अपराध कर्ममा क्रसर उद्योग, स्थानीय सरकारको संरक्षण
मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलिपकुमार महतोलाई २५ पुसमा हत्या गरिएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार सोही दिन विहान मर्निङवाकमा निस्केका महतोलाई करिब चार बजे ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको हो । दिलिपले उनको घर नजिकैको औरही खोलामा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खननको विरोध गदै आएका थिए ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले घटनाको प्रकृति र स्थानीयको भनाई अनुसार टिपर चाकले यादवलाई जबरजस्ती समाई किचेर मारेको बताएका छन् । यादव टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताउँछन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक यादवका अनुसार औरही खोलामा मृत अवस्थामा भेटिएका दिलिपकुमार महतोको टाउको फुटेको थियो । उनले हिमालसँग कुरा गर्दै टिपरको टायरको पछाडिको भागमा रगतका टाटा भेटिएकाले महतोलाई किचेरै मारेको पुष्टि भएको बताएका छन् ।
उनका अनुसार टिपर औरही खोलाबाट गिट्टी बालुवा बोकेर करिब दुई सय मिटर दक्षिणमा रहेको चुरियामाई गिट्टी बालुवा प्रशोधन केन्द्रमा जाँदै थियो । प्रहरी निरीक्षक यादव मृतकका परिवारले जाहेरी नै नदिएका कारण मृतकको लाश पोष्टमार्टम गर्न नपाएको बताउँछन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल युवक मारिएको घटनामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र युवकलाई किचेर वा थिचेर मारिएको भन्ने विषय भने पोष्टमार्टम पछि मात्र थाहा हुने बताउँछन् ।
मृतक महतोको परिवारका सदस्यहरुका अनुसार क्रसर उद्योगको विरोध नगर्न दिपकलाई सम्झाइदिन उनका बुबालाई क्रसर उद्योगीले पटक पटक दबाब दिइरहेका थिए । आक्रोशित स्थानीयले हत्याको विरोधमा चक्काजाम गर्नुका साथै टायर बालेर राजमार्ग अवरुद्ध गरे । आन्दोलनले चर्को रुप लिएपछि अवस्था समान्य बनाउन प्रहरीले १० राउण्ड अश्रु ग्यास प्रहार गर्नु परेको थियो ।
स्थानीय सरकारको संरक्षण
धनुषाको मिथिला नगरपालिकाले गत आर्थिक वर्ष ढुङ्गा गिट्टी ठेक्का लगाएबापतको राजस्व शिर्षकमा दुई करोड ५२ लाख रकम सङ्कलन ग¥यो । प्रवक्ता दिपकजङ्ग थापाले चालु आर्थिक वर्षमा नगरपालिकाले ढुङ्गा, गिट्टी जस्ता प्राकृतिक स्रोत साधन सङ्कलन गर्न चार करोड ५१ लाख ५१ हजारमा ठेक्का लगाएको छ ।
नगरपालिकाले जय बजरङ्ग बालुवा प्रशोधन उद्योगसँग ८ कात्तिक २०७६ मा उक्त ठेक्का सम्झौता गरेको हो । ठेक्का सम्झौता अनुसार नगरपालिको उक्त उद्योगलाई प्रति क्यूफिट रु. ३.७५ का दरले ढुङ्गा, बालुवा, गिट्टी, रोडा र ग्राभेल उत्खनन् गर्ने अनुमति दिएको छ (हे. सम्झौता पत्र) ।
मिथिला नगरपालिकाले जय बजरङ्ग उद्योगलाई औरही खोलाको तोकेको क्षेत्रबाट मात्र १४ लाख ९४ हजार ८८४ क्युवि फिट ढुङ्गा, बालुवा, गिट्टी उत्खनन् गर्ने अनुमति दिएको भेटिएको छ ।
नगरपालिकाले औरही बाहेक जलाठ, रातु, जगधर, बसही र बडहरी खोलाबाट पनि ढुङ्गागिट्टी सङ्कलन गर्न जय बजरङ्गलाई ठेक्का दिएको छ ।
नगरपालिकाले प्राकृतिक स्रोत साधन सङ्कलन गरेबापतको ठेक्काबाट उठेको ४० प्रतिशत रकम आफूले राखेर बाँकी ६० प्रतिशत प्रदेश सरकारलाई बुझाउँदै आएको छ ।
जय बजरङ्ग बालुवा प्रशोधन उद्योग मिथिला नगरपालिका–९ को बडरी र लालगढको बीच भागमा सञ्चालित छ । मिथिला नगरपालिकाको रेकर्ड अनुसार जय बजरङ्ग बालुवा प्रशोधन उद्योगका सञ्चालक बेतन शर्मा हुन् ।
चुरियामाई गिट्टी बालुवा प्रशोधन केन्द्र पनि अवैध बालुवा गिट्टी उत्खननमा संलग्न भएको आरोप स्थानीयको छ । मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतो जय बजरङ्गलाई ठेक्का दिने निर्णय भए पनि जिल्ला समन्वय समितिबाट पनि अनुमति लिनु पर्ने भएकाले उक्त उद्योगले उत्खननको काम शुरु गरिनसकेको बताउँछन् । प्रमुख महतो क्रसरले ठेक्का सम्झौता विपरीत रातको समयमा उत्खनन गर्दै आए पनि आफूहरुले अनुगमन गर्न नसकेको बताउँछन् ।
हिमालसँग कुरा गर्दै जय बजरङ्ग बालुवा प्रशोधन उद्योगका सञ्चालक बेतन शर्माले मिथिला नगरपालिकाबाट ठेक्का पाएपछि खोला क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खननको काम गरिरहेको बताउँछन् । शर्माले चुरियामाई गिट्टी, बालुवा प्रशोधन केन्द्र आफ्नो पार्टनर उद्योग भएको समेत खुलाए । उनले भने, “अहिले चुरियामाई जस्तै अन्य तीन वटा उद्योगहरु मिलेर खोलाबाट उत्खननको काम गरिरहेका छौँ ।”
टिपरले किचेर युवक मारिएको घटनामा प्रतिक्रिया जनाउँदै शर्माले रातीको समयमा बालुवा निकालेर टिपर कुदाउँदा त्यसैमा परेर यादव मारिएको बताए । उनी भन्छन्,, “दिउसोको समयमा बालुवा, गिट्टी निकाल्न प्रहरीले टर्चर गर्ने भएकाले रातको समयमा उत्खनन गर्छौ ।”
मिथिला नगरपालिकाका उप–प्रमुख ताराकुमारी बस्नेत मापदण्ड विपरीत रातको समयमा गिट्टी, बालुवा उत्खनन् गर्न नपाइने बताउँछिन् । बस्नेत क्रसर उद्योगले सम्झौता विपरीत राती १२ बजे पनि उत्खनन् गरेको बारे जनगुनासो आइरहेको बताउँछिन् । उनी भन्छिन्, “जनप्रतिनिधिले ज्यानको माया मारेर राती अनुगमनमा जान सक्ने कुरा भएन ।” उप–प्रमुख बस्नेत स्थानीय सरकारमा निर्वाचित भएर आउनुअघि नै औरही लगायतका खोलामा मापदण्ड विपरीत उत्खनन गरेका कारण ठूला खाल्डा परेको बताउँछिन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव जीवलाल भुषाल ढुङ्गा, गिट्टीको अवैध उत्खनन्ले समाजमा अराजकता बढाएको बताउँछन् । अवैध उत्खननमा गुन्डाहरु संलग्न भएको बताउँदै भुषाल भन्छन्, “यस्तो काममा उच्च तहको संलग्नता छ । त्यसैले विरोध गर्ने नागरिक अनाहकमा मारिएका छन् ।”
उनी स्थानीय सरकारले नै अवैध उत्खननलाई संरक्षण गरिरहेको बताउँछन् । उपसचिव भुषाल प्राकृतिक स्रोत साधनको दिगो व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा सरकारले ध्यान नदिएका कारण धुनषामा जस्तै ज्यान मार्ने घटनाहरु बढेको बताउँछन् ।
उनले नवलपरासीमा एक महिना सात दिन प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका थिए । त्यस क्षेत्रमा अवैध उत्खनन विरुद्ध कदम चालेका उनलाई क्रसर सञ्चालकले राजनीतिक शक्ति लगाएर सरुवा गराएका थिए ।