विवाह प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि तेजाब आक्रमण
नवलपरासीको डण्डामा एक युवकले आफूसँग विवाह गर्न नमान्ने एक युवतीमाथि तेजाब प्रहार गर्नुका साथै धारिलो हतियारले समेत आक्रमण गरेका छन् ।
तेजाब र धारिलो हतियार प्रहारबाट गम्भीर घाइते कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ ।
उनलाई छिमेकी युवक विमल सिर्पालीले ८ असोज साँझ तेजाब छर्किनुका साथै धारिलो हतियार प्रहार गरेका थिए । अस्पतालका वरिष्ठ सर्जन डा सुरेश प्रधानका अनुसार राति चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो ।
प्रधानका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो । छातीमा करङ छेडिएको थियो । दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ । चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरेको छ । परियारको अनुहार घाँटी, छाती र दुवै हात तेजाबले डढेर ठूलो घाउ बनेको छ । प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ ।
गम्भीर स्वास्थ्य अवस्थाकी उनलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । परियार राति ८ बजे तरकारी किनेर घर फर्कने क्रममा छिमेकी ३७ वर्षीय विमल सिर्पालीले तेजाब छर्किएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार तेजाब छर्केर आक्रमण गर्ने सिर्पाली नेपाली सेनाका भगौडा हुन् । उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनले वसन्तीले बिहे गर्न अस्वीकार गरेपछि आक्रमण गरेको प्रारम्भिक बयान दिएको लामिछानेले बताए । विवाहित र ११ वर्षीय छोरीका बाबु सिर्पालीले श्रीमतीसँग सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएको पनि प्रहरीले जनाएको छ ।
तेजाब प्रहारबाट घाइते सम्झना दासको मृत्यु