'वायु प्रदूषणले प्रतिरोध क्षमता घटाएको छ'
डा. ढुण्डिराज पौडेल,
नाक, कान, घाँटी रोग विभाग प्रमुख, वीर अस्पताल
धूलोमा हुने ठूला कण र दूषित पदार्थलाई नाकले नियन्त्रण गर्छ। तर ०.५ माइक्रोनभन्दा साना धूलोका कण अक्सिजन लिने क्रममा नाकबाट सीधै फोक्सोसम्म पुग्छन्। रक्त प्रवाहमा मिसिएको धूलोले रक्तनली, मुटु, मिर्गौला र कलेजोमा असर पुर्याउँछ।
धूलोका कण र धुवाँले सबैभन्दा पहिले आँखालाई असर गर्छ। आँखा पाक्ने, नाकबाट पानी बग्ने, रुघा लाग्ने, पिनास पर्ने, एलर्जीले हुने, खोकी लाग्ने, घाँटी खसखस हुने, चिलाउने, छालाका समस्या र अन्य संक्रमण बढाउँछ।
प्रदूषणको असरले रोग प्रतिरोधात्मक क्षमतामा पनि कमी ल्याउँछ। संक्रमणले बालबालिका, वृद्धवृद्धालाई छिट्टै समात्छ। दम, ब्रोङ्काइटिस र निमोनिया जस्ता समस्या देखिन्छ।