सम्पादकीयमंगलवार, बैशाख १८, २०७५

क्रिकेट: केन्याको बाटो रोज्ने कि अफगानिस्तानको ?

किरण नेपाल

नेपाली क्रिकेटलाई माथिल्लोस्तरमा पु्‍र्‍याउन उत्प्रेरकको भूमिका निर्वाह गर्न सके विश्वमै क्रिकेट खेलकै लोकप्रियता बढाउन सकिनेमा आईसीसी गम्भीर देखिन्छ ।

२०७४ सालको अन्त्यतिर नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि हासिल गर्यो‌ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एकदिवसीय राष्ट्र (वान–डे) को मान्यता पायो ।

वान–डे विश्वकप छनोट प्रतियोगिता खेल्न गएको नेपाली टोली विश्वकप पुग्न सफल नभए पनि चार वर्षका लागि वान–डे मान्यता बोकेर फर्केको थियो, जुन खेलाडी, प्रशिक्षक र व्यवस्थापकको मात्र होइन, आम नेपालीकै सपना थियो ।

नेपालमा क्रिकेट खेल्न थालिएको झण्डै  सन् १९२० को दशकदेखि नै हो । त्यसबेला बेलायत र भारतमा पढेर फर्किएका राणाहरूले दरबारमा बल र ब्याटको अभ्यास गर्थे ।

सन् १९९६ मा पहिलोपटक आईसीसीको एसोसिएट सदस्य राष्ट्र बनेपछि भने नेपाली क्रिकेटको आधुनिक कालखण्ड शुरू भयो । त्यसयताकै सबैभन्दा ठूलो उपलब्धि थियो, एकदिवसीय मान्यता ।

तर, विडम्बना नेपालीजनले क्रिकेटको यो खुशी महसूस गरिरहँदा नेपाली क्रिकेटको नेतृत्वदायी संस्था नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा थियो ।

आर्थिक अपारदर्शिता र चरम राजनीतिक हस्तक्षेपका कारण निलम्बित क्यान आईसीसीको अन्तरिमकालीन रेखदेखमा चलिरहेको थियो । सरकारीस्तरबाट देशभित्र क्रिकेट गतिविधि लगभग शून्य थियो ।

एक हिसाबले, क्रिकेटको भविष्य अनिश्चित र अन्धकार थियो । यही प्रतिकूलताबीच पनि मूलतः खेलाडीहरूकै आत्मबल र क्षमताकै भरमा प्राप्त यो उपलब्धिको सन्देश हो– नेपाली क्रिकेटसँग अझ् माथिल्लोस्तरको नतिजा ल्याउने क्षमता छ । र, अब त्यसलाई प्रमाणित गर्ने बेला आएको छ ।

उपलब्धि हासिल गर्नु जति कठिन हुन्छ, जोगाइराख्नु त्योभन्दा बढी चुनौतीपूर्ण । किनभने, एकदिवसीय मान्यता पाउनुअघि नै नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाइसकेको थियो, जुन एक वर्ष पनि टिकेन ।

त्यसको मुख्य कारण क्यान नै थियो । दलीय स्वार्थको दलदलमा फँसेको क्यान आर्थिक अपारदर्शिताको पनि पर्याय बन्न पुग्यो । क्रिकेटलाई गन्तव्य देखाउने यो संस्थामा स्वार्थको गठजोडमा समानान्तर समितिको भाँडभैलो मौलायो ।

नेपाली क्रिकेट उकालो लागिरहँदा क्यान आन्तरिक किचलो र कलहले ओरालो लाग्न थाल्यो । त्यसकै परिणाम थियो– आईसीसीको क्यान निलम्बनको निर्णय ।

क्यान निलम्बन गर्नुपरे पनि नेपाली क्रिकेटको फड्को र यहाँका क्रिकेटप्रेमीको ‘क्रेज’ बारे आईसीसी जानकार थियो । नेपाली क्रिकेटलाई माथिल्लोस्तरमा पुर्या‌उन उत्प्रेरकको भूमिका निर्वाह गर्न सके विश्वमै क्रिकेट खेलकै लोकप्रियता बढाउन सकिनेमा आईसीसी गम्भीर देखिन्छ ।

त्यसैले पनि उसले क्यान निलम्बित हुँदाहुँदै पनि नेपाली क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिनबाट रोकेन । प्रतिफल, गत फागुनमा नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ को उपविजेता बन्दै नेपाल जिम्बाबेको विश्वकप छनोट प्रतियोगितामा पुग्यो ।

जहाँ ‘सुपरसिक्स’बाट बाहिरिए पनि प्लेअफबाट वान–डे मान्यता पाउन सफल भयो । एकदिवसीय मान्यतासहित अब नेपालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी, विश्व क्रिकेट लिग र इन्टरकन्टिनेन्टल कप पनि खेल्नेछ ।

उपलब्धि हासिल गर्नु जति कठिन हुन्छ, जोगाइराख्नु त्योभन्दा बढी चुनौतीपूर्ण । किनभने, एकदिवसीय मान्यता पाउनुअघि नै नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाइसकेको थियो, जुन एक वर्ष पनि टिकेन ।

एकपटक पाइसकेको टी–ट्वान्टीको मान्यता गुमाएको नेपाली क्रिकेटले के एकदिवसीय मान्यता जोगाइराख्ला ? अहिलेको आशंका र भय यही हो । किनभने प्रतियोगिता जितेर फर्कंदा खेलाडीको वाह्वाही गर्ने, नगद पुरस्कार घोषणा पनि गर्ने तर दीर्घकालीन विकासमा ध्यान नदिने सरकारी र सरोकारवालाको शैली हिजो जस्तो थियो, आज पनि उस्तै छ । परिस्थिति फेरिएको छ तर व्यवहार उही छ ।

यतिबेला नेपालले एकदिवसीय विपनामा केन्द्रित हुँदै टेष्ट हैसियत प्राप्त गर्ने लक्ष्य राख्नुपर्नेछ । र, यसका लागि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सक्ने पूर्वाधार, खेलाडीलाई ‘एक्स्पोजर’, घरेलु संरचनामा ध्यान दिन जरूरी छ । पछिल्लो समय देशभित्रै निजी क्षेत्रका उत्साही लगानीकर्ताहरू पनि देखिएका छन्, धनगढी प्रिमियर लिग (डीपीएल) दृष्टान्त हो ।

ढिलै सही, आईसीसी र घरेलु क्रिकेटप्रेमीको निरन्तरको दबाबपछि क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढेको छ । यसो हुनसके नेपाली क्रिकेटले स्वाभाविक गति पक्रनेछ ।

किशोरावस्थामै नेपाली क्रिकेटमा सनसनी मच्चाएका लेग स्पिनर सन्दीप लामिछाने विश्वकै ठूलो ट्वान्टी–ट्वान्टी फम्र्याटको घरेलु प्रतियोगिता– इण्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी दिल्ली डेयरडेभिल्समा आबद्ध भएका छन्, जसले खेलाडीको क्षमता र व्यावसायिकता पुष्टि गरेको छ ।

तर, घुमिफिरी नेपाललाई विश्व क्रिकेटको बलियो प्रतिस्पर्धी बनाउँदै क्रिकेट पर्यटनसँग जोड्ने कुरा घरेलु संरचनासँगै जोडिन्छ । यसो हुन नसके एकदिवसीय मान्यता नै ‘दुस्वप्न’ हुन बेर लाग्दैन । केन्या र अफगानिस्तान ताजा उदाहरण हुन् ।

नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकै वर्ष (सन् १९९६ मा) एकदिवसीय मान्यता पाएको र सन् २००३ को विश्वकपमा वेष्टइन्डिजलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको केन्या अहिले डिभिजन–३ मा झरेको छ ।

कारण, नेपालजस्तै राजनीतिक खिचातानी र भ्रष्टाचार नै हो । उता, सन् २००८ मा नेपालसँगै डिभिजन–५ खेलेको युद्धग्रस्त अफगानिस्तान अहिले टेष्ट मान्यताप्राप्त राष्ट्र बनेको छ । केन्याको बाटो रोज्ने कि अफगानिस्तानको ? नेपालसामु ज्वलन्त प्रश्न छ ।

सम्बन्धित रिपोर्ट :   स्वर्णिमकालतिर क्रिकेट

प्रतिकृया दिनुहोस