ब्लगसोमवार, श्रावण १६, २०७४

रोजगार बढाउने राष्ट्रिय अभियानको खाँचो

कनक दीक्षित

 

जेट एअरवेजको दिल्ली–काठमाडौं उडानमा मेरा सहयात्री हुन पुगे, सुनसरी श्रीपुर जब्दी गाउँका पण्डित थर, कुम्हार समुदायका युवक । जो कतारबाट दिल्लीहुँदै नेपाल फर्कंदै थिए । बातचितको क्रममा उनले भने, “२०६५ सालको बाढले कोशीको पूर्वी तटबन्ध भत्काएर गाउँमा तवाही गर्‍यो, धानखेतमा ५/७ फिट बालु भयो । उब्जनीले परिवार धान्न सकिएन अनि गाउँका अरुहरूसँगै म खाडीतिर लागें ।”

त्यतिबेला एकपटक थोरै राहत पाएछन् नेपालपट्टिका बाढीपीडितले, जबकि उतापट्टि आजैसम्म भारत सरकारबाट राहत पाउँदा रहेछन् । कस्तो विडम्बना, कोशी ब्यारेज तथा तटबन्ध संचालक (भारत सरकारअन्तर्गतको निकाय) को यस्तो चरम लापरबाही, तर जवाफदेही र क्षतिपूर्तिको कुरा कतिपय अन्य कुरा जस्तै मिडिया, विश्लेषक, नेता, व्यवस्थापन; सबैले बिर्सिसक्यौं ।

विगतको कुरा बिर्सेर पीडितलाई सान्त्वनाको मल्हम लगाउनसम्म नसम्झने हामी आँखै अगाडि रहेको भविष्यको खतरा नबुझ्न पनि माहिर नै छौं । जस्तो, मेरो सहयात्री पण्डित किन नेपाल फर्कंदै थिए, यसले दिने खतराको संकेत । विदेशको रोजगार छोडेर अनि उनी जस्ता अरु कति फर्कंदै छन् र यसले नेपालको अर्थतन्त्र र समाजलाई तेर्साउने चुनौती के–के हुन् र कत्रा ?

युवक भन्दै थिए, “हाम्रो कम्पनीले दुबईबाट मालसामान कतार ढुवानी गथ्र्यो । हामी तीस जना थियौं नेपालबाट अनि यूपी, बिहार, असम र राजस्थानका । कतारमा काम सुक्यो, कम्पनीले फिर्ता पठाइदियो ।”

जब साउदी, यूएई, इजिप्ट र बहराइन मिलेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आँखा झिम्क्याइको भरमा कतारमाथि नाकाबन्दी गरे, नेपालमा भुईंचालो गयो । या जानुपर्ने थियो । किनकि यो भुईंचालोको पूर्णः अनुभूति अहिलेसम्म भएको छैन ।

नेपाली अर्थतन्त्रको अवस्था कतारको प्रगति र सम्बन्धित निर्माण उद्योगसँग पनि जोडिएको छ । र, नेपाललाई चिट्ठा नै परेजस्तो भएको थियो, सन् २०२२ मा कतारले आयोजना गर्न लागेको वल्र्डकप फूटबल, जसको कारण कम्तीमा एकदशकको लागि नेपालीको लागि ठूलै परिमाणको रोजगारीबारे ढुक्क थियो । तर त्यही कतारमाथि खाडीका श्रम आयात गर्ने अन्य सबैजसो मुलुक खनिए ।

आश थियो एक दुई हप्तामै कुरा मिलिहाल्छ, तर त्यस्तो देखिंदैन । किनकि कतारको आर्थिक–सामाजिक–राजनीतिक खुलापनको अभ्यास छिमेकी मुलुक र विशेषगरी साउदीका शासक खलकलाई पटक्कै जँचेको छैन । त्यसैले यो छिट्टै सुल्झने समस्या अब देखिएन, र नाकाबन्दी हटे पनि कतारको आउँदा दिनमा अवस्था पहिलाको जस्तै रवाफिलो हुँदैन ।

यो भन्नुको अर्थ, आज जसरी सात लाख नेपाली युवाले कतारमा रोजगार पाएका छन्, अनुमान अनुसार अब यो बढ्ने छैन । बरु स्वाट्टै घट्ने छ । मेरो पण्डित मित्रको घर पुनरागमनले यही दर्शाउँछ । यसै पनि रोजगारका लागि बाहिर जाने नेपाली युवाको संख्या घट्दो छ । दुई वर्ष अगाडिसम्म वार्षिक पाँच लाख विदेशिने अवस्था थियो भने अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा नेपाल सरकारको नीतिका कारण आज आएर त्यो संख्या साढे तीन लाखमा झरेको छ ।

मुलुकभित्रै रोजगारी सिर्जना गर्न नसकेसम्म हामीले विदेशी रोजगारदाता राष्ट्र, म्यानपावर व्यवसायी तथा रोजगारमा लागेका निम्नवर्गीय युवालाई नै अर्थतन्त्र धान्ने मेरुदण्ड मान्नैपर्छ । अहिलेको ‘पोलिसी प्रिस्क्रिप्सन’ भनेको सरकार र व्यवसायी मिलेर रोजगारीको अन्तर्राष्ट्रिय बजारको खोजी गर्नु एकापट्टि अनिवार्य छ भने अर्कोतर्फ घर फिर्ने युवालाई इलम–आम्दानीको अवसर दिलाउनुपर्ने अवस्था छ ।

आजसम्म हामीले भन्दै आएको कुरा थियोः ‘थोरै भए पनि व्यावसायिक तालीम दिनसके विदेशिने कामदारको आम्दानीको ‘लेभल’ अर्कै हुन्थ्यो ।’ यसो भनेकै पनि १५ वर्षभन्दा बढी भइसक्यो जबकि गर्न सकेको थोरै मात्र छ । त्यही त गर्न नसकेको बेला अर्कै चुनौती आइलागेको छ, फर्केर आउनेहरूलाई सम्हाल्ने कसरी, आत्मसम्मानसहितको रोजगारी दिलाउने कसरी ?

एउटा वैदेशिक रोजगारको ‘साइकल’ पूरा हुँदैछ छिट्टै । ‘साइकल’ पूरा हुनु भनेको अन्ततोगत्वा खाडी र मलेशिया जति नयाँ जान्छन्, त्यतिकै पुराना फर्कनेछन् । आजभोलि हद भए दुई–तीन लाख प्रति वर्ष देश फर्कनेको संख्या होला तर भोलि त वर्षेनि पाँच लाख फर्कने छन् ।

यो अवश्यंभावी पुनरागमनको नागरिक सुनामी थेग्न नेपालमा रोजगार बढाउने राष्ट्रिय अभियानको खाँचो छ । यो असम्भव पनि नहोला, किनकि दुई दशकको अवरोधपछि राजनीतिक स्थायित्वको बाटोमा छ मुलुक । स्थानीय सरकारको निर्वाचनले स्थायित्वको जग बसाइदिएको छ भने यसलाई दिगो बनाउने काम प्रान्तीय र संघीय निर्वाचनले गर्नेछ । यति कुरामा ढुक्क हुने हो भने स्वदेशमा रोजगारीको स्तर र संख्या बढाउन काम गर्नुपर्‍यो ।

आज मुलुकभर नै निर्माणको ‘क्रान्ति’ छ– सडक, बाँध–तटबन्ध, जलविद्युत् परियोजना आदि धमाधम बन्दैछन् । निजी क्षेत्रमा पनि निर्माण कार्य तीव्र छ, भूकम्प प्रभावित क्षेत्र भित्र र बाहिर । पूर्णतः राजनीतिक स्थायित्व नआउँदै त यस्तो अवस्था छ भने भोलिको दिन कस्तो होला अनुमान गरौं । यसले रोजगारीको सन्तोषजनक अवस्था देखाउँछ । र, थप विचार गरौं कि रोजगारीको संख्याले मात्र पुग्दैन; यसको ‘वजन’ बढाउनुपर्छ, कामदारलाई सीप दिलाउनुपर्छ ।

यो सब गर्न चाहिन्छ सरकारको नेतृत्व । यसअघि नै एउटा विभाग नभई ‘वैदेशिक रोजगार मन्त्रालय’ कै खाँचो थियो । तर हामीले यो क्षेत्रको महत्व नै बुझेनौं । अब त्यतिले पुग्ने भएन, चाहियो एउटा मन्त्रालय जसको नाम र काम हुनेछ– ‘वैदेशिक तथा स्वदेशी रोजगार मन्त्रालय ।’ अनि पुनरागमन भएकालाई पुनस्र्थापन पनि गर्नुपर्‍यो ।

 

सम्बन्धित समाचार

कतार संकटको बाछिटा

कतार संकटको सन्देश

प्रतिकृया दिनुहोस