सम्पादकीयसोमबार, १६ भाद्र , २०७६

प्रधानमन्त्रीको स्वास्थ्यः चासो र चिन्ताको अर्थ

किरण नेपाल

प्रमको स्वास्थ्यबारे नकारात्मक टिप्पणी गरेर मनोरञ्जन लिने प्रवृत्तिा जति विकृत छ, उनको स्वास्थ्यस्थितिबारे वास्तविक जानकारी तोडमरोड गर्ने, लुकाउने र त्यहीभित्र ‘राजनीति गर्ने’ खेल पनि उत्तिाकै घातक छ।

प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर सिङ्गापुरस्थित न्याशनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका छन् । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि प्रम पछिल्लो एक महीनामै दोहोर्‍याएर सिङ्गापुर पुगेका हुन् ।

प्रमका निजी चिकित्सकहरूबाट सार्वजनिक केही आधिकारिक सूचना अनुसार प्रमको प्रत्यारोपण गरिएको मिर्गौलालाई क्षति पुर्‍याउने गरी बनेको ‘एण्टिबडी’ निष्काशन गर्ने उपचार शुरू भएको हो । आफूलाई बाहिरी जीवाणुको आक्रमणबाट जोगाउन शरीर आफैंले बनाउने ‘एण्टिबडी’ कतिपय अवस्थामा प्रत्यारोपित अङ्गका लागि भने दुश्मन बनिदिन्छन् ।

अहिले तिनै ‘एण्टिबडी’ का कारण जोखिममा परेको प्रम ओलीको प्रत्यारोपित मिर्गौलालाई स्वस्थ तुल्याउन ‘प्लाज्माफेरेसिस’ विधिबाट उपचार चलिरहेको छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयका एक सदस्यका अनुसार, ९ भदौको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ‘एक दिन बिराएर भइरहेको प्लाज्माफेरेसिस सात पटक गरेपछि मात्र ‘एण्टिबडी’ उत्पादन नियन्त्रण भए÷नभएको थाहा हुने’ बताएका थिए ।

दाहालले ‘प्लाज्माफेरेसिस’ को कोर्स सकिएपछि ‘एण्टिबडी’ उत्पादन नियन्त्रित भएर मिर्गौलाले सहज रूपमा काम गर्न थाले त्यसको एक सातापछि प्रम ओली स्वदेश फर्कने पनि बैठकमा जानकारी गराएका थिए । मिर्गौलाले अपेक्षाकृत रूपमा काम गर्न नसके के गर्ने भन्नेमा चिकित्सकहरूको रायका आधारमा निर्णय लिइने पनि सचिवालय सदस्यहरूलाई ‘ब्रिफिङ’ गरिएको थियो ।

मिर्गौला रोग विशेषज्ञहरूका अनुसार प्लाज्माफेरेसिसपछि पनि मिर्गौलाको स्वास्थ्यमा सुधार आउन नसके बिरामीको शरीरका अन्य अवस्थाहरू हेरेर पुनः प्रत्यारोपण वा अन्य उपचार विधि अवलम्बन गर्न सकिन्छ ।

१८ साउनमा पहिलो पटक सिङ्गापुर गएसँगै प्रम ओलीको स्वास्थ्य अवस्थालाई लिएर आम रूपमा चिन्ता र चासो बढ्न थालेको हो । कति चिन्ता स्वाभाविक थिए त कति अतिरञ्जित र असंवेदनशील । तथ्यको अभावमा अफवाहले स्थान पायो । देशकै प्रमुख कार्यकारीको स्वास्थ्योपचार सवालमा समर्थन र विरोधको दोहोरी समेत चल्यो ।

यसो हुनुको एउटा प्रमुख कारण चाहिं प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आधिकारिक, प्रष्ट र परिपक्व जानकारी सर्वसाधारणमा उपलब्ध नगराइनु नै हो । समयमै प्रधानमन्त्री कार्यालयले यसप्रति चुस्तता देखाउन सकेको भए स्वास्थ्य जस्तो संवेदनशील विषयमा यति सस्तो र भद्दा टिप्पणी हुने थिएन ।

उदाहरण, १८ साउनमा पहिलो पटक सिङ्गापुर भ्रमणमा प्रमबारे जति नकारात्मक टिप्पणी भए, ५ भदौमा खासै सुनिएन । कारण सामान्य थियो– यसपटक प्रमका निजी चिकित्सकले जानकारी सहितको छोटो सूचना जारी गरेका थिए ।

अहिले यो वा त्यो नाममा समाज ‘पपुलिज्म’ बाट आक्रान्त छ । विरोध वा समर्थन, काम देखाउन होस् या लुकाउन, सरकार होस् या व्यक्ति या विचारक—‘पपुलिज्म’ कै शरणमा परेका देखिन्छन् । र, सामाजिक सञ्जाल यसको प्रखर र मुखर हतियार बनेको छ । पपुलिज्मलाई चिर्ने पारदर्शिताले हो ।

आक्रामकता सम्बोधन गर्ने सुनुवाइले हो । विषयमाथिको विमर्शले पपुलिज्म हावी हुन पाउँदैन, प्रस्तुति तर्कसङ्गत हुन्छ । पपुलिज्मग्रस्त होस् वा आक्रामक प्रस्तुति, फेरि पनि प्रम ओलीको स्वास्थ्यवस्था बारेका टिप्पणी न्यून जानकारीकै उपज हुन् ।

यहाँ सरकारले बुझ्न नसकेको वा नचाहेको कुरा के पनि हो भने देशका प्रमुख कार्यकारीको स्वास्थ्य एक हिसाबले देशकै स्वास्थ्य हो । त्यसैले प्रम ओलीको स्वास्थ्य अवस्थाबारे आम चासो र चिन्ता स्वाभाविक हो ।

त्यसैले प्रमको अवस्थाबारे सामान्य जानकारी मात्र होइन, क्षण–क्षणमा अद्यावधिक हुने अधिकार जनतालाई छ, जसका लागि सरकार संयन्त्र हरदम तयार हुनुपर्छ ।  प्रमको स्वास्थ्यबारे नकारात्मक टिप्पणी गरेर मनोरञ्जन लिने प्रवृत्ति जति विकृत छ, प्रमको स्वास्थ्यस्थितिबारे वास्तविक जानकारी तोडमरोड गर्ने, लुकाउने र त्यहीभित्र ‘राजनीति गर्ने’ खेल पनि उत्तिकै घातक छ ।

त्यसैले जनमानसमा सत्य बताएर भ्रम चिर्न र अफवाहबाट उत्पन्न हुनसक्ने आकस्मिक दुर्घटनाहरूलाई बेलैमा रोक्न पनि प्रमको स्वास्थ्यप्रति थप पारदर्शी हुँदै जानुको विकल्प छैन । 

प्रधानमन्त्रीको सिङ्गापुर नै जानुको अर्को सत्य मुलुकको स्वास्थ्य क्षेत्रको अक्षमता पनि हो । प्रम ओलीका लागि सिङ्गापुरमा अपनाइएको पछिल्लो उपचार प्रविधि स्वदेशमा उपलब्ध छैन । जानकारहरूका अनुसार ‘प्लाज्माफेरेसिस’ उपचार नेपालमा गरिने भए पनि यसका लागि चाहिने ‘प्लाज्माफेरेसिस मेशिन’ यहाँ छैन ।

तर, मिर्गौला डायलासिस् गर्ने मेशिनमा थप अर्को यन्त्र जडान गरेरै भए पनि प्लाज्माफेरेसिस उपचारको ‘जुगाड’ भने गरिएको छ । सरकारले अनुदान समेत दिने गरेको र ‘कडा रोग’ को श्रेणीमा राखिएको मिर्गौला प्रत्यारोपणपछिको उपचारमा कायम यसखाले जुगाड विडम्बना हो ।

यही मेसोमा ‘प्लाज्माफेरेसिस मेशिन’ भित्र्याउन सक्दा मात्र पनि ‘विदेशमा उपचार’ को नाममा प्रम ओलीको स्वास्थ्यप्रति गरिएका टीकाटिप्पणी कम हुन सक्थ्यो ।

प्रम ओलीसँगै सरकार र मुलुकको स्वास्थ्य पनि तङ्ग्रियोस् । उपचारका लागि कोही विदेशिन नपरोस् । ‘पपुलिज्म’ को तीव्र संक्रमणबाट नेपाली समाज जोगियोस् ।

प्रतिकृया दिनुहोस