प्रधानमन्त्रीको चुँडिएको तुलो
फागुन महीना शायद प्रधानमन्त्री खड्गप्रसाद ओलीका निम्ति ‘खड्गो’ हो । गत वर्ष फागुनमा भएको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा उनले आफ्ना निकट सहयोगी व्यापारिक समूह यती होल्डिङ्सका प्रमुख आङछिरिङ शेर्पालाई गुमाए । त्यसको एक वर्षपछिको फागुनमा अर्का निकटस्थ विश्वासपात्रलाई मन्त्रिपरिषद्बाट बिदा गर्नुपरेको छ । ओलीको वफादारीको बिम्ब रहँदै आएका सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुरक्षण मुद्रण खरीद बापत स्थानीय एजेन्टसँग कमिशनको बार्गेनिङ गरेको अडियो टेप बाहिरिएपछि राजीनामा दिएका छन् ।
राजीनामाको दुई दिनअघि मात्र एक कार्यक्रममा काभ्रेले धेरै प्रतिभा जन्माएको बताउँदै बाँस्कोटाको उदाहरण प्रस्तुत गर्नु प्रकारान्तरमा ओलीकै निम्ति व्यङ्ग्य बनेको छ । ‘राजनीतिको तुलोमा एकातिर गोकुल र बाँकी सबै अर्कोतिर’ भनेको दुई दिन बित्न नपाउँदै ओलीको तुलो चुँडिएको छ ।
कमिशन प्रकरण सार्वजनिक भएकै दिन ओलीभित्र पनि ‘मसाने वैराग्य’ जागेको हुनुपर्छ । नत्र मिर्गौला पुनः फेरेर तीनवर्षे बाँकी कार्यकाल पूरा गरिछाड्ने दृढ सङ्कल्पित ओलीले टेप सार्वजनिक भएकै दिनको एक कार्यक्रममा भन्ने थिएनन्, “हिमालको चुचुरो र सत्ताको कुर्सीमा मानिस लामो समयसम्म बस्नुहुँदैन ।”
‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा दिएर निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेपछि शुरू भएको ओलीको दोस्रो कार्यकालको दुई वर्ष बितिसक्दा न त देश समृद्धिको उकालोतर्फ लागेको छ, न आम देशवासीले सुखको अनुभूति गरेका छन् ।
बरु एकपछि अर्को काण्ड, चुच्चे रेलदेखि बुच्चे पानीजहाजसम्मको विकासे गफ र कानून मार्फत अनुदार शासनको अभ्यासका कारण सरकार चौतर्फी घेराबन्दीमा परिसकेको छ । तर, सरकारप्रति बढेको आम आलोचनामाथि समीक्षा गर्नुको साटो प्रम ओलीले ‘समृद्धिबाट अत्तालिएर सरकारको आलोचना गरेको’ जस्ता अनुत्तरदायी जवाफ दिंदै आए । बाँस्कोटाको बहिर्गमनले भने सरकारको समृद्धि र सुशासनको असली अनुहार उदाङ्गो पारेको छ ।
पितातुल्य ओलीको विश्वास जिते पनि बाँस्कोटाको छुद्र व्यवहारले दुवैलाई मन्त्रिपरिषद् र पार्टीका अन्य सदस्यबाट अलग्याउँदै लगेको थियो।
दुई दर्जन मन्त्रीसहितको मन्त्रिपरिषद्मा दुई वर्षयता केवल दुई अनुहार मात्र दृष्टिगोचर रह्यो, स्वयं प्रम ओली र उनका विश्वासपात्र बाँस्कोटा । उनीहरूको ‘सम्बन्ध’ परिभाषित गर्ने उपयुक्त शब्द शायदै शब्दकोशमा भेटिन्छ । ओली–बाँस्कोटा सम्बन्धको आयाम र आयतन कार्यकारी प्रमुख र एक मन्त्रीमा मात्र सीमित थिएन ।
अन्य मन्त्रीले प्रमलाई मन्त्रिपरिषद्को बैठकमा सामूहिक रूपमा मात्र भेट्न (वा देख्न र सुन्न) पाउँथे, तर बाँस्कोटाको पहुँच प्रम निवासमा मात्र नभई शयनकक्षसम्मै हुन्थ्यो । मन्त्रिपरिषद्का अन्य सदस्य मन्त्री क्वाटर, निजी निवास वा भाडाको घरमा बस्छन् भने बाँस्कोटा ओलीको निजी निवास बालकोटमा बस्छन् । उनले ओलीको विश्वास मात्र जितेका थिएनन्, विपुल स्नेह पनि आर्जेका थिए ।
ओलीकै बोली बोल्ने तथा प्रत्येक बोलीको प्रतिरक्षामा कुर्लिने बाँस्कोटाको व्यवहार राजनीतिक र जिम्मेवारपूर्ण कहिल्यै देखिएन । ओली र उनीप्रति नतमस्तक बाँस्कोटाको सम्बन्ध पिता र पुत्र जस्तो देखिन्थ्यो । पितातुल्य ओलीको विश्वास जति नै जिते पनि बाँस्कोटाको छुद्र व्यवहारले दुवैलाई मन्त्रिपरिषद् र पार्टीका अन्य सदस्यबाट अलग्याउँदै लग्यो ।
बाँस्कोटाको ‘क्यामरा प्रिजेन्स’ बाट आम मानिस सरकारदेखि वाक्कदिक्क बन्दै गए । अरूलाई सदाचारको उपदेश दिने ओली र बाँस्कोटाका टिप्पणी अमर्यादित र अनुत्तरदायी हुन्छन् । बाँस्कोटाको रवैया बाबुको पुल्पुलिएको छोरो जस्तो रह्यो, तर ओली उनलाई मर्यादित बनाउनु त परै, उकास्नेतिरै लागिरहे । भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीलाई नछाड्ने ओलीको ‘प्रतिबद्धता’ पुत्रवत् बाँस्कोटा स्वयं टेपकाण्डमा परेपछि प्रहसन सरह बनेको छ । बाँस्कोटाका कारण अहिले सरकारको अनुहारमा कालो पोतिएको छ ।
कमिशनको बार्गेनिङमा मुछिएका बाँस्कोटाको राजीनामा पर्याप्त छैन । भ्रष्टाचारप्रति शून्य सहनशीलताको प्रतिबद्धता उराल्ने प्रम ओली अब कसरी प्रस्तुत हुनेछन् त्यो आम चासोको विषय हो । तर, त्योभन्दा पनि महत्वपूर्ण चाहिं, बाँस्कोटाका कारण ओली स्वयं नैतिक सङ्कटमा परेका छन् ।
विश्वासपात्र बाँस्कोटा उनको जानकारी बेगर कमिशनको खेलमा लागेका थिए वा यसमा ओली समेतको सम्मति थियो भन्ने प्रश्न उठेको छ । समृद्धिको राजमार्ग त परै छाडौं गोरेटोसम्म कोर्न असफल सरकार आम नागरिकबाट अलग्गिंदै तथा पार्टी पंक्तिबाट समेत एक्लिंदै गएको परिप्रेक्ष्यमा बाँस्कोटाका कारण सरकार थप कमजोर बनेको छ । प्रतिरक्षात्मक अवस्थामा पुगेको सरकारका निम्ति अबका दिन थप कठिन हुने प्रष्ट छ ।
सम्बन्धित समाचारहरुः