रिपोर्टबिहिबार, ५ बैशाख , २०७६

चुपचाप ‘रोलमोडल’

रामेश्वर बोहरा

कमाण्ड एन्ड स्टाफ कोर्स गरेकी पहिलो महिला, सेनानी सुलोचना पौडेलले चर्चा र जनसम्पर्कबाट टाढै रहने सैनिक संगठनमा रहेर पनि आम महिलामाझ तरंग ल्याएकी छन्।

सुलोचना पौडेल ।

बर्दी लगाएर कवाज खेलिरहेका सैनिकप्रति धेरैको आकर्षण हुन्छ । फरक रुचि र लक्ष्य राख्नेहरू पनि सैनिक परेडलाई बेवास्ता नै गरिहाल्न सक्दैनन् । भक्तपुरको मध्यपुर थिमी–५ की सुलोचना पौडेल (३५) लाई यही आकर्षणले सैनिक सेवामा भित्र्यायो ।

१४ वर्षअघि उनी क्याम्पस पढ्दै गर्दा नेपाली सेनाले ‘अधिकृत क्याडेट’ मा महिलाका लागि पहिलोपटक भर्ना खोल्यो । महिलालाई बाटो खुले लगत्तैको पहिलो ब्याचमै सैनिक अधिकृतको पंक्तिमा लामबद्ध भइन्, सुलोचना ।

पछिल्ला १४ वर्षमा धेरै कुरा फेरिए । व्यवस्था फेरियो, राज्य–संरचना फेरियो र पितृसत्तात्मक पहिचान बोकेको नेपाली समाज महिला र पुरुषबीच प्रत्येक कुरामा समानता खोज्ने तहमा आइपुग्यो । सुलोचना आफैं त्यसको उदाहरण हुन् ।

सैनिक परेडबाट लोभिएर सेनामा प्रवेश गरेकी उनी अथक् मिहिनेत र संगठनप्रतिको समर्पणकै कारण एउटा सिंगै पुस्ताको ‘रोलमोडल’ बन्न पुगेकी छन् । त्यो मिहिनेत र समर्पण, जसले अधिकृत क्याडेटबाट सहायक सेनानी, उपसेनानी, सहसेनानी हुँदै सेनानी (मेजर) मा पदोन्नति भएकी सुलोचनालाई सैनिक संगठनको नेतृत्व तहमा पुग्न आवश्यक न्यूनतम आधार तयार पारिदिएको छ ।

सेनाको नेतृत्व तहमा पुग्नका लागि ‘कमाण्ड एन्ड स्टाफ कोर्स’ (स्टाफ कलेज) लाई पहिलो र महत्वपूर्ण खुड्किलो मानिन्छ । त्यही कोर्सका लागि छनोट हुने पहिलो महिला सैनिक अधिकृत हन्, उनी । प्रवेश परीक्षा दिने ३०० सैनिक अधिकृतमध्ये जम्मा ४९ जना छनोट भएको २५औं शृंखलाको यो कोर्समा सहभागी एक मात्र महिला सुलोचनाले स्टाफ कलेजमा उम्दा नतिजा ल्याइन् । सञ्चारमाध्यमहरूबाट उजागर भएको उनको यही सफलताले नयाँ पुस्तालाई तरंगित तुल्याएको छ ।

हुन पनि सुलोचनाका लागि अब प्रमुख सेनानी, महासेनानी हुँदै कम्तीमा सहायकरथी (ब्रिगेडियर जनरल) सम्म पुग्ने बाटो तय भएको छ । सहायकरथी बन्नका लागि महासेनानीको दर्जामा पुगेपछि ‘हायर कमाण्ड कोर्स’ उत्तीर्ण गर्नुपर्छ । स्टाफ कलेजमा ‘ब्राभो’ भनिने अब्बल नतिजा ल्याएकाले पनि सुलोचनका लागि ‘हायर कमाण्ड कोर्स’ मा सहभागिताको अवसर निश्चित जस्तै छ । फेरि यो कोर्ष स्टाफ कलेजको तुलनामा सजिलो पनि मानिन्छ ।

सबै कुरा अनुकूल भयो र नेशनल डिफेन्स कोर्स (एनडीसी) का लागि समेत अवसर मिल्यो भने उनी प्रधानसेनापतिको दावेदारका रूपमा अगाडि बढ्न सक्छिन् । सैनिक सेवामा आफ्नो करिअरलाई चुपचाप अघि बढाइरहेकी सुलोचनाको यो संभावना सेनामा भर्ती हुन चाहने प्रत्येक महिलाका लागि प्रेरणा त हुँदै हो, सामेलीतर्फको यात्रामा महत्वपूर्ण खुड्किलो पनि ।

सैनिक प्रवक्ता, सहायकरथी यम ढकाल सुम्पिएको जिम्मेवारी वहन गर्ने क्रममा सुलोचनाले देखाएको क्षमता र स्टाफ कलेजमा उनले प्राप्त गरेको सफलता गर्व गर्न लायक रहेको बताउँछन् । “हाम्रा महिला अधिकृतहरूले आफूलाई अब्बल सावित गरिरहेका छन्” ढकाल भन्छन्, “सुलोचनाको यो सफलताले संगठनभित्र र बाहिर समेत हौसला बढाएको छ ।”

अहिले नेपाली सेनामा महिलाको संख्या ४ हजार ५११ (५.०१ प्रतिशत) छ, जसमध्ये अधिकृत तहका ४५८ जना मात्र छन् । महिलालाई प्राविधिक पदमा मात्र अवसर दिने गरेको सेनाले पछिल्लो समय सबै खालको जिम्मेवारी महिलालाई दिन थालेको छ । सैनिक ऐन अनुसार भर्नामा ४५ प्रतिशत आरक्षणलाई शतप्रतिशत मानेर त्यसको २० प्रतिशत कोटा महिलाका लागि छुट्याइन्छ ।

अहिलेसम्म तीन जना महिला सहायक रथी (प्राविधिक) रहेको नेपाली सेनामा अब नेतृत्व तहमा पुग्ने योग्यता भएका कमाण्डर महिला तयार हुँदैछन् । सैनिक कल्याणकारी योजना निर्देशनालयमा कार्यरत सुलोचना, गुल्मपति बन्ने पहिलो महिला अधिकृत, सेनानी सृष्टि खड्का लगायतको प्रभाव सैनिक भर्नामा समेत देखिन थालेको छ ।

जस्तो कि, सेनाले गएको १ चैतमा प्रकाशन गरेको अधिकृत क्याडेट भर्ना छनोटको अन्तिम नतिजामा महिलाले मात्र कोटा अनुसार नाम निकाल्न सफल भए ।

महिला, आदिवासी, जनजाति, मधेशी, दलित र खुलामा संख्या तोकेर विज्ञापन गरिएकोमा निर्धारित १८ जनाको पूरै कोटामा महिला उम्मेदवारले नाम निकाले भने यसबाहेक खुला प्रतिस्पर्धाबाट समेत थप ६ जना महिला अधिकृत क्याडेटमा छनोट भए । यसले सेनामा महिलाको आकर्षणसँगै आफूलाई अब्बल प्रमाणित गर्ने क्षमता बढेको देखाउँछ ।

निर्दिष्ट जिम्मेवारी बहन गर्ने क्रममा आफ्नै क्षमताले यस्तो तरंग ल्याउन सफल सेनानी सुलोचना भने आफू आम नेपाली महिलाभन्दा पृथक् नभएको बताउँछिन् । “म परम्परागत परिवेशमा हुर्किएँ, मैले पाएको जस्तो स्कूलिङको अवसर नपाउने धेरै होलान्, कतिले मभन्दा निकै राम्रो पनि पाएका होलान्” उनी भन्छिन्, “तर, महत्वपूर्ण कुरा चाहिं महिलाका सवालमा समाज बदलिंदै गएको छ । हामीकहाँ धेरै राम्रो भइसक्यो त भन्दिनँ, तर निराश हुनुपर्ने अवस्था पनि छैन ।”

सुलोचनालाई लाग्छ, इच्छाशक्ति, आत्मविश्वास र मिहिनेत नै उनको मुख्य पूँजी हो । यो आत्मविश्वासले उनलाई सेनाको नेतृत्वसम्म डोर्‍याउला त ? “भोलि कुन पोजिशनमा पुगिएला भन्ने महत्वपूर्ण होइन, अहिले जुन पोजिशनमा छु, त्यसको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने हो” उनी भन्छिन्, “सेनामा सबै कुरा नियम कानूनको परिधिभित्र हुन्छ, त्यही परिधिमा रहेर आफूलाई प्रमाणित गर्न प्रयत्नरत छु ।”

पढ्नुहाेस्:

‘फ्रन्टलाइन’मा महिला

‘साम्बा’ को संघर्ष

समावेशी सुन्दरी

प्रतिकृया दिनुहोस