रुकुमको चौरजहारी घटना : 'आउँदैछन् भन्ने थाहा पाएपछि बाटो ढुकेर आक्रमण' {तस्वीरहरू}
शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको आक्रमणमा परी मृत्यु भएका तीन जना युवाको शव फेला परेको छ । तीन जना अझै बेपत्ता छन् ।
प्रहरीले शनिबार साँझ भएको घटनापछि आइतबार नवराज विक र टीकाराम सुनारको शव भेटाएको थियो भने सोमबार साँझ गणेश बुढाको शव भेरी नदीको किनारमा फेला पारेको छ । सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार अझै बेपत्ता छन् । प्रहरीका अनुसार जाजरकोटबाट गएका १९ जनामध्ये बाँकी १२ जना आक्रमणमा परी घाइते भएका छन् ।
मृतकहरूको शव जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ भने गम्भीर घाइतेको उपचार भइरहेको छ । प्रहरीले युवती, युवतीका बुवा र आमाका साथै आफन्त डम्बरबहादुर मल्लसहित एक दर्जनलाई पक्राउ गरेको छ ।
रुकुम पश्चिमको चौरजहारीकी १७ वर्षीया मल्ल थरकी युवती र जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज गएको तीन वर्षदेखि प्रेममा थिए । स्थानीयका अनुसार नवराज र युवती लामो समयदेखि एकअर्काको घरमा आवतजावत गरिरहन्थे ।
गएको चैतमा पनि नवराज र युवतीले विवाहको प्रयास गरेका थिए । त्यतिवेला विवाहका लागि चौरजहारी पुगेका नवराजलाई वडा अध्यक्षसमेत रहेका युवतीका आफन्त डम्बरबहादुर मल्लले प्रहरी लगाएर पक्राउ गराए । तर, एक रात हिरासतमा राखेपछि प्रहरीले वडा अध्यक्ष मल्ललाई 'के गर्ने' भनेर सोधे । उनले यत्तिकै छोडिदिन भनेपछि नवराज फर्किएर आफ्नो घर गएको इलाका प्रहरी कार्यालय चौरजहारीका इन्चार्ज प्रहरी निरीक्षक धर्मसिंह श्रेष्ठले जानकारी दिए ।
स्थानीयका अनुसार युवतीलाई परिवारबाट विवाहको लागि कुरा चलेपछि र उनले नवराजसँग मिलेर विवाहको योजना बनाएकी थिइन् । त्यसपछि दुवैले १० जेठमा केटा पक्ष लिन चौरजहारी जाने र युवती भागेर केटाको घर फर्किने सल्लाह गरेका थिए । सोही सल्लाह अनुरुप नवराजले आफ्नो गाउँका १९ जनालाई साथमा लिएर रुकुम हान्निएका थिए । तर, रुकुम पुग्नु पहिले नै बीच बाटोमा उनीहरूमाथि आक्रमण भयो ।
पीडित पक्षले युवतीको परिवारलाई कसैले खबर पुर्याएको हुनसक्ने अनुमान गरेका छन् । घाइते आशीष विकले आफूमाथि पुग्ने बित्तिकै आक्रमण भएको हुनाले उनीहरूले पहिल्यैदेखि बाटो ढुकेर बसेको हुनसक्ने बताए ।
केटा पक्षको समूह चौरजहारी पुग्नेबित्तिकै उनीहरू लखेटाइमा परेका थिए । प्रत्यक्षदर्शीका अनुसार करीब डेढ सयदेखि दुई सयसम्म गाउँलेहरूले लखेटेपछि १९ जनाको समूहसँग भागेर ज्यान बचाउनुको विकल्प थिएन । तर, उनीहरूको कोसिस सफल हुन सकेन ।
जसै उनीहरू चौरजहारीबाट लखेटिए जाजरकोट र रुकुमको बीचमा पर्ने भेरी नदी पार गर्ने प्रयास गरे । गाउँलेले पहिल्यै घेरा हालिसकेको भेरीको पुल तर्न सबैका लागि एकैपटक सम्भव नभएपछि केहीलाई नदीमा हाम फाल्नुको विकल्प रहेन । नदीमा हेल्लिएका मध्ये केहीले पार गरे भने केहीले जीवन नै गुमाए, केही अझै बेपत्ता नै छन् ।
ठूलो संख्यामा रहेका गाउँलेले जाजरकोटबाट गएका युवाहरूको समूहलाई भेरी पार गरेपछि पनि छोडेन । प्रत्यक्षदर्शीका अनुसार पुल घेरेर बसेका गाउँलेले नदी तरेकालाई समेत आक्रमण गरे । प्रहरी नजिकै रहे पनि आक्रमणकारीलाई केही नगरी उल्टै पीडित पक्षलाई नियन्त्रणमा लिएको पीडित पक्षको गुनासो छ ।
सोमबार साँझसम्म पीडित परिवारले मृतकको शव बुझ्न मानेका छैनन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा उनीहरूको धर्ना चलिरहेको छ ।
मानवअधिकारकर्मी लगायत संघसंस्था र पीडित पक्षले घटनालाई जातीय विभेदका कारण भएको भनेका छन् । तर, आक्रमण भएको गाउँका स्थानीयले भने बन्दाबन्दीको समयमा हुल बाँधेर अपरिचित मानिसहरू आएपछि झडप हुँदा दुर्घटना भएको बताइरहेका छन् ।
प्रहरीले भने बेपत्ताको खोजी र घाइतेको उपचारमा केन्द्रित भएको भन्दै अनुसन्धान गरिरहेको जनाएको छ । रुकुममा भएको उक्त घटनाले महामारीको समयमा पूरै देशलाई शाेकमग्न बनाएको छ ।
तस्वीरहरू: