बुहारी पढाउँदाका दुःख (उवेलाका कुरा)
बूढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ वर्ष टेकिसकेको छ। विस्मृतिले च्याप्दै लगे पनि, आफूले देखेका र भोगेका पुराना घटना अड्की अड्की सुनाउनुहुन्छ। यसपालि आफ्नो र बुहारी अंगूरबाबा जोशीको पढाइबारेको सम्झना उहाँकै शब्दमा–
“ढोकाटोलमा हुँदा बुवाले झिकाएका कथाका किताबहरूमा कसले, कसरी र के–के काम गरेर ठूलो मान्छे भए भनेर लेखिएको हुन्थ्यो । मेरो बडमुवा (बूढीआमा) कहाँ सधैं पण्डित आउँथे, कथा सुनाउन । ठूल्ठूला मान्छेका, धर्मका र अरू थुप्रै कथा सुनाउँथे ।
ती कथा सुनेपछि मलाई पढेर केही गरूँ जस्तो लाग्थ्यो । पढेपछि धनी होइएला, पैसा कमाइएला जस्तो लाग्थ्यो । पढिरहेकी पनि थिएँ । बिहेपछि ढोकाटोल बस्दा मेरो दुल्हा र म नै पढ्थ्यौं । मेरो दुल्हा दरबार हाईस्कूलमा र म चाहिं घरमै पढ्थें ।
त्यो वेला घरमै मास्टर आउँथे । नेपाली, अंग्रेजी, हिसाब, विज्ञान, संस्कृत सिकाउँथे । बैठकमा लामो टेबुल वरिपरि हामी चार–पाँच जना हुन्थ्यौं । बस्ने आ–आफ्नो ठाउँ हुन्थ्यो । भगवानको प्रार्थना गरेर पढ्न शुरू गर्नुपथ्र्यो । बिहान सबेरै र दिउँसो गरेर चार–पाँच जना गुरुहरू आउँथे । अंग्रेजी सिकाउने भेटनारायण श्रेष्ठ थिए, उनले पद्मशमशेरका छोराछोरीलाई पनि पढाउँथे । सबैभन्दा छिटो उनी नै आउँथे । उनलाई अघिल्लो दिनको पाठ बुझाउनुपथ्र्याे । केही बिगारेको भेटे ‘आफ्नो कान आफैं निमोठ’ भनेर गाली गर्थे । मैले पनि कति पटक आफ्नो कान आफैं निमोठें । कहिले त हातमै पिट्थे पनि । बुवा क–कसले कसरी पढिरहेको छ भनेर गुरुहरूलाई सोध्न आइरहनुहुन्थ्यो ।
मलाई पढेर अरूसित प्रतिस्पर्धा गर्न मन लाग्थ्यो । हाम्रो कक्षामा सबैभन्दा तेज अर्कै साथी थिई । ऊ नै ‘फस्र्ट’ हुन्थी र गुरुको धेरै स्याबासी पाउँथी ।
मेरा दुल्हा बितेपछि म फुपूको घरमा बसें । त्यहाँ पनि फुपूका छोराहरूलाई पढाउन आउने गुरुसित पढ्थें । विधवा भएपछि त झन् पढ्नुपर्छ भन्ने लाग्यो, अनि पढाइ छुटाइनँ । म्याट्रिकसम्म पढें । तर, राणाजीहरूको पालामा ‘महिलालाई यति भन्दा बढ्ता पढाउन हुन्न’ भन्थे । त्यसैले म्याट्रिकको जाँच दिन पाइनँ । त्यसपछि मेरो काखको छोरोलाई राम्ररी पढाउँछु भन्ने लाग्यो ।
मेरो माइती त धेरै नै गज्जब नि ! बुवामुवा नै छोरीलाई पढाउनुपर्छ भन्ने भावनाको । मेरा माइलाबुवा (आफूबुवा) ले आचार्य पास गर्नुभएको थियो, उहाँले बुवालाई सबैलाई पढाउनुपर्छ भनेर जोड गर्नुहुन्थ्यो ।
बुवा चाहिं आफू बिरामी भएर धेरै पढ्न सक्नुभएको थिएन । ढोकाटोलमा सबैले छोरीलाई त झन् पढाउनुपर्छ भनेर जोड गर्थे । बुवाले ‘छोरीहरू अरूको घर जान्छन्, कस्तो घर पर्छ, दुःख हुन्छ, अरू केही गर्न सकिन्न, तिनलाई त पढाउनै पर्छ’ भन्नुहुन्थ्यो । तर, रक्तकालीमा चाहिं पढाउन्नथे ।
यसरी बुहारी पढाएँ
मैले बुहारी पढाउँछु भन्दा सबैले नपढाउ भन्थे । ‘छोरालाई पढाउनू, बुहारीलाई पढाएर के काम ? बुहारीलाई त अलि अलि पढाए पुग्छ । बुहारीले पछि हेलाँ गर्छन् अनि तिमीले दुःख पाउँछौ’, भन्थे मलाई । ससुराले पनि ‘के काम र धेरै पढाउन ? यति भए पुगिहाल्छ’ भन्नुहुन्थ्यो । घरमा भएको भए त फसादै पथ्र्यो । सौतेनी सासू थिइन्, भयंकरकी । बुहारी पनि मेरो माइत ढोकाटोलमा नै बसेकी हुनाले, उनलाई पढाउन पाएँ ।
मेरो भाइ, भदाहरूलाई पढाउन आउनेले नै उनलाई पढाउन थाले । डिल्लीबजारको घरमा गएपछि बुहारी घरमै पढ्थिन् । दुल्हैले पढोस् भन्ने छोराको इच्छा थियो भने, बुहारीको बावुको पनि छोरीले पढ्न पाओस् भन्ने इच्छा थियो ।
धनीका छोरीहरूले धुमधामको कपडा लगाएर आउने । अरू नहुनेले के गर्ने ? चोरेर ल्याउनु भएन । बुहारीले सबैलाई एकै प्रकारको लुगा लगाउन लगाइन् । पढेर आएकी बुहारीले त्यो सबै गरेको देख्दा मलाई धुमधाम रमाइलो लाग्थ्यो, गर्व लाग्थ्यो ।
पछि छोराबुहारी दुवै जना पढ्न काशी गए । बनारसबाट फर्केर आउँदा ‘स्वास्नी मानिसलाई धेरै पढाउन हुन्न’ भन्ने राणाजीहरूको शासन सकिएको थियो । अनि त महिलाले पनि पढ्ने मौका पाए । बुहारीले बेलायतमा पढ्न जान पाइन् । छोराबुहारी सब पास भएर आए ।
सानीमैया (बुहारी) पहिले त सुधी थिइन् तर, राम्रो पढिन् । पढेर आएपछि एकदम खुशी लाग्यो । मलाई छोराको भन्दा बुहारीको माया लाग्थ्यो ।
फर्किएपछि आफैं पनि केटीहरूलाई पढाउन थालिन्, पद्मकन्यामा । नारायणहिटीमा महेन्द्रका छोरीहरू, शाहजादीहरूलाई पनि पढाउन जान्थिन् । उनी त हजारौं केटीहरूको गुरुमा भइन् ।
पद्मकन्यामा त गर्नसम्म गरिन् बुहारीले ! हुनसम्म दुःख पनि गरिन् । नयाँ कलेज बनाइन् । धनीका छोरीहरूले धुमधामको कपडा लगाएर आउने । अरू नहुनेले के गर्ने ? चोरेर ल्याउनु भएन । बुहारीले सबैलाई एकै प्रकारको लुगा लगाउन लगाइन् । पढेर आएकी बुहारीले त्यो सबै गरेको देख्दा मलाई धुमधाम रमाइलो लाग्थ्यो, गर्व लाग्थ्यो ।
(किरणराज जोशी र रूपा जोशीसितको कुराकानीमा आधारित)