रिपोर्टबिहिबार, ५ बैशाख , २०७६

विद्रोहले बनेको व्यक्तित्व

मस्त केसी

परिवार र समुदायको परम्परागत दायरा नाघेर मिथिला चित्रकलालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याएकी सुनैना ठाकुर मधेश मात्र नभएर समग्र महिलाकै प्रेरणाकी स्रोत बनेकी छन्।

सुनैना ठाकुर ।

सर्लाही, श्रीनगरमा जन्मिएकी सुनैना ठाकुरलाई आमा/हजुरआमाले घर सजाउन भित्तामा कोरेको चित्रले सधैं आकर्षित गर्थ्याे । के हो भन्ने नजान्दै त्यस्तै चित्र कोर्न रहर जाग्थ्यो । समयक्रममा उनले बुझ्न् त्यो ‘मिथिला चित्रकला’ रहेछ । 

आमाहरूका चित्र घरका भित्तामा सीमित भए पनि उनले त्यसको दायरा फराकिलो बनाउँदै रुमाल, कपडा र कागजसम्म पुर्‍याइन् । घरभन्दा बाहिर निस्केर त्यसको व्यवसायिकता खोज्ने प्रयास गरिन् । तर, उनको यो प्रयास परिवार र समुदायका लागि सह्य थिएन ।

“हाम्रो समुदायमा छोरीका लागि घर परिवार बाहेक केही सोचिंदैन । छोरीको पनि जिन्दगी हुन्छ भन्ने कसैलाई लाग्दैन”, सामान्य परिवारमा हुर्किएकी ३३ वर्षीया सुनैना सम्झिन्छिन् ।

कक्षा ९ पढ्दा १६ वर्षकै उमेरमा सुनैनाको विवाह भयो । विवाहपछि धेरै सँगीको पढाइ छुटे पनि उनको घरले भने उनलाई पढाइबाट टाढा राखेन । विवाहपछि माइती र घर दुवैलाई बुझाउँदै कलालाई पनि अगाडि बढाउन थालिन् ।

विस्तारै उनको कला र पेशाबारे परिवारले बुझ्न थाले । तर, अर्को तगारो थियो– समुदाय । पराइ मान्छेसँग बोलेको, हिंडेको, सहकार्य गरेको देखेर समुदायले उनलाई अनेक लाञ्छना लगायो । तर, यहाँनेर भने उनलाई परिवारले ढाडस दियो । “घरपरिवारले बुझेपछि कसैको मतलब लागेन” उनी भन्छिन्, “परिवारले साथ दिएपछि थप ऊर्जा र उत्साह मिल्यो ।”

पढाइले उनलाई लैङ्गिक असमानता, महिला हिंसा र आफ्नो हक, अधिकार सिकायो । यसबारे चुप बस्नुहुँदैन भन्ने ज्ञान दिलायो । असमानता उजागर गर्न र आफ्नो आवाज बलियो बनाउन उनले मिथिला चित्रकलाको सहारा लिइन् ।

सुनैनाको भनाइमा, संस्कृतिको उत्थान र प्रवर्द्धन, महिला सशक्तीकरण र लैङ्गिक समानता, नयाँ पुस्तामा ज्ञान हस्तान्तरण उनको चित्रकलाका मुख्य सन्देश हुन् । “एउटा मानिसले सय जनाको आवाज बोल्न नसक्ला तर, एउटा चित्रले सक्छ”, उनी भन्छिन् ।

यही प्रतिरोध कलाले सुनैना आज अन्तर्राष्ट्रिय समुदायमाझ चिनिएकी छन् । यस अवधिमा उनले यूएनडीपीको ‘एन पिस अवार्ड २०१२’, र अमेरिकास्थित सर्च फर कमन ग्राउण्डको ‘कमन ग्राउन्ड अवार्ड २०१६’, केयर नेपालको ‘सफल महिला उद्यमी अवार्ड २०१५’ तथा ‘ललितकला विशेष पुरस्कार २०१७’ र ‘राष्ट्रिय ललितकला पुरस्कार २०१८’ प्राप्त गरिसकेकी छन् ।

सुनैनाले महिलालाई चित्रकला तालीम र कलाको व्यवसायीकरणका लागि २०६६ सालमा ‘महिला क्षमता विकास केन्द्र’ दर्ता गराइन् । शुरूमा तालीम लिने महिलाहरू खोज्न गाउँघर चहार्न उनलाई ठूलै सास्ती थियो । परिवारले महिलालाई बाहिर निस्कनै नदिने । तर, जब उनले तिनै महिलाले बनाएका चित्र खरीद गर्न थालिन्, समुदायको अवरोध कम हुन थाल्यो । 

संस्था मार्फत अहिलेसम्म झण्डै ३०० महिलालाई निःशुल्क तालीम दिएकी उनले आफ्ना र तालीम दिएका महिलाहरूले बनाएका चित्रहरू राखेर जनकपुरको जानकी मन्दिर परिसर र काठमाडौंको ठमेलमा ग्यालरी चलाइरहेकी छन् । १३ जना महिलालाई प्रत्यक्ष रोजगारी पनि दिएकी छन् । “कलाको पारिश्रमिक शुरूमै पाउने भएका कारण नयाँ महिलामा पनि हौसला थपिएको छ”, उनी भन्छिन् ।

तस्वीरहरुः सुनैना ठाकुरको फेसबूकबाट ।

सुनैनाले सन् २०१५ मा अमेरिकाको न्यूयोर्कमा पहिलोपटक एकल मिथिला चित्रकला प्रदर्शनी गरिन् । यही अप्रिल ४–७ मा न्यूयोर्कमै उनको दोस्रो एकल प्रदर्शनी भयो । भारत र श्रीलंकामा पनि उनको एकल प्रदर्शनी भइसकेको छ ।

अब सुनैनालाई चित्रकला मार्फत घरको चौघेरामा खुम्चिएका थुप्रै महिलालाई बाहिर ल्याउनु छ, उनीहरूको सशक्तीकरणमा मद्दत गर्नुछ । मिथिला चित्रकलालाई पाठ्यक्रममा समावेश गराउनु छ । “कार्टुन, विदेशी चित्रकलाका ठाउँमा मौलिक मिथिला कला समावेश गराउन सके यसले बालबालिकालाई सानैदेखि नेपाल र नेपाली संस्कार चिन्ने अवसर दिन्छ”, उनी भन्छिन् ।

पढ्नुहाेस्: 

‘फ्रन्टलाइन’मा महिला

समावेशी सुन्दरी

पर्वतारोहणकी सरदार

चुपचाप ‘रोलमोडल’

प्रतिकृया दिनुहोस