प्रधानमन्त्रीकाे स्वास्थ्य : अब पुनः प्रत्यारोपण !
एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओलीले मिर्गौला पुनः प्रत्यारोपणको तयारी थालेका छन्।
१२मंसीर बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गरे, “बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिवेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले यो ट्वीट गरिसक्दा उनले दाल र जाउलो खाइसकेका थिए । चिकित्सकहरूले शरीरमा ज्वरो घट्नु र आन्द्राले काम गर्न थाल्नुलाई ओलीको स्वास्थ्यमा आएको व्यापक सुधारका रूपमा अर्थ्याएका छन् । १२ मंसीरमा अस्पतालमै भेट्न गएका केही शुभचिन्तकसँग ओलीले राम्ररी कुरा गरेका थिए ।
१३ मंसीरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको बताइन् । डा. सिंहले प्रधानमन्त्रीको शरीरमा प्लेटलेट चढाइएको तर त्यो चढाउनुमा नयाँ स्वास्थ्य समस्या कारक नभएको बताइन् । “बिरामीहरूलाई पनि रक्तस्राव नहोस् भनेर प्लेटलेट चढाइन्छ । प्रधानमन्त्रीको हकमा पनि यही कुरा लागू हुन्छ”, उनले भनिन् ।
हिमाल सँग कुरा गर्दै डा.सिंह प्रधानमन्त्रीको पेटमा फैलिएको सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आएकाले त्यससँग सम्बन्धित औषधि नचलाएको बताउँछिन् । त्यसैक्रममा डा. सिंहले प्रधानमन्त्री ओलीको मिर्गौला पुनः प्रत्यारोपण गर्ने सम्बन्धमा कुरा भएको पनि बताइन् । उनी भन्छिन्, “तर पुनः प्रत्यारोपण कहिले गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय हुनै बाँकी छ ।” उपचारमा खटिएका चिकित्सकहरूले प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपण गर्नेबारे नेकपाका नेताहरूलाई ‘ब्रिफ्रिङ’ गरिसकेका छन् ।
यसरी भयो सुधार
पेटमा असहज महसूस गरेपछि प्रधानमन्त्री ओलीलाई १० मंसीर बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्रीको शरीरमा भएको इलेक्ट्रोलाइट अर्थात् लवणले रगत हुँदै श्वासप्रश्वासमा समस्या भएपछि तत्काल भेन्टिलेटर प्रयोग गरी उपचार गर्न थालिएको थियो । मानव शरीरबाट लवण हटाउने काम फोक्सो र मिर्गौलाले गर्छन् । त्यसअघि प्रम ओलीको फोक्सोले राम्ररी काम गर्न सकेको थिएन । उपचारका क्रममा फोक्सो मार्फत लवण हटाइएको थियो । यो समस्या ११ मंसीरमा कम भयो ।
चिकित्सकहरूका अनुसार शरीरमा ‘इलेक्ट्रोलाइट इम्ब्यालेन्स’ भएपछि श्वासप्रश्वासमा समस्या निम्तिन्छ । यस्तै, ठूलो शल्यक्रिया गरेका हरेक बिरामीलाई चिकित्सकहरूले भेन्टिलेटरमा राखेर उपचार गर्ने गरेका छन् । ठूलो शल्यक्रिया गरेपछि होश खुल्न ढिला भए भेन्टिलेटरको सहयोग लिइने गरिएको छ ।
१० मंसीरमा ‘गम्भीर बिरामी’ भएका ओलीको स्वास्थ्य ११ मंसीरमा अपेक्षा गरेभन्दा बढी सुधार भएको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ बताउँछन् ।
अस्पतालद्वारा १० मंसीरमा जारी विज्ञप्ति अनुसार प्रमको ‘ल्यापोरोटोमी’ र ‘एपेन्डेक्टोमी’ लगायतको विधिबाट उपचार गरिएको थियो । यसैकारणले सघन उपचारको सम्पूर्ण व्यवस्था सहित निरन्तर निगरानीमा राखिएको हो । ‘ल्यापोरोटोमी’ एक प्रकारको शल्यक्रिया हो । त्यस्तै ‘एपेन्डेक्टोमी’ भनेको शल्यक्रिया मार्फत एपेन्डिक्स हटाउने काम हो ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा.सिंहका अनुसार स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओलीलाई ‘आएनोट्रोप्स’ दिन बन्द गरिएको थियो । ‘आएनोट्रोप्स’ शरीरमा रक्तचाप बढाउन सुई मार्फत दिइने औषधि हो । त्यसपछि ज्वरो नआएको र रक्तचाप पनि सन्तुलनमा आएको उनले बताइन् । डा.सिंहले ओलीको पेटमा फैलिएको सङ्क्रमण पनि नियन्त्रण भएको बताइन् ।
‘एपेन्डिसाइटिस’ को कारण
आन्द्राको तल्लो भागमा हुने एपेन्डिक्स विभिन्न कारणले सुन्निन्छ । एपेन्डिक्स सुन्निएपछि पेटमा असहज महसूस हुन्छ । सुन्निएको एपेन्डिक्सलाई समयमा पहिचान गरेर शल्यक्रिया गर्न नसके फुट्छ । त्यसपछि आन्द्रामा भएको फोहोर र जीवाणु एपेन्डिक्स फुटेर घाउ बनेको ठाउँको बाटो हुँदै पेट लगायत शरीरका विभिन्न भागमा फैलिन्छ । प्रधानमन्त्री ओलीको पनि एपेन्डिक्स फुटेर पेटसम्म सङ्क्रमण फैलिएको थियो ।
शल्यक्रिया गरेर उनको शरीरबाट एपेन्डिक्स काटेर फालियो र पेटसम्म फैलिएको सङ्क्रमण नियन्त्रण गर्न औषधि उपचार गरियो ।
चिकित्सकहरू एपेन्डिक्सलाई मानव शरीरको नचाहिने भागका रूपमा लिन्छन् । त्यसैले एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा उक्त नचाहिने भाग एपेन्डिक्स काटेर फालिन्छ । एपेन्डिस फुट्नुभन्दा पहिल्यै एपेन्डिसाइटिस भएको थाहा भयो भने पेट नचिरिकन दूरबिनको सहायताले शल्यक्रिया गरिन्छ । तर, प्रधानमन्त्री ओलीको एपेन्डिक्स फुटिसकेकाले उनको पेट चिरेर शल्यक्रिया गरिएको थियो ।
सामान्यतः पेटको मध्य भागमा दुख्नु एपेन्डिसाइटिसको लक्षण हो । यो दुखाइ विस्तारै पेटमुनि दायाँ र बायाँ भागतिर सर्दै जान्छ । त्यसो भए प्रधानमन्त्रीले किन एपेन्डिक्स फुट्नु पहिल्यै एपेन्डिसाइटिस भएको थाहा पाउन सकेनन् त ?
प्रत्यारोपण गरिएको मिर्गौलालाई ठीक अवस्थामा राख्न ओलीले नियमित स्टोरोइड समूहका औषधि सेवन गरिरहेका छन् । एपेन्डिक्स सुन्निएर शरीरमा विभिन्न क्रिया प्रतिक्रिया भएर पीडा महसूस हुनुपर्नेमा प्रधानमन्त्रीले सेवन गरिरहेका स्टोरोइड समूहका औषधिले पीडा कम गरिदिएका कारण तत्काल थाहा हुन नसकेको चिकित्सकहरू बताउँछन् । डा.सिंह प्राकृतिक रूपमा हुनुपर्ने पीडा नभएपछि बिरामी स्वयंलाई ठीक भएको महसूस हुने र समयमा एपेन्डिसाइटिस पत्ता लगाउन कठिन हुने बताउँछिन् ।
१२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । १८ साउनमा सिङ्गापुर गएर मिर्गौलाको उपचार गरेपछि उनको नियमित जसो डायलासिस भइरहेको छ । उनी सिङ्गापुरस्थित न्याशनल युनिभर्सिटी अस्पतालमा करीब सात पटक ‘प्लाज्माफेरेसिस’ गरेर २० भदौमा स्वदेश फर्किएका थिए ।