रिपोर्टबुधवार, श्रावण ११, २०७४

राजनीतिमा चल्दैन वंशवाद

शेखर खरेल

पारिवारिक विरासतमा आधारित वंश राजनीति दक्षिणएशियामै ओरालो लागेको छ ।

पहिलो चरणको स्थानीय तह निर्वाचन सफल पारेको जससहित एउटा 'क्लाइमेक्स' मा सत्ताबाट बाहिरिंदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई परिवारसँग जोडिएका दुईवटा घटनाले 'एन्टी–क्लाइमेक्स' मा झारिदिए ।

पहिलो घटना– भरतपुर महानगरपालिकाको मेयर पदका प्रत्यासी उनकी माइली छोरी रेणु दाहाल मतगणनाका क्रममा पराजयोन्मुख हुँदै गर्दा उनका प्रतिनिधिहरूले वडा नं. १९ को केही मतपत्र च्यातिदिए, जसका कारण मतगणना अझै स्थगित छ।

विवादित वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध मतगणनामा अग्रता लिइरहेको नेकपा (एमाले) ले दिएको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ । 

कुनै तरहले, कदाचित् भोलि रेणु नै मेयरमा निर्वाचित भइन् भने पिताको रूपमा पुष्पकमल दाहालको जित त हुनेछ, तर नेताको रूपमा भने उनले नैतिक पराजय भोग्नेछन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालका निम्ति दशवर्षे सशस्त्र विद्रोहमा 'बुलेट' ले लगाएको रगतको दागभन्दा कम स्थायी हुने छैन 'ब्यालेट' को प्रतिस्पर्धामा परिवारवादको यो धब्बा ।

त्यसै समयतिरको अर्को घटना उनका एक्ला छोरा प्रकाशसँग पनि जोडियो। प्रधानमन्त्री पिताको स्वकीय सचिवको भूमिकामा रहेका प्रकाशले सरकारले दिने 'सुप्रबल जनसेवाश्री' पदक पाएको समाचार सामाजिक संजालसम्म 'भाइरल' भयो।

रङ्गीन स्वभावका कारण चर्चामा आउने प्रकाशउपर प्रतिपक्षी नेता केपी शर्मा ओलीले आफ्नो 'ट्रेडमार्क' शैलीमा 'हैन, कतिपटक विवाह गरेपछि तक्मा पाइने रहेछ हँ?' भन्दै कटाक्ष गरे।

प्रकाशको 'समाजसेवी' हैसियतबारे यति प्रश्न उठे कि अन्ततः उनी पदक 'अस्वीकार' गर्न बाध्य भए ।

प्रकाशको पदक भन्दा रेणुको राजनीति अर्थपूर्ण छ। उनी दोस्रो संविधानसभा निर्वाचन (२०७०) मा पनि काठमाडौंको क्षेत्र नं. १ बाट नराम्ररी पराजित भएकी थिइन्।

रेणुलाई राजनीतिमा स्थापित गर्न यति जोडदार प्रयास भइरहेको थियो कि तत्कालीन प्रधानमन्त्री दाहाललाई रिझाउन नेपाली कांग्रेसको गढ ठानिने भरतपुरमा पार्टी सभापति शेरबहादुर देउवा आफैंले निर्वाचन आयोगलाई पत्र पठाई कांग्रेसको उम्मेदवारी फिर्ता लिएको जानकारी पठाए ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालका सन्तति रेणु र प्रकाशको प्रसंग नेपालमा गर्न खोजिएको परिवारकेन्द्रित राजनीति र कृपावादको पछिल्ला दृष्टान्त हुन्। दर्शन–सिद्धान्तका आधारमा नेपालका राजनीतिक दलहरू अनेकौं कित्तामा उभिएका छन्, तर यस्तो कुनै दल छैन, जसमा परिवारवाद, नातावाद र कृपावाद हावी नभएको होस्।

देशले जनतामाझ् आफ्नो ल्याकत सिद्ध गरेका राजनीतिकर्मी स्थापित हुने राजनीतिक प्रणाली अंगीकार गरेको छ, तर दलहरू कुनै खास परिवारका सदस्यलाई तान्ने जोडबलमा लागेको अनेक उदाहरण पाइन्छन्। यस्तो बलजफ्तीबाट राजनीतिक प्रणालीलाई नै कमजोर बनाउने बाहेक अर्थोकको आशा गर्न सकिन्न । 

दक्षिण एशियाली 'फेनोमेना'

औपनिवेशिक र आन्तरिक निरंकुशता (नेपालको सन्दर्भमा राणा र राजा) विरुद्ध सम्बद्ध मुलुकभित्रकै अभिजात र शिक्षित परिवारको विद्रोह दक्षिणएशियाको आधुनिक राजनीतिको खाँबो हो भने परिवारवाद मूल चरित्र।

उपनिवेशकालमा पनि अभिजात परिवारले आफ्नो 'मास्टर' हरूका मुलुकमै गएर उच्च शिक्षा लिन पाए, 'स्वराज' को महत्व बुझे अनि मातृभूमिलाई मुक्त गर्ने महायज्ञमा होमिए। स्वतन्त्र भारतको नेहरु–गान्धी परिवार त्यसको उम्दा उदाहरण हो, अहिले क्षयोन्मुख भए पनि ।

स्वतन्त्र बंगलादेशका प्रवर्तक बंगबन्धु शेख मुजिबर रहमानकी छोरी शेख हसिना बाजेद अहिले प्रधानमन्त्री छिन्। उनी र अर्का प्रखर राष्ट्रवादी नेता जियाउर रहमानकी पत्नी बेगम खालिदा जियाबीचको वैमनस्यले बंगलादेशको राजनीति ठप्प पारेको छ।

उता श्रीलंकामा विश्वकी प्रथम महिला प्रधानमन्त्री सिरिमाभो बन्दरानायकेको परिवार केही अघिसम्म हावी थियो। सिरिमाभोकी छोरी चन्द्रिका कुमारातुङ्गाको असफल राष्ट्रपतीय कार्यकालपछि वन्दरानायके विरासत समाप्त भएको देखिन्छ।

तमिल विद्रोही परास्त गरेको श्रेय पाएका पूर्व राष्ट्रपति महिन्दा राजापाक्षको परिवारवादको महत्वाकांक्षा पनि उनको पतनसँगै ओरालो लागेको छ। पाकिस्तानको भुट्टो परिवार दक्षिणएशियाको राजनीतिमा पारिवारिक विरासतको अर्को ज्वलन्त उदाहरण हो।

प्रधानमन्त्री जुल्पि्ककर अलि भुट्टोलाई फाँसी दिइएपछि राजनीतिमा आएकी उनकी छोरी बेनजिर र छोराहरू मुर्तजा र शाहनबाजको पनि हत्या भइसकेको छ। त्यसबाट पाकिस्तानको राजनीतिमा भुट्टो परिवारको विरासत लगभग अस्ताचलमा पुगेको छ ।

औपनिवेशिक इतिहास नभएको नेपालको राजनीतिक विरासत दक्षिणएशियाका अन्य देशभन्दा पृथक् छ। नेपालको राजनीतिक इतिहासमा परिवारवाद विरुद्ध परिवारहरूकै संघर्षका गाथाहरू छन्।

नेपालमा प्रजातन्त्रका लागि राणाविरुद्ध राणाहरू पनि लडे। राणाकालमा होस् या निरंकुश राजतन्त्रविरुद्ध, केही अग्रणी परिवार (कोइराला, सिंह, श्रेष्ठ (पुष्पलाल), निधि, राणा आदि) छन्, जसले नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि 'न्यौछावर' भएको इतिहास रचे। तीमध्ये केही परिवार अद्यापि राजनीतिमा एउटा विरासतको रूपमा स्थापित छन् ।

लेट–कमर र अप्लाइड साइन्सवाला

नेपालमा वंश राजनीतिको चर्चा गर्दा दुईखाले उत्तराधिकारीहरू देखिन्छन्– 'लेट–कमर्स' र 'अप्लाइड साइन्स' (व्यावहारिक विज्ञान) वाला। विशेषतः कोइराला परिवारमा यो देखिन्छ।

बीपीका तीन छोरा प्रकाश, श्रीहर्ष र शशांकमध्ये जेठा प्रकाशलाई राजनीतिका लागि 'ग्रुम' गरिएको थियो। उनका दुई भाइमध्ये श्रीहर्षले सूचनाप्रविधि र शशांकले चिकित्साशास्त्र पढे।

लिबरल आर्टस् (मानविकी) रोजेका प्रकाशले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेर भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गर्दागर्दै पढाइ छाडेका थिए ।

बीपीका भाइ केशवप्रसाद कोइरालाका छोरा शेखरले पनि चिकित्साशास्त्र पढे। अहिले दुई डाक्टर शशांक र शेखरमध्ये कसले कोइराला परिवारको विरासत थाम्न सक्छन्, चर्चाको विषय बन्दै आएको छ।

एउटै परिवार र दलका यी दुई डाक्टर राजनीतिक अभिमुखीकरण र समझ्दारीका दृष्टिले निकै भिन्न मानिन्छन्। 'एप्लाइड साइन्स' को पृष्ठभूमि र राजनीतिका 'लेट–कमर्स' हुनु चाहिं उनीहरूबीचको समानता हो ।

छोरी रेणुका साथ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्वीरः अन्नपूर्ण पोष्ट

नेपालका थुप्रै नेताका छोराछोरी 'अप्लाइड साइन्स' रोजेर राजनीतिक उत्तराधिकारको संभावनाबाट ओझेल भएका छन्। प्राध्यापक चैतन्य मिश्र राजनीति दुःखको पर्याय हुन पुगेको र परिवारमा आमाहरूले सन्तानलाई त्यस्तो कहरको बाटोबाट जोगाउने क्रममा 'अप्लाइड साइन्स' तिर प्रेरित गरेका हुनसक्ने विश्लेषण गर्छन्।

तर, तिनलाई पनि अन्ततः राजनीतिको आकर्षणले नछोडेको देखिन्छ। तिनैमध्येका एक हुन्, पञ्चायत र प्रजातन्त्रकाल गरी पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाका एक्ला छोरा सुनिल। राष्ट्रसंघीय जागीरबाट सन् २०११ मा अवकाश लिएपछि सरासर पिताको बाटोमा लागेका उनलाई मन्त्री बन्न खासै समय लागेन ।

२०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट जितेका उनी सुशील कोइराला नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति मन्त्री बने।

राजनीतिमा 'लेट कमर' भए पनि पिताको विरासतले आफूलाई फाइदै पुगेको सुनिल बताउँछन्। “बुबाका कारण नै मलाई व्यापक स्वीकार्यता मिलेको छ” उनी भन्छन्, “मानिसहरू सुनिलको कुरा पनि सुनौं न भन्छन् ।”

राजनीतिक परिवार भए पनि राजनीतिमा 'लेट कमर' को अर्को चर्चित नाम सुजाता कोइराला हो। जर्मन नागरिकसँग विवाह गरेर उतै बसेकी गिरिजापुत्री सुजाता शेखर र शशांक भन्दा पहिले कांग्रेस राजनीतिमा हेलिएकी हुन्। कोइराला परिवारको विरासतको दौडमा यतिबेला भने उनी पछाडि देखिएकी छन् । 

कोइराला परिवारको विरासत


४ साउनमा टोखा, काठमाडौंस्थित डा. शशांक कोइरालाको निवासमा बीपी पुत्र शशांक, गिरिजा पुत्री सुजाता कोइराला र केशव पुत्र शेखर कोइराला । तस्वीरः सुजाता कोइरालाको फेसबुकबाट

शेखर र शशांक पूर्णकालीन कांग्रेस राजनीतिमा आउनुका अनेक कारणमध्येको प्रमुख कारण दाजु प्रकाशको बहिर्गमन पनि हो। भारतको गान्धी परिवारमा संजय गान्धीको अनपेक्षित अवसानपछि उनका दाजु राजीव राजनीतिमा पूर्णकालीन बनेका थिए।

आमा इन्दिरा गान्धीले कान्छा छोरा संजयलाई उत्तराधिकारका लागि 'ग्रुम' गरेकी थिइन्। सन् १९८० मा हवाईजहाज दुर्घटनामा संजयको निधन र १९८४ मा इन्दिराकै हत्या भएपछि नेहरु–गान्धी परिवारको विरासत धान्न राजीव राजनीतिमा हाम्फालेका थिए ।

एक प्रकारले त्यस्तै भयो, नेपालको कोइराला परिवारमा पनि। तर, कांग्रेसको राजनीतिबाट प्रकाशको बहिर्गमनमा उनी स्वयं कारक थिए। राजनीतिका लागि 'ग्रुम' गरिएका उनी कांग्रेसभित्र ग्राह्य नहुनुको कारण पिता बीपीकै नीतिमा पुगेर जोडिन्छ।

प्रकाशले पिता बीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई आफ्नो राजनीतिको मार्गनिर्देशक सिद्धान्त बनाए, त्यसको इमानदार परिपालना गरिरहे र गर्दै आएका छन्।

राष्ट्रियता रक्षाका लागि राजासँग मिल्नुपर्छ भन्ने बीपीको आह्वानलाई प्रकाशले यति गम्भीरतापूर्वक लिए कि उनी अझ्ै पनि नेपालमा राजसंस्था वापसीमा ढुक्क देखिन्छन् ।

प्रकाश र नेपाली कांग्रेसबीच २०४५ सालको एउटा घटनामार्फत तनाव उत्पन्न भएको थियो। राजाको प्रत्यक्ष शासनका बेला नेपालले चीनबाट हतियार ल्याएकोमा रुष्ट भारतले पारवहन सम्झौताको नाममा नेपालमाथि आर्थिक नाकाबन्दी गरेपछि प्रकाशले भारतीय रवैयाको जोडदार विरोध गर्दै राजालाई साथ दिए।

अझ्, २०४६ को जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा त्यो आन्दोलन नेपालको हितमा नरहेको वक्तव्य जारी गर्दै आन्दोलन अविलम्ब रोकिनुपर्नेसम्मको अभिमत राखे। यस्ता रवैयाका कारण उनी दिन प्रतिदिन कांग्रेसको मूलधारबाट किनारीकृत हुन थाले ।

कोइराला परिवारलाई नजिकबाट चिनेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बीपीको गतिशीलता बुझन नसक्नु नै प्रकाशको समस्या रहेको तर्क गर्छन्। उनका अनुसार, भारतमा इन्दिरा गान्धीले लगाएको आपत्काल र प्रवासको दुःखका कारण बीपी आफ्ना परिवार र सम्पूर्ण कांग्रेसजनलाई नेपालमा सहज अवतरण गराउन चाहन्थे।

राष्ट्रिय मेलमिलाप एउटा रणनीति थियो। बीपीको यो रणनीतिलाई गणेशराजजी (वरिष्ठ अधिवक्ता गणेशराज शर्मा) ले सिद्धान्त नै बनाएर पढाइदिएका कारण प्रकाशले बीपीको त्यही एउटै कुरा मात्र समात्न पुगेको आचार्यको विश्लेषण छ ।

जेठो छोरा प्रकाशमाथि बीपीको कतिसम्म भरोसा थियो भन्ने कुरा पुष्टि गर्ने एउटा घटनाको साक्षी पनि हुन्, आचार्य। उनका अनुसार, २०३६ सालको जनमत संग्रहताका उनी, आमोद उपाध्यायलगायत युवा कांग्रेसीहरू कोइराला निवासमा भेला भएका थिए।

त्यसबखत बीपीले 'हाम्रो परिवारमा प्रकाशबाहेक सबै फाइभ–स्टार भइसके' भनेका थिए। त्यसको अर्थ उनीहरू कोही पनि राजनीतिमा दुःख गर्न तयार छैनन्, 'राजनीति गर्छ भने प्रकाशले नै गर्छ' भन्नेथियो। प्रकाशले बाबुको अपेक्षा अनुसार राजनीति पनि गरे, तर स्वयं भने कांग्रेसमा अटाउन सकेनन् ।

बीपीका कान्छा भाइ गिरिजाप्रसादले आफ्नै जीवनकालमा छोरी सुजातालाई विरासतको हकदार बनाउने भरमग्दुर प्रयास गरे, तर सफल भएनन्। बाबुको अवसानसँगै छोरीको राजनीति पनि ओह्रालो लाग्यो।

सुजाताले कांग्रेस केन्द्रीय कार्यसमितिमा आफ्नो स्थान सुरक्षित गरेता पनि संगठन र प्रभावका हिसाबले उनी कोइराला परिवारभित्रका शशांक र शेखर भन्दा पछाडि देखिन्छिन् ।

शशांक कि शेखर ?

नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनबाट महामन्त्रीमा चुनिनुले कोइराला परिवारको विरासत शशांकमा आइपुगेको सन्देश गएको छ। बीपी झैं शिष्ट र हँसमुख शशांकले निर्वाचनमा लतार्ने अनुमान महामन्त्रीका अर्का प्रतिस्पर्धी गगन थापाले पनि गरेका थिए।

पार्टी राजनीतिभित्र 'लिगेसी फ्याक्टर' बुझेका थापाले आफ्नो उम्मेदवारी घोषणाताका भनेका पनि थिए, “मेरो नशामा बीपीको रगत हैन, मस्तिष्कमा बीपीको विचार बगेको छ ।”

आज शशांक पार्टीको निर्वाचित सांसद् पनि हुन्, तर राष्ट्रलाई प्रखर विचार र नेतृत्व दिने नेताको खडेरी परिरहेको बेला न उनी पार्टीभित्र सक्रिय देखिन्छन्, न त संसद्मा नै सुनिन्छन्। बरू, आलाकाँचा टिप्पणीका कारण विवादमा आइरहन्छन्।

संघीयता र धर्मनिरपेक्षताबारे अस्पष्ट र गोलमटोल धारणा राख्ने शशांकले केहीअघि अदालतलाई संसद् मातहत राख्नुपर्ने जस्ता जगहँसाउने टिप्पणी समेत गरे ।

विश्लेषक आचार्य विश्व राजनीतिको अध्ययन–चिन्तन भन्दा परिवारभित्रको व्यावहारिक राजनीतिलाई कांग्रेस महामन्त्री शशांक कोइरालाको राजनीतिक सुझ्बुझ्को आधार ठान्छन्। उनका अनुसार, शशांकले कोइराला परिवारभित्र पनि दुई जनाको राजनीति देखे– पहिला पिता बीपीको, जुन दुःख र हण्डरको पर्यायवाची थियो।

दोस्रो, काका गिरिजाप्रसादको। नेपाली सत्ता राजनीतिको मियो बनिरहेका काकाको राजनीति उनका लागि पिताको दुःख विपरीत 'ग्ल्यामरस' थियो ।

तर, अहिले शशांक अर्कै मनोदशाबाट गुज्रिरहेको बुझिन्छ। निकट रहेकाहरूका अनुसार उनलाई राजनीति झिंझो बनिसकेको छ। उनी कार्यकर्ताबीचको कोलाहल होइन एकान्त मन पराउँछन् र 'सेल्फ इन्डल्जेन्स' मा रमाउन खोज्छन्।

कतिसम्म भने, मुलुक स्थानीय तह निर्वाचनमा होमिएका बेला जनमत बनाउन खटिनुपर्नेमा पार्टी महामन्त्री कोइराला पारिवारिक कारण देखाउँदै अमेरिका उडे ।

गिरिजाप्रसादका निकट सहयोगी रहेका वीरेन्द्र दाहालले जीवनको उत्तरार्द्धतिर शशांकलाई पनि सघाएका थिए । दाहाल दिवंगत हुनु केहीअघि मात्र यस पंक्तिकारले शशांकलाई सहयोग गर्नु पछाडिको कारण सोध्दा उनले भनेका थिए, “बीपीमा जस्तै कार्यकर्तासँग भिज्ने र वास्ता गर्ने स्वभाव शशांकमा छ। ऊ सफा मनको मान्छे हो, जसलाई कार्यकर्ताले पत्याउन सक्छन्।”

उनले शशांकका सीमा र कमजोरीबारे भनेका थिए, “ज्यादै संवेदनशील छ। हिजो डाक्टरी पेशामा आँखाको अप्रेसन सफल भए जस्तो राजनीतिमा शतप्रतिशत परिणाम नआउँदा निकै दुःखी बन्छ ।”

रमाइलो चाहिं, बीपीका केही स्वभाव शशांकमा देखिएजस्तै गिरिजाप्रसादको केही गुण शेखरमा सरेको देखिन्छ। कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् शेखर आज कोइराला परिवारबाट सार्वजनिक बहस र संवादमा क्रियाशील एक मात्र सदस्य हुन्।

कुनै बेलाका हठी र हडबडे शेखर अहिले चिन्तनशील बन्दै गइरहेको उनका निकटवर्तीहरू बताउँछन्। शेखरमा काका गिरिजाको 'स्टाइल' देख्ने विश्लेषक पुरञ्जन आचार्य भन्छन्, “उनी काका झैं देश घुम्न र कार्यकर्ता भेट्न रुचाउँछन् ।”

वंश होइन, ल्याकत

२००७ सालको क्रान्तिले एउटा जहानियाँ शासन फाले पनि समयक्रममा अर्को वंश नेपाली राजनीतिको केन्द्रमा स्थापित भयो। १९ जेठ २०५८ को राजदरबार हत्याकाण्डपछि नेपालको एउटा स्वाभाविक वंश परम्पराको पनि अन्त्य भयो।

राजा वीरेन्द्रको परिवारको समूल नाश पछि अपुतालीमा राजा बनेका उनका भाइ ज्ञानेन्द्रले समयको पदचाप सुन्न नसक्दा उनीसँगै शाहवंश पनि इतिहासको पानामा थन्किन पुग्यो ।

राणाशाही र शाहवंश झैं नेपालका अन्य राजनीतिक वंशहरू पनि स्थापित हुने लाख कोशिशबीच खुम्चिंदो अवस्थामा छन्। कोइराला परिवारकै कुरा गर्दा हिजो देश बाहिर समेत बीपी र गिरिजाप्रसादको जुन ओज–स्थान थियो, उनीहरूका सन्तानमा देखिंदैन।

गणेशमान सिंहका छोरा प्रकाशमान र महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र पनि कांग्रेस राजनीतिको केन्द्रमै छन्, तर दुवैले आफ्ना पिता सरहको नेता बन्नसक्ने काविलियत देखाउन सकेका छैनन्।

उता बामपन्थी राजनीतिमा पारिवारिक उत्तराधिकारी स्थापित गर्ने भरमग्दुर प्रयास माओवादी केन्द्रबाट भइरहेको देखिंदैछ, पुष्पकमल पुत्री रेणुको रूपमा। तर त्यो प्रयत्न विफलताको बाटोमा गएको छ ।

त्यसो त, जबर्जस्त वंश राजनीतिको लागि दक्षिणएशिया नै प्रतिकूल बन्दै गएको देखिन्छ । श्रीलंकाको बन्दरानायके परिवार आज राजनीतिक अस्तित्वमा छैन। पाकिस्तानमा बेनजीर भुट्टोका छोरा बिलाबल पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) को संभावित नेताका रूपमा देखा परे पनि पीपीपी नै कमजोर बन्दै गएको छ।

भारतमा पनि नरेन्द्र मोदी र भारतीय जनता पार्टीको जबर्जस्त उदयले नेहरु–गान्धी परिवारलाई विखलबन्दमा पारेको छ। नेहरु–गान्धीको 'लिगेसी' बोकेको भारतीय राष्ट्रिय कंग्रेस पछिल्लो निर्वाचनमा नराम्ररी पराजित भएको छ।

कतिपय विश्लेषकले त भारतमा कंग्रेस पार्टीको 'ओविच्यूरी' लेख्ने बेला भएको टिप्पणी समेत गरेका छन् । बंगलादेशमा पनि शेख हसिना र खालिदा जियाको ईर्ष्या, घृणा र कुशासनले वंश राजनीतिको विरासतलाई असान्दर्भिक हुने बाटोतिर लगिरहेको छ ।

प्राध्यापक चैतन्य मिश्रका अनुसार, पारिवारिक विरासतको राजनीति जनताको अपेक्षा भन्दा नेताहरूकै 'सर्कल' को खास उद्देश्यको परिणति हुन्छ। नेताका आसेपासेहरूले आफ्नो सुविधाका वंश राजनीतिलाई उत्प्रेरित गर्छन्।

मिश्रको भनाइमा, लोकतन्त्र भनेको 'सर्कुलेसन अफ एलिट' हो। त्यस्तो 'सर्कुलेसन'मा खिया लाग्यो भने लोकतन्त्रमा आघात पुग्छ। त्यस्तो बेला जन्मिने ल्याकत बिनाको 'एरिस्टोक्रेसी' प्राकृतिक रूपमै लोकतन्त्र प्रतिकूल हुन्छ ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य एक्काइसौं शताब्दीको राजनीतिमा वंश परम्परा चल्न गाह्रो देख्छन्। “कुनै अमूक व्यक्तिले विरासत धान्ला रे, त्यसलाई मान्न पनि सकिएला रे, तर उसले नेतृत्व गरेको दल कहाँ पुगेको छ भन्ने प्रश्न अहम् भएर आउँछ”, उनी भन्छन्।

व्यक्ति फुकेको तर पार्टी सुकेको भारतको कंग्रेस र गान्धी–नेहरु परिवारको उदाहरण दिंदै आचार्य भन्छन्, “कुनै वंशको राजकुमार या राजकुमारीले आफ्नै ल्याकतबाट राजनीतिलाई उन्नत बनाउन सके टिक्लान्, तर बाबु–बाजेको नाम बेचेर खाने दिन त अब रहेन ।”

सम्बन्धित रिपोर्ट: सानोबुबादेखि बुबासम्म

प्रतिकृया दिनुहोस