तिवारी हत्याका मुख्य अभियुक्त मनोज पुनका सहयोगी पाँच जना पक्राउ
युवा संघ रुपन्देहीका पूर्वअध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य अभियुक्त मनोज पुनका सहयोगी भनिएका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मुख्य अभियुक्त मनोज पुन भने दुई महिना अघि प्रहरी इन्काउन्टरमा मारिइसकेका छन् ।
पक्राउ पर्नेमा देवदह–५ का तुलसी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, देवदह–६ का रोशन खड्का, बुटवल–७ शिवनगरका उत्तम आचार्य, स्याङ्जा पुतलीबजार–४ घर भई बुटवल–४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ छन् ।
पक्राउ परेकामध्ये लेखनाथ न्यौपाने माओवादी केन्द्रका केन्द्रीय सदस्य, उत्तम अचार्य युवासंघ रुपन्देहीका पूर्व नेता र हरिप्रसाद श्रेष्ठ मदिरा उद्योगी हुन् ।
उनीहरुलाई पक्राउ गरी प्रहरीले आज, ५ वैशाखमा सार्वजनिक गरेको हो ।
रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीका अनुसार उनीहरुले मनोजलाई आपराधिक कार्य गर्न प्रोत्साहन गर्दै आर्थिक सहयोग समेत गरेका थिए ।
मनोजलाई बिभिन्न व्यक्तिहरुको विवरण उपलब्ध गराउने उनीहरुमाथि संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाईएको एसपी ज्ञवालीले बताए ।
दीपक ज्ञवाली,बुटवल