें । सब दंग परे ।
बुनेको सामान बिन्दा (बैनी बिन्दा शाक्य) र ठूलीधाई (नाति किरणको धाई) ले बोकेर असनमा वुल हाउसको साहुकहाँ लग्थे । त्यहींबाट बिक्री हुन्थ्यो । ठूलीधाईलाई मैले ‘ए धाई, त्यो पसलेलाई यो बच्चाहरूको सामान मन पर्छ कि सोध’ भनेर पठाएको त सबै उहीं राखे ! अनि त्यो त कत्ति बिक्री भएको । सकिएपछि खबर पठाउँथ्यो साहुले। हामीलाई त भ्याई नभ्याई !
याे पनि पढ्नुहाेस्– उलिनकाठ चढेर बद्री–केदार
म धाईसँग पशुपति जाँदा त्यो साहुलाई कैले–कैले भेट हुन्थ्यो । अनि धाईलाई ‘ए तता, झट्टै ल्याउन स्वेटर ! सकिसक्यो !’ भन्थे । हुन पनि आज राखेको छ, दुई दिनमा छैन । सबैले किन्ने । परदेशीहरूले पनि मन पराएर सेटका सेट किनेर लान्थे । मैले धेरै दुःख गर्या छु बा !
भदाहरूलाई कस्तो गज्जब गज्जबको स्वेटर बुन्थ्यौं, जन्मेदेखि नै लगाउँथे । बच्चाको लुगा बुन्दा, उसलाई सजिलो हुने गरेर, अलि खुकुलो गरेर, नघोच्ने नरम ऊनले बुन्नुपर्छ । मैले धेरैजसो केटाकेटीकै लुगा बनाएँ, त्यैबाट फाइदा भयो ।
पछि ‘हानाना’ भनेर काम थाल्यौं । बच्चाको लुगा मात्र बुन्ने । दुइटा मेशिनमा कोही बुन्ने, कोही बिजुलीको कलमा सिउने, कोही बुट्टा, टाँक हाल्ने । मैले पनि ऊन डल्लो पारिदिन्थें । फ्याक्ट्री जस्तै थियो । त्यो लुगाहरू ब्लूबर्डमा, रमागृहमा बिक्री हुन्थ्यो ।
गर्न त गरेको हो बा मैले ! ती दिन त स्वर्गै थिए ! आनन्द भा थियो मलाई, पैसाको दुःख पनि थिएन, दिन गएको पनि थाहा हुन्नथ्यो । मैले यस्तो काम गरेको त धुमधाम फाइदा भयो नि ! पैसा आएपछि फाइदा भएन त ? कस्तो बिक्री भएको ! अर्डर मात्र आउँथ्यो, ‘ल यति बनाइदेऊ, ल उति बनाइदेऊ’ भनेर । खर्च टर्थ्याे । घर पनि भाडामा गयो, अनि यताबाट पनि पैसा आएपछि म त लखपति भा’थें बा !
याे पनि पढ्नुहाेस्– सबैकी गुरुमाः बडमुवा
पेन्टिङका सामान जर्मनबाट आउँथे
मैले फरियामा पेन्टिङ गर्न पनि बम्बईमा सिकेकी हुँ । म, मेरा बैनीहरू सबैले गथ्र्यौं । साहिंली मैयाँले अझै राम्रो गर्थिन् । त्यसलाई चाहिने सामानहरू पनि सबै बम्बईमै किनेको । रंग, ब्रश, कागजको साँचो (स्टेन्सिल), प्यालेट, सब उतैबाट ल्याएको । सब जर्मन सामान । बुवाले सब झिकाइबक्सिन्थ्यो । कुनै बम्बईमा किनेको । कुनै कम्पनीबाटै झिकाएको ।
भुईंमा कागज बिछ्याएर त्योमाथि फरियालाई टन्न तन्काएर राख्थ्यौं । अक्सर जर्जेटको फरियामा पेन्टिङ गथ्र्यौं । बुट्टा भर्ने ठाउँ मुनि रंग सोस्ने कागज (ब्लटिङ) राख्थ्यौं । साँचोसँगै रंग के के गर्ने भनेर नमूना पनि राखेको हुन्थ्यो, अनि त्यै हेरेर तेल रंग मिलायो, टार्पिन हालेर । अनि त्यो साँचो राखेर बाँसको ब्रशले रंग भर्थ्याैं । कुनै कुनैमा झलझल किनारा पनि बनाउँथें, त्यो चाहिं मसिनो ब्रशले ।
अरू वेला साँचोको सट्टा आफूलाई मन परेको बुट्टा ट्रेस गरेर साथ्र्यौं फरियामा । अनि सादा ब्रशले पेन्टिङ गथ्र्यौं । बिन्दा पनि सँगै हुन्थी मद्दत गर्न ।
किताब हेरेर सिउन थालेँ
ढोकाटोलमा शुरूदेखि नै सिउने मेशिन थियो। मुवाले पनि चलाइबक्सिन्थ्यो। कसैको लुगा, खोल फाट्यो भने त्यसैमा सिइबक्सिन्थ्यो।
बम्बईमा लुगा नाप्न, काट्न, सिउन सिकें । सब सिकाउँथ्यो; यसरी काट्ने यसरी यो गर्ने भनेर । पछि किताब थियो, त्यै हेरेर लुगा सिउँथें । सिउने मेशिनहरू त नेपालमा पनि पाउँथ्यो, तर बल्लामहरू बेलायतबाट आउँदा बिजुलीले चल्ने सिङ्गरको सिउने कल ल्याइदिएका थिए । त्यसमै सिउँथें । मेरो पेटीकोट, ब्लाउज म आफैं सिउँथें । घरको रेडियो, चकला, तकिया, सिरकका खोलहरू पनि सब आफैं सिउँथें, बाहिर दिन्नथें । आफूले जानेपछि किन्नु पनि नपर्ने, खर्च नलाग्ने ।
हामीकहाँ इम्ब्रोइडरी (बुट्टा भर्ने) को लागि रेशमको धागोहरू पनि थुप्रो आउँथ्यो बाहिरबाट । त्यसैले ब्लाउजको गला, खाटको मुनि राख्ने, माथि राख्ने चँदुवा, टेबलपोसहरूमा बुट्टा भथ्र्यौं । बुट्टा भर्ने प्याटर्नको किताब आउँथ्यो ।
झिरझिरे कागजमा सानोसानो प्वाल भएको बुट्टा हुन्थ्यो । अनि लुगामाथि त्यो कागज राख्यो, नीलो मसीमा कपडा भिजाएर कागजमा दलेर बुट्टा साथ्र्यौं । कति भरियो कति ! सानीमैयाँ (बुहारी) र बिन्दाले पनि खूब भरे । म सिकाउँथें, उनीहरूले गर्थे । सेतो धागो र मसिनो कुरुशले लेस पनि बनाउँथ्यौं । चँदुवा, टेबलपोस र पेटीकोटको घेरामा सिउँथ्यौं ।
म खालीहात बस्दैनथें । काम सकिएन भने रातभरि पनि काम गर्थें । ओहो! मैले गर्नसम्म गरे नि बा !
(किरणराज जोशी र रूपा जोशीसितको कुराकानीमा आधारित)
याे पनि पढ्नुहाेस्– बाहुनले भविष्यवाणी गरेका थिएः साँच्चिकै गयो ९० सालको भुइँचालो !
याे पनि पढ्नुहाेस्– बेलायतबाट आउँथे खेलौना पुतली
याे पनि पढ्नुहाेस्– सन्तान राणाका, दूध खुवाउने बाहिरका सुत्केरी
याे पनि पढ्नुहाेस्– बुहारी पढाउँदाका दुःख