नेपालद्वारा युएई चार विकेटले पराजित
टीम नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत दोस्रो जित दर्ता गरेको छ । नेपालले २८ माघमा नामिबियाको युनाइटेड ग्राउण्डमा युएईलाई चार विकेटले पराजित गरेको हो ।
मैदान भिजेका कारण ३४ ओभरमा छोट्याईएको खेलमा नेपाललाई युएईले ११५ रनको लक्ष्य दिएको थियो । नेपालले ६ विकेटको क्षतिमा २८.५ ओभर खेल्दै निर्धारित लक्ष्य पुरा गरेको हो ।
पाँच छक्का र दुई चौका सहित सर्वाधिक ५१ रन बनाएका टीम नेपालका कप्तान पारस खड्का प्लेयर अफ दि म्याच घोषित भए । यस्तैआरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले अविजित रहँदै क्रमशः १२ र १० रनको योगदान दिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३१ ओभरमा अलआउट हुँदै ११४ रन जोडेको थियो । नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछानेले तीन, पारस खड्काले दुई र करण केसीले एक विकेट लिए ।
तीन मध्ये दुईमा जित र एउटा खेलमा पराजित भएको नेपाल चार अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ । ६ अंक जोडेको क्यानडा शीर्षस्थानमा छ ।
२५ माघमा नामिबियालाई एक विकेटले पराजित गरेको नेपाल २६ माघमा ओमनसँग हारेको थियो ।
डिभिजन–२ खेलिरहेका नेपाल, नामिबीया, क्यानडा, युएई, केन्या र ओमन मध्ये शीर्ष दुई टोलीले मार्चमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछ ।