ज्यानमारा क्रसरलाई चार करोडको ठेक्का
मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीया दीलिपकुमार महतोलाई किचेर मार्ने काममा संलग्न क्रसर उद्योगलाई स्थानीय सरकारले चार करोडको ठेक्का दिएको पाइएको छ ।
धनुषा प्रहरीका अनुसार महतोलाई २५ पुस बिहान चार बजे चुरियामाई गिट्टी बालुवा प्रशोसन उद्योगको संलग्नतामा टिपर प्रयोग गरेर औरही खोलामा किचेर हत्या गरेको थियो । चुरियामाई प्रशोधन उद्योग औरही खोलाबाट करीब दुई सय मिटर दक्षिणमा पर्छ ।
२६ पुसमा जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत महतोको दाहिने कोखमा लिभर प्रहार गरेर घाइते बनाए पछि टिपरले किचेर हत्या गरेको बताएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार, सोही दिन विहान मर्निङवाकमा निस्केका महतोलाई करीब चार बजे ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको थियो । दीलिपले उनको घर नजिकैको औरही खोलामा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खननको विरोध गदै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाले युवकलाई किचेर मार्ने काममा संलग्न भएको अभियोगमा चुरिया माई क्रसर उद्योगका सञ्चालक बिपिन महतोलाई २६ मंसीरमा पक्राउ गरिसकेको छ । बिपिन महतो नेपाली कांग्रेस निकट मानिन्छन् ।
धनुषा प्रहरिका अनुसार महतो नै युवकलाई किचेर मार्ने रात औरही खोलामा रहेको र उनकै संलग्नतामा हत्या भएकाले पक्राउ गरिएको हो ।
युवक हत्या र ठेक्काको सम्बन्ध
२४ बर्षीया युवकको हत्या भएको ठाउँ औरही खोला मिथिला नगरपालिका अन्तर्गत पर्छ । मिथिला नगरपालिकाले चालु आर्थिक वर्षका लागि औरहीसहित जलाठ, रातु, जगधर, बसही र बडहरी खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतको प्राकृतिक स्रोत साधन निकाल्न जय बजरङ्ग बालुवा प्रशोधन उद्योगलाई ठेक्का लगाएको छ ।
नगरपालिकाले चालु आवका लागि जय बजरङ्गसँग ८ कात्तिक २०७६ मा चार करोड ५१ लाख ५१ हजारमा ठेक्का सम्झौता गरेको हो । जय बजरङ्ग बालुवा प्रशोधन उद्योग मिथिला नगरपालिका–९ को बडरी र लालगढको बीच भागमा सञ्चालित छ ।
ठेक्का पाए बापत जय बजरङ्गले यो आर्थिक वर्षको अन्त सम्ममा मिथिला नगरपालिकालाई चार करोड ५१ लाख ५१ हजार रकम बुझाउनु पर्छ । जय बजरङ्गले यो रकम औरही सहितका ६ वटा खोलाबाट निकालेको ढुङ्गा, गिट्टी र बालुवा बिक्रि गरेर तिर्नुपर्छ । तर, जय बजरङ्गले गिट्टी, बालुवा संकलनको काम आफु एक्लै गर्दैन ।
हिमालखबर सँग कुरा गर्दै जय बजरङ्गका सञ्चालक बेतन शर्माले गिट्टी, बालुवा उत्खनन् गर्ने ठेक्काको काम चुरियामाई क्रसर उद्योगसहित तीन वटा क्रसर उद्योग मिलेर गरिरहेको बताए ।
नगरपालिकासँग गरेको सम्झौता अनुसार मापदण्डभित्र रहेर जय बजरङ्ग एक्लैले गिट्टी बालुवा संकलनको काम गर्नुपर्ने हो । तर, जय बजरंगका सञ्चालक शर्माले आफु एक्लैले उक्त काम गर्न नसक्ने भन्दै अन्य उद्योगलाई पनि काम लगाएको बताउँछन् ।
यसरी चुरियामाईले नगरपालिकाको अनुमति बिना औरही खोलाबाट गिट्टी, बालुवा निकाल्ने गरेको पाइएको छ । जय बजरंगले नगरपालिसँग गरेको ठेक्का सम्झौता अनुसार औरही खोलाबाट प्रति क्यूफिट रु. ३.७५ का दरले ढुङ्गा, बालुवा, गिट्टी, उत्खनन् गर्ने अनुमति दिएको छ ।
तर, औरही खोलाबाट मापदण्ड बिपरित ठुला पर्ने खाल्डा पार्ने जय बजरंग र चुरियामाई क्रसर उद्योगले रातको समयमा उत्खनन्को काम गर्दै आइरहेका थिए । यस्तो अवैध उत्खनन्को विरोध गर्दै आएका युवक मतहतोलाई क्रसर संञ्चाकको संलग्नतामा हत्या गरियो ।
मापदण्ड विपरित औरही लगायतका खोलाबाट भइरहेको अवैध उत्खनन्बारे किन मिथिला नगरपालिकाले अनुगमन गरेर कारकाबी गर्न सकेन ?
नगरपालिकाका उप–प्रमुख ताराकुमारी बस्नेत मापदण्ड बिपरित रातको समयमा उत्खनन् गर्न नपाइने नियम भए पनि आफुहरुले अनुगमन गर्न नसकेको बताउँछिन् । बस्नेत जनप्रतिनिधिले ज्यानको माया मारेर रातको समयमा अनुगमनमा जान नसक्ने बताउँछिन् ।
नगरपालिकाका प्रमुख हरि नारायण महतो रातभर खोलामा गएर अनुगमन गर्न नसक्ने बताउँछन् । महतो चालु आर्थिक वर्षमा ठेक्का सम्झौता भए पनि कुनै पनि क्रसरलाई खोलाबाट बालुवा, गिट्टी निकाल्न अनुमति नै नदिएको बताउँछन् ।
उनी यस वर्ष कुनै पनि क्रसरलाई ठेक्का नदिने पक्षमा भए पनि जिल्ला समन्वय समितिले परिपत्र गरेर ठेक्का लगाउन दबाब बताउँछन् । उनी खोला क्षेत्रमा अनुगमन गर्ने दायित्व पनि समितिकै भएको बताउँछन् ।
युवक मारिएको घटनामा अनुमति बिना चुरियामाई सहित जय बजरङग्ले उत्खनन् गरेको विषयमा प्रतिक्रिया जनाउँदै उनी भन्छन्, “अब ठेक्का रद्द वा नगर्ने भन्ने विषयमा म एक्लैले केही गर्न सक्दिन । यसबारेमा निर्णय गर्ने अधिकार नगरपालिकाको बोर्डलाई छ ।”
नगरप्रमुख महतोले क्रसर उद्योगलाई जथाभावी उत्खनन् गर्न दिने काममा मिथिला–५ का वडाअध्यक्ष संलग्न भएको आरोप समेत लगाए । घटना भएको स्थल औरही खोला पनि मिथिला नगरपालिका अन्तर्गत वडा–५ मा पर्छ । वडा–५ का अध्यक्ष हुन्, नेपाली कांग्रेसका श्यामबाबु यादव ।
मिथिला–५ का वडा अध्यक्ष यादव चुरियामाई बालुवा प्रशोधन उद्योगलाई बालुवा प्रसोधन गर्न दिनका लागि घरेलु तथा साना उद्योगको कार्यालमा सिफारिस गरेको खुलाए ।
तर, यादवले पनि मिथिला नगरपालिकाको कुनै पनि खोलाबाट कसैलाई बालुवा निकाल्न अनुमति नदिएको बताए । उनले चुरियामाई पत्र नै लेखेर बालुवा प्रशोधनका लागि अनुमति दिनुको कारणबारे प्रष्ट जवाफ दिएनन् । उनले पक्राउ परेका चुरियामाईका सञ्चालक विपिन महतो कांग्रेस पार्टी छाडेर अरु नै पार्टीमा गइसकेकाे बताए ।
याे पनि