'प्रम ओलीले नियमित औषधि सेवन र स्वास्थ्य जाँच गर्न नपाउँदा दाेस्राे प्रत्याराेपण गर्नु परेकाे हाे' : कुलचन्द्र गाैतम
गुल्मी अमरपुरका कुलचन्द्र गौतम नेपालका कूटनीतिज्ञमा चलेको नाम हो । सन् १९७३ मा कम्बोडियाबाट युनिसेफको कार्यक्रम अधिकृत पदबाट आफ्नो करियर शुरु गरेका गौतम युनिसेफकाे कार्यकारी उपनिर्देशक र संयुक्त राष्ट्र संघको उप-महासचिव बन्ने एक मात्र नेपाली हुन् ।
गौतमले आफ्नो करिअरमा धेरै उतारचढाव भोगे । त्यसै क्रममा उनलाई न्यूर्योकमा रहेका बेला सन् १९९४ मा मिर्गौलामा समस्या देखियो । शुरुमा ठिक होला भने पनि उनको शरिरमा क्रियाटिनिनकाे मात्रा बढ्दै गएर मिर्गौला फेल हुनसक्ने अवस्था देखियो । सन् २००५ मा अमेरिकाको न्यूयाेर्कस्थित एक अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण भयो । नियमित औषधि सेवन र स्वास्थ्य जाँच गर्दै आएका उनी प्रत्यारोपणपछि पनि लामो समय स्वस्थ रहेर काम गरिरहेका छन् ।
गौतमभन्दा दुई वर्षपछि सन् २००७ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओली दोस्रो पटक प्रत्यारोपणका लागि १९ फागुन २०७६ मा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
“म ७२ वर्षको भएँ, उहाँ ६९ वर्षको हुनुहुन्छ, जति उमेर ढकिल्यो, सर्जरी गर्नु त्यति नै खतरनाक मानिन्छ,” उनी भन्छन्, “त्यसैले यो उहाँका लागि अन्तिम मौका हो ।” गाैतम प्रधानमन्त्रीको देशप्रति जतिसुकै जिम्मेवारी भए पनि आफ्नो स्वास्थ्यबारे ख्याल राख्न सुझाव दिन्छन् ।
गौतमको मिर्गौला प्रत्यारोपणको अनुभव, नेपालमा मिर्गौला प्रत्यारोपण सेवा र प्रधानमन्त्री ओलीले देशभित्रै मिर्गौला प्रत्यारोपण गर्न गरेको निर्णय लगायतको विषयमा केन्द्रित रहेर कूटनीतिज्ञ गौतमसँग गरेको कुराकानीको सारः
“न्यूयाेर्कमा रहँदा मलाई किड्नीको समस्या भएको कुरा १९९४ मा थाहा भयो । किड्नीको फङ्सन मापन गर्ने मुख्य तत्व क्रियाटिनिन 'नर्मल' भयो भने किड्नी स्वस्थ भएको र क्रियाटिनिन बढ्दै गयो भने किड्नीमा समस्या भएको भनेर बुझिन्छ । क्रियाटिनिन बढ्नुको मुख्य कारण उच्च रक्तचाप र मधुमेह हुन् । यसबाहेक बंशानुगत कारणले पनि क्रियाटनिनकाे मात्रा बढ्छ।
चिकित्सकहरुले भर्खरै शुरु भएको हो डराउनु पर्दैन भनेर भने। रक्तचाप र मधुमेह नियन्त्रण गर्न सल्लाह दिए । यसो गरेमा नियन्त्रणमा आउने बताए । मलाई उच्च रक्तचाप थियो।
रक्तचाप घटाउने औषधि खाएँ। तर क्रियाटिनिनको सामान्य अवस्था ०.७ देखि १.२ सम्मलाई मान्य गरेकामा बढ्दै गएर ३ भन्दा बढी पुग्न थाल्यो।
चिकित्सकले नआत्तिन भने । सात वा आठभन्दा माथि भयो भने मात्र किड्नी 'फेल' हुन्छ । ६ भन्दा माथि पुग्न थाल्यो भने प्रत्यारोपणको लागि तयार हुनुपर्ने बताएका थिए। मेरो शरीरमा क्रियाटिनिनकाे मात्रा ५ भन्दा माथि पुग्न थाल्यो। त्यसपछि प्रत्यारोपण गर्ने तयारी थालियो । नेपालमा रहेकी बहिनी रमा भुसाल किड्नी दान दिन राजीखुसी भइन्। बहिनी र मेरो रगत म्याच भयो । र, किड्नी प्रत्यारोपण गरियो।
प्रत्यारोपणका लागि रगत म्याच गर्छ वा गर्दैन भनेर जाँच्ने एचएलए नाम उपकरण भएन भने समस्या हुन्छ। त्यतिबेला नेपालमा एचएलए टेष्ट हुने व्यवस्था थिएन । म अमेरिकामा भएकाले त्यहीँको अस्पतालमार्फत सर्जरी गर्ने तयारी भएको थियो। नेपालमा सर्जरी पनि हुँदैन थियो । त्यसैले मैले बहिनीलाई अमेरिका बोलाएर किड्नी प्रत्यारोपण गरें।
भारतमा पुगेर बहिनीको एचएलए परीक्षण गराउने तयारी भएको थियो । तर अमेरिकी चिकित्सकले बाहिर गराएको टेष्ट मान्य नहुने भन्दै आफ्नै ल्याबमा टेष्ट गराउन भने । त्यतिबेला नेपालका वरिष्ठ मिर्गौला रोग विशेष डा. ऋषि काफ्लेले टंगालमा सञ्चालन गरेको ल्याबमार्फत् रगत आइसप्याकमा राखेर न्यूयाेर्कमा लगेर २४ घण्टाभित्र परीक्षण गर्ने तयारी भयो। तयारी अनुसार काम पनि भयो । परीक्षणबाट मेरो रगतसँग म्याच हुने थाहा भयो । प्रत्यारोपण पनि भयो । किड्नी दिने र लिने दुवै जनाको स्वास्थ्यमा कुनै जटिलता निम्तिएन ।
किड्नी प्रत्यारोपण गरेका व्यक्तिले नियमित औषधि खानुपर्छ । प्रत्यारोपणपछि शरीरको 'इम्युन सिस्टम'ले नयाँ अंग कहिल्यै पनि स्वीकार गर्न खोज्दैन । मानव शरीरले नयाँ अंगलाई बाहिरी वस्तुको रुपमाब बुझ्छ र, अस्वीकार गर्न खोज्छ। 'इम्युन सिस्टम'ले प्रत्यारोपण गरेर राखेको किड्नीलाई अस्वीकार गर्न खोज्छ ।
त्यसैले चिकित्सकहरुले 'इम्युन प्रणाली'लाई कमजोर बनाउने 'इम्युनोसप्रेसर' नामक औषधि दिन्छन् । आवश्यकता अनुसार 'इम्युन सिस्टम'लाई कमजोर बनाएपछि मानव शरिरले किड्नीलाई रिजेक्ट गर्दैन । धेरै कमजोर पनि बनाउनु हुँदैन । त्यसैले 'इम्युन सिस्टम'लाई 'ब्यालेन्स'मा राख्नुपर्छ । त्यसका लागि नियमित रुपमा जिन्दगीभर मात्रा मिलाएर 'इम्युनोसप्रेसर' औषधि सेवन गर्नुपर्छ ।
प्रम ओलीको हकमा व्यस्तताका कारण ठिक ठिक समयमा गर्नुपर्ने ल्याब टेष्ट नगरेको र सायद मात्रा मिलाएर समय अनुसार औषधि पनि सेवन गर्न सक्नुभएन । त्यसैकारण उहाँको किड्नीमा थप स्वास्थ्य समस्या निम्तिएछ । त्यसैले उहाँको दोस्रो प्रत्यारोपण गर्नुपर्याे ।
मैले नियमित स्वास्थ्य जाँच र मात्रा मिलाएर औषधि सेवन गरिरहेको छु । त्यसैले अहिलेसम्म दोस्रो प्रत्यारोपण गर्नु परेको छैन । पहिला सेवन गरिरहेको औषधिको मात्रा जाँच्ने व्यवस्था पनि थिएन । तर, अहिले मात्र जाँच्ने सेवा उपलब्ध छ ।
मैले प्रत्यारोपण गर्ने क्रममा यो सेवा नेपालमा नभएको थाहा पाएपछि विदेशबाट फर्केर आनी छोइङ डोल्मा, पुकारचन्द्र श्रेष्ठ, मदनकृष्ण, हरिवंश सहित विभिन्न व्यक्तिहरू मिलेर औषधिको मात्रा जाँच्ने उपकरणसहितको आरोग्य प्रतिष्ठान स्थापना गर्याैं । प्रतिष्ठान मार्फत पहिलो पटक एचएलए टेष्ट र औषधिको मात्रा जाँच्ने ल्याब सञ्चालनमा ल्यायौं ।
त्यसअघि धेरैजसो बिरामीले भारत पुगेर जाँच गराउनुपर्ने बाध्यता थियो । भारतमा एचएलए टेष्ट गर्न ६० देखि ६५ हजारसम्म तिर्नुपर्ने बाध्यता थियो । तर, प्रतिष्ठान मार्फत ३५ हजारमा ल्याब टेष्ट गर्ने व्यवस्था गरियो । यसले नेपालीलाई सस्तो र भरपर्दो सेवा दिन सक्यौं । औषधिको मात्रा जाँच्ने ट्याक्रोलिमस(औषधिको नाम) टेष्ट वर्षको दुईदेखि तीन पटकसम्म गर्नुपर्छ । केही समयपछि प्रतिष्ठान मार्फत यो मेसिन पनि थपेर सेवा दिन थाल्यौं ।
त्यसपछि हाम्रो प्रयासमा भक्तपुरमा सरकारी मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरियो । यो केन्द्र निकै सफल छ । यही केन्द्र मार्फत संसारमै सस्तो मिर्गौला प्रत्यारोपण नेपालबाट हुने व्यवस्था गरिएको छ । केन्द्र मार्फत मिर्गौला प्रत्यारोपण गर्दा साढे दुईदेखि तीन लाख रुपैयाँसम्म पर्छ । भारतमा त १० देखि १२ लाख भारु र अमेरिकामा दुईदेखि तीन लाख अमेरिकी डलर पर्छ । त्यसैले नेपालमा मिर्गाैला प्रत्यारोपण संसारभरमै सस्तो बन्न पुगेको हो । केन्द्र मार्फत सस्तो मात्र नभएर यहाँबाट गरिने प्रत्यारोपणको सफलदर राम्रो छ ।
गएको तीनदेखि चार वर्षको बीचमा केन्द्र मार्फत ६ सय बढी व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिसकिएको छ । केन्द्र मार्फत सस्तो दरमा विश्वस्तरको सेवा दिने प्रणाली छ । त्यसैले प्रधानमन्त्रीले नेपालको क्षमता पहिचान गरेर नेपालभित्रै प्रत्यारोपण गर्न लागेको एकदमै खुशी लागेको छ । नेपालमा सबै थोक बिग्रिएको छ भन्ने आम बुझाइरहेको अवस्थामा प्रधानमन्त्री आफैले स्वदेशको सेवा लिनु एकदमै राम्रो कुरा हो । प्रधानमन्त्रीको यो कदमले नेपालको उपचार सेवाप्रति आम मानिसको आत्मविश्वास पनि बढ्छ । आशा राखौँ उहाँको उपचार सफल हुन्छ । उपचार सफल भयो भने नेपालबाट दिइने सेवाका बारेमा विश्वास नगरे अझै पनि नेपालीहरू विदेश जाने परिपाटी छ । त्यो रोकिन सक्छ । र, मानिसहरूको विश्वास बढ्न सक्छ । यसले नेपाललाई मेडिकल टुरिजमको हब बन्न सक्छ । अहिले नै डाक्टर सन्दुक रुइतले आँखाको नानीको शल्यक्रियामा नेपाललाई हब बनाइसक्नुभएको छ । उहाँहरूको टिमले संसारकै सस्तो र उच्चस्तरीय सेवा दिइरहेको छ । नानीको शल्यक्रियाको बारेमा संसारले थाहा पाइसकेको छ । अब यसैगरी मिर्गौला प्रत्यारोपण पनि सस्तोमा र गुणस्तरीय सेवा दिने कुरा संसारलाई थाहा दिनुपर्नेछ ।
नेपालबाट मिर्गौला प्रत्यारोपण सस्तो र विश्वस्तरको हुनुको कारण सरकारले सूचीकृत अस्पताल मार्फत विपन्न नागरिकलाई दिएको सहुलियतका कारण हो । केन्द्र मार्फत सस्तोमा प्रत्यारोपण सेवा दिने र सरकारले केन्द्रलाई अनुदानमा रकम दिने व्यवस्था गरेका कारण यस्तो सम्भव भएको हो ।
मुलुकका अधिकांश अस्पतालको समस्या सफा–सुघ्घर नहुनु हो । उपचार गर्ने अस्पतालमा धेरै फोहोरको समस्या छ । प्रत्यारोपण गर्ने अस्पतालमा त एकदमै धेरै सफा–सुघ्घर चाहिन्छ । तर नेपालका अस्पतालमा सफा–सुघ्घर गर्ने कुरामा हेलचेक्र्याइँ गर्ने गरिएको छ । स्टेरलाइजेसनमा पनि ठूलो समस्या छ । तर, भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा भने सफा–सुघ्घर राखिएका कारण सेवा पनि राम्रो छ । प्रत्यारोपणबाट फर्केपछि ओलीले सरकार मार्फत अस्पताल सफा–सुघ्घर राख्न धेरै महत्व दिनुपर्छ ।
तीन वर्ष पहिले ओली ब्यांककमा मिर्गौला परीक्षण गर्न जाने बेलामा एउटै फ्लाइटमा भएका कारण भेट भएको थियो । त्यसबेला उहाँको स्वास्थ्य अवस्था र ब्यांककमा भएको उपचार सेवाबारे कुरा भएको थियो । पहिले–पहिले म न्यूयोर्कमा छँदा उहाँ डेलिगेसनसहित त्यहाँ गएका बेला र म नेपाल आएका बेला भेट हुन्थ्यो । त्यतिबेला ओली परराष्ट्र मन्त्री हुुनुहुन्थो । म नेपाल हुँदा ट्याक्रोलिमस परीक्षण गर्न ओली पनि आरोग्य प्रतिष्ठान आउनुहुन्थ्यो । र, त्यहाँ पनि मेरो पटक पटक भेट हुन्थ्यो ।
मेरो मिर्गौला सन् २००५ मा अमेरिकाको न्यूयोर्क प्रेसबेटेरियन अस्पताल मार्फत प्रत्यारोपण गरेकामा ओलीको दुई वर्षपछि २००७ मा मिर्गौला प्रत्यारोपण गरियो । प्रत्यारोपणपछि मेरो मिर्गौला राम्रो भयो । क्रियाटनिन्को स्तर १.८ देखि २.२ सम्म हुने गरेको छ ।
प्रधानमन्त्री ओलीको दोस्रो प्रत्यारोपण हुनुको अवस्था निम्तिनुमा नियमित रूपले ल्याब टेष्ट र औषधि सेवन गर्ने काम नगरेका कारण भएको हो । नियमित रूपमा उक्त काम गर्न पाउनुभएको रहेनछ । त्यसैले समस्या निम्तियो । ओलीले अहिले दोस्रो मौका पाउनुभएको छ । यो मौकापछि तेस्रो मौका भन्न गाह्रो हुन्छ । उमेर पनि भएकाले तेस्रो मौका भन्नलाई गाह्रो हुने देखिन्छ । म ७२ वर्षको भए उहाँ ६९ वर्षको हुनुहुन्छ । जति ढिलो भयो उति सर्जरी गर्नु खतरा हुन्छ । त्यसैले यो उहाँको अन्तिम मौका हो । त्यसैले देशप्रतिको जतिसुकै जिम्मेवारी भए पनि आफ्नो स्वास्थ्यबारे पनि ख्याल गर्नुपर्छ । देशका निम्ति काम गर्न आफ्नो स्वास्थ्य पनि राम्रो हुनुपर्छ । त्यसैले नियमित ल्याब टेष्ट गर्नुहोस् र नियमित औषधि सेवन गर्नुहोस् । चिकित्सकको सल्लाह मान्नुहोस् । यो सबै काम नेपालमा हुन्छ ।
नेपालमा ओलीले शल्यक्रिया गर्न चिकित्सकहरूले विशेष व्यवस्था मिलाएका हुनसक्छन् । तर, अधिकांश सरकारी अस्पतालमा सरसफाइको अवस्था दयनीय छ । अस्पताल गएर फर्किदा बिरामी हुने अवस्था छ । सरकारी अस्पतालको ट्वाइलेट हेरेर नै थाहा हुन्छ । स्वास्थ्यमन्त्रीको पहिलो काम नै अस्पताल र ल्याब उद्घाटन गर्ने कुरामा सीमित हुने गरेको छ । तर, मन्त्रीले सबैभन्दा पहिले बिरामीले प्रयोग गर्ने ट्वाइलेट हेर्नुपर्छ । त्यसलाई सफा–सुघ्घर राख्नुपर्छ । अस्पतालको पानी र ट्वाइलेट सफा राख्नुपर्ने महत्वपूर्ण काम हो । नेपालका चिकित्सक विश्वस्तरका छन् । तर, मैले यहाँ सर्जरी गर्न डराउनुको कारण सरसफाइ नहुनु हो । प्रधानमन्त्रीले सर्जरी गरेको वार्डमा मात्र नभएर अस्पतालका सबै ट्वाइलेट सफा राख्नुपर्छ ।
नेपालमा अझै पनि वार्षिक तीन हजार व्यक्तिको मिर्गाैला फेल हुन्छ । तर, अझै पनि ८० देखि ९० प्रतिशतले प्रत्यारोपण सेवा लिन पाएका छैनन् । बहुसंख्यक व्यक्तिहरू अझै पनि प्रत्यारोपणका लागि भारत जाने अवस्था छ । अब उपत्यकामा मात्र सीमित प्रत्यारोपण सेवा प्रदेश अस्पतालमा पनि विस्तार गर्नुपर्ने छ । सरकारले प्रत्यारोपण र डायलासिस गरेका बिरामीले सेवन गर्ने औषधि सस्तोमा किनेर ल्याएर बिरामीलाई दिने व्यवस्था मिलाउनु पर्छ । बिरामीले जिन्दगीभर खानुपर्ने एउटै औषधिको एक पटकमा २० देखि २५ हजार तिर्नुपर्ने अवस्था छ । सबै नागरिकसँग त औषधि किनेर खाने पैसा पनि हुँदैन ।
मैले तीन/तीन महीनामा ल्याब टेष्ट गर्ने र औषधिको मात्रा मिले वा नमिलेको परीक्षण नियमित ६/६ महीनाको अन्तरमा गर्ने गरेको छु । नमिलेको भए औषधिको मात्रा मिलाउनु पर्छ । मिर्गौला रोगबाट बच्न नुन कम खानुपर्छ र चिनीको सेवन कम गर्नुपर्छ ।
प्रधानमन्त्रीको स्वास्थ्य किन गुपचुप ?