रिपोर्टमंगलवार, बैशाख १८, २०७५

स्वर्णिमकालतिर क्रिकेट

सन्त गाहा मगर

पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल टीम नेपालको स्वर्णिम यात्रा कायम राख्न खेलाडीको सुविधा, भौतिक पूर्वाधार विकास, चुस्त व्यवस्थापन र लगानी वृद्धि अनिवार्य शर्त हो 

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्समा अनुबन्धित नेपाली स्पिनर सन्दीप लामिछाने अभ्यास गर्दै । तस्वीर: दिल्ली डेयरडेभिल्सको ट्वीटरबाट

१३ वैशाखमा भारतको कलकत्तामा सम्पन्न विश्व क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवाको संकेत गरेको छ ।

‘निलम्बन फुकुवाको अर्को कदम नयाँ विधान अनुसार क्यानले सञ्चालन गर्नुपर्ने निर्वाचन हुने’ बैठकपछि आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

वैशाख पहिलो साता राजधानीमा भएको निर्वाचित क्यानको विशेष साधारणसभाले आईसीसीको एड्भाइजरी ग्रुपले बनाएको विधान हुबहु पारित गरेपछि बोर्ड बैठकबाट यस्तो सकारात्मक प्रतिक्रिया आएको हो ।

सरकारी हस्तक्षेप भएको, निष्पक्ष र स्वतन्त्र निर्वाचन हुन नसकेको, नेपाल खेलकुद परिषद् (राखेप) द्वारा गठित तदर्थ समितिमाथि अदालतमा परेको मुद्दा जस्ता कारण देखाएर आईसीसीले २०७३ वैशाख दोस्रो साता क्यानमाथि प्रतिबन्ध लगाएको थियो ।

आईसीसीको निलम्बन फुकुवाको आश्वासनले मात्र पनि नेपाली क्रिकेट दुईवर्षे अँध्यारो सुरुङबाट बाहिर निस्किन लागेको आभास मिलेको सरोकारवालाहरू बताउँछन् । “आईसीसीले भनेजस्तो भए जुलाइसम्ममा निलम्बन फुकुवा हुनसक्छ”, क्यान विवाद समाधानका लागि आईसीसीद्वारा गठित एड्भाइजरी ग्रुपका संयोजक विनयराज पाण्डे भन्छन् । यसका लागि नयाँ विधान अनुसार प्रदेश, जिल्ला र क्षेत्रको निर्वाचन हुनुपर्ने उनको भनाइ छ ।

सरकार, राखेप र राजनीतिक नियुक्ति पाएका क्यानका पदाधिकारीका कारण घरेलु क्रिकेट धरासायी हुन थालेपछि आईसीसीले स्वतन्त्र र क्रिकेट विकासमा सहयोग पुर्‍याउने क्यानको सुनिश्चितता नहुञ्जेलसम्म निलम्बन फुकुवा नहुने निर्णय सुनाएको थियो ।

क्यानका पूर्वअध्यक्ष समेत रहेका पाण्डे पनि क्रिकेटलाई निजी स्वार्थ अनुकूल प्रयोग गर्न खोज्दा क्यान निलम्बनमा परेको बताउँछन् ।

कारण जे भए पनि क्यान निलम्बनको सीधा असर नेपाली क्रिकेटमा पर्‍यो । राष्ट्रिय टीमका लागि ‘ब्याकअप’ मानिने घरेलु प्रतियोगिता ठप्प भए । राष्ट्रिय लिग, विभिन्न उमेर समूहका प्रतियोगिता हुन सकेनन् ।

आईसीसीको अनुदान रोकिंदा पूर्वाधार निर्माण प्रभावित भए । “यो अवधिमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली क्रिकेटको पक्षमा लबिङ गर्ने अवसरबाटै बञ्चित भयौं” क्यानका महासचिव अशोकनाथ प्याकुरेल भन्छन्, “क्यान निलम्बित हुँदा नेपाली क्रिकेट पाँच–सात वर्ष पछि धकेलियो ।”

हिलोमा फुलेको ‘कमल’
संयोग, क्यान निलम्बनकै अवस्थामा नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि हासिल गर्‍यो । गत चैतमा जिम्बाबेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा नेदरल्याण्डस्ले हङकङलाई पराजित गरेपछि एक खेलअघि नै नेपालले एकदिवसीय मान्यता पायो । नेपाल विश्वकपमा स्थान बनाउन सफल अफगानिस्तानसँग रनरेटमा पछि परेर सुपरसिक्सबाट बाहिरिएको थियो । 

सन् १९९६ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नेपालले छोटो अवधिमै एकदिवसीय क्रिकेट, अन्तर्राष्ट्रिय टी–ट्वान्टी, विश्व क्रिकेट लिग र इन्टरकन्टिनेन्टल कपमा स्थान पक्का गर्‍यो ।

गएको चैतमा जिम्बाबेमा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा सहभागी खेलाडी ।

यसअघिसम्म सन् २०१४ मा बंगलादेशमा खेलिएको ट्वान्टी–ट्वान्टी विश्वकपलाई नेपाली क्रिकेटको सबैभन्दा ठूलो उपलब्धिको रूपमा हेरिएको थियो । त्यतिबेला पनि आयोजक बंगलादेशसँग रनरेटमा पछि परेकै कारण नेपाल विश्वकपको दोस्रो चरण प्रवेशबाट बञ्चित भएको थियो ।

सन् २००८ मा डिभिजन फाइभ खेलेको नेपाल सन् २०१५ मा आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपका लागि छानिएको थियो । क्यानका पूर्व अध्यक्ष पाण्डे खेलाडीको प्रतिबद्धताकै कारण कठिन परिस्थितिमा पनि नेपालले सफलता हात पारेको बताउँछन् ।

नेपालमा सन् १९२० को दशकमा विदेशबाट अध्ययन गरेर फर्केका राणा परिवारका सदस्यहरूले क्रिकेट भित्र्याएका थिए । क्यानका महासचिव प्याकुरेल राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा मदनशमशेरलगायतले शुरू गरेको क्रिकेटले विस्तारै दरबारको घेरा तोडेको बताउँछन् ।

नेपाली क्रिकेटको संस्थागत विकास भने सन् १९४६ मा क्यानको स्थापनासँगै भएको देखिन्छ । त्यसको चार दशकपछि सन् १९९० मा बल्ल नेपालले एशियन क्रिकेट काउन्सिल (एसीसी) को सदस्यता प्राप्त गर्‍यो । सन् १९८८ मा आईसीसीको एफिलियट सदस्य राष्ट्र बने पनि सन् १९९६ मा एसोसिएट सदस्यता प्राप्त गरेपछि नेपालको आधिकारिक अन्तर्राष्ट्रिय यात्रा शुरू भयो ।

उपलब्धि जोगाउनै कठिन
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको सात वर्षमै नेपाल एसीसी इमर्जिङ टिम्स कपको उपाधि जित्न सफल भयो । त्यसपछि एसीसी फास्ट ट्र्याक कन्ट्रिज च्याम्पियन, आईसीसी विश्व क्रिकेट लिग, डिभिजन फाइभ, फोर र थ्री च्याम्पियन बन्यो ।

तर उपलब्धि बचाउन नसक्दा नेपाल पटक पटक ‘रेलिगेसन’ मा पर्ने गरेको छ । सन् २०१३ मा बर्मुडामा डिभिजन थ्री च्याम्पियन भएर डिभिजन टूमा उक्लेको नेपाल २०१४ मा फेरि डिभिजन थ्रीमा झ्र्‍यो ।

नामिबियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग, डिभिजन टूमा चौथो भएपछि नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपका लागि छनोट भयो । तर सन् २०१५–१७ सम्म चलेको लिगमा सातौं भएपछि नेपाल पुनः डिभिजन टूमा घटुवा भयो । सन् २०१४ मा टी–ट्वान्टी विश्वकप खेलेको नेपालले सन् २०१५ मा भएको टी–ट्वान्टी विश्वकप छनोट यात्रा अंक तालिकाको पुछारमा रहँदै टुङ्ग्यायो ।

प्राप्त उपलब्धि यसरी पटक–पटक गुम्ने अवस्था किन आउँछ त ? “विजयोन्माद र पर्याप्त तयारीको अभाव”, टीम नेपालका प्रमुख प्रशिक्षक जगत टमटा भन्छन् । “हामीले एउटा उपाधिमाथिको विजय अर्को चरणको चुनौती हो भनेर कहिल्यै बुझन सकेनौं” टमटा भन्छन्, “एकदिवसीय मान्यतालाई पनि त्यस्तै अर्को ठूलो चुनौतीका रूपमा लिनुपर्छ ।”

नेपालले पाएको एकदिवसीय मान्यता सन् २०२२ सम्मका लागि हो । त्यसपछि पनि यो मान्यता जोगाइराख्न यसअघिको जस्तो तयारीले नपुग्ने सम्बद्धहरू बताउँछन् ।

टीम नेपालका कप्तान पारस खड्का यो तहको क्रिकेटलाई निरन्तरता दिन थप लगानी आवश्यक रहेको बताउँछन् । उनको भनाइमा पर्याप्त प्रशिक्षण, निरन्तरको अभ्यास र आफूभन्दा बलियो टीमसँग नियमित खेल्न नपाउने हो भने टीमको प्रदर्शन खस्किन सक्छ । 

खेलाडी जतिसुकै प्रतिभावान भए पनि धेरैभन्दा धेरै प्रतियोगिता खेल्न पाएन भने प्रदर्शनमा निखार आउन सक्दैन । यस्तो वातावरण निर्माणमा सरकार र क्यानले नै अग्रसरता लिनुपर्ने देखिन्छ । प्रशिक्षक जगत टमटा नेपालमा अब कम्तीमा वर्षको सात महीना टुर्नामेन्ट गर्नै पर्ने बताउँछन् । उनका भनाइमा, सात प्रदेशमा घरेलु र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय खेल खेलाउन सकिन्छ ।

जानकारहरूका अनुसार राष्ट्रिय टीमका सदस्यहरूलाई जहिल्यै पनि आफूलाई नयाँ खेलाडीले विस्थापित गर्ने भय हुनुपर्छ, जसले छनोटमा पर्नैका लागि कडा मिहिनेत गर्नुको विकल्प छैन भन्ने मान्यता स्थापित हुन्छ । “हामीसँग गिनेचुनेका २०, २२ खेलाडी मात्र छन् । साँच्चै भन्ने हो भने नराम्रो मध्येबाट राम्रो लिनुपर्ने बाध्यता छ”, टीम नेपालका एक सहायक प्रशिक्षक भन्छन् ।

प्रमुख प्रशिक्षक टमटाको भनाइमा, ५० ओभरका लागि देशभरबाट खेलाडी छनोट गर्न पाए ‘क्रिम टीम’ बन्न सक्छ । खेलाडीहरू अनुशासित, मिहिनेती र प्रतिभावान हुँदाहुँदै पनि पर्याप्त प्रतिस्पर्धाको अवसर नपाउँदा प्रतिभाको उचित परख गर्न नसकिएको उनको भनाइ छ ।

भविष्य छ, योजना छैन
गत फागुनमा नामिबियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग, डिभिजन–टू को उपविजेता बनेको नेपालको ‘ब्याटिङ लाइन अप’ निकै कमजोर देखियो । डिभिजन–टुका अधिकांश जित बसन्त रेग्मी, करण केसी, सोमपाल कामी जस्ता मिडिल/लोअर अर्डरका ब्याट्सम्यानले बनाएका रनमा निर्भर देखियो । तर यस्तो अवस्थामा आइसक्दा पनि ब्याटिङ बलियो बनाउने बारे योजना बनेकै छैन ।

कति बेला कुन पक्षमा केन्द्रित भएर प्रशिक्षण चलाउने भन्ने विषयमा छलफल थालिएकै छैन । ब्याटिङ सुधार्न अन्तर्राष्ट्रियस्तरको मैदानमा बलियो प्रतिस्पर्धीसँग निरन्तर अभ्यास गराउनुपर्ने जानकारहरू बताउँछन् । ५० ओभरको खेल जति भइरहेको छ त्यो पर्याप्त छैन । प्रतियोगितामा जानुअघि कम्तीमा ५०–६० वटा म्याच खेल्ने वातावरण बनाउनुपर्ने देखिन्छ ।

राष्ट्रिय टीम र उमेर समूहको ‘ग्याप’ पनि नेपाली क्रिकेटको ठूलो समस्या हो, खासगरी यू–१९ र सिनियर टीमबीच । हामी कहाँ यू–२१, यू–२३ टीम छैन । प्रशिक्षक टमटा राष्ट्रिय टीममा सधैं राम्रो खेलाडीको अभाव हुन नदिन सबै उमेर समूहको टीम अनिवार्य ठान्छन् । उनी भन्छन्, “यू–१९ पछि सीधै राष्ट्रिय टीम हुनु भनेको विद्यार्थीलाई कक्षा ८ बाट एकैचोटि कक्षा ११ मा पढाए जस्तै हो ।”

क्रिकेट स्तरीय हुन अहिले चर्चामा आएजस्तो अन्तर्राष्ट्रियस्तरको रंगशाला र पर्याप्त स्रोत मात्र भएर पुग्दैन । राम्रो क्रिकेट खेलिरहेका देशबाट प्रशिक्षक ल्याउने, स्थानीय प्रशिक्षक, एम्पायर, स्कोररलाई प्रशिक्षित गर्नुपर्ने हुन्छ ।

क्यानका पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे निलम्बनसँगै आफूले सन् २०१५ मा ल्याएको क्यानको पाँचवर्षे रणनीतिक योजना पनि अलपत्र परेको बताउँछिन् ।

तल्लो तहदेखि माथिल्लो तहसम्मको लिग, अन्तर्राष्ट्रिय एक्स्पोजर, खेलाडीको सेवा–सुविधालगायतका योजना कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ । सन् २०३० भित्र टेष्ट राष्ट्रको मान्यता पाउने गरिको योजना ल्याएको बताउने घिमिरे नेपाली क्रिकेट पुनर्संरचनाको चरणमा आइपुगेको बताउँछिन् ।

त्रिवि क्रिकेट मैदान । तस्वीर: उदीप्तसि‌ह क्षेत्री

पुनर्संरचनाको बेला
नेपालमा क्रिकेट खेल्न थालेको एक शताब्दी पुग्न लागे पनि व्यावसायिक रूपमा खेल्न थालेको धेरै भएको छैन । सन् १९९६ मा अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलाडीलाई क्यानले जर्सी मात्र उपलब्ध गराएको थियो । ब्याट, प्याड समेत खेलाडी आफैंले किनेका थिए । कतिपयले साथीसँग मागेरै खेलेका थिए ।

त्यो बेला गठित क्यानको संरचनामै पनि परिवर्तन आवश्यक भइसकेको सम्बद्धहरू बताउँछन् । विशेष साधारणसभाबाट तेस्रो पटक संशोधित क्यानको विधानमा खेलाडीलाई मतदानको अधिकारसहितको सदस्यता दिने, सदस्यहरू जिल्लाबाटै छनोट भएर आउनुपर्ने जस्ता व्यवस्था गरिएका छन् ।

खेलाडी उम्मेदवार बन्न खेल्न छोडेको दुई वर्ष पुगेको हुनुपर्नेछ । निर्वाचनमा राखेप र खेलकुद मन्त्रालयबाट सात जना प्रतिनिधिलगायतका व्यवस्थाले क्यानमा राजनीतिक हस्तक्षेप बढाउने भन्दै आईसीसीले असहमति जनाएको थियो ।

प्रमुख प्रशिक्षक टमटाको भनाइमा, ५० ओभरका लागि देशभरबाट खेलाडी छनोट गर्न पाए ‘क्रिम टीम’ बन्न सक्छ ।

खेलाडीले प्राप्त गरेको सफलता र समर्थकको दबाब बढ्दै गएपछि क्यानलाई विवादमा तान्न खोज्नेहरू पनि झुक्न बाध्य भएको देखिन्छ । विधानको आफू अनुकूल व्याख्या गरेर २७ वटा संशोधन गर्न खोज्नेहरू पनि क्यान नै नरहने अवस्था आएपछि हच्किएको जानकारहरू बताउँछन् ।

यस्तो अवस्थाबाट सबै पक्षले पाठ सिकेको महासचिव प्याकुरेल बताउँछन् । “क्यान नभए पनि हुन्छ भन्नेहरूले समेत यसको महत्व थाहा पाएका छन्, गभर्निङ बडी कति महत्वपूर्ण रहेछ भन्नेमा एकमत देखिएको छ”, उनी भन्छन् ।

नेपाली टोलीका कप्तान पारस खड्का

रु.१ अर्बको बजार
क्यान निलम्बित भएका बेलामा पनि नेपाल अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइरह्यो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालप्रति सहानुभूति जगाउन सफल भएको कतिपयको बुझाइ छ । पूर्व सिईओ घिमिरे आईसीसी, एसीसीको सकारात्मक सहयोगले यो सम्भव भएको बताउँछिन् । इमर्जिङ नेशनको रूपमा आईसीसीले नेपाली क्रिकेटलाई महत्वका साथ लिएको उनको बुझाइ छ ।

एकदिवसीय मान्यता, लेग स्पिनर सन्दीप लामिछानेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा छनोट जस्ता कारणले देशमा क्रिकेट क्रेज ह्वात्तै बढाएको छ । टीम नेपालका कप्तान पारस खड्का भने सन् २०१४ मा टी–ट्वान्टी विश्वकपमा छनोट भएदेखि नै नेपाली क्रिकेटले उँचाइ लिन थालेको बताउँछन् ।

त्यसो त २०४० कै दशकमा उपत्यका बाहिर विराटनगर, वीरगन्ज, जनकपुर, नेपालगन्ज, भैरहवालगायतका स्थानमा क्लबस्तरीय क्रिकेट खेलिन्थ्यो । व्यक्तिगत प्रयत्नबाट शुरू भए पनि क्रमशः यसले संस्थागत रूप लिएको र क्लब, क्षेत्रीय र जिल्ला संघहरू स्थापना भएको महासचिव प्याकुरेल बताउँछन् ।

काठमाडौंमा भने २०३० को दशकमै ‘विकेन्ड’ अर्थात् आइतबार ‘ए’ डिभिजन र सोमबार ‘बी’ डिभिजन क्लबले क्रिकेट खेल्ने गरेको प्याकुरेल स्मरण गर्छन् । “दशैं आसपासबाट शुरू भएको लिग चैतसम्म चल्थ्यो, सीमित स्रोतसाधनका बाबजूद त्यतिबेला खेलाडीले अहिलेभन्दा बढी अभ्यास गर्ने अवसर पाउँथे”, त्योबेला ठमेल क्लबका खेलाडी उनी भन्छन् ।

नेपालले अन्तर्राष्ट्रिय उपाधि जित्न थालेदेखि दर्शकको संख्या बढ्दै गएको देखिन्छ । सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफी युएईले उचाल्दा नेपाल उपविजेता भएको थियो । त्यसपछि सन् २००३ मा नेपालले एसीसी इमर्जिङ टिम्स कप जित्यो । नेपालले सन् २००४ मा पहिलो पटक प्रथम श्रेणीको क्रिकेट खेलेको थियो ।

सन् २००८ मा आईसीसी विश्व क्रिकेट लिग, डिभिजन फाइभ खेल्न शुरू गरेको नेपाल सन् २०१० मा काठमाडौंमा सम्पन्न प्रतियोगितामा उपाधि जित्न सफल भयो ।

त्यसको दुई वर्षपछि सन् २०१२ मा डिभिजन फोर विजेता बनेर डिभिजन थ्रीमा पुग्यो । सन् २०१३ को मार्चमा सम्पन्न डिभिजन थ्री च्याम्पियन बनेपछि क्रिकेट क्रेज झ्नै बढ्यो ।

निजी प्रयासबाट शुरू भएको धनगढी प्रिमियर लिग (डीपीएल), एभरेष्ट प्रिमियर लिग (ईपीएल) जस्ता प्रतियोगिताको सफल सञ्चालनले पनि क्रिकेटप्रतिको आकर्षण बढेको देखाउँछ । डीपीएलका आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही प्रतियोगिता सम्पन्न गर्न साढे तीन करोड रुपैयाँ लागेको बताउँछन् ।

राष्ट्रिय टीमका खेलाडी मात्रै होइन ‘अक्सन’ मार्फत विदेशी खेलाडीलाई समेत ल्याउन सक्नु डीपीएलको सफलताको रूपमा लिनुपर्ने शाहीको भनाइ छ । डिपिएल–२ को प्रत्यक्ष प्रसारणका लागि निजी टेलिभिजन च्यानलसँग रु.१ करोडसम्मको सम्झाैता भएको आयोजकले जनाएको छ ।

क्यानका पूर्व अध्यक्ष पाण्डे कुनै बेला सबै प्रतियोगिताको प्रसार अधिकार रु.८ लाखमा पनि बिक्री नभएको स्मरण गर्छन् । त्यसो त निलम्बन फुकवा भएसँगै क्यानको वार्षिक कारोबार करीब रु.४० करोड पुग्ने एक पदाधिकारी बताउँछन् ।

उनका अनुसार, आईसिसि र एसिसिको सहयोग, पुरस्कार रकम, खेलाडीको पारिश्रमिक, दर्शकले खरिद गर्ने टिकट, विभिन्न प्रयोजन रकम जोड्दा नेपाली क्रिकेटको बजार रु.१ अर्बभन्दा माथि पुगिसकेको छ ।

विशेष साधारणसभाबाट पारित विधान क्यानले राखेपमा स्वीकृतिका लागि पठाइसकेको छ । आईसीसीले मनिटरिङ कमिटी बनाएलगत्तै विधानले निर्धारण गरेको मापदण्ड अनुसार सदस्यता वितरण गरेर जिल्ला, प्रदेशको निर्वाचन गरिने पूर्व सीईओ घिमिरे बताउँछिन् । “अहिले फलाम तातेको छ, नेपाली क्रिकेटलाई कस्तो आकार दिने हो त्यही अनुसारको हम्मर हान्ने बेला यही हो”, उनी भन्छिन् ।
-----------------------------------------------------------

सन्दीपको उपलब्धि

भिभो आईपीएल इतिहासमा पहिलो नेपाली खेलाडी ! १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्स्मा स्वागत गर्न पाउनु हाम्रो सौभाग्य हो । 

१४ माघ २०७४ बिहान दिल्ली डेयरडेभिल्सको आधिकारिक ह्याण्डलबाट गरिएको यो ट्वीटले नेपाली क्रिकेटप्रेमीमा ठूलै हलचल ल्यायो । आईपीएलको ११औं संस्करणको अक्सनमा पहिलो पटक नेपाली खेलाडी छनोट भएपछि दिल्ली डेयरडेभिल्सले यस्तो ट्वीट गरेको थियो ।

हुन पनि ३०० भन्दा बढी प्रतिक्रिया, १६ सय रि–ट्वीट र ४३ सय फेभ आएको यो ट्वीटले सन्दीपका लागि मात्रै होइन सिंगो नेपाली क्रिकेटलाई नै गर्विलो सन्देश ल्याएको थियो ।

तर दिल्ली डेयरडेभिल्सका सात वटा खेलमा पनि प्लेइङ सेटमा नपरेपछि भने सन्दीपका फ्यान निरास देखिएका छन् । रु.३२ लाखमा अनुबन्धित सन्दीपलाई दिल्लीले खेलाउला ? “खेलाए सुनमा सुगन्ध, नखेलाए नै पनि सन्दीप र नेपाली क्रिकेटले ठूलो उपलब्धि हासिल गरिसकेको छ”, क्यानकी पूर्व सीईओ भावना घिमिरे भन्छिन् । सन्दीप आईपीएलमा छनोट भएपछि नेपाली क्रिकेटर पनि कोहीभन्दा कम छैनन् भन्ने सन्देश गएको उनको भनाइ छ ।

शीर्ष चारमा पर्ने संभावनाबाट टाढिंदै गएको दिल्लीमा सन्दीप भन्दा सिनियर लेग स्पिनरहरू छन् । त्यसले गर्दा उनी रोजाइमा नपरेको हुनसक्ने विश्लेषकहरू बताउँछन् । आईपीएलमा एक पटकमा चार जनाभन्दा बढी विदेशी खेलाउन पाइँदैन ।

टीम नेपालका प्रमुख प्रशिक्षक जगत टमटा सन्दीपको आईपीएल छनोटले अन्य खेलाडीका लागि पनि बाटो खुलेको बताउँछन् । “सन्दीपले आईपीएलमा सिकेको कुराबाट एक प्रतिशत मात्रै लाभ लिन सक्यो भने पनि त्यो नेपाली क्रिकेटका लागि उपलब्धि हुनेछ”, उनी भन्छन् ।
---------------------------------------------------- 

 

 लगानी बढाउनुपर्छ’
पारस खड्का, कप्तान


एक दिवसीय क्रिकेटमा चार वर्षसम्म प्रभावकारी प्रदर्शन कायम राख्न के कस्ता चुनौती देख्नुहुन्छ ?

तत्कालको चिन्ता क्यानमाथिको निलम्बन फुकुवा नै हो । यो समस्या समाधानपछि घरेलु लिगले निरन्तरता पाउला । यो तहको क्रिकेटलाई निरन्तरता दिन थप लगानी आवश्यक छ । सरकार र निजी क्षेत्र दुवैले क्रिकेटमा लगानी बढाउनुपर्ने देखिन्छ ।

कप्तानका दृष्टिले राष्ट्रिय टीममा ‘ब्याकअप’ को अभाव महसूस हुँदैन ?
हामीकहाँ प्रतिभावान खेलाडीको कमी थिएन र छैन । तर उनीहरूको प्रतिभा तिखार्ने वातावरणको अभाव छ ।

क्यान नहुँदा के कस्तो समस्या परिरहेको छ ?
क्यान निलम्बनमा परेपछि हामी सीधै आईसीसीअन्तर्गत आयौं । जसले गर्दा क्यानले गर्नुपर्ने व्यवस्थापकीय जिम्मेवारी खेलाडीकै काँधमा आयो ।

खेलाडीहरूले पनि राजनीतिमा चासो देखाए भन्ने आरोप छ नि !
कसैले नेपाली क्रिकेटलाई राम्रो गर्न खोज्छ भने गर्न दिनुपर्दछ । राम्रो गर्नेको पक्षमा खेलाडी उभिनु नराम्रो होइन । क्यानबाट पारित पछिल्लो विधानमा खेलाडीलाई मतदानको अधिकार पनि दिइएको छ । तर उम्मेदवार बन्न भने खेल्न छोडेको दुई वर्ष पुग्नुपर्दछ ।

नेपाली क्रिकेटको प्रमुख समस्या के हो ?
कुशल व्यवस्थापनको अभाव ।
--------------------------------------------------------------------

‘खेलाडीकै कारण जित सम्भव’
विनयराज पाण्डे, संयोजक, एड्भाइजरी ग्रुप


क्यानमाथिको निलम्बन कहिलेसम्म हट्ला ?
नयाँ विधान अनुसार मनिटरिङ कमिटी बन्नुपर्दछ । त्यसले प्रदेश र जिल्लाका चुनाव गराउँछ । सबै चुनाव सकिएपछि निलम्बन रहँदैन । जून–जुलाइसम्ममा फुकुवा भइसक्छ जस्तो लाग्छ ।

क्यान निलम्बनमा पर्दैछ भन्ने पूर्वाभास थिएन ?
क्रिकेटका कारण भन्दा पनि यसमा संलग्नहरूको निजी स्वार्थका कारण क्यान निलम्बनमा परेको हो । विधानलाई आफू अनुकूल बनाउन नखोजेको भए यस्तो समस्या आउने नै थिएन ।

क्यान नहुँदा के असर पर्दो रहेछ ?
राष्ट्रिय प्रतियोगिता हुनै सकेन । नयाँ खेलाडी आएनन् । अहिले पनि प्रतिस्पर्धाबाटै खेलाडी छनोट गरेका छौं । तर, उमेर समूह र विभिन्न प्रतियोगिता भएको भए बेग्लै रौनक हुन्थ्यो । जस्तो, कप्तान पारस खड्का नै उमेर समूह पार गरेर आएका हुन् ।

घरेलु प्रतियोगिता नहुँदा पनि राष्ट्रिय टीमको प्रदर्शन त राम्रै देखियो नि !
पक्कै पनि हामीले ऐतिहासिक उपलब्धि हासिल गरेका छौं । यसका लागि खेलाडीहरूको सराहना गर्नै पर्दछ । तर, निरन्तर घरेलु प्रतियोगिता नहुनुको असर दीर्घकालमा देखिन सक्दछ ।

पहिलो पटक प्राप्त एकदिवसीय मान्यता जोगाउन के गर्नुपर्ला ?
शुरु–शुरुमा क्रिकेट अहिले जस्तो लोकप्रिय थिएन । पूर्वाधार नबन्नुको कारण यो पनि हो । अहिले उपत्यकामा पुग्दो रंगशाला छन् । हाम्रा खेलाडी सुविधा नभई प्रतिबद्धताका कारण सफल भएका हुन् । नयाँ भन्दा पनि मिलाउनुपर्ने विषय धेरै छन् ।

प्रतिकृया दिनुहोस