रिपोर्टबुधवार, श्रावण ११, २०७४

सानोबुबादेखि बुबासम्म

शेखर खरेल

गिरिजाप्रसाद कोइराला । तस्वीर: हिमाल अार्काइभ

स्थानीय तहको निर्वाचनको समीक्षा एमाले, माओवादी र कांग्रेसले आ–आफ्नै प्रकारले गरिरहेका छन्। एमालेले पहिलो स्थान हासिल गरेको 'सेलिब्रेसन' गरिरहेको छ भने कांग्रेसभित्रको रामचन्द्र पौडेल गूटले हारका लागि पार्टी सभापति देउवालाई दोष दिइरहेको छ।

कोइराला परिवारको विरासत थामेका महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाबाट त्योभन्दा बढी अर्थपूर्ण टिप्पणी आएको छ। कोइराला परिवारभित्रै पनि 'इगो' को टकरावमा देखिने र पार्टी नेतृत्वको महत्वाकांक्षा राख्ने यी तीन पात्रले एकठाउँ उभिएर एउटै अभिमत प्रकट गर्नु त्यसै पनि अर्थपूर्ण छ।

देउवाका गलत निर्णय र रणनीतिका कारण स्थानीय तह निर्वाचनमा पार्टीले चुकाउनु परेको मूल्य एउटा वहाना हो, कोइराला 'क्लान' को मुख्य चिन्ता देउवाका हातमा पुगेको नेतृत्वको बागडोर फिर्तीको हो भने पार्टी भित्रबाहिर देउवाको जति जनअनुमोदन र ल्याकत (मेरिट) आर्जन गर्न नसक्नु उनीहरूको समस्या।

सुशील कोइराला सभापति रहँदासम्म संस्थापन भनेर चिनिने कोइराला–पौडेल गूटलाई देउवाले पार्टी सभापति र संसदीय दलको नेता बनेर विस्थापित गरिदिए। चौथो पटकको प्रधानमन्त्री बन्दा अहिले गूटहरूबीचको भागबण्डा उनको टाउको दुखाइ हुनपुग्यो ।

कोइराला–पौडेल गूट रोजेका मन्त्रालयहरू नपाएसम्म नमान्ने भएपछि प्रधानमन्त्री बनेको डेढ महीनामा पनि देउवाले मन्त्रिमण्डल विस्तार गर्न सकेनन्। सिटौला र खड्का गूटले यही मौकामा आफ्नो दावी छोडेनन्।

उता एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालले लगभग बराबरी हैसियतको टक्कर दिइरहेका छन्। पूर्व अध्यक्ष झलनाथ खनाल पनि आफ्नै गूटको तागत अनुसार 'बार्गेनिङ' गरिरहेका देखिन्छन्।

प्रतिपक्षमा रहेकाले एमालेभित्र लाभको रस्साकस्सी भने देखिंदैन। गूटले सबैभन्दा आक्रान्त दल भने माओवादी केन्द्र नै हो। गूटबन्दी गहिरिंदा पार्टी आधा दर्जन भन्दा बढी घटकहरूमा चोइटिन पुग्यो।

माओवादी केन्द्रले संस्थापनको नेतृत्व गर्ने भए तापनि हिजो चोइटिएर गएका रामबहादुर थापा, पम्फा भुसाल आदिको फिर्ती र एकीकरणबाट मिसिएको नेकपा (एकता केन्द्र) का कारण पार्टीभित्र गूटहरू प्रभावशाली देखिन्छन्।

प्रत्येक पटक सरकार गठनमा पार्टी उपाध्यक्ष तथा तत्कालीन एकता केन्द्रका प्रमुख नारायणकाजी श्रेष्ठले सरकारमा आफ्नो गूटको दावा गर्दै आएका छन्।

स्थानीय निर्वाचनमा पार्टीको खराब परिणामलाई लिएर समीक्षा निम्ति बसेको माओवादी केन्द्रको सचिवालय बैठकमा अध्यक्ष दाहालले नै भने, “गुटबन्दीको अवस्थामै अघि बढ्ने कि पार्टीलाई विसर्जन गर्ने?”

पूर्व पञ्चहरूको दल राप्रपा र मधेशवादी दलहरू बीचका गूट यतिसम्म छताछुल्ल छन्, ती तोडिने र जोडिने कुराको लिखत राख्न एउटा वहीखाता नै लिएर बस्नुपर्ने हुन्छ।

समाजशास्त्री चैतन्य मिश्र कमाउवादलाई गूटगत राजनीतिको मूल तत्वका रूपमा हेर्दछन्। “हिजो आदर्शले नेता जन्माउँथ्यो, र ती नेताका पछाडि सहयोगीहरू जुट्थे। अहिले, एउटै पार्टी भित्रै धेरै प्रतिस्पर्धी देखिन्छन्” मिश्र तर्क गर्छन्, “उदाहरणका लागि, बीपीको उद्देश्य मुलुकमा प्रजातन्त्र स्थापना गर्ने थियो, राजनीति कमाउ–धन्दा थिएन। यसकारण कृष्णप्रसाद भट्टराई र अन्य नेताहरूको समेत प्रादुर्भाव सम्भव भयो। अहिले आसेपासे राख्ने चलन व्यापक देखिन्छ।”

मिश्रको ठम्याइमा विद्यार्थी, शिक्षक वा कर्मचारीकै ट्रेड युनियनहरू पनि राजनीतिक लाभ लिने 'प्लेटफर्म' हुन्। “पठनपाठन राम्रो गर्ने भनेर विद्यार्थी संगठन गठन भएका होइनन्। त्यो त राजनीति भन्दा पनि पार्टी नीति अझ गूट नीति प्रवर्द्धन गर्ने ठाउँ हो”, उनी भन्छन्।

मिश्रको तर्क जस्तै आदर्श राजनीतिभन्दा पनि शक्तिमा रहेकाहरूको सन्निकट पुग्ने, उनीहरूको अनुग्रह हासिल गर्ने उपयोगितावादीहरूको बोलवाला नेपाली समाजमा बाक्लो छ।

विश्लेषक पुरञ्जन आचार्य अवसरवादीहरू कुन हदसम्म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई रिझाउँदै उनको अनुग्रह प्राप्त गर्न खोज्दथे भन्ने एउटा घटना सुनाउँछन्। कोइराला परिवारभित्र बीपीलाई 'सान्दाजु' भनिए जस्तै उनका भाइ गिरिजाप्रसादलाई 'सानोबुबा' बाट सम्बोधन गरिन्थ्यो। गिरिजाप्रसादकी छोरी सुजाता समेत पितालाई 'सानोबुबा' नै सम्बोधन गर्थिन्।

पार्टी तप्कामा गिरिजाबाबु भनिने गिरिजाप्रसादलाई 'सानोबुबा' सम्बोधन गर्न सक्ने हैसियतका एकाध पारिवारिक सदस्यहरू मात्र हुन्थे। तर, परिवार बाहिरका चाकडीवाजका झुण्डले कोइरालालाई 'सानोबुबा' सम्बोधन गर्न अलिकति पनि शरम मानेनन्।

“म सहयोगी रहेको बखत सरकारका सचिवसम्मले समेत उहाँ (कोइराला) लाई 'सानोबुबा' सम्बोधन गरेको सुनें। त्यो कुरा अर्का सहयोगी हरिजी (हरि शर्मा) लाई यतिसम्म असह्य भयो कि उहाँले एक जना सचिवलाई त 'के सानोबुबा भनेको प्रधानमन्त्रीज्यू भन्नुस् न' भनेर सातो झारे”, आचार्य सम्झन्छन् “वास्तवमा, गिरिजाप्रसादलाई 'सानोबुबा' भन्नेहरूको एउटै ध्येय अवसर उछिट्याउने हुन्थ्यो।”

एमाले अध्यक्ष केपी ओली निसन्तान भएकाले ओलीको 'ओलिगार्ची' (वंश परम्परा) थाम्ने पात्र त कोही छैनन्। तर, उनको कृपा वा अनुग्रहको अभिलाषा राख्ने थुप्रै देखिन्छन्।

एमालेको एउटा तन्नेरी पुस्ता ओलीतिर यतिसम्म झुम्मिएका देखिन्छन् कि उनीहरू अध्यक्षलाई न 'कमरेड' न त अध्यक्ष/सम्माननीयज्यू आदिबाटै सम्बोधन गर्न आवश्यक देख्छन्।

उनीहरू अलिकति पनि झिंझो नमानी ओलीलाई सीधै 'बुबा' भन्छन्। सुनिजान्नेहरूको मत छ, 'बुबा' बाट सम्बोधित हुँदा ओली औधी पुलकित हुन्छन् रे!

आफ्नो गूट वा वफादारप्रति ओलीले कुन हदसम्मको कृपा गर्न सक्छन् भन्ने दृष्टान्त एक होइन अनेक छन्। उनले संविधानसभाको चुनाव हारेका युवा संघ नेपालका तत्कालीन अध्यक्ष महेश बस्नेतउपर अनुग्रह देखाउँदै र निर्वाचित सभासद्हरूलाई जिल्याउँदै उद्योग मन्त्री बनाइदिए।

ओली अनुग्रहको अप्रतिम दृष्टान्त उनका अर्का वफादार अनुयायी खगराज अधिकारीले आत्मसंस्मरण 'माया मारेको मान्छे' मै लेखेका छन्।

चुनाव हारेका अधिकारी कसरी मन्त्री हुन पुगे उनकै शब्दमाः “ग्रान्डी अस्पतालको शय्यामा उहाँ (केपी ओली) सँग म कुरा गरेर बसिरहेको थिएँ। वामदेव र झलनाथ कमरेड उहाँलाई भेट्न तथा छलफलका लागि आउनुभयो। माधव कमरेडले 'छलफलका लागि म अस्पताल जान्नँ' भन्नुभएछ। अस्पतालमा छलफलबीच ओली कमरेडले वामदेव र झलनाथ कमरेडलाई मतर्फ इशारा गर्नुभयो, 'खगराज कमरेडलाई मन्त्री बनाऔं। हामीले धेरै पटक उहाँलाई धोका दिए जस्तो भएको छ'। त्यही अस्पतालमा म मन्त्री हुने कुरा टुङ्गो लाग्यो। अन्ततः मैले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा शपथ लिएँ।” (पृष्ठ २४७–४८)

कृपावादका दृष्टान्त केपी ओली मात्र होइनन्। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका सन्तानले राजनीतिको बाटो नसमाते पनि उनी नातावादबाट मुक्त हुन सकेनन्।

आफ्नो प्रधानमन्त्रीत्वकालमा उनले मेकानिकल इञ्जिनियर रहेका सहोदर भाइ विनोद उपाध्याय (नेपाल) लाई हङकङको महावाणिज्यदूत बनाएपछि त्यस कदमबाट जनता र पार्टीभित्रै व्यापक आलोचना भएको थियो।

सम्बन्धित समाचार: ओरालो लाग्दै राजनीतिक वंशवाद

प्रतिकृया दिनुहोस