रिपोर्टसोमबार, १६ भाद्र , २०७६

प्रधानमन्त्रीको स्वास्थ्य किन गुपचुप ?

रामु सापकोटा

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रम ओलीको स्वास्थ्य उपचारबारे यथार्थ सूचना प्रवाह नगरिंदा जनस्तरमा विभिन्न अड्कल र आशङ्काले डेरा जमाएको छ नै, कतिपय सार्वजनिक प्रतिक्रिया संवेदनाहीन समेत देखियो।

गएको ९ भदौको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सिङ्गापुरमा उपचाररत अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै ६ भदौदेखि एक दिन बिराएर उनको सात पटकसम्म प्लाज्माफेरेसिस हुने बताएका थिए ।

दाहालको भनाइ उद्धृत गर्दै पार्टीका एक उच्च नेताले हिमाल सँग भने, “सात पटकसम्म प्लाज्माफेरेसिस गरेपछि राम्रो नतिजा निस्केमा प्रधानमन्त्री ओली थप एक साता सिङ्गापुर बसेर फर्किनुहुनेछ ।

नतिजा नराम्रो आए अब के गर्ने भन्नेबारे चिकित्सकको सल्लाह अनुसार आवश्यक निर्णय लिने तय भएको छ ।”

५ भदौमा प्रधानमन्त्री ओली सिङ्गापुरस्थित न्याशनल युनिभर्सिटी अस्पतालमा उपचार गर्न पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश वज्राचार्य सहित त्यसतर्फ प्रस्थान गरेका थिए ।

सिङ्गापुर जाने अघिल्लो दिन प्रधानमन्त्री ओलीले ३ असोजको संविधान दिवस मनाउन नेपाल आइपुग्ने बताएका थिए । उनले विरोधीहरूले आफ्नो स्वास्थ्यबारे दुष्प्रचार गरे पनि अर्को चुनावमा सामना गर्न चुनौती दिंदै भनेका थिए, “म १५ वर्ष अगाडि बिरामी थिएँ, त्यतिबेला बिरामी थिएँ । अब १५ वर्ष (राजनीतिक) अखडामा हुन्छु ।”

यसअघि, १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि १८ साउनमा सिङ्गापुरको सोही अस्पतालमा गएका प्रधानमन्त्री ओली २७ साउनमा स्वदेश फर्किएका थिए । त्यसबेला उनको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी गरिए । हुन पनि, देशका कार्यकारी प्रमुख उपचारका लागि विदेश जाँदा सरकारी तवरबाट उनको स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी नै दिइएन ।

स्वास्थ्य अवस्थाबारे आधिकारिक रूपमा यथार्थ जानकारी नदिएको भन्दै सरकारको आलोचना भएपछि प्रधानमन्त्री दोस्रो पटक ५ भदौमा सिङ्गापुर जाने दिन नै निजी चिकित्सक डा. शाहले विज्ञप्ति जारी गरिन् । विज्ञप्तिमा प्रधानमन्त्रीको मिर्गौला सम्बन्धी एण्टिबडीको मात्रा बढेका कारण त्यसलाई शरीरबाट निष्काशन गर्ने र मिर्गौलाको क्षमता बढाउने उपचार प्रक्रियाका लागि जान लागेको उल्लेख गरिएको थियो । त्यसयता प्रम ओलीको १४ भदौसम्म पाँच पटक प्लाज्माफेरेसिस गरिएको छ ।

सिङ्गापुरमा उपचाररत प्रम ओलीको स्वास्थ्यबारे जनस्तरमा चासो र चिन्ता रहिरहँदा प्रधानमन्त्रीको निजी सचिवालय र निजी चिकित्सकले उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे नियमित रूपमा सार्वजनिक गर्नुपर्ने हो । तर मुलुकका कार्यकारी प्रमुखको स्वास्थ्य सार्वजनिक सरोकारको विषय होइन झैं गरी गुपचुप राखिएको छ ।

प्रधानमन्त्रीको उपचारमा भएका पछिल्लो प्रगति र स्वास्थ्य अवस्थाबारे भाइबरमा मेसेज पठाएर सोध्दा उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. शाहले जानकारी दिएनन् । स्वास्थ्यबारे सोधिएको प्रश्नमा रिमालले ‘मलाई दुःख नदिनुस् । प्रधानमन्त्रीको स्वास्थ्यबारे कुनै कुरा भन्नुपर्‍यो भने उक्त विषयलाई सबैसामु सार्वजनिक गर्नेछौं’ भन्ने प्रतिक्रिया दिए ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माका अनुसार प्रधानमन्त्री ओलीले अघिल्लो पटक सिङ्गापुरमा स्वास्थ्य परीक्षण गराउँदा रगतमा क्रियाटिनिनको मात्रा २ हाराहारीमा रहेको र एण्टिबडीको मात्रा बढी देखिएको थियो । डा.शर्मा क्रियाटिनिनको मात्रा सन्तुलित राख्न र एण्टिबडी हटाउन आफूहरूकै सल्लाहमा प्रधानमन्त्री सिङ्गापुर गएको बताउँछन् ।

किनकि, मिर्गौला प्रत्यारोपण गराएका बिरामीको शरीरमा भएको विकारयुक्त एण्टिबडी हटाउने विधि प्लाज्माफेरेसिस गरिने अत्याधुनिक मेशिन नेपालमा छैन । डा. शर्माका अनुसार प्रम ओली पहिलो पटक सिङ्गापुर जाँदा एण्टिबडी निष्काशन गर्ने उपचार विधि शुरू भएको थियो । “त्यही उपचारको निरन्तरता, औषधि प्रयोगपछिको मिर्गौलाको अवस्था तथा आगामी दिनमा कुन औषधि कुन मात्रामा चलाउने भन्ने विषयमा थाहा पाउन उपचार प्रक्रिया चलिरहेको छ”, उनी भन्छन् ।

दशै‌मा सर्वसाधारणलाई लगातार चार दिनसम्म टीका लगाउने क्रममा बढेकाे धपेडी र छातिमा संक्रमण भएपछि १२ कात्तिक २०७५ मा प्रधानमन्त्री ओलीलाई महाराजगञ्जस्थित मनमाेहन कार्डियाेथाेरासिक भास्कुलर एण‍‍्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकाे थियाे । 

के हो एण्टिबडी र प्लाज्माफेरेसिस ?

दुवै मिर्गौला फेल भएपछि प्रधानमन्त्री ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । यस हिसाबले प्रत्यारोपणको १२ वर्ष भइसकेको छ । चिकित्सा विज्ञानको इतिहासमा प्रत्यारोपणपछि औषधि नियमित मात्रामा लिए र सुव्यवस्थित जीवनशैली अपनाए मिर्गौलाले लामो समय काम गरेको पाइएको छ ।

एक अन्तर्राष्ट्रिय अध्ययन अनुसार जीवित दाताबाट लिएको मिर्गौला प्रत्यारोपण गर्दा औसत आयु १२ वर्षदेखि २० वर्षसम्म भएको र मृत व्यक्तिबाट लिंदा ८ देखि १२ वर्षसम्म बाँचेको पाइएको छ । तर शरीरमा हुने एण्टिबडीले कुनै समयमा प्रत्यारोपण गरिएका बिरामीको मिर्गौलालाई अस्वीकार गर्ने सम्भावना हुन्छ ।

मानव शरीरमा आक्रमण गरी हानि पु‍र्‍याउन सक्ने जीवाणु विरुद्ध लडेर शरीरको बचाउ गर्न उत्पादन गर्ने एक प्रकारको प्रोटिनजन्य रसायनलाई एण्टिबडी (इम्युनोग्लोबुलिन) भनिन्छ । एण्टिबडीले फरेन बडी अर्थात् शरीरलाई संभावित हानि गर्न सक्ने बाह्य तŒवलाई नष्ट गर्छ । शरीरमा संक्रमण रोक्न पर्याप्त एण्टिबडी हुनु राम्रो मानिने भएकाले एण्टिबडी बढाउन विभिन्न भ्याक्सिन समेत दिने गरिन्छ । एण्टिबडी शरीरको प्रतिरक्षाका लागि बनेका हुन्छन् ।

मिर्गौला प्रत्यारोपण गरिएका बिरामीको शरीरले प्रत्यारोपण गरिएको मिर्गौलालाई समेत बाहिरी र शरीरलाई हानिकारक तŒवको रूपमा बुझछ र यसका विरुद्ध प्रतिरक्षात्मक कोष र एण्टिबडीको विकास गर्छ जसले गर्दा छोटो समयमा नै प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोड्छ, जसलाई ‘रिजेक्सन’ भनिन्छ । यसरी रिजेक्सन नहोओस् भन्नाका लागि मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिले आजीवन औषधि सेवन गर्नुपर्ने हुन्छ ।

मानव शरीरको प्रकृति नै कुनै पनि बाहिरी वस्तुलाई अस्वीकार गर्ने वा निस्तेज पार्ने हुन्छ । चितवन मेडिकल कलेजका प्राध्यापक तथा मिर्गौला रोग विशेषण डा.अरुण सेढाईंका अनुसार प्रत्यारोपण गरिएको मिर्गौला अर्कै व्यक्तिको अङ्ग भएकाले शरीरले त्यसलाई चिनेर अस्वीकार नगरोस् भनेर प्रतिरक्षा शक्ति घटाउने औषधि चलाइन्छ ।

तर औषधिले पनि प्रतिरक्षा शक्ति पूर्णरूपमा कम हुँदैन । डा.सेढाईं प्रतिरक्षा शक्ति पूर्णरूपमा कम भयो भने शरीरमा संक्रमण फैलिएर ज्यानै जाने जोखिम हुने बताउँछन् । त्यसैले प्रतिरक्षा शक्तिलाई सन्तुलनमा राख्न शरीरमा ‘इम्युनो सप्रेसर’ औषधि प्रयोग गरिन्छ । यस्ता औषधिहरूको नियमित सेवन गरिरहे तापनि बिरामीको शरीरमा प्रत्यारोपित मिर्गौला विरुद्ध एण्टिबडी बन्न सक्छ, जसले मिर्गौलालाई आक्रमण गर्छ ।

यसप्रकारले मिर्गौला खराब हुने अवस्थालाई एण्टिबडी मिडिएटेड रिजेक्सन भनिन्छ । प्रधानमन्त्री ओलीलाई यही समस्या देखिएको हो । प्रत्यारोपण गरिएको मिर्गौला विरुद्ध प्रतिरक्षात्मक कोषको विकास भएर मिर्गौला खराब हुने अवस्थालाई सेलुलर रिजेक्सन भनिन्छ । प्रतिरक्षात्मक शक्ति घटाउने औषधि चलाए पनि प्रत्यारोपण गरिएका बिरामीमा रिजेक्सनको समस्या देखिन सक्छ । यो समस्या मिर्गौला प्रत्यारोपण गरेका सबै बिरामीमा नभएर केहीमा मात्र देखिन्छ ।

एण्टिबडीका कारण प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले चिनेर अस्वीकार गर्नु भनेको मिर्गौलाको काम घट्दै जानु हो । पछिल्लो समय पहिले भन्दा कडा खालका इम्युनोसप्रेसान्ट समूहका औषधिहरू प्रयोग गर्ने गरिएकाले प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले अस्वीकार गरेको कुरा लक्षणबाट समेत थाहा हुँदैन, परीक्षणबाट मात्र थाहा हुन्छ ।

प्रत्यारोपण गरिएका एकदमै कम बिरामीमा मात्र शरीरले मिर्गौला अस्वीकार गर्न थालेपछि थकान हुने, मिर्गौला दुख्ने जस्ता लक्षण देखिन्छन् । तर धेरै व्यक्तिमा रगतमा क्रियाटिनिनको मात्रा जाँचेर, पिसाब परीक्षण गरेर तथा बायोप्सी गरेर मिर्गौलामा खराबी भए/नभएको थाहा हुन्छ । र, शरीरबाट मिर्गौलाका लागि विकार बनेको तिनै एण्टिबडी हटाउन प्लाज्माफेरेसिस उपचार विधि अपनाउने गरिंदै आएको छ ।

एण्टिबडीका कारण शरीरमा निम्तिन सक्ने क्षतिलाई प्लाज्माफेरेसिस विधिबाट उपचार गरेर कम गर्न सकिन्छ । मिर्गौलाको काम गर्ने क्षमतामा सुधार ल्याउने उद्देश्यले एण्टिबडी निकाल्न प्लाज्माफेरेसिस गरिन्छ । अमेरिकाको न्याशनल किड्नी फाउन्डेसनका अनुसार, प्लाज्माफेरेसिस विधिबाट उपचार गर्दा रगत छानेर एण्टिबडी शरीरबाट निकालिन्छ (हे.तस्वीर) ।

डायलसिस मेशिन वा सेन्ट्रीफ्युगेसन (रक्त कोषबाट प्लाज्मा छुट्याउने विधि) बाट प्लाज्माफेरेसिस गरिन्छ । एण्टिबडीले मानव शरीरका अङ्गमा क्षति पुर्‍याउन थाल्यो भने तिनलाई हटाउन र नयाँ बन्न नदिन औषधि दिइन्छ । प्लाज्माफेरेसिसबाट एण्टिबडी घटेन भने अन्य केही वैकल्पिक औषधि चलाउने गरिएको छ ।

प्लाज्माफेरेसिसले काम नगरे प्रत्यारोपित मिर्गौलालाई शरीरले अस्वीकार गर्ने क्रम यथावत् रहन्छ । जसले अन्ततः मिर्गौलाले काम नै नगर्ने समस्या आउँछ । तर प्लाज्माफेरेसिसले मिर्गौलाको काममा सुधार गरेन भन्दैमा तत्कालै पुनः प्रत्यारोपण गर्न नपर्ने चिकित्सकहरू बताउँछन् ।

मिर्गौलाको तत्कालीन कार्यक्षमता परीक्षण गरेर पुनः प्रत्यारोपण वा अन्य आवश्यक उपचार विधि अपनाउन सकिने चिकित्सकहरूको सुझव छ । प्लाज्माफेरेसिसबाट पनि मिर्गौलाले काम नगरेर अन्य लक्षण देखियो भने मात्र पुनः प्रत्यारोपण गरिन्छ ।

त्रिवि शिक्षण अस्पतालको मिर्गौला रोग तथा प्रत्यारोपण विभागका सह–प्राध्यापक डा.महेशराज सिग्देलका अनुसार, नेपालमा एकै व्यक्तिले दुई पटकसम्म मिर्गौला प्रत्यारोपण गरेर बाँचिरहेका छन् । यता, प्रधानमन्त्री ओलीको सात पटक प्लाज्माफेरेसिस गरिएपछि देखिने नतिजा अनुसार के गर्ने भन्ने निक्र्योल हुनेछ ।

धपेडीपूर्ण जीवनशैली, स्वास्थ्यमा बेवास्ता

१८ साउनमा सिङ्गापुर गएका प्रधानमन्त्री ओली न्याशनल युनिभर्सिटी अस्पतालमा ९ दिनको उपचारपछि नै स्वदेश फर्किएका थिए । जबकि अस्पतालका चिकित्सकहरूले उनलाई थप एक साता त्यहीं बसेर उपचार गर्न सुझएका थिए । तर उनी सरकार र पार्टी सम्बन्धी काम गर्नुपर्ने भन्दै चिकित्सकको सल्लाह अस्वीकार गरेर फर्किए ।

उपचार गरेर आए लगत्तै राजनीतिक दौडधुपमा जुटेका प्रधानमन्त्री ओली ३० साउनको साँझ एकाएक अस्वस्थ भएको खबर बाहिरियो । उनलाई ज्वरो र थकानको समस्या देखियो । उनी त्यसै दिन मध्याह्न फास्ट ट्र्याक सम्बन्धी बैठकमा सहभागी भएका थिए ।

त्यसको भोलिपल्ट बिहानै उनले गृह जिल्ला झपाका नेकपा कार्यकर्तासँगको भेटमा ‘डाक्टरले सबै अङ्ग ठीक छन्, २०/२५ वर्ष केही हुँदैन भनेको’ बताए । प्रधानमन्त्रीले आफूलाई केही नभएको बताइरहँदा दोस्रो पटक उपचारका लागि सिङ्गापुर जाने तयारी भइरहेको खबर आएपछि उनको स्वास्थ्यबारे सार्वजनिक वृत्तमा झनै आशङ्का बढ्यो ।

आफ्नो स्वास्थ्यबारे सार्वजनिक चासो प्रकट भइरहँदा १ भदौमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका प्रधानमन्त्रीले स्वास्थ्यको विषयमा भने केही बताएनन् । त्यसपछि ३ भदौमा आफैंले बोलाएको सर्वदलीय बैठक र नेकपाको केन्द्रीय सचिवालयको बैठकमा उनी सहभागी भएका थिए । ४ भदौमा भारतीय विदेशमन्त्री एस. जयशङ्करसँग भेटवार्ता गरेका उनी भोलिपल्ट सिङ्गापुर प्रस्थान गरे ।

बिरामी हुँदाहुँदै व्यस्तताका यी विवरणले प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको संवेदनशीलता अनुसार परहेज नगरेको देखाउँछन् ।

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कम हुने र शरीरमा चाँडै संक्रमण फैलिन सक्ने भएकाले सजगता जरूरी हुन्छ । तर मुलुकको कार्यकारी प्रमुखको पदीय व्यस्तताको बोझ्ले प्रधानमन्त्री ओलीले स्वास्थ्य सजगता र आराममा ध्यान दिन भ्याएका छैनन् ।

४ भदाैमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग वार्ता गर्दै ।

स्वास्थ्यलाई बेवास्ता गर्ने सिलसिला उनले २०६४ सालमा मिर्गौला प्रत्यारोपण गराए लगत्तैदेखि शुरू भएको हो । प्रत्यारोपणपछि ओलीले लगातार १६ महीनासम्म स्वास्थ्य जाँच गराएका थिएनन् । चिकित्सकहरूका अनुसार प्रत्यारोपण गरेका व्यक्तिले कुनै समस्या नदेखिए पनि महीनामा तीन पटक स्वास्थ्य परीक्षण अनिवार्य गराउनुपर्छ ।

त्यसपछि विभिन्न समयमा बिरामी परेका वेला पनि प्रम ओलीले हठी स्वभावका कारण चिकित्सकको सल्लाहलाई बेवास्ता गरेका थिए । त्यसै कारण उनी पटक–पटक बिरामी परे । गत वर्षको दशैंमा उनले दशमीदेखि लगातार चार दिनसम्म सर्वसाधारणलाई बालुवाटारमा टीका लगाइदिएका थिए । अन्ततः यो धपेडीको असर देखियो । छातीमा संक्रमण भएर श्वासप्रश्वासमा समस्या भएपछि १२ कात्तिक २०७५ मा उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुपरेको थियो ।

यस्तै, २०७० मंसीरमा दोस्रो संविधानसभा निर्वाचनका क्रममा अत्यधिक दौडधुप गरेपछि उनको हात–गोडामा संक्रमण भयो । दायाँ हात सुन्निन थालेपछि दुई महीनासम्म युरिक एसिडको एण्टीवायोटिक सेवन गरे पनि सुधार नभएपछि ९ फागुन २०७० मा धापासीस्थित ग्रान्डी अस्पताल भर्ना भएका थिए । ग्रान्डीका निर्देशक डा. चक्रराज पाण्डे र मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. दिव्यासिंह शाह लगायतका टोलीले स्वास्थ्य जाँच गर्दा संक्रमण भएको देखियो । तर, संक्रमणको कारण पत्ता नलागेपछि ओली १८ फागुन २०७० मा दिल्लीस्थित म्याक्स अस्पतालमा भर्ना भएका थिए ।

त्यसको चार महीनाअघि पनि २०७० कात्तिकमा श्वासप्रश्वासमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गर्दा कडा निमोनियाको संक्रमणबाट फोक्सोमा पानी जमेको देखियो । त्यहाँ सुधार नभएपछि उनलाई एअर एम्बुलेन्स मार्फत १९ मंसीरमा भारतको मेदान्त मेडिसिटी अस्पताल लगिएको थियो । तीन साता लामो उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको थियो ।

प्रम ओलीको मिर्गौला बिग्रिनुमा विगतको अव्यवस्थित आहारविहारको भूमिकाले काम गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएपछि पञ्चायती व्यवस्था विरुद्धको संघर्षका क्रममा विभिन्न समय उनले जेल जीवन बिताएका थिए ।

पञ्चायतको उत्तराद्र्धमा जेलबाट रिहा भएपछि पार्टी सङ्गठन र राष्ट्रिय राजनीतिमा राजनीतिक दौडधुप बाक्लियो । उनको खानपिन र आराम अव्यवस्थित भएपछि उच्च रक्तचापको समस्या देखिएको पुराना कम्युनिष्ट नेता राधाकृष्ण मैनाली बताउँछन् । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक एवं मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले उच्च रक्तचापका कारण पनि मिर्गौला रोग लाग्ने गरेको बताउँछन् ।

‘आराम र स्वच्छ खानपान जरूरी’

मिर्गौला प्रत्यारोपणयताका १२ वर्षमा लगातारको दौडधुप र स्वास्थ्यप्रतिको बेवास्ताका कारण बेलाबेलामा प्रधानमन्त्री ओलीको स्वास्थ्य खस्किने गरेको छ । त्यसैले प्रधानमन्त्रीले सिङ्गापुरबाट फर्केपछि स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरू सुझउँछन् । विगतमा प्रम ओलीको उपचारमा संलग्न मिर्गौला रोग विशेषज्ञ डा.काफ्ले सिङ्गापुरको उपचारपछि ओलीले स्वास्थ्यमा विशेष ध्यान दिंदै आहारविहारमा संवेदनशील बन्नुपर्ने बताउँछन् । “उहाँले अब कम्तीमा ६ घण्टा आराम गर्नुपर्छ र सन्तुलित भोजनमा ध्यान दिनुपर्छ”, उनी भन्छन् ।

नर्भिक अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा.राजेन्द्र अग्रवालका अनुसार, मिर्गौला प्रत्यारोपण गराएपछिको शुरूका ६ महीनामा बिरामीको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले मिर्गौलामा संक्रमण फैलिन सक्ने जोखिम हुन्छ । “संक्रमणबाट बच्न सरसफाइमा विचार पुर्‍याउँदै स्वच्छ खानेकुरा खानुपर्छ”, डा.अग्रवालको सुझव छ । मिर्गौला प्रत्यारोपण गरेका बिरामीले इम्युनोसप्रेसान्ट समूहमा पर्ने टेक्रोलिभस औषधि सेवन गर्नुपर्छ । तर यो औषधिको मात्रा तल–माथि पारेर सेवन गर्‍यो भने मिर्गौलामा असर गर्ने भएकाले उचित मात्रामा ध्यान दिनुपर्ने उनी बताउँछन् ।

नेपालमा ५० प्रतिशत मिर्गौला खराबी मधुमेहका कारण हुने गरेको मानिन्छ । प्रत्यारोपण गरेका बिरामीले पनि खानपान र शारीरिक व्यायाम मार्फत मधुमेह नियन्त्रण गर्नुपर्ने डा.अग्रवालको सुझव छ । यस्तै, उच्च रक्तचापका कारण मिर्गौला रोग लागेको भए रक्तचाप नियन्त्रण गर्नुपर्छ । उनी भन्छन्, “स्वस्थ व्यक्तिले पनि तौल नियन्त्रण गर्ने, मद्यपान र धूमपान त्याग्ने, एण्टिबायोटिकको उचित मात्रा सेवन गर्ने र रगतमा क्रियाटिनिनको मात्रा नियमित जचाउने गरेमा मिर्गौला रोगबाट बच्न सकिन्छ ।” 

अमेरिकी किड्नी फण्डले पनि मिर्गौला रोगको एउटा कारण उच्च रक्तचाप नियन्त्रणमा राख्न नुन र चिल्लोपन कम भएको खानेकुरा खाने र मधुमेह भएकाले नियमित स्वास्थ्य जाँच गर्न सुझएको छ । फण्डका अनुसार, प्रत्यारोपण गरेको मिर्गौला शरीरले नचिनोस् भनेर प्रतिरक्षा शक्ति घटाउने इम्युनोसप्रेसान्ट वा एण्टि–रिजेक्सन औषधि सेवन गर्नैपर्छ ।

नेपालमा छैन प्लाज्माफेरेसिस मेशिन

प्रधानमन्त्री केपी ओलीको शरीरबाट एण्टिबडी हटाउन सिङ्गापुरको न्याशनल युनिभर्सिटी अस्पतालमा प्लाज्माफेरेसिस प्रविधिको प्रयोग गरिएको छ । नेपालका अस्पतालमा भने ‘प्लाज्माफेरेसिस मेशिन’ नै नभएको वीर अस्पतालबाट अवकाश पाइसकेका मिर्गौला रोग विशेषज्ञ डा.राजेन्द्र अग्रवाल बताउँछन् । नेपालमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र वीर अस्पतालमा मात्र मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । ती अस्पतालको प्रत्यारोपण इकाइमा हेमोडाइलासिस मेशिनबाटै प्लाज्माफेरेसिस गरिन्छ । उक्त मेशिनमा हुने ‘डाइलाइजर’ को ठाउँमा छुट्टै प्रकारको ‘फिल्टर’ राखेर प्लाज्माफेरेसिस गरिने डा.अग्रवालको भनाइ छ । नेपालमा करीब सात वर्षदेखि यसरी नै उपचार भइरहेको छ ।मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले चिकित्सा विज्ञानले समेत ‘प्लाज्माफेरेसिस मेशिन’ नै प्रयोग गर्न सुझाएको बताउँछन् । उनी भन्छन्, “प्लाज्माफेरेसिस मेशिन नबनेको अवस्थामा संसारभर हेमोडाइलासिस मार्फत प्लाज्माफेरेसिस हुन्थ्यो ।

अहिले संसार कहाँ पुगिसक्यो, तर हामी जहाँको त्यहीं छौं ।” चिकित्सकहरूका अनुसार ‘प्लाज्माफेरेसिस मेशिन’ बाट सजिलै र छिट्टै प्लाज्माफेरेसिस गर्न सकिन्छ । चितवन मेडिकल कलेजका प्राध्यापक तथा मिर्गौला रोग विशेषज्ञ डा.अरुण सेढाईं प्लाज्माफेरेसिस मेशिनको सट्टा हेमाडाइलासिस मेशिनको प्रयोग गर्दा यसको प्रभावकारितामा नै फरक पर्ने बताउँछन् । ‘प्लाज्माफेरेसिस मेशिन’ भएमा न्यूरोका बिरामीको पनि उपचार गर्न सकिने चितवन मेडिकल कलेजका प्राध्यापक तथा मिर्गौला रोग विशेषज्ञ डा.सेढाईंले बताए ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिलीप शर्माले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे ५ भदौमा गरेको पत्रकार सम्मेलनमा भनेका थिए, “स्वास्थ्य उपचारमा हामीले प्रयोग गरिरहेका भन्दा कतिपय प्रविधि नयाँ आइसकेका छन्, त्यसैले भीभीआईपीको उपचारमा कुनै कसर बाँकी नराख्न सिङ्गापुर जान सिफारिश गरेका हौं ।”

चिकित्सकहरूका अनुसार प्लाज्माफेरेसिस मेशिनको मूल्य रु.३० लाखदेखि रु.८० लाखसम्म पर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म यो मेशिन खरीद गर्न पहल गरेको छैन । मन्त्रालयले निजी अस्पताललाई समेत मेशिन आयातका लागि भन्सार छुट दिएको छैन । हेमोडाइलासिस मेशिनको आयातमा भने भन्सार छुट दिइएको छ ।

मन्त्रालयले मिर्गौला प्रत्यारोपण गर्ने विपन्न नागरिकलाई आर्थिक सहयोग गर्छ । विपन्न प्रमाणित प्रत्येक बिरामीले रु.४ लाख, औषधि खर्चबापत थप रु.१ लाख र प्रत्यारोपण पूर्व गरिने ‘क्रसम्याच’ का लागि रु.५० हजार पाउँछन् । स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा शाखाका अनुसार आर्थिक वर्ष २०७४/७५ मा जम्मा १४१ जनाको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसमध्ये प्रत्यारोपण गर्ने विपन्नलाई उक्त आर्थिक वर्षमा जम्मा रु.८ करोड ८४ लाख सहयोग दिइएको थियो । प्रत्यारोपणपछि गरिने औषधि सेवन र प्रत्यारोपणपूर्व गरिने क्रसम्याचका लागि रु.४ करोड २७ लाख दिइएको थियो ।

त्यस्तै मिर्गौला डायलासिस सेवा विभिन्न ५२ अस्पतालमा उपलब्ध छ । सरकारले विपन्न नागरिकको डायलासिस बापत लाग्ने खर्च पनि बेहोर्छ । आर्थिक वर्ष २०७४/७५ मा ४ हजार ८३५ जनाको डायलासिस बापत रु.९३ करोड ६९ लाख ३६ हजार ४८ खर्च भएको थियो ।

यसरी जाँचिन्छ मिर्गौला

शरीरमा भएको विकार बाहिर फ्याक्न, रगत छान्न, हड्डी बलियो बनाइराख्न, शरीरमा पानी, सोडियम र पोटासियमको मात्रालाई ठीक राख्न र केही प्रोटिन हर्मोन पचाउन मिर्गौलाले महत्वपूर्ण काम गर्छ । त्यसैले शरीर स्वस्थ राख्न मिर्गौला स्वस्थ नभई नहुने चिकित्सकहरू बताउँछन् ।

मिर्गौला स्वस्थ भए/नभएको थाहा पाउन यसको ‘संरचना र काम’ हेरिन्छ । यसका लागि क्रियाटिनिन, इस्टिमेट ग्लोमेयुला फिल्ट्रेसन रेट (ईजीएफआर) वा डीटीपीए स्क्यान गरेर मिर्गौला जाँचिन्छ । रगत तथा पिसाब जाँच र अल्ट्रासाउन्डबाट पनि मिर्गौला परीक्षण गरिन्छ । पिसाबमा प्रोटिन वा रातो रक्तकोष भए/नभएको जाँचेर मिर्गौलाबारे थाहा पाउन सकिन्छ ।

मिर्गौला अस्वस्थ भएपछि पनि रगतमा क्रियाटिनिनको मात्रा धेरै समयसम्म सामान्य भइरहन सक्छ । जस्तो, पिसाबबाट प्रोटिन वा रगत गइरहने तर क्रियाटिनिनको मात्रा लामो समयसम्म सामान्य भइरहने हुनसक्छ । क्रियाटिनिनको मात्रा बढ्ने वा घट्ने मिर्गौलाका कारण नभई अन्य कारणले हुन्छ ।

जीउ सुन्निने वा सुक्दै जाने लगायत केही निश्चित अवस्थामा मात्र रगतमा क्रियाटिनिनको मात्रा घट्छ । मिर्गौलाले काम गर्न नसकेको अवस्थामा रगतमा क्रियाटिनिनको मात्रा बढ्छ । मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्ले ल्याब अनुसार क्रियाटिनिनको अधिकतम मात्रा तोकिने गरेको बताउँछन् ।

मिर्गौलाले काम नगर्ने अवस्थालाई एक्युट र क्रोनिक गरी दुई भागमा बाँडिएको छ । एक्युट भनेको मिर्गौला खराब हुँदै जाने अवस्था हो ।

मिर्गौलामा आवश्यक मात्रामा रगत नपुगे, झाडापखाला लागे, शरीरमा पानीको मात्रा कम भए, रक्तचाप कम भए, अत्यधिक रक्तश्राव भए मिर्गौलामा आवश्यक रगत नपुग्न सक्छ । यसरी मिर्गौलाले काम गर्न छोड्यो भने ‘एक्युट किड्नी फेलिअर’ भनिन्छ । यस्तै, पिसाब बाहिर जाने बाटो बन्द भए, पत्थरी भए, क्यान्सर र प्रोस्टेटका कारण पनि ‘एक्युट किड्नी फेलिअर’ हुन्छ ।

कम्तीमा तीन महीना मिर्गौलाको समस्या भएर विस्तारै काम गर्न छाड्यो भने ‘क्रोनिक किड्नी फेलिअर’ हुन्छ । मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको पत्थरी, मिर्गौलामा हुने पानी फोका, बाथ रोग, दुखाइ कम गर्ने औषधिको अत्यधिक प्रयोग लगायत कारण ‘क्रोनिक किड्नी फेलियर’ हुन्छ । यसको पाँचौं चरण (सिकेडी स्टेज फाइभ/ईएसआरडी) मा पुगेपछि मानिस स्वस्थ रहँदैन ।

यस्तो अवस्थामा बिरामीलाई ‘रिप्लेसमेन्ट’ उपचार आवश्यक पर्छ । मिर्गौला फेल भएका बिरामीलाई डायलासिस वा प्रत्यारोपण मार्फत गरिने उपचार नै ‘रिप्लेसमेन्ट’ हो ।

डायलासिस मार्फत मिर्गौलामा भएका बिकार बाहिर फ्याँकिन्छ । शरीरमा पानी र पोटासियमको मात्रा ठीक अवस्थामा राखिन्छ । तर, हड्डी बलियो बनाउन र रगतको मात्रा ठीक अवस्थामा राख्न डायलासिसबाट सम्भव हुँदैन ।

त्यसका लागि स्वस्थ मिर्गौला प्रत्यारोपण गर्नुपर्छ । डायलासिस लामो प्रक्रिया भएकाले प्रत्यारोपणको लागत कम पर्छ । प्रत्यारोपण गरेको मिर्गौलाले पनि प्राकृतिक रुपमा स्वस्थ मिर्गौलाले जस्तै काम गर्ने चिकित्सकहरू बताउँछन् ।

मिर्गौला स्वस्थ राख्ने उपाय

• पर्याप्त पानी पिउने।

•  मधुमेह र उच्च रक्तचापचाप नियन्त्रण गर्ने।

•  मधुमेह, उच्च रक्तचाप र मोटोपनको समस्या भएका व्यक्तिर्ले प्रत्येक वर्ष कम्तीमा एक पटक स्वास्थ्य जाँच गर्ने।

•  मिर्गौलाको पत्थरी भए/नभएको बारे नियमित जाँच गराउने।

• पेनकिलर कम सेवन गर्ने।

•  थकान, पिसाबमा फिज देखिने, कम्मर दुख्ने जस्ता लक्षण देखिए लगत्तौ स्वास्थ्य परीक्षण गराउने।

• स्वस्थ व्यक्तिले पनि वर्षमा एक पटक रक्तचापचाप र पिसाब जचाउने। परिवारभित्र कुनै सदस्यलाई मिर्गौला रोग भएमा वंशानुगत समस्या देखिन सक्ने भएकाले नियमित स्वास्थ्य जाँच गर्ने।

 

प्रधानमन्त्रीको स्वास्थ्यः चासो र चिन्ताको अर्थ

प्रतिकृया दिनुहोस