समाचारसोमवार, फाल्गुण १४, २०७४

राज्यको नियमनकारी भूमिका बढाउनुपर्ने पक्षमा वकालत गर्ने खतिवडालाई अर्थतन्त्र हाँक्ने जिम्मा

रमेशकुमार

२०६६ चैतमा डा. युवराज खतिवडा नेपाल राष्ट्र ब्यांकको गभर्नर बन्दा देशको अर्थतन्त्रले चरम संकट भोगिरहेको थियो ।

तस्वीरः बिक्रम राई

घरजग्गासहितका अनुत्पादक क्षेत्रमा ब्यांक तथा वित्तीय संस्थाको लगानी ओइरिएर ‘बबल’ को स्थिति सिर्जना मात्र भएको थिएन, वित्तीय अराजकताका कारण धेरै ब्यांक तथा वित्तीय संस्था ‘डुब्ने तरखरमा रहेको नौका’को स्थितिमा थिए ।

संकटग्रस्त वित्तीय प्रणालीलाई खरो व्यवस्थापन गरेर खतिवडाले ब्याङकिङ क्षेत्रमा थिति बाँधिदिएपछि बाटो बिराउन थालेको अर्थतन्त्र ‘लिक’ मा आइपुगेको थियो ।

देशको अर्थव्यवस्था अहिले झन् चुनौतिपूर्ण र कठिन छ । देशको बाह्य क्षेत्र ऋणात्मक छ, भुक्तानी सन्तुलन र चालु खाता दुवै नोक्सानमा छ ।

व्यापार घाटा धान्नै नसक्ने स्थितिमा छ र सबैभन्दा महत्वपूर्ण पक्ष चाहिं अर्थतन्त्रको टेको रेमिटेन्सको भरथेग ओरालो लाग्दैछ ।

यता आन्तरिक क्षेत्रमा वित्तीय व्यवस्थापन धारिलो चुनौती बन्दै छ । राजस्वले खर्च नै नधानेर बजेट घाटा रु. ७८ अर्ब पुगिसकेको छ ।

अर्थतन्त्र ‘ट्विन’ वित्तीय घाटा र शोधनान्तर दोहोरो घाटाको ‘ट्विन डेफिसिट’को अवस्थामा छ ।

गभर्नरका रुपमा पक्का नियामकको छवि बनाएर निस्किएका खतिवडा अहिले त्यही चुनौतिपूर्ण अर्थतन्त्रलाई सम्हाल्ने अर्थमन्त्रीको धारिलो जिम्मेवारी लिएर आएका छन् ।

‘उदारवाद अराजकता होइन’ ओली सरकारको अर्थमन्त्रीको रुपमा सपथ ग्रहण गरेका डा. युवराज खतिवडाको अन्तर्वार्ता र विचारमा सामान्यतयाः यो वाक्याशं छुट्दैन ।

नेपाल राष्ट्र ब्यांकको गभर्नरका रुपमा रहँदा ब्यांकरहरुले खतिवडामाथि ‘उदार अर्थव्यवस्थाविरुद्ध चल्ने निरंकुश गभर्नर’को आरोप नै लगाएका थिए ।

खतिवडाले सार्वजनिक क्षेत्रमा राज्यको भूमिका बढाउनुपर्ने पक्षमा वकालत गर्दै आएका छन् ।

हिमालसँगको दुई महीना अघिको कुराकानीमा पनि खतिवडाले ‘निर्मम, अनुदार र अन्यायी बजारको स्वभाव बुझेर त्यसलाई न्यायसंगत र जिम्मेवार तुल्याउन पनि राज्यको भूमिका बढाउनुपर्ने’ बताएका थिए ।

एमालेभित्रकै बलिया प्रतिस्पर्धीलाई पाखा लगाउँदै खतिवडाले ओलीको छनोटमा अर्थ तथा याेजना जस्तो महत्वपूर्ण मन्त्रालय हाँक्ने अवसर पाएका छन् ।

खतिवडा सम्भवतः देशभित्र उपलब्ध त्यस्ता अर्थशास्त्री हुन्, जसले विश्व ब्यांक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सुझावसमेत अस्वीकार गर्ने आँट गर्न सक्छन् ।

उनीसँग विषयगत गहिरो ज्ञान मात्र होइन, मौद्रिक र वित्तीय नीतिलाई आफूले ठम्याएको बाटोमा हिँडाउने क्षमता पनि छ ।

झापाको सामान्य किसान परिवारमा जन्मिएका खतिवडालाई धारिलो तर्क शक्ति, मौद्रिक अर्थशास्त्रको खारिएको ज्ञान, राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभव र निर्णय क्षमताले अब्बल बनाएको हो ।

उनी जति हक्की छन्, त्यत्तिकै महत्वकांक्षी पनि । त्यसैले, कतिपयले उनलाई अर्थमन्त्री हुँदै प्रधानमन्त्रीको यात्रा गरेका भारतीय पूर्व प्रम मनमोहन सिंहको पथमा गएको सम्म भन्न भ्याएका थिए ।

‘टङ्गाल लगाइदिने धम्की’ का बावजुद अजेयराज सुमार्गीको स्रोत नखुलेको धन रोक्ने, एनसेलको लाभाशं रोक्नेदेखि मनमौजी ब्यांक सञ्चालकको अराजकता रोक्ने एवं विलासी वस्तुको आयातमा कडाई गर्नेसम्मका खतिवडाले राष्ट्र ब्यांकमा खरो निर्णय लिएका थिए ।

अर्थमन्त्रीको रुपमा खतिवडालाई अर्थतन्त्रको धारिलो चुनौती व्यवस्थापन सजिलो भने छैन ।

संकटको डिलमा पुगिसकेको अर्थतन्त्रलाई सही व्यवस्थापन गरेर ‘लिक’ मा ल्याउने मात्र होइन, सुशासन र विकासको नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नुपर्नेछ ।

खतिवडालाई काम गर्न भने पक्कै सजिलो छैन । अनुदार छविका कारण उनको नियुक्तिबाट शेयर बजार आत्तिइसकेको छ भने घरजग्गा व्यवसायी त्रसित छन् ।

मौद्रिक नीतिको नेतृत्वकर्ता राष्ट्र ब्यांकको अहिलेको नेतृत्व पनि खतिवडाको आगमनसँग खुशी छैन ।

‘रोक्न खोज्ने’ समूहसँग जुधेर खतिवडाले लिने निर्णय र पहलकदमीले नेपालको आर्थिक क्षेत्रको नयाँ प्रारुप कोर्नेछ ।

प्रतिकृया दिनुहोस