रिपोर्टबुधवार, चैत्र ९, २०७३

उकुसमुकुस उपत्यका

हिमालखबर

बढ्दो वायु प्रदूषण नियन्त्रणमा सरकारी बेवास्ताका कारण महानगर कुरुप र नगरवासी रोगी बनिरहेका छन्।

- सन्त गाहा मगर र रामु सापकोटा

ग्वार्को ललितपुर । तस्वीर: बिक्रम राई

केही दिनयता निरन्तर घाँटी दुख्ने समस्याले सताएपछि अपेक्षा न्यौपाने (२५) महाराजगञ्जस्थित गणेशमानसिंह मेमोरियल एकेडेमी पुगिन्।

एकेडेमीका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा.डा. धर्मकान्त बाँस्कोटाले उनको स्वास्थ्य परीक्षण गरेपछि अपेक्षालाई धूलो र धुवाँका कारण 'एलर्जी इरिटेसन' भएको पत्ता लाग्यो।

“यस्तो समस्या भएका बिरामीले धूलो, धुवाँ भएको ठाउँमा जानुहुन्न, चिसो खानुहुन्न, सडकमा मास्क लगाएर मात्रै हिंडडुल गर्नुपर्छ”, बाँस्कोटाको सुझाव छ। 

एकेडेमीको तथ्यांक अनुसार, गएको वैशाखदेखि माघसम्ममा नाक, कान, घाँटी विभागको बहिरंग सेवामा उपचारार्थ आउने बिरामीको संख्या ६१ हजार २६६ पुगेको छ।

“यीमध्ये करीब २० प्रतिशतमा प्रदूषण प्रमुख कारण देखिएको छ”, बाँस्कोटा भन्छन्। प्रा.डा. बाँस्कोटा धुवाँ र धूलोले रुघाखोकी, नाकको झिल्ली फुट्ने, घाँटीमा संक्रमण, कान पाक्ने, दमलगायतका समस्या देखिएर उपचारका लागि आउनेहरू बढिरहेको बताउँछन्।

अचानक रुघाखोकीले ग्रस्त पारेपछि सिनामंगल, काठमाडौंका ६० वर्षीय वृद्धलाई २५ फागुनमा काठमाडौं मेडिकल कलेज (केएमसी) को आईसीयूमै भर्ना गर्नुपर्‍यो। मोटरसाइकलमा घर–कार्यालय आउजाउ गर्ने उनलाई पनि धूलोकै कारण निमोनिया देखियो।

केएमसीका इन्टरनल मेडिसिन विभागका विशेषज्ञ डा. सुवास पन्त धूलोकै कारण फोक्सोमा संक्रमण भई निमोनियाको समस्या लिएर आउनेहरू बढिरहेको बताउँछन्।

धूलोका कारण नाकबाट रगत बग्ने समस्या भएका दाङ्का रुद्रबहादुर बुढाथोकीको स्वस्थ्य परीक्षण गर्दै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा धर्मकान्त बाँस्कोटा । तस्वीर: गोपेन राई

पछिल्लो समय उपत्यकामा बिरामीको संख्या बढ्नुमा वायु प्रदूषण नै कारक भएको चिकित्सकहरूको ठहर छ। भूकम्पपछिको पुनःनिर्माण, दिनहुँ थपिएको सवारी साधन, सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउन जथाभावी खनिएको सडक, फूटपाथमा थुपारिएका निर्माण सामग्री, ईंटा भट्टाका धुवाँ आदिले सास फेर्ने हावा दूषित बन्दो छ।

चिकित्सकहरूका अनुसार, वायु प्रदूषणका कारण सामान्य रुघाखोकीदेखि नसा, मुटु, श्वासप्रश्वास, क्यान्सर जस्ता गम्भीर रोगको संक्रमण पनि बढ्दो छ। उनीहरू वायु प्रदूषणलाई गर्भ खेर जानुको एउटा महत्वपूर्ण कारण समेत मान्छन्।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको इन्टरनल मेडिसिन विभागका एसोसिएट प्रोफेसर डा. पंकज पन्त धूलोका स–साना कणमा हुने सल्फर, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइडले शरीरको प्रतिरोधी क्षमतामा कमी ल्याएपछि रोग लाग्ने बताउँछन्।

दूषित वायुमा हुने हानिकारक तत्वले शरीरको हर्मोनमा समेत प्रभाव पार्छ। भारतको नयाँदिल्लीमा वायु प्रदूषणका कारण यौन क्रियाकलापमा ३० प्रतिशतले कमी आएको पाइएको थियो।

दिल्लीस्थित इन्दिरा आईभीएफ अस्पतालमा कार्यरत डा. सागरिका अग्रवालले एक अन्तर्वार्ताका क्रममा वायु प्रदूषणकै कारण १५ प्रतिशत पुरुषमा बाँझोपन देखिएको बताएकी थिइन्।

सर्वत्र प्रभाव
वायु प्रदूषणको प्रभाव स्वास्थ्यमा मात्रै सीमित छैन। यसको नकारात्मक असर आर्थिक तथा सामाजिक क्षेत्रमा समेत परिरहेको छ। पर्यटक आगमन, सडक तथा हवाई आवागमन, शहरी सुन्दरतादेखि बसाइँसराइमा समेत प्रदूषणको भूमिका देखिएको छ।

पर्यटन व्यवसायीहरू सकेसम्म धूलो कम भएको मौसममा पर्यटक भित्र्याउने योजनामा छन्। उनीहरूका अनुसार; फागुन, चैत र वैशाखमा धूलोकै कारणले पर्यटक कम आउँछन्।

काठमाडौंको हावा सामान्यतया पश्चिमबाट पूर्वतर्फ वहन्छ। बूढानीलकण्ठ, गोदावरी जस्ता ठाउँमा बसोबास बढ्नुको महत्वपूर्ण कारण स्वच्छ हावालाई पनि मानिन्छ।

दम, हृदयघातका बिरामी, बच्चा, वृद्धहरू भएको सम्पन्न परिवार स्वच्छ हावाकै खोजीमा उपत्यकाको चक्रपथबाहिर निस्कने क्रम शुरू भएको छ।

कचौरा आकारको भौगोलिक भू–बनोटले गर्दा उपत्यकाभित्र जम्मा भएका प्रदूषित तत्वलाई हावाले सजिलै बाहिर लैजान सक्दैन। १३०० मी. देखि १३५० मी. सम्मको उँचाइमा अवस्थित उपत्यकामा गाडीहरूले कम उँचाइ भएका ठाउँ भन्दा बढी धुवाँ फाल्ने गरेकाले पनि यहाँको प्रदूषण अन्य शहरहरूको भन्दा बढी छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको विमानस्थल सञ्चालन विभागका प्रमुख प्रेमनाथ ठाकुर जाडोयाममा कुहिरो तथा गर्मीयाममा धूलो र धुवाँका कारण काठमाडौंको आकाशमा 'भिजिबिलिटी' कम हुने बताउँछन्।

उनी भन्छन्, “उपत्यकाको बढ्दो प्रदूषणका कारण आकाश धमिलो हुँदा कतिपय अवस्थामा अवतरण गर्न लागेका विमानलाई समेत डाइभर्ट गर्नु परेको छ।”

२० फागुन २०७१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एअरको जहाज दुर्घटनामा पर्‍यो। काठमाडौंको 'भिजिबिलिटी' कमजोर भएपछि आकाशमै होल्ड गरिएको विमान दोस्रो पटक अवतरणका क्रममा अनियन्त्रित भई घाँसे मैदानमा धसिएको थियो।

धूलोको प्रभावबाट सडक यातायातको व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी झ्नै पीडित छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा धूलो र धुवाँबाट ट्राफिक प्रहरीहरूको स्वास्थ्य खराब भइरहेको बताउँछन्।

६–८ फागुनमा काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको स्वास्थ्य जाँच गर्दा ३०४ जनामा आँखा, ४५ जनामा घाँटी, ६२ जनामा कान र २१ जनामा नाक सम्बन्धी समस्या देखिएको थियो।

यी सबैको मुख्य कारण वायु प्रदूषण नै थियो। डीआईजी लामा प्रदूषणले प्रहरीलाई पुर्‍याइरहेको हानिबारे २ चैतमा उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई भेटेर ध्यानाकर्षण गराएको बताउँछन्। “भेटमा मेलम्ची खानेपानी आयोजनाले सडक खन्ने क्रममा बढेको प्रदूषणको समाधान निकाल्न पनि आग्रह गर्‍यौं”, लामा भन्छन्।

ईंटा उद्योगमा काम गर्ने कामदार त पहिल्यैदेखि प्रदूषणको मारमा थिए। सन् २०१६ मा काठमाडौं विश्वविद्यालयले उपत्यकाका १६ ईंटा उद्योगमा गरेको अनुसन्धानबाट त्यस क्षेत्रमा पीएम–२.५ को मात्रा ३९६.५ माइक्रोग्राम भेटिएको छ।

अहिले उपत्यकामा पीएम–२.५ को मात्रा १६० माइक्रोग्रामसम्म देखिएको छ। अनुसन्धानले ईंटा उद्योगका ४०० कामदारमध्ये २० प्रतिशतमा खोकी, ब्रोङ्काइटिस, दम, सीओपीडी जस्ता श्वासप्रश्वासका समस्या पाइएको तथ्य सार्वजनिक गरेको थियो।

मेलम्ची आयोजनाको पाइप विछ्याउन खनिएका खाल्डाहरू सडक अव्यवस्थापनको प्रमुख कारण बनेका छन्। भर्खरै कालोपत्रे गरिएका सडक आयोजनाले धमाधम खनेपछि दुर्घटना समेत निम्तिएको छ।

खनेको ठाउँमा घाम लाग्दा धूलो उड्ने र पानी पर्दा हिलो भएर दुर्घटना हुने गरेका छन्। “बिहान ठीकठाक सडकमा साँझ् इनार जस्तो भ्वाङ बनिसकेको हुन्छ।

तर खाल्डो खनेको संकेत कहीं कतै राखिएको छैन”, व्यवस्थापिका संसद्को वातावरण समितिका सभापति जनकराज चौधरी भन्छन्। पैदल यात्रुको समस्या पनि सवारी चालकको भन्दा कम नभएको उनी बताउँछन्।

मेलम्ची आयोजनाको 'अपराध'
आउँदो दशैंसम्म घर–घरमा पानी पुर्‍याउने लक्ष्यसहित खटिएको मेलम्ची आयोजनाले सम्झौता अनुरूप काम नगरेकै कारण उपत्यकावासी धूलाम्य हुनुपरेको समितिका सभापति चौधरी बताउँछन्। उनी भन्छन्, “खनेको तीन दिनभित्र खाल्डो पुर्नुपर्ने र सात दिनभित्र कालोपत्रे गरिसक्नुपर्ने सम्झौता आयोजनाले पालना गरेको छैन, त्यसैले यो दुर्दशा भोग्नुपरिरहेको छ।

” त्यति मात्रै होइन कालोपत्रे गर्नुअघि अवलम्बन गर्नुपर्ने अस्थायी विकल्पप्रति पनि आयोजना उदासीन देखिन्छ। “खनिएका ठाउँमा पानी छर्कने, भ्याकुमले हावा तान्ने र अलकत्रा छर्कने काम पनि नगरेपछि आयोजनाका अधिकारीहरूलाई समितिको बैठकमै बोलाएर सोधखोज गर्‍यौं”, चौधरी भन्छन्। 

मेलम्ची आयोजनाको पाइप विछ्याउने क्रममा सर्वसाधारणको स्वास्थ्य र सहज आवतजावतलाई पूरै बेवास्ता गरिएको छ। कालोपत्रे भइसकेको सडकलाई खन्नै परे पाइप आकारको खाल्डो बनाउनुपर्थ्यो।

“तर आफूसँग भएकै उपकरण अनुसार खाल्डैखाल्डो बनाइयो” इन्जिनियर कमलराज पाण्डे भन्छन्, “यसो गर्नु भनेको खुट्टा अनुसारको जुत्ता रोज्नुको सट्टा जुत्ता अनुसार खुट्टा काटे जस्तो हो।”

उपत्यकावासीमाथि पर्ने असरबारे थोरै मात्रै चिन्ता हुँदो हो त सडकलाई धराप जस्तो बनाउने थिएन। पाइपका लागि अनावश्यक खाल्डो बनाउँदा ट्राफिक जाम पनि बढेको छ। गाडी जाममा रोकिनु नै प्रदूषण बढ्नु हो।

वातावरणविद् भूषण तुलाधर जाममा गाडी रोक्दा निस्किएको धुवाँले वातावरण थप दूषित बनाइरहेको बताउँछन्। रोकिएका सवारी साधनले धेरै इन्धन खपत गर्ने र त्यसले क्यान्सर गराउने धुवाँ समेत उत्सर्जन गरिरहेको उनको भनाइ छ। “बाहिर देखिने धूलो भन्दा नदेखिने धूलो धेरै खतरनाक हुन्छ”, उनी भन्छन्।

केही वर्षयता सवारी साधनको संख्या पनि ह्वात्तै बढेको छ। गत आर्थिक वर्षसम्म यातायात व्यवस्था विभागमा दर्ता भएका बस, ट्रक, माइक्रोबस, टेम्पो, ट्याक्सी, मोटरसाइकल लगायतको कुल संख्या २३ लाख ३९ हजार १६९ छ। जबकि आव २०६२/६३ मा उपत्यकामा ५ लाख ३७ हजार ४३९ वटा सवारी साधन थिए। त्यसो त आव २०५२/५३ मा देशभरमै जम्मा १ लाख ७९ हजार ६८० मात्र सवारी साधन दर्ता भएको देखिन्छ।

संसारकै खराब
काठमाडौं उपत्यकामा १०८ वटा ईंटा भट्टा सञ्चालनमा छन्। त्यसबाहेक कृषिसँग सम्बन्धित उद्योगलाई पनि वायु प्रदूषणको एउटा कारक मानिएको छ।

क्लिन एयर नेटवर्क, नेपालले सन् २०१४ मा काठमाडौं उपत्यकाको वायुको स्तर र यसको व्यवस्थापनबारे तयार पारेको प्रतिवेदनले वायु प्रदूषण गराउने तत्व पीएम–१० सबैभन्दा बढी सवारी साधनबाट निस्केको धुवाँबाट उत्पन्न भइरहेको देखाएको छ।

प्रतिवेदन अनुसार, उपत्यकाका सवारी साधनको धुवाँबाट ३८ प्रतिशत, धूलोबाट २५ प्रतिशत, कृषि क्षेत्रबाट १८ प्रतिशत, ईंटा उद्योगबाट ११ प्रतिशत, अन्य उद्योगबाट ३ प्रतिशत, घरभित्रबाट ३ प्रतिशत र अन्य स्रोतबाट २ प्रतिशत पीएम–१० उत्सर्जन भइरहेको छ। 

अमेरिकाको येल युनिभर्सिटीले सार्वजनिक गरेको वायु प्रदूषण सूचीमा नेपाल पुछारबाट दोस्रोमा छ। इन्भायरोमेन्टल पर्फमेन्स इन्डेक्स नामक यो तालिकामा १७८ देशमध्ये नेपाल १७७औं स्थानमा छ। सूची अनुसार बाङ्लादेशबाहेक बाँकी सबै देशको हावा नेपालको तुलनामा स्वच्छ छ।

हानिकारक धुवाँ उत्सर्जन गर्ने इन्धन प्रयोगलाई लोडसेडिङले पनि बढावा दिएको छ। वायु मापनमा कार्यरत लिडर्स नेपालका महासचिव धिरज पोखरेल गत वर्ष भारतीय नाकाबन्दी र लोडसेडिङका कारण बढेको अत्यधिक डिजल खपतले वायु प्रदूषण बढाएको बताउँछन्।तर यो वर्ष पनि प्रदूषण बढ्नुमा सडक विस्तार र बढ्दो सवारी साधन नै कारक रहेको उनको भनाइ छ।

पोखरेलका अनुसार, गत पुसमा पुतलीसडकमा पीएम–२.५ को मात्रा प्रति घनमिटर १३७ माइक्रोग्राम मापन भयो। यो तथ्यांक आफूहरूले वायु प्रदूषण मापन शुरू गरे यताकै बढी रहेको उनी बताउँछन्।

फागुनमा गरिएको मापनमा पीएम–२.५ को मात्रा पुल्चोकमा १६१, रत्नपार्कमा १५१ र धुलिखेलमा १५१ देखिएको छ। यसको अर्थ यी तीनै ठाउँको वायु प्रदूषित छ भन्ने देखाउँछ।

एयर क्वालिटी इन्डेक्सका अनुसार पीएम–१० को मात्रा ० देखि ५० लाई राम्रो, ५० देखि १०० लाई मध्यम र १०० देखि २०० सम्म भए प्रदूषित मानिन्छ। २०१ देखि ३०० भए वायु हानिकारक र ३०१ देखि ४०० सम्म भए त्यहाँको वायु एकदमै प्रदूषित भएको मानिन्छ। ४०१ देखि ५०० सम्म भए वायु अति हानिकारक मानिन्छ।

हुन पनि गत आर्थिक वर्षमा मात्रै उपत्यकामा ३ लाख ४३ हजार ७६५ सवारी थपिएका थिए। यातायात व्यवस्था विभागका अनुसार, यो वर्षको साउनदेखि कात्तिकसम्ममा मात्र उपत्यकामा १ लाख ८ हजार ८०० मोटरसाइकल दर्ता भएका छन्।

तीन वर्ष पहिले फ्रान्सको राजधानी पेरिसमा धूलोका कणहरू १०० माइक्रोग्राम भन्दा बढी देखिंदा कार चलाउन निषेध गरिएको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार एक क्युबिक मिटरमा धूलोका कणहरू २५ माइक्रोग्रामभन्दा कम हुनुपर्दछ।

२५ माइक्रोग्रामभन्दा कम भएको वातावरण मात्र प्रदूषणरहित भएको मानिन्छ। तर उपत्यकाको हावामा एक क्युबिक मिटरमा ५०० माइक्रोग्राम भन्दा बढी धूलोका कण भेटिएको जानकारहरू बताउँछन्।

डा. पंकज पन्त काठमाडौंको वायु प्रदूषण डब्लुएचओको मापदण्डभन्दा २० गुणाले बढी रहेको बताउँछन्।

ज्यानमारा प्रदूषण
२३ फागुनमा सार्वजनिक डब्लुएचओको प्रतिवेदन अनुसार पाँच वर्ष नपुग्दै मृत्यु भएका बालबालिकामध्ये एकचौथाइको मृत्युको कारण वातावरणीय प्रदूषण नै रहेको छ। गत वर्ष मात्र पाँच वर्ष मुनिका १७ लाख बालबालिकाको मृत्यु भएको थियो।

संगठनका अनुसार प्रत्येक वर्ष पाँच वर्ष मुनिका पाँच लाख ७० हजार बालबालिकाको मृत्यु श्वासप्रश्वासको संक्रमणका कारण हुने गरेको छ।

डब्लुएचओका अनुसार, सन् २०१२ मा नेपालमा २ हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए, तर वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९४३ थियो।

यो तथ्यांकले उपत्यकामा वायु प्रदूषणको समस्याले कुन रूप लिइरहेको छ भन्ने छर्लङ्ग पार्छ। डब्लुएचओले ४ देखि ८ प्रतिशत गर्भावस्थाको मृत्यु घरभित्रको र बाहिरी वातावरणको वायु प्रदूषण तथा २० देखि ३० प्रतिशत मृत्यु श्वासप्रश्वास सम्बन्धी रोगका कारण हुने गरेको जनाएको छ।

संवैधानिक अधिकारको धज्जी
संविधानले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको हकको सुनिश्चितता गरेको छ। नेपालको संविधानको धारा ३० को उपधारा (१) मा भनिएको छ, 'प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ।'

त्यति मात्रै होइन संविधानले प्रदूषकबाट क्षतिपूर्ति प्राप्त गर्ने अधिकार समेत प्रत्याभूत गरेको छ। धारा ३० कै उपधारा (२) मा भनिएको छ, 'वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।'

निर्धारित मापदण्ड भन्दा २० गुणा बढी प्रदूषित हावामा श्वास फेरिरहेका उपत्यकावासीका लागि भने यो संवैधानिक व्यवस्था 'कागलाई बेल पाक्यो हर्ष न विस्मात' भइरहेको छ।

गत १७ माघमा सर्वोच्च अदालतले १८ वटा सरकारी निकायलाई वायु प्रदूषणजन्य गतिविधि तत्काल रोकेर प्रगति विवरण पेश गर्न आदेश जारी गरेको थियो।

उपत्यकाभित्र कुनै पनि निर्माण कार्य गर्दा धूलो र धुवाँ नियन्त्रण गरेर मात्र काम सञ्चालन गर्न/गराउन माग गर्दै वातावरणीय विकास तथा संरक्षण कानूनी मञ्चका अध्यक्ष पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा अदालतले यस्तो आदेश दिए पनि कार्यान्वयन पक्ष शून्य बराबर छ।

जुनसुकै नाममा हुने निर्माणकार्य गर्दा मानवीय स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव नपार्नु भनेर व्यवस्थापिका संसद्को वातावरण समिति र विकास समितिले दिएको निर्देशन पनि बेबास्ता गरिंदै आएको छ।

वातावरण मन्त्रालय र वातावरण विभागले गरेको अनुगमनले प्रभावकारी नतीजा दिन नसकेको जानकारहरू बताउँछन्। वातावरणविद् तुलाधर भन्छन्, “वातावरण विभागले अनुगमन गरेको छ तर यसको प्रभावकारी परिणाम आउन सकेको छैन।” सरकारी निकायले अनुगमन गरिसकेपछि प्रतिवेदनसमेत सार्वजनिक गर्नुपर्ने उनको सुझाव छ।

छन् उपाय
२८ र २९ फागुनमा वायु प्रदूषणको ग्राफमा 'अति प्रदूषित' संकेत गर्ने रातो र 'खतरनाक अवस्था' जनाउने गुलावी रंग देखिएन। ती दुवै दिनमा काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा डब्लुएचओ र सरकारले तोकेको मापदण्ड अनुरूप रह्यो।

यस्तो 'चमत्कार' का दुई कारण थिए, वर्षा र सवारी साधन कम चल्नु। वातावरणविद् तुलाधर भन्छन्, “सवारी साधन कम चलाउँदा प्रदूषण नियन्त्रण हुँदोरहेछ भन्ने प्रमाण थियो, त्यो।”

सार्वजनिक यातायात प्रवर्द्धनले निजी सवारीको संख्या कम हुन्छ। तरलता अभावलाई कारण देखाएर ब्यांकहरूले तत्कालका लागि सवारी ऋण बन्द गरेपछि गाडीको आयात घटेको छ।

यस्तो स्थितिमा सरकारले ठूला आकारका सार्वजनिक यातायातलाई प्रवर्द्धन गर्नुपर्ने तुलाधरको सुझाव छ। उनी भन्छन्, “सार्वजनिक यातायातमा थोरै मात्रै सुविधा हुने हो भने सकीनसकी निजी सवारी साधन खरीद गर्नेको संख्या ठूलो हुँदैन।”

काठमाडौंमा अत्यधिक धूलो हुनुको अर्को कारण चक्रपथ विस्तार पनि हो। बाटो विस्तार भएपछि सवारी नथपिने कुरै भएन। चक्रपथमा कम्तीमा दुई लेन वातावरणमैत्री सवारी साधनका लागि छुट्याउनुपर्ने वातावरणविद्हरूको सुझाव छ।

यस्तै साइकल लेन र पैदल यात्रीका लागि फूटपाथ आवश्यक छ। पैदल हिंड्ने ४० प्रतिशत जनसंख्यालाई बेवास्ता गर्नु पनि प्रदूषणको अर्को महत्वपूर्ण कारण हो। फूटपाथ नभएपछि पैदलयात्रीहरू गाडी चढ्न बाध्य हुन्छन्।

यातायातका साधनका कारण उत्पन्न हुने कुल प्रदूषणको ५० प्रतिशत स्थान २० प्रतिशत खराब गाडीले ओगट्ने गरेको विभिन्न अध्ययनले देखाएको छ। सरकारले गाडीमा टाँस्ने हरियो स्टिकर प्रणालीलाई प्रभावकारी रूपमा अनुगमन गरेर यस्तो प्रदूषण घटाउन सकिन्छ।

सवारी साधनको वातावरण परीक्षण गर्दा गाडीधनीलाई पनि फाइदा पुग्छ। किनभने धुवाँ फालेको गाडीले इन्धन बढी खपत गर्छ भने धूलोले जाम गर्दा गाडीको एयर फिल्टर बिग्रिरहेका छन्। रेडिएटर पनि धूलोले गर्दा खराब हुन्छ।

डिजल, पेट्रोल जस्ता इन्धनमा प्रतिलिटर ५० पैसाका दरले आठ वर्षदेखि संकलन गरिरहेको रकम पनि सरकारले खर्च गर्न सकेको छैन। अर्थ मन्त्रालयमा जम्मा भएको रकम वातावरण मन्त्रालयले आवश्यक योजना र निर्देशिका बनाउन नसक्दा खर्च नभएको हो।

मेलम्ची आयोजनाका अनुसार, २०० किलोमिटर भन्दा बढी पाइपका लागि खाल्डो खन्न अझै बाँकी छ। पानी बगेको निश्चित नभएसम्म आयोजनाले खाल्डो नपुर्ने बताइसकेको छ। यसको अर्थ कम्तीमा अझै डेढ वर्ष उपत्यकावासी धूलाम्य अवस्थामा बस्नुपर्ने देखिन्छ।

अहिले धूलो भए जस्तै वर्षामा सडक हिलाम्य हुने त छँदैछ। जानकारहरूका अनुसार, विकासका नाममा सर्वसाधारणको स्वास्थ्यमा यतिविघ्न खेलबाड अन्यत्र कतै गरिंदैन।

सडक विस्तार र पाइप विछ्याउन लागेकाहरू शहरीकरण र शहरी जनजीवनसँग अभ्यस्त नहुँदा यस्तो समस्या देखिएको विज्ञहरू बताउँछन्। इन्जिनियर पाण्डे भन्छन्, “आयोजनाको समीक्षा गरेर सर्वसाधारणमाथि परेको असरबारे तत्काल समाधान खोज्नुपर्दछ।”

प्रतिकृया दिनुहोस