मन्त्री बाँस्कोटाले कमिसन डिल गरेका मिश्र को हुन् ?
सरकारले खरीद गर्न लागेको सेक्युरिटी प्रिन्टिङमा सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग ७० करोड कमिसनको बार्गेनिङ भएकोे अडियो सार्वजनिक भएको छ ।
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङमा स्वीस एजेन्ट बिजयप्रकाश मिश्रसँग बार्गेनिङ गरेको अडियो विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भएको हो । स्वीस कम्पनीलाई सेक्युरिटी प्रिन्टिङको ठेक्का दिदा ७० करोड आउने र त्यसको ७० प्रतिशत मन्त्रीको भागमा पर्ने मिश्रले टेलिफोन सम्वादमा उल्लेख गरेका छन् । उनले आफूहरुले पनि १५/१६ करोड राख्ने बताएका छन् ।
यसका लागि मन्त्री बाँस्कोटाले कर्मचारीसँग मिलाउने जिम्मा तिनै मिश्रलाई दिएका छन् । कर्मचारीप्रति अपशब्द नै बोल्दै मन्त्री बाँस्कोटाले आफूले प्रस्ताव गर्दा हेप्ने भएकाले मिश्रलाई नै मिलाउने जिम्मा दिएका छन् ।
मन्त्री बाँस्कोटा कञ्चनपुर भएकाले यो प्रकरणमा थप कुराकानी हुन नपाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
यता, सार्वजनिक लेखा समितिले भने आजै (बिहीबार) बिहान ११ बजे यसबारे सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयका सचिवलाई बोलाएको छ । समितिका सभापति भरत साहका अनुसार, यो प्रकरणमा परेको उजुरीमाथि छानबिन भइरहेकाले सम्बन्धित अधिकारीलाई बोलाइएको हो ।
सेक्युरिटी प्रिन्टिङ खरीद प्रकरणमा विजयप्रकाश मिश्र ठेकेदारको एजेन्ट, संसदमा विज्ञ, अनियमितताबारे उजुरीकर्ता र मन्त्रीसँग ७० करोडको बार्गेनिङ गर्ने बहुभूमिकामा देखिन्छन् ।
साहले भने, “सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा पारदर्शिता नभएको उजुरी परेकाले छानबिन भइरहेको छ । आज सम्बन्धित अधिकारीहरुलाई बोलाएका छौं ।”
यसअघि समितिले तिनै मन्त्रीसँग कमिसनको बार्गेनिङ गर्ने बिजयप्रकाश मिश्रलाई छलफलमा बोलाएको थियो । “उजुरीको आधार के हो ? कसरी अनियमितता भएको प्रमाणित हुन्छ ? भनेर मिश्रलाई समितिमा बोलाएका थियौं” सभापतिका साहले भने, “मिश्रले ६ अर्व अनियमितता हुन लागेकाले उजुरी दिएको बताएका छन्, थप छानबिन हुन्छ ।”
उजुरीकर्ता मिश्रलाई समितिले सेक्युरिटी प्रिन्टिङ विज्ञका रुपमा समेत छलफलमा राखिसकेको छ । यसमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले भने आपत्ति जनाएका थिए । एउटै व्यक्तिलाई अनेक रुपमा समितिमा बोलाइएकोबारे सभापति साहसँग सांसद सूर्य पाठकले कारण नै मागेका थिए ।
सभापति साहले भने नेकपाकाे समेत सहमतिमा रहेकाे बताए । उनले भने, “मिश्र मात्रै होइन, अर्का इन्जिनियर (सुधिरराज पाण्डे) पनि आएका थिए । ती इन्जिनियर माओवादी नजिकका हुन्।"
सांसद पाठकले हिमाल खबरसँग भने, “ठेकेदार, उजुरीकर्ता र विज्ञका रुपमा समितिमा एउटै व्यक्ति (मिश्र) लाई कसरी प्रस्तुत गर्ने ? त्यसैले यसबारे आपत्ति जनाएको हुँ ।” मन्त्री बाँस्कोटासँग ७० करोडमा ७०/३० को अनुपातमा कमिसनको प्रस्ताव गर्ने विजयप्रकाश मिश्र स्वीस कम्पनीलाई सेक्युरिटी प्रिन्टिङको ठेक्का दिलाउन एजेन्टका रुपमा प्रस्तुत भएका थिए ।
तर, उनले राखेको प्रस्ताव भने प्रतिश्पर्धाबाटै बाहिरिएको छ । “बिजयप्रकाश मिश्रले भनेको कम्पनी प्रतिश्पर्धामै नरहेकाले त्यसबारे छलफल हुँदैन, तर फ्रान्स र जर्मनको कम्पनीसँग भइरहेको प्रक्रियाबारे छानबिन हुन्छ” सांसद पाठकले भने ।
जापानबाट फर्किएका लमजुङका बिजयप्रकाश मिश्र स्वीसका विभिन्न कम्पनीसँग नेपाली एजेन्टका रुपमा प्रस्तुत हुँदै आएका छन् । केही समय अगाडि उनी नेपालीहरुलाई जापान पठाउने काम गर्थे । तर, अहिले विभिन्न स्रोत मार्फत शक्ति केन्द्रसँग सम्बन्ध बनाएर एजेन्टका रुपमा बार्गेनिङ गर्नेतिर लागेको उनलाई चिन्ने एक नेताले बताए ।
मिश्रले मन्त्री बाँस्कोटासँग भेटेरै प्रस्ताव गर्ने प्रयास गरेका थिए । नेकपा स्रोतका अनुसार, मन्त्रालयमा भेट हुन नसकेपछि टेलिफोन सम्वाद मार्फत् कुराकानी चलाएका हुन् । तीन महीना अगाडि नै मन्त्री बाँस्कोटासँग मिश्रले यस्तो प्रस्ताव राखेको हुनसक्ने अनुमान गरिएको छ ।
स्रोतका अनुसार, अडियो सार्वजनिक हुँदै गरेको सूचना प्रधानमन्त्री कार्यालयमा हप्ता दिन अगाडि नै पुगेको थियो । तर, मिश्रले कमिशनको प्रस्ताव गर्दा आफूले अस्वीकार गरेको मन्त्री बाँस्कोटाले जवाफ दिएका थिए ।
राहदानी प्रमाणपत्र, अन्तशुल्क स्टिकर, ब्यांकको चेक लगायत सामग्री छाप्न सरकारले पिन्टिङ प्रेस खरीद गर्ने गएकाे मंसीरमा निर्णय गरेकाे थियाे । त्यसैका लागि सरकारले विदेशी कम्पनीसँग सम्झौता प्रक्रिया अगाडि बढाएको छ । शुरुमा बोलपत्र आह्वान गरिए पनि पछि जीटुजी (सरकार–सरकार बीच) काम गर्ने सरकारले निर्णय गरेको थियो ।
त्यसैका आधारमा फ्रान्स र जर्मनको कम्पनीको प्रस्तावमाथि सरकारले प्रक्रिया अगाडि बढाउँदा मिश्रले सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए ।