'आफ्नै शरीर बुझिएन'
२०७४ वैशाखमा हो, महीनावारी बन्द भएको तीन दिनपछि एकाएक रक्तस्राव हुन थाल्यो । म आत्तिंदै अस्पताल पुगें, डाक्टरलाई जचाउँदा पूरै बेड नै रगताम्य भयो । क्यान्सर हो कि भन्ने शंका लागेर बायोस्पी टेष्ट गरें । अल्ट्रासाउण्ड गरें ।
तर सबै रिपोर्ट सामान्य नै आयो । रक्तस्राव कम गराउन तीन महीनाका लागि औषधि खान थालें । तर, रक्तस्राव र दुखाइ ‘बीसको उन्नाइस’ भएन ।
ती तीन महीना त सम्झँदा पनि अत्यास लाग्छ । दैनिकी नै अर्कै भएको थियो, अत्यधिक रक्तस्रावले होला, टाउको निकै दुख्थ्यो, वेलावेला चक्कर लागे जस्तै भइरहन्थ्यो । मान्छे देख्यो कि झर्को लाग्ने, कुरै गर्न नपरे हुन्थ्यो जस्तो लाग्ने ।
कतिसम्म भने, परिवारका सदस्यहरूसँग पनि बोल्नु नपरे हुन्थ्यो, देख्यो कि झम्टिउँ जस्तो हुने । अति नै दिक्क लागेपछि ‘आज मलाई कसैसँग बोल्न मन छैन ।
मसँग कोही नबोल्ने है’ सम्म भन्न थालें । शारीरिक सम्बन्ध राख्न त पर, सोच्न पनि मनै नलाग्ने । मेरो व्यवहार देखेर श्रीमान् मात्रै होइन छोराछोरी पनि छक्क पर्थे ।
डाक्टरकै सल्लाहबमोजिम तीन महीनापछि महीनावारीको चौथो दिन म पुनः अस्पताल गएँ । पाठेघर फोहोर भएर हो कि भन्ने पनि शंका गरियो ।
तर, रिपोर्टले फेरि पनि ‘नर्मल’ देखायो । डाक्टरले अन्ततः निष्कर्ष निकाले– “यो सबै महीनावारी बन्द (मेनोपज) हुने लक्षण हो । कि त पाठेघर फाल्नुस् होइन भने तीन/चार वर्षसम्म तपाईंलाई यस्तै गाह्रो हुनसक्छ ।”
“सद्दे अङ्ग किन फाल्नु ? महीनावारी बन्द हुनलाई यस्तो भएको हो भने म सहन्छु”, मैले भने ।
‘यो मेनोपज (रजोनिवृत्ति) मा मलाई मात्रै हो कि सबैलाई यस्तो हुन्छ ?’ भन्ने सोचेर इन्टरनेटमा खोज्न थालें । इन्टरनेटमा देखाइएका लगभग सबै लक्षण मिले जस्तो लग्यो । अनि बल्ल मैले श्रीमान्लाई भनें । छोराछोरीलाई पनि बताएँ ।
महीनावारी बन्द हुने लक्षण देखिएको दुई वर्षपछि अहिले पनि मलाई मासिक रक्तस्राव रोकिएको छैन । शायद अब छिट्टै महीनावारी रोकिन्छ होला । वेलावेला सोच्छु, मलाई त यति गाह्रो भएको छ, मेरी आमालाई यस्तो वेला कति पीडा भयो होला ? तर, न आमाले मलाई भन्नुभयो, न मैले नै यसबारे पहिल्यै थाहा पाएँ । कस्तो अचम्म !
सम्बन्धित सामाग्रीहरू: