रिपोर्टआइतवार, फाल्गुण १३, २०७४

राजनीतिक संरक्षणको आडमा आपराधिक संजाल विस्तार गरेका थिए मनोज पुनले

मुकेश पोखरेल

रुपन्देहीमा प्रहरीको विवादास्पद कारबाहीमा मारिएका मनोज पुनले राजनीतिक संरक्षणको आडमा आफ्नो आपराधिक संजाल विस्तार गर्न सकेका थिए।

मनोज पुनले २०६९ मंसीरमा देवदहका रमेश सुनारको घरबाट रु.१० हजार लुट्दा नेकपा (एमाले) रूपन्देही जिल्ला कमिटीका सदस्य सिद्धिचरण भट्टराईको समूहले पुनमाथि कडा कारबाहीको माग गर्‍यो । तर, एकसातासम्म पनि पुन पक्राउ नपरेपछि भट्टराई समूहले उनी लुकेको ठाउँको सुराक समेत दियो । त्यसपछि एमालेको युवा संघका कार्यकर्तासहित गएको प्रहरीले पुनलाई मक्रहरको खेतबाट पक्राउ गर्‍यो ।

पुनलाई प्रहरीले हिरासतमा नपुर्‍याउँदै रूपन्देही एमालेको अर्को समूह उनलाई छुटाउन लागिसकेको थियो, जसमा जिल्ला कमिटी सदस्यद्वय डोलराज चापागाई, ध्रुव खरेल र युवा संघ क्षेत्र नम्बर १ का इन्चार्ज टीकाराम चापागाई सक्रिय थिए ।

भट्टराई, एमाले रुपन्देही क्षेत्र नम्बर १ का अध्यक्ष नीलकण्ठ पौडेल, युवा संघ जिल्ला अध्यक्ष दुर्गा तिवारी लगायतको समूह गुण्डागर्दी संरक्षण गर्न नहुने पक्षमा थियो भने चापागाई, खरेल र टीकाराम ‘पुनलाई सुधारेर पार्टीमा अघि बढाउने’ पक्षमा थिए । नभन्दै, पुनमाथि हातहतियार तथा खरखजाना मुद्दा लागेन र त्यसबेला संसद्को राज्यव्यवस्था समितिका सभापति समेत रहेका एमाले नेता स्व. रामनाथ ढकालको दबाबमा उनी २२ दिनमा हिरासतबाट छुटे ।

मनोज–टीकाराम कनेक्सन
४ पुस २०७३ मा युवा संघको रूपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या सम्बन्धी अनुसन्धान गरेको प्रहरीले टीकाराम चापागाई शंकाको घेरामा आएपछि एमाले नेताहरूलाई जानकारी गरायो ।

केन्द्रीय सदस्य एवं रूपन्देही इन्चार्ज लीला गिरी र जिल्ला उप–सचिव गोपाल रानाले पक्राउ नगर्न भनेपछि चापागाई जोगिएको अनुसन्धानमा खटिएका एक प्रहरी बताउँछन् । प्रहरी भन्छन्, “गुण्डागर्दीको आवरणमा भएको तिवारी र वसन्त पौडेलको हत्यामा एमालेको जिल्ला राजनीति गाँसिएको प्रष्टै देखियो ।”

द्वन्द्वकालमा माओवादीले कब्जा गरेको रुपन्देही, केरवानी टटेरास्थित गंगालक्ष्मी मल्लको यो जग्गा शान्तिप्रक्रियामा मनोज पुनसहितका माओवादी कार्यकर्ताले बिक्री गरेका थिए । तस्वीरः मुकेश पोखरेल

पुनलाई २०६७ मा टीकाराम समूहले नै एमालेमा ल्याएको थियो । मनोज २०६२ सालतिरबाटै जिल्ला विकास समितिले राजमार्गमा लगाउने कर र नदीजन्य वस्तुहरूको ठेक्कापट्टा हात पार्न टीकारामका सहयोगी बनेका थिए । उनी टीकारामको तर्फबाट टेण्डर हाल्ने र अन्य प्रतिस्पर्धीलाई टेण्डर हाल्नबाट रोक्ने काम गर्थे ।

एमालेमा प्रवेशपछि मनोजले टीकाराममार्फत युवा संघ र एमाले नेताहरूको संरक्षण पाए । काठ तस्करी गर्नु र प्रतिस्पर्धीमाथि गोली चलाउनु उनका लागि सामान्य बन्यो । केरवानी, रूपन्देहीकी गंगालक्ष्मी मल्लको ९ बिघा १० कट्ठा जग्गा बिक्री प्रकरणपछि भने उनलाई एमालेमा टीकारामले पनि टिकाउन सकेनन् ।

२०६० सालमा माओवादीले साविक केरवानी–६ टटेरामा रहेको गंगालक्ष्मी मल्लको जग्गा कब्जा गरेर केही कार्यकर्तालाई अधिया र केही मायादेवी प्राविलाई भोगचलन गर्न दिएको थियो । त्यो जमीन खोसेर प्रतिकट्ठा रु.४० हजारका दरले बिक्री गर्न माओवादीका रूपन्देही नेता लेखनाथ न्यौपाने, वाईसिएलको केरवानी इन्चार्ज बोमबहादुर आले, सालिकराम चापागाई, रमेश चौधरीलगायतले मनोजलाई प्रयोग गरेका थिए । २०६३ सालताका न्यौपाने समूहले उनलाई माओवादी बनाएको थियो ।

अपराधलाई संरक्षण
मनोज पुनले गत पुस २१ मा हत्या गरेका काठ व्यवसायी वसन्त पौडेलका बुवा नीलकण्ठ पौडेल एमाले रुपन्देही क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष हुन् ।  उनले गत जेठमा आफू र आफ्ना परिवारका सदस्यहरूको जीवन खतरामा परेको भन्दै एमालेका उपमहासचिव विष्णु पौडेलदेखि लुम्बिनी अञ्चलबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने सबै नेतालाई मौखिक र लिखित जानकारी गराएका थिए । तर, पार्टी नेताहरूको बेवास्ताले नै आफूले छोरो गुमाउनुपरेको उनी बताउँछन् ।

केरवानी सेरनास्थित गौरीटोलमा रहेको यो काठ २०६८ सालमा मनोज पुनले तस्करी गरेर ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको थियो ।

स्थानीय तह निर्वाचनमा देवदह नगरपालिकाको मेयरमा नीलकण्ठ उम्मेदवार हुने सम्भावना बढेपछि मनोजले वसन्तसँग पैसा माग्न थालेका थिए । मनोजको समूहले २०६८ सालमा बुद्ध सामुदायिक वनबाट तस्करी गरेर ल्याउँदै गरेको काठ युवा संघका कार्यकर्ताहरूले समातेर सेमरना गौरी टोलको सडक छेउमा राखेका थिए ।

मनोजले वसन्तलाई पटक–पटक फोन गरेर त्यो काठ उठाउन र त्यसबापत रु.१० लाख बुझाउन भनिरहेका थिए । नीलकण्ठ भन्छन्, “टीकारामले मेयरको टिकट नपाउँदासम्म मनोजले मेरो छोरोलाई धम्क्याइरह्यो, पाएपछि फोन गर्न छाड्यो ।”

३ जेठमा बसेको एमाले प्रदेश कमिटी बैठकले भने देवदह नगरपालिकाको मेयरमा नीलकण्ठ पौडेललाई उठाउने निर्णय गरेको थियो । पौडेलले ११ दिनसम्म प्रचार–प्रसार पनि गरे, तर १६ जेठमा टिकट टीकारामलाई दिइयो । त्यसमा स्थायी समिति सदस्य छविलाल विश्वकर्माको विशेष जोडबल रहेको रूपन्देहीका एमाले कार्यकर्ताहरू बताउँछन् ।

टीकारामले चुनाव हारेपछि भने देवदहको विवाद हात हालाहालमा पुग्यो । पौडेल भन्छन्, “टीकारामले चुनाव हारेको बदला लिन्छु भन्दै गुण्डा परिचालन गरेर हामीमाथि आक्रमण गरायो ।”

उनका अनुसार, टीकारामले टिकट पाएपछि मनोजले वसन्तलाई धम्क्याउन छाडेका, तर चुनाव हारेपछि फेरि फोन गरेर पैसा माग्न थालेका थिए । त्यसैले पनि देवदहका एमाले कार्यकर्तामा वसन्तको हत्याका पछाडि कुनै न कुनै रूपमा टीकारामको समेत हात रहेको बुझाइ छ ।

तर, चापागाई यसलाई निराधार मान्छन् । “ममाथि लगाइएको यस्तो आरोप विल्कुलै कपोलकल्पित छ” उनी भन्छन्, “मनोजलाई पार्टीकै निर्णयले एमालेमा प्रवेश गराएको र निष्कासनको कारबाही पनि पार्टीले नै गरेको हो, मेरो कुनै सम्बन्ध छैन ।”

९ फागुनमा प्रहरीको विवादास्पद कारबाहीमा मनोज पुन मारिएपछि उनको आतंकको अन्त्य भएको छ, तर रूपन्देहीमा जस्तो अपराधले राजनीतिक संरक्षण पाइरहे समाजमा मनोज जस्ता पात्रहरूको उपस्थिति भइरहनेछ ।

प्रतिकृया दिनुहोस