'श्रीमानकाे सहयोग नै औषधि'
एक वर्षअघिको कुरा हो । कमलामा अचानक उनको स्वभाव विपरीत व्यवहार देखिन थाल्यो । स–साना कुरामा पनि रिसाउने, झर्किने, बोल्यो कि पोल्यो जस्तो । आज रिसाएको छ, भोलि रिसाएको छ । बिहानै, दिउँसो, राति जति वेला पनि रिसाएको देखेर मलाई पनि झनक्क हुन थालिसकेको रहेछ ।
यस्तो रिसाउने मान्छे त होइन । पक्कै केही भएको छ–एकदिन यस्तै सोचमग्न भएँ । मैले त्यसैदिन यत्तिकै हाम्रो डाक्टरलाई फोन गरें । कमलामा केही परिवर्तन भएको पनि जानकारी गराएँ ।
संक्रमणका कारण कमलाको पाठेघर फालेको यस्तै तीन महीना भएको थियो । डाक्टरले शल्यक्रियापछि महीनावारी बन्द भएकाले यस्तो समस्या देखिनु स्वाभाविक भएको बताएपछि म झसङ्ग भएँ ।
ओहो ! त्यसपछि पो मैले सम्झिएँ, हामी बूढाबूढीले धेरै पहिले महीनावारी बन्द हुनेबारे कतै पढेका थियौं । र, यसका लागि मानसिक रूपमा तयार पनि भएका थियौं । तर जब त्यो दिन आइपुग्यो, केही चालै पाएनौं । मलाई आत्मग्लानि भयो ।
त्यसपछि म सामान्य देखिन थालें । उनी रिसाउँदा पनि म हाँस्न थाले ।
समय दिन घरमा हुँदा सामाजिक सञ्जाल चलाउन बन्द गरिदिएँ । भान्सामा सघाउन थालें । उनलाई चिटचिट पसिना आउँदा आफूलाई पनि गर्मी भए झैं गर्न थालें । श्रीमतीलाई महीनावारी बन्द भएको वेला श्रीमानले नै नसम्हाले कसले सम्हाल्ने ? मलाई झनै जिम्मेवारीबोध भयो ।
सम्बन्धित सामाग्रीहरू: