प्रधानमन्त्री ओलीकाे निर्णयले दिएको सन्देश
झण्डै १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक मुुलुकभित्रै पुनःप्रत्यारोपण हुँदैछ । प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका छन् ।
“आफ्नै मुलुकमा अनुभवी चिकित्सकहरूद्वारा पुनः प्रत्यारोपण गर्ने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुसी पनि छु” अस्पताल भर्ना हुनुअघि उनले भनेका थिए, “केही दिनको अस्पताल बसाइपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्किनेछु ।”
प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने ३२ वर्षीया महिलाले मिर्गौला दिदैछिन् । ओलीलाई अस्पतालको भीभीआईपीको ६०१ नम्बर वार्डमा राखेर उपचार गरिदैछ ।
उपचारमा खट्ने टोली
प्रधानमन्त्री ओलीको मिर्गाैला पुनः प्रत्यारोपण गर्न एनेस्थेसिया, भास्कुलरका सर्जन लगायत डाक्टर तथा नर्स गरी करीब २० जनाको समूह संलग्न छन् ।
सर्जरी गर्ने टोलीको नेतृत्व त्रिवि शिक्षण अस्पतालका प्रा.डा. प्रेम ज्ञवालीले गरेका छन् । ज्ञवाली ग्रान्डी अस्पतालको युरोलोजी तथा मिर्गौला प्रत्यारोपण युनिटका प्रमुख हुन् । यस्तै, सर्जरी गर्ने कामको नेतृत्व ओलीका निजी चिकित्सक समेत रहेका त्रिवि शिक्षण अस्पतालका डा. दिव्या साहले गर्दैछिन् ।
यसबाहेक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका क्रिटिकल केयर प्रमुख प्रा.डा. सुवास आचार्य, नर्सिङ विभाग प्रमुख पुनम सिंह, प्रधानमन्त्रीका निजी चिकित्सक वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्मा लगायतको टोली प्रमको पुनः प्रत्यारोपणमा संलग्न छ ।
पहिलो पटक ओलीको शल्यक्रिया गर्ने भारतीय चिकित्सक अनन्त कुमार दोस्रो पटक पनि प्रत्यारोपण गर्ने चिकित्सकहरूको टोलीमा सहभागी छन् ।
उनले पहिलो पटक एपोलो अस्पताल मार्फत ओलीको मिर्गौला प्रत्यारोपण गरेका अनुभवका आधारमा दोस्रो पटकको प्रत्यारोपणका क्रममा सहभागी गराइएको हो ।
अहिले म्याक्स अस्पतालमा काम गर्ने डा. अनन्तले प्रत्यारोपण गर्ने क्रममा चिकित्सकहरूलाई सघाउनेछन् । पुनः प्रत्यारोपण गर्ने मिति टुङ्गो लागेपछि उनी १९ फागुनमा काठमाडौैं आइसकेका छन् । सर्जरी गर्ने चिकित्सकको सल्लाह अनुसार उपचारमा सोचे जस्तो सफलता मिल्यो भने प्रधानमन्त्री ओली न्यूनतम सात र अधिकतम १४ दिनसम्म अस्पताल बसेर घर फर्किनेछन् ।
यसकारण दोस्रो प्रत्यारोपण
प्रधानमन्त्री ओलीको ६ भदौमा सिङ्गापुरको न्याशनल युनिभर्सिटी अस्पताल मार्फत प्लाज्माफेरेसिस गर्दा सोचे जस्तो परिणाम निस्केन । २० भदौमा सिङ्गापुरबाट फर्किएका उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार हुन सकेन ।
उनको शरीरमा जति एन्टीबडी हुनुपथ्र्यो त्यति भएन । किड्नीको फङ्सनमा पनि सोचे जस्तो परिणाम नआएपछि पुनः प्रत्यारोपणको बाटो रोजिएको हो । तर प्रत्यारोपण गर्ने कुरा भने जस्तो सजिलो हुँदैन ।
आफ्नै नाताभित्रबाट दाता जुटाउनेदेखि प्रत्यारोपणका लागि उपयुक्त अस्पताल चाहिन्थ्यो । त्यसैले प्रत्यारोपण गर्नुअघिको समय अवधिभर उनको मिर्गौलालाई ठीक अवस्थामा राख्न डायलासिस गर्नुपर्ने भयो । ओलीले ग्रान्डी अस्पताल मार्फत नियमित डायलासिस पनि गरे । डायलासिस भन्दा प्रत्यारोपण नै उपयुक्त हुने चिकित्सकको सल्लाहपछि ओली पुनः प्रत्यारोपण गर्न तयार भएका थिए ।
उनी निकटका एक चिकित्सकले भने, “सिङ्गापुरबाट फर्के लगत्तै प्रधानमन्त्रीलाई पनः प्रत्यारोपण गर्न सुझायौँ । प्रधानमन्त्रीले मान्नुभयो । त्यसपछि हामी प्रत्यारोपण गर्ने तयारीमा लाग्यौँ ।” चिकित्सकहरूले ओलीलाई पुनः प्रत्यारोपणका लागि उपयुक्त समय निकाल्न भनेका थिए । त्यसै अनुसार ओलीले १९ फागुनमा अस्पताल भर्ना भएर प्रत्यारोपण गर्ने निर्णय लिएका थिए ।
प्रधानमन्त्री ओलीको मिर्गौला पुनः प्रत्यारोपणको तयारी गर्न आवश्यक अधिकांश व्यवस्थापकीय कामहरू उनका निजी चिकित्सक डा. दिव्या सिंहले गरेकी थिइन् । ओलीको दोस्रो प्रत्यारोपण उनको अन्य स्वास्थ्य समस्याका कारण सहज नहुन सक्छ । तर, अस्पताल भर्ना हुनुअघि ओलीमा भिडियो सन्देश दिइरहँदा देखिएको आत्मबल र नेपाली चिकित्सकहरूको तयारीका कारण सफल उपचारलाई थप बल दिएको छ ।
पछिल्लो समय ११ मंसीरमा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर मार्फत एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएपछि प्रधानमन्त्री केपी ओलीको त्यतिबेलादेखि नै मिर्गौला प्रत्यारोपण गर्ने तयारी शुरु भएको थियो ।
१३ मंसीरमा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले हिमालसँग कुरा गर्र्दै पुनः प्रत्यारोपणबारे कुरा भइरहेको बताएकी थिइन् । त्यसबेला नै ओलीको मिर्गौला प्रत्यारोपणबारे प्रधानमन्त्रीका निजी चिकित्सकहरूले नेकपाका नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए ।
ओली निर्णयले दिएको सन्देश
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्मा मुलुकको कार्यकारी प्रमुखले देशभित्रै प्रत्यारोपण गर्ने भनेर गरेको निर्णयले मुलुकको चिकित्सा सेवा क्षेत्र योग्य भइसकेको प्रमाणित गरेको बताउँछन् ।
उक्त निर्णयपछि नेपाली चिकित्सक र सेवालाई लिएर बनेको आम मानिसको धारणा परिवर्तन गर्न सघाउ पुग्ने र नेपाली चिकित्सक पनि प्रत्यारोपणको सेवा दिन दक्ष रहेको प्रमाणित गरेको डा. शर्माको भनाइ छ । उनी भन्छन्, “यसले चिकित्सकको हौसला र मनोबल बढाएको छ ।”
पहिलो पटक प्रम ओलीको प्रत्यारोपणमा संलग्न हुन पाएकामा उपचारमा संलग्न चिकित्सकहरू उत्साहित देखिएका छन् ।
ओलीले स्वदेशमा उपचार गर्ने निर्णय गरेर अस्पताल भर्ना भए लगत्तै नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीले २० फागुनमा विज्ञप्ति जारी गर्दैै आफ्नै मुलुकका अनुभवी चिकित्सकहरूलाई विश्वास गरेर नेपाली चिकित्सकहरूको हौसला बढाउने प्रमको कदमको प्रशंसा गरे ।
चिकित्सकहरू प्रधानमन्त्रीको निर्णयबाट प्रत्यारोपण गर्न विदेश नै जानुपर्छ भन्ने आम मानसिकतालाई तोड्न सहयोग पुर्याउने बताउँछन् ।
ओलीको मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सकहरूको नेतृत्व गरेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ युरोलोजिष्ट प्रा.डा प्रेम ज्ञवाली प्रधानमन्त्री ओलीको देशप्रतिको मायाका कारण र उहाँको देशभित्र प्रत्यारोपण गर्ने इच्छाका कारण देशभित्रै प्रधानमन्त्रीको पुनः प्रत्यारोपण सम्भव भएको बताउँछन् ।
“उहाँको चिकित्सक र अस्पतालप्रतिको मायाका कारणले पनि सम्भव भएको हो”, ज्ञवाली भन्छन्, “यसले नेपालको मिर्गौला प्रत्यारोपण सेवा राम्रो भएको सन्देश दिएको छ ।”
उनी प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको राम्रो र सफल नतिजा निकाल्न ध्यान केन्द्रित गर्ने बताउँछन् । प्रत्यारोपण गर्न चाहने सबै बिरामी समान भएको बताउँदै उनी भन्छन्, “प्रत्यारोपणका अरु बिरामीलाई जस्तै उहाँलाई पनि त्यही विधिबाट उपचार गरिनेछ ।”