चौरजहारी घटनाबारे अध्ययन गर्न गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
रुकुम पश्चिमकाे चाैरजहारीमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
गृहका सह-सचिवको संयोजकत्वमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महान्यायाधिवक्ताको कार्यालयको प्रतिनिधि लगायत पाँचजना सम्मिलित छानबिन समिति गठन गरिएको छ।
गृहमन्त्री रामबहादुर थापाले चौरजहारी घटनाबारे मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्नै समिति गठनबारे जानकारी गराएका हुन्। समितिले छानबिन गरेर प्रतिवेदन बुझाउन दुई साताको समय दिइएको छ।
शनिबार चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन जाजरकोटको भेरी नगरपालिका-४ बाट गएका नवराज विकसहितका युवा र गाउँलेबीच झडप भएको थियो।
जसमा तीन जनाको मृत्यु भएको थियो भने तीन जना बेपत्ता छन्। नवराज विक, टीकाराम सुनार र गणेश बुढाको शव भेटिएको छ भने सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार बेपत्ता छन्।
राष्ट्रियसभाका सांसदहरुले चौरजहारी लगायत देशका विभिन्न ठाउँमा भएको जातीय छुवाछूत विरुद्ध सरकार कठोर भएर लाग्नुपर्ने बताएका छन्। उक्त घटनाबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेका थिए।
यो पनि पढ्नुहोस्-
रुकुमको चौरजहारी घटना : 'आउँदैछन् भन्ने थाहा पाएपछि बाटो ढुकेर आक्रमण'
रुकुमको चौरजहारी घटना: अहिलेसम्म तीन जनाको शव भेटियो